स्वीकृति र आश्रयको बिहे भएको पन्ध्र वर्ष पुग्यो । यति लामो अवधिमा उनीहरू पहिलो पटक मातापिता बन्दैछन् । दुबै पति पत्नि यो समय भावी सन्ततिलाई लिएर उत्साहित छन् ।

कल्पना श्रेष्ठ कल्पपुञ्ज
स्वीकृति सोफाबाट उठेर आफ्नो बिस्तरातिर पुग्छे । बिस्तरामा बस्न खोज्दा केही अप्ठ्यारो महशुस हुन्छ । यो अवस्थामा बेसी गर्मी महसुस भैरहेछ उसलाई । उसले सिलिङ्ग पङ्खाको स्वीच अन गर्छे । उसका दुबै खुट्टा सुनिएर हात्तीपाइले आकृति बनेका छन् । बिस्तारै खुट्टा माथि तानेर बिस्तारामा पल्टिन्छे । उत्तानो परेर सुत्दा श्वास रोकिएलाझैँ अप्ठ्यारो हुन्छ । ऊ तुरुन्तै बायाँ कोल्टे फेर्छे ।
आश्रय कोठाभित्र पस्दै गर्दा पङ्खाको स्वीच अफ गरेर बोल्छ, ‘तिम्रो त्यत्रो खुट्टा सुनिएको छ । धेरै चिसोमा नबस स्वीकृति । सुन त म प्रहरी पोष्ट जानु पर्ने भयो । धर्मे काकाको छोरीलाई बाइकले हानिदिएछ । सम्बन्धित पक्षले उपचार गरिदिन मानेका छैनन् रे । छिमेकी भेला भइदिनु पर्यो भनेर धर्मे काकाले नै फोन गरे । उनले प्रहरी पोष्टमा उजुरी दर्ता गराएछन् । अहिले दुबै पक्ष जम्मा भएका छन् रे । म एकैछिन त्यता लागे ।’
आश्रय बाहिर निस्कदै गर्दा स्वीकृति बोली, ‘ अरु बेला त अफिसै भयो । शनिबार पनि कस्तो फुर्सद हुँदैन है तिमीलाई । तल रमिला छ भने माथी पठाइदिनु ।’ उसले आफ्नै घरभाडामा बस्ने रमिलालाई सङ्केत गर्छे ।
‘ल ल । तिमी आराम गरेर बसन् ।’
गर्मी छ, शरिर फुलेको छ । गर्मीले खासै निद्रा पर्दैन स्वीकृतिलाई । ऊ तकिया तेर्सो पारेर बस्छे । र आफ्ना परिवर्तित स्थितिलाई नियाल्छे । जुनसुकै गर्भिणी नारीलाई यस्ता अनेकौ समस्या धेरैथोरै देखिरहन्छ । तर पनि स्वीकृतिको बच्चा जन्माउँने उमेर ढिलो भएकोले उसलाई केही बढी समस्या देखिएको छ ।
आत्तिदै दुबै बूढाबूढी हृदय रोग अस्पताल पुगे ।
गर्भ रहेको तीन महिनासम्म मुखमा पानी राख्दा नि उनलाई वमिट हुन्थ्यो । त्यतिबेला स्वीकृति सिद्रो झैँ भएकी थिई । दुई महिनामा स्थानिय क्लिनिकमा भिडियो एक्सर गर्दा बच्चाको हार्टबिट नभएको रिपोर्ट देखायो । आत्तिदै दुबै बूढाबूढी हृदय रोग अस्पताल पुगे । त्यहाँ सूक्ष्म तरिकाले चेक गर्दा बच्चामा त्यस्तो समस्या नदेखिएको स्पष्ट भयो । दुबैले चयनको स्वास फेरे ।
फेरि अर्के समस्या देखापर्यो । केही महिना बच्चाको तौलनै नबढेर हप्तैपिच्छे चेकअपमा जानुपर्ने भयो । आमालाई खानु हुँदैन, बच्चाको तौल बढ्दैन । नियमित खाने र थप भिटामिनका औषधिहरू थपिँदै गए । यी विविध कारण आठ महिनाको गर्भवती स्वीकृति मोटाएर सोलोडोलो भएकी थिई । यहीँ समयमा उनको लो प्रेसर ह्वात्तै बढेर एकसे पचाससम्म पुग्न थालेको थियो ।
