पुस्तक विक्रेताका लागि आउँदो महिनाबाट बेलायतमा बेफुर्सदी बढ्ने बेला आएको छ । आउँदो सेप्टेम्बर ३ का लागि मात्र ६०० पुस्तक प्रकाशन हुने सूचीमा छ ।

हुन त यी ६०० पुस्तकमध्ये ५५ प्रतिशत पुस्तकहरू स्कुल कलेजका र व्यावसायिक प्रयोजनका लागि हुन् र ती पुस्तक पसलसम्म पुग्दैनन् । पुस्तक पसलमा पुग्ने भनेका ४५ प्रतिशत पुस्तक हुन् । तर यस पटक अघिल्लो वर्षको तुलनामा २० प्रतिशत पुस्तकहरू बढी प्रकाशन हुने देखिएको छ ।

खासगरी बेलायतमा सुपर थर्सडे पुस्तक प्रकाशनका लागि राम्रो समय मानिन्छ । यसैलाई ध्यानमा राखेर पनि प्रकाशकहरूले यही अवधिमा तुलनात्मक रूपमा बढी पुस्तक प्रकाशन गर्ने गर्छन् ।

आखिर यस पटक किन बढी पुस्तक प्रकाशन हुन लागेको हो त ? केहीको धारणामा बन्दाबन्दीका कारण यस्तो हुन पुग्यो । पहिल्यै बजारमा आउनुपर्ने पुस्तकहरू अड्किएका कारण तिनलाई यही अवधिमा निकाल्नुपर्ने र नियमित क्रममा रहेका पुस्तकलाई पनि यसै बेला बजारमा ल्याइएका कारण पनि पुस्तक प्रकाशन र बजारमा ल्याउने प्रतिशत ह्वात्तै बढेकोलाई स्वाभाविक मान्न सकिन्छ ।

हुन पनि वसन्त याममा बजारमा ल्याउन लागेका प्रकाशकहरूले पुस्तकलाई ठीक यही बेला ल्याउन उचित सम्झेका छन् ।

रोचक त के छ भने पुस्तकको बिक्री तुलनात्मक रूपमा सुक्दै गएको र यसको भविष्य लगभग निराशाजनक रहेको भविष्यवाणीका बीचमा यो दशकमा भने ५ प्रतिशतले बढी नै किताब प्रकाशन भएको देखिएको छ । त्यो पनि सेल्फ पब्लिस्ड किताब यसमा गणना गरिएको छैन ।

पुस्तक बिक्रीको गति पनि त्यति नराम्रो छैन । गएको वर्ष इतिहासकै सबैभन्दा राम्रो पुस्तक बिक्री भएको कीर्तिमान कायम भएको थियो । २०२० मा भने उदेकलाग्दो तरिकाले नै २३ प्रतिशत बढी बिक्री भएको पाइएको छ ।

यति राम्रो दृश्य हुँदाहुँदै पनि यसको फाइदा ठूला प्रकाशकले मात्र पाएका छन् । अनि, अति चर्चित लेखकले मात्र यसको फाइदा लुटेका छन् । खासगरी एक दशकयता यस्तो फाइदा पाउनेमा जेके रोलिङ, डेभिड विलियम्स, मार्ग्रेट एटवुड, हिलारी मन्टेल आदि पर्छन् ।

बेलायती प्रकाशकमध्ये ब्लुम्सबरीको यस अवधिमा २८ प्रतिशतले बिक्री बढेको पाइएको छ । तर साना प्रकाशकहरू भने यस किसिमको फाइदा लिनबाट चुकेका छन् ।

ठूला सुपरमार्केटले पनि नयाँ प्रकाशक, खर्च गर्न नसक्ने प्रकाशक तथा नयाँ लेखकहरूलाई महत्त्व दिँदैनन् किनभने ती प्रकाशक र लेखकहरू कम चर्चित हुनाले पाठकले तिनको नाम हेरेर किन्दैनन् । सुपरमार्केटले पनि जे बढी बिक्री हुन्छ, त्यही कुरा अगाडि डिस्प्लेमा राख्छन् । बढी बिक्री हुने आत्मविश्वासमा ठूला प्रकाशकले सम्भावित पुस्तक र चर्चित लेखकलाई विज्ञापन गर्न डराउँदैनन् ।

एक त राम्रो फ्यान फलोइङ, त्यसमाथि राम्रो प्रचार प्रसार अनि त्यसमाथि ठूला सुपरमार्केटले पनि तिनैलाई महत्त्व दिने हुनाले घुमिफिरी ठूला प्रकाशक र चलेका लेखकलाई नै फाइदा भइरहेको देखिन्छ । घर भाडा बढी तिर्नुपर्ने हुनाले पनि बिक्रेताले नयाँ र कम बिक्री हुने पुस्तकलाई जोखिम मोलेर प्रचार गर्ने या तिनलाई डिस्प्लेमा राख्न चाहँदैनन् ।

किताबको व्यापार कहिलेकाहीँ फास्ट फेसनजस्तो बन्न पुग्छ । केही दिनमा एउटा पुस्तकको चाङ लागेको हुन्छ । फटाफट बिक्री भएर त्यो चाङ चाँडै हराउँछ र यसको केही दिनभित्रैमा अर्को किताबको चाङ त्यस्तै लागिसकेको हुन्छ । यस्तोमा पाठकहरू के पढ्ने र के नपढ्ने भन्ने द्विविधामा पर्ने गर्छन् ।

असोज महिनासम्म बेलायतमा नयाँ पुस्तकहरू आउँदैछन्, खासगरी मार्टिम एमिस, एन्ट एन्ड डेक, मरिया केरीदेखि डेभिड एटनबोरो, जिल्ली कुपरदेखि आर्सेन वेङ्गरका पुस्तक एकपछि अर्को गरी आउँदै गर्दा पुस्तक पसलहरूमा किताबको चाङ चाँडै देखिने र हराउने निश्चित छ ।

संसार कोरोनाभाइरसले आक्रान्त छ । रोजगारी गुमेको छ । भविष्य अनिश्चित छ । तर पाठकहरूका लागि भने यी कुराले कुनै फरक पारेको छैन ।

जस्तो कि सलमान रूस्दी भन्छन्, ‘यस्तो लाग्छ, पुस्तक संसारमा यी सबै कुराले केही फरक पारिरहेको छैन ।’