(१)

भारतका महाकवि भनेर चिनिने सूर्यकान्त त्रिपाठी ‘निराला’ ऋषितुल्य व्यक्ति थिए । उनलाई रूपैयाँ पैसाको खासै मतलब हुँदैनथ्यो ।

निरालाले त्यस समयकी चर्चित लेखिका महादेवी वर्मालाई बहिनी मान्ने गर्थे ।

एक दिन रक्षाबन्धनका दिन दाइ कहिले आइपुग्ला भनी कुरेर बसेकी थिइन् । केही समयपछि तलबाट निराला चिच्याए, ‘बैनी, मलाई १२ रूपैयाँ दे त !’

माथिबाट हुर्रिँदै महादेवी झरिन् र निरालालाई १२ रूपैयाँ थमाइदिइन् ।

‘यत्रो पैसा किन चाहियो ? किन रिक्सालाई यत्रो पैसा दिनु परेको नि ?’ महादेवी रिसाइन् ।

मुस्कुराउँदै निरालाले भने, ‘रिक्सालाई दिने त दुई रूपैयाँ नै हो नि, रक्षाबन्धन बापत तँलाई दिने पैसा पनि चाहिएन त ?’

०००

बाटोमा पैसा बाँढ्दै निस्केकाले महादेवीकहाँ आइपुग्दा पैसै सकियो ।

यसरी कयौँचोटि दाइलाई पैसा दिएर मन बुझाएकी महादेवीलाई पछि ज्ञानपीठ पुरस्कारबाट सम्मानित गरियो । ज्ञानपीठका लागि त्योबेला एक लाख रूपैयाँ दिने गरिन्थ्यो ।

पत्रकारहरूले सोधे, ‘दिदी, यत्रो एक लाख रूपैयाँ अब के गर्छ्यौ ?’

‘यो बुढेशकालमा के गर्नु छ र ? उसबेला भएको भए चैँ मेरो दाइको उपचार गर्थें,’ यति भनेपछि उनी घुँक्क गरिन् र आँखाबाट तरक्क आँशु चुहियो ।

कहिलेकाहीँ सोच्छु… रगतको नाताभन्दा बनाइएको नाता कहिलेकाहीँ निकै कडा हुन्छ…

(फेसबुकमा फेला पारेको ।)

(२)

अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एक स्कुलका विद्यार्थी आठ वर्षे एडी किताब भनेपछि हुरूक्क हुन्छन् ।

स्कुले पुस्तकालयमा उनले नियमित पढ्ने हुनाले अरू विद्यार्थीका लागि सजिलो होस् भनेर एडीले आफूलाई मन परेका नयाँ पुस्तकको सूची हरेक महिना प्रकाशन गर्ने गर्छन् ।

त्यो सूचीलाई पुस्तकालयले मिलाएर ‘एडीले रूचाएका उम्दा पुस्तकहरू’ शीर्षकमा राखिदिने गरेको छ ।

त्यो सूची देखेपछि उनका साथीहरू पनि खोजीखोजी तीमध्ये केही किताब पढ्ने गरेका छन् ।

मैले यो किताब पढेँ भनेर फेसबुकमा लेख्दा पहिले ओठ लेब्य्राउनेहरू निकै देखिन्थे… भन्थे, ‘के के न पढेजस्तो स्वाङ पार्छ ।’

तर पढ्न रूचि राख्नेहरूका लागि त्यो पढ्ने एउटा गोरेटो पनि हुनसक्छ…

कहिलेकाहीँ सोच्छु…

(३)

बियर पारखीहरूले रेस्टुराँ छिर्नेबित्तिकै चिसो बियर खाउँ न किन भन्दारहेछन् भन्ने भर्खरै पत्ता लागेको छ ।

जब तपाईं बियर मगाउनु हुन्छ, त्यो बेला पक्कै भन्नुहुन्छ होला, ‘चिसो बियर खाउँ न !’

अब दिने मान्छेले तपाईंलाई यस्तो चिसो बियर ल्याएर दिन्छ, जति उसको फ्रिजमा चिसो हुन्छ । मतलब, उसलाई लागेको चिसो तपाईंका लागि चिसो नहुन सक्छ । अथवा, तपाईंले सोचेको जस्तो चिसो, कति चिसो हो भन्ने पसलेले थाहा नपाउन नसक्छ । अथवा… खैर छाडिदिऊँ यस्तो गलफत्ती !