बिहे भएको पन्द्र वर्षमा नव सन्तानको प्राप्तिको प्रतिक्षाले आमा र छोराको अनुहारमा भने उत्साहा र हर्षको चमक स्पष्ट देखिन्थ्योे ।
आइभीएफ राखेको अस्पतालका नियमित डाक्टरले आठ महिनाको चेकअपपछि भने,‘बच्चाको साल घाटीमा बेरिएको छ । बच्चा जन्मने समयसम्म यो पोजिसन फरक हुन पनि सक्छ । तर तपाईँले पेटमा बच्चा चलेको नचलेको याद गरिरहनु जरुरी छ । आधा घटासम्म कुनै पनि समय बच्चा चल्न छोडे जोखिम हुन्छ । त्यो समय मध्यरात भएपनि तुरुन्तै हस्पिटल आउँनुहोला ।’ डाक्टरले सल्लाह सहित इमर्जेन्सिको फोन नम्बर दिए । यस्तो संवेदनीय अवस्थामा प्रायः स्वीकृति निद्राबाट टाढा हराएकी थिई ।
अन्तिम महिनासम्म स्वीकृतिलाई अप्रत्याशित कुनै ठूलो समस्या देखा परेन ।
सुत्केरी हुने अन्तिम छेको पारेर आश्रयको आमा सहरमा भएका छोरा बुहारीको घरमा आइपुगिन् । गर्भवती बुहारीको अनिदो अनुहार फुर्सो थियो । बिहे भएको पन्द्र वर्षमा नव सन्तानको प्राप्तिको प्रतिक्षाले आमा र छोराको अनुहारमा भने उत्साहा र हर्षको चमक स्पष्ट देखिन्थ्योे ।
सासुआमा आएको मध्यरातमै स्वीकृतिलाई व्यथा लाग्न सुरु भयो । आमा गाउँबाट आउँदा थकित भएकोले उनलाई घरमै बस्न सल्लाह भयो । कोठामा बस्ने रमिलालाई साथी लिएर आश्रयले स्वीकृतिलाई अस्पताल पुर्यायो । रातभरी स्वीकृति प्रसव वेदेनाले छटपटिरही । बच्चादानीमा पानीको मात्र कमि भई बच्चालाई असर देखिन थाल्यो । बिहान अपर्झट स्वीकृतिको अप्रेसन गर्नुपर्ने भयो । बिहान छ बजेतिर स्वीकृतिले छोरालाई जन्म दिई ।
उसले आफ्नो हातबाट बच्चा अनकनाउँदै सिस्टरको हातमा फिर्ता गर्यो र ऊ त्यहाँबाट अस्पतालको मूल गेटतिर निस्कियो ।
डाक्टरले बच्चाको बाबुलाई बोलायो । आश्रय उत्साहपूर्वक आफ्नो पहिलो नवजात शिशूलाई देख्न हतारियो । जब आफ्नो सन्तानको अनुहार हेर्यो उसलाई एकैचोटि बिजुलीको झट्का लागे जस्तै भयो । उसले आफ्नो हातबाट बच्चा अनकनाउँदै सिस्टरको हातमा फिर्ता गर्यो र ऊ त्यहाँबाट अस्पतालको मूल गेटतिर निस्कियो । उनका खुट्टाहरू धर्मराएका थिए ।
ऊ सरासर अघिल्तिरको किराना पसलमा गएर पाँचसय पचपन्नको दुई खिल्ली चुरोट किन्यो । उसले एक कुनामा चुरोट सल्कायो र चक्कि चक्कि धुवाँ उडायो । चुरोटको धुवाँको चक्किसँगै आश्रयको घनिभूत सोचाई दिमागको पर्दामा आरोह अवरोह गरिरहे । मनोवाद गर्दागर्दै उसको मुखबाट फुत्त खुस्कियो, ‘अस्पतालले धोका दियो ।’
धेरै वर्ष भएको थियो आश्रयले चुरोट खान छोडेको । एक खिल्ली चुरोट सकिसक्दा आश्रयलाई मतमताए जस्तो भयो । आश्रय फर्क फर्किएर अस्पतालको क्यानिटनतिर पस्यो । कफी मगायो । कफीको सिरपसँगै उसले बिस्मातमय अनुभूतिलाई घुटुक्क घुटुक्क निल्यो ।
