
मित्र देशले
उखेलेर फाले पनि
लुकाएर सॅाचे पनि
निमोठेर फाले पनि
के भो र ?
म प्रत्येक
दश दश वर्षमा
हिँडेर गाडिन्छु
ब्युँझेर उभिन्छु
पलाउँदै हिँड्दै जान्छु
घरआँगन
स्कुल
सहर
र गाउँको माझ
जङ्गेको देशमा
आफ्नै परिसरमा
जङ्गे खोज्दै
प्रत्येक दश वर्षमा
ठडिँदै
हराउँदै लगातार..
यात्रामा छु
बुद्धको देश
शान्तिको देशमा
धावा गर्नेको
मुठ्ठीबाट
आफ्नै परिसरमा
बसाईं सर्ने क्रम
जारी राखेको छु
किनकि
जङ्गेसँगै म पनि
मर्दै बाँच्दै
मुर्छित हुँदै
र ब्युँतिदै गरेको
कठिन हुँदो रहेछ
त्यसैले
जिउँदो जङ्गेले चलाएको राज्य
शक्ति
र महाशक्तिसँग गरेको सन्धि
जिउँदो वीर गोरखाली
अनि देशभक्त
र राष्ट्रभक्त
शासकको खोजीमा
लड्खडाएका मेरा
पाइला समाल्ने
जिउँदो शासक
जन्मेको हेर्न चाहन्छु
फेरि जङ्गेको
जन्मको कामना गर्दछु
मेरो भुकटीबाट बगेको
अथाह सागर आँसुलाई
म निल्न तयार छु तर…
पटक पटक मर्न
र आफ्नै परिसरमा
मुन्टिन
गाडिन
अनि लखेटिन
म कसरी सक्छु ?
म कसरी मुस्कुराइरहन सक्छु ?
हरबखत लखेटिएर ?
म कसरी
खुसी हुन सक्छु ?
म अब जङ्गेको
एक अँगालो
मायाको प्रतीक्षामा छु
मैले देखेको
चतुर मान्छे
मैले देखेको
देशभक्त मान्छे
मैले देखेको
राष्ट्रभक्त मान्छे
किनकि
म उनैको शक्तिमा
उभिएको जङ्गे पिल्लर हुँ
यदि उनी नहुँदा हुन त
म पनि नहुने रहेछु
सबै सबै ग्रेटर नेपाल
टिष्टादेखि कांगडासम्म
उनैको हुने रहेछ है ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

भाषा मेरो प्राण हो, विद्यार्थी मेरा सम्पत्ति हुन् – प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

‘परदेश’ शब्दले बुझाउने नमिठो र नरमाइलो भावलाई शक्ति र सम्पन्नताले मेट्न सक्दैन – राजेन्द्रप्रसाद अर्याल