हालै वैज्ञानिकहरूले कति चिसो बियर पिउँदा वास्तवमै स्वादिलो हुन्छ भन्ने पत्ता लगाएको दाबी गरेका छन् । फ्रिजबाट निकाल्दाको अवस्थामा यदि बियरको तापक्रम पाँच डिग्री सेल्सियसको छ भने त्यो बियर पिउनका लागि उत्तम हुने र त्यसको स्वाद गज्जब हुने उनीहरूको दाबी छ ।

बियरमा हुने रसायनले त्यो बेला गज्जबको काम गर्छ, जब त्यसले ठ्याक्कै उचित तापक्रम पाउँछ भन्ने वैज्ञानिक मान्यता छ । सोही मान्यताअनुसार पाँच डिग्री सेल्सियसको तापक्रमको बियरलाई एउटा आदर्श बियर तापक्रम मानिएको हो ।

एक दिन दुई जना वैज्ञानिकहरू एउटा भट्टीमा छिरे । भट्टीमा रक्सीबाहेक अरू पनि पाइन्थ्यो । उनीहरूले अन्यान्य चिजबिजहरू मगाए । मगाउँदा के पाए भने, रेड वाइन, सेकहरू अन्य पेयको तुलनामा तातो थियो । बियर, ह्वाइट वाइन भने तिनको तुलनामा चिसो थियो ।

आखिर किन यस्तो हुन्छ ? किन ग्राहकले चिसो बियर वा चिसो ह्वाइट वाइन पिउन रूचाउँछ ? अथवा कति प्रतिशत चिसो चाहिँ आदर्श चिसो हो भन्ने बुझ्न उनीहरूले रक्सीको अणुहरूलाई विभिन्न तापक्रममा मापन गरे ।

चाइनिज एकेडेमी अफ साइन्सेजका वैज्ञानिक प्राध्यापक लेई जियाङ भन्छन्, ‘वास्तवमा चिसो बियर साँच्चिकै राम्रो रहेछ । चिस्यानले बियरको केही स्वादलाई बढाउने रहेछ । स्वादका लागि मानिसहरूले चिसो बियर खोज्दा रहेछन् ।’

जसै बियरको तापक्रम बढ्न थाल्छ, इथानोल र पानीको भागमा खिचाव कम हुन पुग्छ । यसले स्वाद बिगार्छ । चिस्यानमा भने त्यो खिचाव बढी हुने हुँदा स्वाद बढ्दो रहेछ भन्ने प्राध्यापक लेईको दाबी छ ।

यो अध्ययन म्याटर नामक जर्नलमा प्रकाशन गरिएको द टेलिग्राफ अखबारले जनाएको छ ।

अब मगाउँदा किन चिसै मगाउने, मैले पनि बुझेँ ।

(४)

रिडर्स डाइजेस्ट (म्यागेजिन) मैले दुई पटक किनेँ । शायद मन परेका कुराहरू तपाईं पनि दोहोर्याई-तेहोर्याई किन्नु हुन्छ होला ।

इन्डियामा रिडर्स डाइजेस्ट निस्कन थालेको ५० वर्ष पुगेको उपलक्ष्यमा यो विशेष अङ्क निकालिएको थियो र त्यो बेला विशेष अङ्क भन्नेबित्तिकै जे सुकै र जुनसुकै चिज उठाइहाल्ने आफ्नो बानी थियो ।

पहिलो पटक किनेको म्यागेजिनको भित्री पेजहरू आफैँ निस्केर छरपष्ट हुन थाले । हेर्दाहेर्दै २५२ पृष्ठको म्यागेजिनभित्रका केही पृष्ठहरू एक एक गर्दै यत्रतत्र छरिन थाले । खासगरी डेरा सर्दा यसका केही पृष्ठहरू कि त एकमुष्ठ निस्कन्थे कि त एक्लाएक्लै हावासँगै उड्थे । भित्रका केही (एक वा दुई वा पाँच पृष्ठ बिनाको त्यो म्यागेजिन अधुरो लाग्न थालेपछि थिसियसको नाउजस्तो मर्मत गर्न खोजेँ तर सकिएन ।

एक दिन थोत्रा किताबको चाङमा यो म्यागेजिन फेला पारेँ र यसलाई भित्र्याएँ र पुरानोलाई बिदा दिएँ । (४९.५० भारू मूल्यको यो पत्रिका मैले ७५ रूपैयाँमा किनेको रहेछु ।)

१९२२ मा अमेरिकाबाट निस्कन थालेको यो म्यागेजिनको म त्यति धेरै एभिड रिडर त होइन, तर विशेष अङ्कको लोभ चाहिँ सधैँ लागिरहन्थ्यो र पाउञ्जेल किनेर राख्ने गर्थें । भलै, वर्षौंसम्म त्यसलाई उठाएर हेरिँदैनथ्यो पनि !