केही घन्टा बितिसकेको थियो । ऊ केही झस्किएझैँ जुरुक्क उठेरे प्रसूति वार्डको वेड नम्बर एक सय एघारमा पुग्यो । जहाँ पोष्ट रुमबाट स्वीकृतीलाई ल्याएर राखिएको थियो ।
स्वीकृतिलाई मातृत्वले रुझाउँथ्यो । सकि नसकि ऊ बच्चा राखिएको नर्सरी वार्डमा पुगेर सिसाबाट आफ्नो सन्तानलाई हेर्थी ।
भित्र स्वीकृति निदाइरहेकी थिई । छेऊमै कुरुवा बसेको रमिला बोलिहाली,‘बच्चालाई अक्सिजनको कमि भएकोले केही समय नर्सरीमा राख्नु पर्ने भयो रे सर । डाक्टरका एक टिम आएर दिदीको चेकपछि यसै भनेर गए । उनीहरूले बच्चालाई यहाँ ल्याएको छैन । तपाईँलाई खोज्दै थिए । तपाईँ कहाँ हुनुहुन्थ्यो यत्तिको समय ? बच्चाको स्थिति कस्तो छ तपाईँ त्यहाँ गएर बुझ्नुस् न ।’
बच्चालाई जन्डिसपनि सुरु भएकोले बच्चा आमाको वार्डमा आइपुगेको थिएन । तीन दिन रमिला अस्पतालमै स्वीकृतिको सहयोगी भएर बसी । स्वीकृतिको पेट चिरेको पीडा कम हुँदै गएपछि बिस्तारै ऊ उठेर हिँड्डुल गर्न थालेकी थिई ।
आश्रय चुपचाप थियो । केही चीज हराए जस्तै ऊ झोक्राउँथ्यो मात्र । स्वीकृतिलाई मातृत्वले रुझाउँथ्यो । सकि नसकि ऊ बच्चा राखिएको नर्सरी वार्डमा पुगेर सिसाबाट आफ्नो सन्तानलाई हेर्थी । र मन भक्कानो पारे फर्किन्थी ।
चौथो दिन रमिलालाई आश्रयले घर जान र आमाको ख्याल गर्न अह्रायो । रमिला फर्किनेबेलामा उसले भन्यो, ‘रमिला आमाले अस्पताल आउँन कर गर्नुहुन्छ होला । उहाँ यहाँ आउँनु पर्दैन । म सबै व्यवस्था मिलाएर फर्किन्छु । तिमीलाई पनि काम भए म आफैँ बोलाउँछु । आइरहनु पर्दैन । यहाँ जे कुरापनि क्यान्टिनमा ताजा पाइहालिन्छ । आमालाई पीर नगरी बस्न भन है ।’ रमिला सहमति साथ बिदा भई ।
पाँचौ दिनमा आश्रयले स्वीकृतिलाई भन्यो,‘बच्चालाई हेर्न गई नराख । ममताले बाँच्न मुस्किल पारिदिन्छ ।’ ऊ पुनःनिभेको स्वरमा भन्थ्यो,‘एक दिन ऊबाट अलगिनु त छँदैछ ।’
स्वीकृतिले ‘क्यारे ?’ भनेर प्रतिप्रश्न गर्थी र त्यहाँ आएर दुवैको संवाद स्थिगित हुन्थ्यो ।
केहीछिनमा डाक्टरका एक टिम आइपुगे ‘भोलि तपाईँहरू डिस्चार्ज भएर जान सक्नु हुन्छ ।’
छटौँ दिनको बिहानै बच्चा स्वास्थ भएको डाक्टरले सूचना दियो । नर्सले बच्चा लिएर स्वीकृति भएको वार्डमा आयो । बच्चा हातमा लिँदै मुस्कुराएर स्वीकृतिले नवजात शिशूको निधारमा चुमि । छेऊमा आश्रय अमनस्क उभिरहेको थियो । केहीछिनमा डाक्टरका एक टिम आइपुगे ‘भोलि तपाईँहरू डिस्चार्ज भएर जान सक्नु हुन्छ ।’
समाजको उस्तै लान्छना लिएर बस्न मलाई स्वीकार्य छैन । यसको निदानको कुनै न कुनै उपाय खोज्न जरुरी छ स्वीकृति ।
डाक्टरहरू गइसकेपछि मलिन स्वरमा आश्रय बोल्यो,‘स्वीकृति के यो बच्चा लिएर हामी यो समाजमा रहन सक्छौ ?’
