मैले
अक्षरहरू कुँदेर
एउटा कविता लेखेँ
कविता
आगोजस्तो दन्कन सकेन
आगो पानी जस्तो बग्न सकेन
पानी पहाडजस्तो अग्लिन सकेन
मेरो कविता
न बर्दी ओड्न सक्छ
न सलाम ठोक्न सक्छ
फगत
अखबारी कागजहरुमा
अखबारी खबर हुनै नसकी
बेखबर
बिना सनाखत
बेवारिस पल्टी रहन्छ
अक्षरहरू बन्दुक हैनन्
आदेशमा पड्कनु पर्ने
अक्षरहरू सैन्य जवान हैनन्
सलामीमा झुक्नु पर्ने
श्रीमान्
हज्जारौँ खण्डहर जिन्दगी चपाइएको बेला
माथि श्रीमानहरू बेचैन मुस्कुराइरहेको बेला
मेरो कविता
मसमसी उग्राउन नसक्ने व्यहोरा जाहेर गर्छ
मरो कविता
श्रीमानको आदेश माग्छ कि
यो रोष्ट्रममा
नियमापत्तिसहित
सदन स्थगनको
आह्वान गर्छ
ओ कविहरू !
आउनोस् आ–आफ्नो कविता लिएर
कविताको जुलुस
जिन्दावाद ।
सुन्दरहरैंचा—६, दुलारी, मोरङ