बेलायतमा केही वर्षअघि गरिएको एउटा सर्भेले देखाएको थियो- साधारणतया मान्छेहरू ८० प्रतिशत चिजबिजहरू प्रयोग नभए पनि किनिरहन्छन् । (एउटा औसत मानिसमा हुने गुण ममा पनि रैछ !)

त्यसैले त जापानी ती सुकिली महिला मेरी कोन्डोको बिजनेस खुब चलेको छ ! (तिनको ‘टाइडिङ अप’ भन्ने किताबमा घरमा १० वटाभन्दा बढी किताब राख्नु फोहोर जम्मा गर्नु हो भन्ने घोषणा गरेकी छन् । र, उनको भनाइ छ- फोहोर जम्मा गर्नु भनेको अस्वस्थ जीवन बाँच्नु हो । उनको टाइडिङ अप विद मेरी कोन्डो भन्ने नेटफ्लिक्सको सिरिज एकताका खुब चाख मानेर हेरियो ।)

(खैर, म एउटा मनोरोगी र अस्वस्थ व्यक्ति भएकाले फोहोरहरूको डङ्गुर हुनु आश्चर्य मान्दिनँ ।)

(अस्ति असविज कन्सन्ट्रेसन क्याम्पमा केही समय बिताएका एक जना व्यक्तिको भनाइ पढिरहेको थिएँ । त्यहाँ बिताउँदा उनी यस्तो मनोरोगी भए कि त्यो मनोरोगका बाबजुद पनि उनी सफल चिकित्सक बन्न सफल भए । उनलाई परिवार र हितैषीहरूले उपचार र मनोपरामर्शका लागि जाऊ भनेर हत्ते गर्दा पनि उनले मानेनन् । उनको भनाइ थियो, ‘कन्सन्ट्रेसन क्याम्प मभित्र जीवित रहोस् । म त्यो यातना बिर्सन चाहन्नँ । म रोगी छु र रोगी हुनुको कारण के थियो भन्ने मलाई देख्नेहरूले थाहा पाऊन् ।’)

(यस्तै रोग पालेर म पनि हिँडिरहेको छु । थाहा छैन, कुन कन्सन्ट्रेसन क्याम्पले मलाई मनोरोग थपिदियो, जे कुरा पनि भेला पार्ने ! सम्भवतः पूरै देश असविज छ र यहाँका शासक हिटलर ! अथवा, पिरामिडीय यातना गृह यहाँ हर क्षेत्रमा छन् । तिनैले मलाई यस किसिमको मनोरोगी बनाएको हुनसक्छ । देख्नेले चिन्छन्, विचरो मनोरोगी छ ! त्यत्ति बुझिदिए मलाई पुग्यो ।)

खैर, सन् १९२२ को फेब्रुअरीमा रिडर्स डाइजेस्टको प्रथम अङ्क निस्किएको थियो । निराशा र नकारात्मकताले घर गरेको बेला यो म्यागेजिन डेविट वालेस र उनकी पत्नी लीला बेल वालेसले निकाल्न थालेका थिए । यो एउटा फिल गुड म्यागेजिन थियो । छरपष्ट भएका सुन्दरतम कथा र चिजबिज राखेर निकालिने यो म्यागेजिन त्यसताका नयाँ सोचको भएकाले तुरून्तै लोकप्रिय पनि भयो । खासगरी त्यसबखत अमेरिकामा छाएको महामन्दी, जसलाई ग्रेट डिप्रेसन पनि भनिन्छ, त्यस्तो बेलामा यस म्यागेजिनले केही आशा दिएकाले पनि यो चलेको हुँदो हो ।