‘किन तिमीलाई त्यस्तो लाग्छ । हाम्रो बच्चा हो । हामीले हाम्रो तरिकाले सोच्ने हो । अरुले के भन्छ,के सोच्छ भनेर तिमी किन चिन्ता लिन्छौ ?’
‘खै मलाई त्यस्तो लाग्दैन । फेरि समाजको उस्तै लान्छना लिएर बस्न मलाई स्वीकार्य छैन । यसको निदानको कुनै न कुनै उपाय खोज्न जरुरी छ स्वीकृति ।’
‘तिमीले भन्न खोजेको के हो ? तिमीले स्विकार्दैनौ यो बच्चालाई ?’
‘हो,केही उपाय त सोच्नै पर्छ स्वीकृति यसबारे ।’
बाहिरबाट कोही आएर ढोका करर्र गर्यो रमिला र आमा एकै चोटी वार्डमा देखा परे ।
आमा बच्चा भएको बेडतिर अगाडि बढ्दै बोलिन्, ‘तैँले आउँनै नदिने । आफूलाई नाती हेर्न कति रहर । रमिलालाई कर गरेर लिएर आए । खै मेरो नाती हेरौँ ? आमाले नवताज शिशूको अनुहार देख्नासाथ आँखी भौँ खुम्चाइन् ।
त्यहाँको परिस्थिति झेल्न गाह्रो मानेर आश्रय वार्डबाट बाहिर निस्कियो । आश्रय बाहिरको काठको कुर्सीमा टाउको निहुँराएर बसेको थियो । उसको आमा नातिलाई एकैपटक पनि काखमा नलिई आश्रयको पछिपछि बाहिर निस्किइन् । छोराको छेऊमै आएर उनले मुख बिग्रादै भनिन्, ‘कान्छा यस्तो पनि हुन्छ ? यो त तरो बच्चा होइन । योभन्दा त बाँझो भएको बेस् । तँलाई कसरी यस्तो भ्रममा राखिन् स्वीकृतिले ?’
आमाको प्रश्नहरू मुलझैँ फुटिरहेका थिए तर आश्रयलाई प्रतिउत्तर दिन जाँगर चलेन ।
‘त्यस्तो थियो भने उसैसित गइदिए भा’हुन्थ्यो । कि तिमीहरुको मिलेमतो हो यी सब, दुनियाँ हँसाउने । तैँले जे भने पनि मैले त यो मेरो नाति हो भनेर स्वीकार्दिन् बुझिस् । म हिँडे ।’ छेऊमै भएको रमिलाको हात समाउँदै ‘हिँड् नानी मलाई एकछिन पनि यहाँ बस्नु छैन ।’ आमाको करमा रमिलाले दोमन हुँदै पाइला सारी ।
‘बरु म झुकिएकी हुँ । तिमीलाई तिम्रो धरातलमा उभ्याउन नसकेर । यो मौनताले कुनै समस्या समाधान हुदैन बुझ्यौ ? आज कति दिन भयो तिमी मौन बस्न थालेको ?’
आश्रय सरासर भित्र पस्यो र स्वीकृतिभन्दा दायाँ पट्टिको कुर्चिमा बस्दै बोल्यो,‘स्वीकृति म यो बच्चा लिएर घर जान सक्दिनँ ।’
‘तिमी के भन्दै छौ ? दुबैले सुनेको, बुझेकै हो । अझ गुगल सर्च गरेर यसको बारे हरेक कुराको ज्ञान लिएकै हो । तिमीलेनै ट्विटरमा सर्च गरेर स्पर्म डोनर व्यक्ति पहिचान भयो भनेकै हौ ।’
‘अस्पतालले झुक्यायो हामीलाई ।’
‘अस्पतालले आफ्नो जिम्मेवारी पूरा गर्यो । उसको कार्य सकियो ।’
‘तर पनि हामीलाई पुरै अज्ञातमा राखियो ।’
‘बरु म झुकिएकी हुँ । तिमीलाई तिम्रो धरातलमा उभ्याउन नसकेर । यो मौनताले कुनै समस्या समाधान हुदैन बुझ्यौ ? आज कति दिन भयो तिमी मौन बस्न थालेको ?’ स्वीकृतिले आवेग प्रकट गरी ।
‘म कुरा गर्न चाहान्थे । बच्चा निको हुने नहुने केही थाहा थिएन । तिमीले दुःख मानिरहेकी थियौ । यस्तो अवस्थामा किन कुरा राखु भन्ने लाग्यो ।’
अग्निरुपि स्वीकृति जलेर भष्म हुन मात्र बाँकी छे ।
‘तिम्रै सल्लाहमा अन्तर्राष्ट्रिय अस्पतालमा आइभीएफबाट मैले गर्भधारण गरेकी हुँ । तिमीले आज आएर अझ अप्रेसन गरेर बच्चालाई जन्म दिइसकेपछि, यो मेरो सन्तान होइन भन्न सक्छौ ? होइन भने यसको पिता पत्ता लगाऊ । वायोलजिकल फादर !’
‘असम्भव कुरा नगर ।’
‘कस्तो असम्भव ? बच्चा जन्मेको प्रमाण पत्र लिन त अभिभावकको पहिचान चाहियो । तिमीले लेखाएको पिताको नाम त अस्पतालको एडमिसनमा गएर हटाएछौ । “खासमा जन्मेको बालकको म अड्ढल हुँ ।” भनेर प्रस्तुत भयौ रे । कुमारी आमा बनायौ मलाई ?’
‘म निशब्द छु यस विषयमा ।’
‘हो तिम्रो शब्द बहुमुल्य छ । त्यो तिम्रो समाजको निम्ति प्रयोग गर । यस विषयमा तिमी दश पन्द्र पटक अस्पताल धायौ । आर्थिक व्ययभार व्यहोर्यौ । तिमीले ठूलै परिश्रम गर्यौ तिम्रो कर्तव्य पुरा भयो होइन ?’
‘अब यसमा वहस गरेर केही फाइदा छैन ।’
‘तिमी त समाजमा स्थापित । हाम्रो व्यक्तिगत समस्यासँग अल्झिएर तिमीले के पाउछौँ ?’
‘के म यो परिस्थितीसँग भाग्न खोजेको हो र ?’
‘नत्र के त ? तिमीले त यो व्यवहारको कुरालाई दुईचार महिनामै बिर्सिन्छौ होला । म कसरी बिर्सूँ जीवनभर रहने यी चिरिएको पेटको दागलाई ? र कसरी अस्वीकार गरुँ, नौ महिना मेरो तन्तुहरूमा खेलेर,मेरो रगतमा पौडिएर,मेरो डिएनएमा हुर्किएको पलपल मेरो स्मृतिसँग जोडिएको अंशलाई ।’
‘जसरी समस्या आउँदा हटाउँछौँ,त्यही प्रकृया अपनाउँनु पर्छ अब ।’
‘समस्या आउँदा हटाउँने त गर्भमा हो । त्यो पनि आमाको र बच्चाको स्वास्थ्य र परिस्थितिको अनुकुलता हेरी । म यसलाई कसरी मातृत्वबाट वञ्चित गरुँ ?’
‘मैले तिमीलाई मातृत्वबाट वञ्चित गर्न कहाँ खोजेको हो र स्वीकृति । एक पटक सोच विचार गर्रौ । फेरी एक पटक व्यक्ति पहिचान गरेर आइभीएफ राखौं ।’
‘म यो जन्मिएको सन्तानलाई घाँटी थिचेर मारुँ ?’
‘त्यसो होइन यो बच्चालाई प्राइभेट कुनै राम्रो चायल्र्ड कियरमा पठाऊँ । त्यतिबेलासम्म उसको आर्थिक जिम्मेवारी म लिन सक्छु । कयौँ विदेशी निःसन्तान अभिभावकहरू पनि छन् । कसैले अपनाउँन चाहे हामीले उसलाई प्रक्रियागत हस्तान्तरण गर्नेछौँ । यसको लागि म साथीहरूसँग पनि सहयोग माग्नेछु । तर यो मेरो बच्चा भनेर स्वीकार्ने अवस्था रहेन स्वीकृति ।’
‘यो अबोध बालकको के दोष ? अभिभावक हुँदा हुदै अनाथ बनाउँन चाहान्छौ ?’
‘दुवैको हित छैन भने यो प्रश्न चिन्हले दुवैको मन कुडाउँनु सिवाय केही हुँदैन ।’
‘आखिर किन ? यसको भौतिक स्वरुप आम नेपालीभन्दा फरक भएकोले ? यसका सबै कपाल र आँखी भौँ का रौँ खैरा र अनुहार आम नेपालीभन्दा सेतो भएकोले ? यसका आँखाको नानी नीला भएकाले ? यसको भौतिक स्वरुप ठक्कै पश्चिमा देशहरूको जस्तो भएकोले ?’
‘हेर मैले भन्नै पर्दैन,हामीले सोचेको भन्दा परिणाम फरक निस्क्यो । हाम्रो सामाजिक मुल्य मान्यताको दबाबलाई पुनः व्यहोर्न कठिन हुनेछ । मेरो अर्थमा त सम्झ यो एउटा दुर्घटना हो ।’
‘दुर्घटना ! कस्तो दुर्घटना ? मूल्य मान्यता ? तिमीले र समाजले बनाएको मुल्य मान्यतामा मेरो चाहाना र बच्चाको स्वत्वको गला दबाउँन कसरी प्रेरित हुँदैछौ तिमी ? मलाई लाग्छ आज तिम्रो दिमागको भित्री तहसम्म विचारको छर्रा घुस्नु जरुरी छ । के मैले गर्भाधान गर्न नसक्ने अवस्थामा इन्भिट्रोफर्टिलाइजेसन अपनाएको हो ?’
‘विगतको कुरालाई किन मुद्धा बनाउँछौ तिमी ?’
‘यो जे सोचिरहेछौ यि सब विगतबाटै भएको नतिजा हो । मैले कहिल्यै तिमीलाई हिन्ताबोद्य हुन दिईन आश्रय । अब मलाई बोल्न देउ । थाहा छ तिम्रा स्पर्महरू विकसित थिएनन् । हामीले विहे भएको पन्द्र वर्षसम्म उपचार भई पो हाल्छ कि भनेर पर्खियौ । त्यो सफल हुन सकेन । त्योभन्दा अगाडि र त्यसपछि थुप्रै सामाजिक लान्छनाहरू व्यहोर्यौ । आफन्तहरूका अनगिन्ती दबाब हाँसेरै पचायौ ।’
‘हो,यो दुबैले भोग्यौँ सकियो ।’
‘भ्रमबाट त मुक्त भयौँ हामी । तिमी सक्षम आमा बन्न सक्ने रहेछौ । यो सफल परीक्षण थियो हाम्रो । यत्ति हो अब यसको समाधानको बाटोतिर लाग्यौँ ।’
कसरी ? मैले खेप्नु परेको मानसिक समस्या तिम्रो लागि हलुका हुन्छ होला । पछिल्लो समय मलाई तिम्रो परिवार र आफन्तले सन्तान जन्माउन नसक्ने थारीसम्म भन्ने । त्यसपछि मेरो मर्मले स्वीकार्न सकेन । मैले त्यसै समय भनेकी थिए,“आश्रय यस्ता दुर्वचन सहनु भन्दा यो बस्ती छोडिदिऊँ । कतै नयाँ ठाउँमा स्थानान्तर हौँ ।” तिमीले यी कुरा मान्न तयार भयौ ?’
‘वर्तमानको समस्या समधानतिर जाउँ स्वीकृती । विषय त जति उठान गर्यो त्यति लम्बिन्छ ।’
‘वर्तमानमा आउँन पहिले धरातलको कुरा सम्झने प्रयत्न गर । तिमी किन यहाँबाट अरु ठाउँ जान चाहेनौ, किन कि तिम्रो यहाँ एउटा पहिचान बनिसकेको थियो । तिमी यो सृजना बस्तीको पहिलो पिएचडि होल्डर व्यक्ति । सुनगाँभा सहकारी र भर्खरै आफ्नो शाखा विस्तार गरेको अनुराधा फाइनान्सले तिमीलाई दोसल्ला ओडाएर पहिलो पिएचडि होल्डर मानेको थिए । होइन ?
‘भए यी कुरा छोड् ।’ आश्रयले स्वीकृतीको धाराप्रभाह वाणीलाई बीचमै निषेध गर्न खोज्छ ।
‘बोल्न देऊ मलाई । कि तिम्रो निर्णय परिवर्तन गर ।’
‘असम्भव !’
‘तिम्रो लागि सम्भव हुने कुरा त म निर्जीव भइदिनु हो । त्यो अब मबाट पनि सम्भव रहेन । तिमी त त्यो बस्तीको बौद्घिक स्रष्टा । वडाको र छेउकै प्रहरी प्रभागमा छरछिमेकको नमिल्ने किचलो आउँथ्यो । त्यस्ता समस्या आउँदा पनि तिमीलाई नै निमन्त्रणा हुन्थ्यो । प्रायः समस्याहरू तिम्रो वाक कलाले टुङ्ग्याउन सक्षम हुन्थ्यौ । तिमी यो बस्तीमा कहलिएको युवा समाजसेवी । तर आज आफ्नै परिस्थितिलाई किन न्याय दिन सकिरहेका छैनौ ?’
‘यहाँ न्याय अन्यायको कुरा के नै छ र ?’ मुखमै आएको बक्केलाई आश्रयले लगाम लगाउँछ ।
स्वीकृति आफ्ना अव्यक्त आवेग वर्तमानमा ओकल्न अभ्यस्त छे ।
‘त्यहीँ समाजमा तिमीलाई सन्तान विहिन भन्नेहरू पनि थिए । यी सबै समाजको मुख थुन्न तिमी यहीँ समाजमा बसेर आफ्नो सन्तान रहेको देखाउन चाहान्थ्यौ हैन ?
‘अरे बाबा मैले के गल्ती गरे त ? यी सबै सहमतीमा भएका कुरा हुन ।’
‘सबैको सहमति होइन तिम्रो चाहानालाई मैले प्रश्रय दिएकी हुँ । तिमीले भन्थ्यौ, “हामी बाहिर गएर बच्चा जन्मायौ भने पनि यो समाजले अर्को ट्याग झुन्ड्याउने छ । यिनीहरूले कसैको बच्चा एडप्ट गरे ।” मेरो पेट बढेको यो समाजको सामु देखाउनु तिम्रो ध्येय थियो । हो तिम्रो अस्तित्व बिहेपछि मेरो अस्तित्वसँग पनि जोडिन आउँथ्यो ।’
‘भ्रमबाट त मुक्त भयौँ हामी । तिमी सक्षम आमा बन्न सक्ने रहेछौ । यो सफल परीक्षण थियो हाम्रो । यत्ति हो अब यसको समाधानको बाटोतिर लाग्यौँ ।’
‘तिमी सायद भ्रमबाट मुक्त भयौ । म आज आएर भ्रममा परे ।’
‘हो म बुझ्छु तिम्रो संवेदना ।’
‘मलाई लाग्दैन तिमीले मेरो भावना बुझ्न कोसिस गर्यौ ।’
‘अहिले समस्या बेग्लै भयो ।’ आश्रय मलिन देखिन्छ ।
‘समस्या भनेर किन भाग्न खोज्छौ ? होइन तिमीले कुरा बुझेर पनि बुझ पचाएको भन्न रुचाउँछु म । यस्तो मान्छेलाई बच्चानै किन चाहिएको हो ? मैले त्यतिखेर भन्थेँ, “कयौँ दम्पत्ति निःसन्तान छन् । कति ठूला ठूला कलाकार,राजनेताहरू छन् निःसन्तान हाम्रै वरिपरि । उनीहरूले त सामाजिक दबाबलाई गौणमा मानेकै छन् त । आफ्नो पहिचान सन्तान उत्पत्तीबाट होइन प्रत्येक मान्छेले गर्ने कर्मबाट हुने हो । समाजले के भन्छ होईन,हामीले समाजलाई के दिन्छौ भन्ने कुरा ठूलो हो ।” तर मेरो अभिव्यक्तिलाई तिमीले बुझ्न खोज्यौ र ?’
‘तिमी किन उग्र हुन्छौ ? समस्याको निचोडतिर जाउँ भन्छु । ’
‘यो व्यवहार मैले पहिल्यै देखाउनु पथ्र्यो । मेरो सहनशीलताको बाँध टुटाउने तिमी हौ । मैले सन्तान नभएपनि खुसी रहन सक्छौँभन्दा तिमी हाँसेर भन्थ्यौ,“म राज नेता परिन नि स्वीकृति । अनि जति पढे पनि आखिर समाजमा त बाँच्नु छ । यो समाजमा जिउँनु मेरो रहर हो ।” अहो ! तिम्रो सामाजिक मान्यता । म हरेक लान्छना स्वीकार्न तयार । तर तिमी भने आफ्नो अस्तित्व यो समाजलाई देखाउन कति आतुर थियौ । त्यो पनि बनावटी नै सही ।’
‘कस्तो बनावटी कुरा भन्छौ तिमी ? आफ्ना शब्दलाई वशमा राख ।’
‘तिम्रो अस्तित्वमा ठेस लाग्ने कुरा गर्दा कति छिटो तिम्रो अहम् मर्माहत हुन्छ हगी ? तिमीलाई तिम्रो सत्य कुरा प्रष्ट्याउँदा यत्ति गाह्रो भयो ? मैले त आफूमा नभएको दुर्गुणलाई कयौँ समय स्विकारे बसेको थिए । तिम्रो अस्तित्वसँग आफुलाई जोड्थेँ तर त्यो त प्रत्येक व्यक्तिको बेग्लाबेग्लै हुने रहेछ । मैले त्यसलाई अहिले आएर मात्र बुझेँ ।’
‘भो अब तिमीसँग बहस गर्न नसक्ने भएँ ।’
‘किन ? कसैको सुक्रकिटलाई मेरो कोखमा विजारोपण गरेर माता पिता बन्न तयार भएका होइनौ हामी । खासमा म बच्चा बिना पनि खुसी रहन सक्ने व्यक्ति हुँ ।’
‘अनि अहिले के भो त ? बच्चालाई समाप्त नै गरौँ त भनेको छैन नि मैले ।’
‘यो नौ महिनासम्मको मेरो अनुभूति,संवेदना तिमीले बुझ्न सक्यौ ? ति सबै संवेदनशील अवस्थाबाट पार लाएरे अबोध शिशुको सामिप्य पाउँदा एउटा आमाको मातृत्वले के महसुस गर्छे ? पछिल्लो पटक बच्चा गर्भमा ढिलो राखेको र यस्तो अवस्थामा धेरै परिश्रम गर्न नहुँने कुरा पनि तिमीले भन्यौ । गरिरहेको जभलाई स्थगित गरे । यी सबै कुरा गौण मानिदिए । खासमा तिम्रो अनुहारमा खुसी देख्न चाहान्थेँ म । यद्यपि तिमीलाई यी कुरा सुनाएर के फाईदा ?’
‘हेर स्वीकृति कति कुरा नारीको प्राकृतिक त्याग हो । आफुलाई गौरव गर्न सिक । पति पत्निको कति कमि कमजोरी होलान् त्यसलाई स्विाकार्दै स्वभाविक हुन सिक्नु पर्छ ।’
‘केलाई गौरव मानु ? केलाई त्याग ? छोड्नुलाई कि अपनाउँनुलाई ? के मेरो कमजोरी भएको भए यत्तिका समय मलाई तिरस्कार नगरी बस्न सक्थ्यौँ ?’
‘सक्थेँ । त्यो ठूलो कुरै होइन ।’
‘कति सजिलै भन्न सक्छौ है । भन्न र व्यवहारमा देखाउन धेरै कुराको अन्तर हुन्छ महाशय ! त्यसो भने अहिले यो बच्चालाई स्विकार्न किन सक्दैनौ त ?’
‘तिमी परिस्थितिलाई बुझँ । मेरो अन्तिम निर्णय यही नै हो म यो बच्चालाई आफ्नो भन्न सक्दिन ।’
‘तिम्रो यो अन्तिम निर्णय हो भने मेरो भन्नु केही छैन । तिमी अस्वीकार गर यो सन्तानलाई । मेरो पनि यो अन्तिम निर्णय हो । र म स्विकार्छु यो मेरो अस्तित्वलाई । यो नितान्त मेरो कोखमा जन्मिएको सन्तान हो । भलै विदेशी अनुहार किन नहोस् । अब बाबुको नाममा हुनेछैन कुनै नाम ।
र आमाको नाममा लेखिने छ स्वीकृति कायस्थ !’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