डेविट प्रथम विश्वयुद्धमा घाइते सैनिक भएकाले उनलाई निराशा रोग हो र यसले मानिसको ऊर्जा सिध्याउँछ भन्ने थाहा थियो । त्यसैले मल्हमजस्तो केही चिज उनी निकाल्न चाहन्थे । उनले स्कुले शिक्षा पूरा गर्न सकेनन् । आफूले उच्च शिक्षा लिन नपाएको झोंकमा यति धेरै पढे कि ती पढेका राम्रा कुराहरू खाँदखुँद गरेर रिडर्स डाइजेस्ट निकाल्न थालेका थिए ।

सन् १९४० को दशकमा रिडर्स डाइजेस्टभन्दा बढी छापिने बाइबल मात्र हुने गर्थ्यो भनेर यो कम्पनीले (अझै) गर्व गर्ने गर्छ । (घिउ खाएको धाक !)

पत्रिकाको लोकप्रियतासँगै यो संसारका ७० मुलुकमा २१ स्थानीय भाषामा निस्कने गरेकामा अचेल यो खुम्चिएर ४३ वटा देशमा १० भाषामा अझै पनि निस्किरहेको छ । गएको फेब्रुअरीमा यसले प्रकाशन शुरू भएको सय वर्ष पूरा गर्यो । सय वर्षे केही विशेषाङ्क निकाल्लान् भन्ने मैले सोचेको थिएँ तर फासफुसे अङ्क निकालेर सय वर्षे उत्सव मनाएछन् । मलाई पनि किन्ने जाँगर चलेन ।
जब पत्रिकाले पाठकलाई लटपट पार्न थाल्छन्, पाठकले पनि पिठ्यूँ देखाइदिन्छन् । मैले नि, यस पल्ट विशेष अङ्क नकिनेर पिठ्यूँ देखाइदिएँ, लौ जा त !

रिडर्स डाइजेस्टको बेलायती संस्करण मे महिनादेखि बन्द भएको छ । पहिलो पटक १९३८ मा बेलायतमा पहिलो पटक प्रकाशन शुरू भएको थियो । पछिल्लो समय प्रिन्ट म्यागेजिनको घट्दो बजारका कारण बेलायती संस्करण बन्द भएको छ । बेलायतमा यो पत्रिकाले आफ्नो गौरवपूर्ण प्रिन्टका ८६ वर्ष बितायो ।

श्यामश्वेत तस्बिरमा रिडर्स डाइजेस्टका संस्थापक लोग्नेस्वास्नी

सन् १९५० को दशकमा अमेरिकामा यो यति लोकप्रिय थियो कि आफ्नो लोकप्रियताको भरमा ठूला चुरोट कम्पनीसँग यसले पङ्गा लिएको थियो र विज्ञापनमा लेख्थ्यो, चुरोट नखानोस्, यसले फोक्सोको क्यान्सर हुन्छ ।

सन् १९३८ मा बेलायती संस्करण निकाल्न थालेपछि संसारभर यसका ५० संस्करण निस्कन्थे । संसारकै सबैभन्दा बढी बिक्री हुने म्यागेजिनका रूपमा यो प्रसिद्ध भयो । सन् १९७० को दशकमा त यो पत्रिकाका १ करोड ७० लाख ग्राहक थिए अमेरिकामा । बेलायतमा त्यो बेला २० लाख बिक्री हुन्थ्यो । सन् २००० सम्म आइपुग्दा यसका ११ लाख ग्राहक थिए । सन् २०१६ सम्म आइपुग्दा त्यो झरेर १ लाख ६ हजारमा पुगेको थियो ।

तापनि संसारभर अझै पनि एक करोडप्रति संसारभर बिक्री हुन्थ्यो । पछि भने कम्पनीले आफ्नो पत्रिका कति बिक्री हुन्छ भनेर सुनाउनै छाडेको थियो ।

रिडर्स डाइजेस्टको बेलायती संस्करण बन्द हुनु भनेको एउटा युगको अन्त्य हो । समग्र अखबारकै बिक्री घटिरहेका बेला यस्ता विशेष किसिमका कन्टेन्ट पस्किरहेका पत्रिका भने चलिरहेकै थिए । पछिल्लो डिजिटल उभारका बेलामा बेलायती रिडर्स डाइजेस्टले आफूलाई तुलनात्मक रूपमा अल्छ्याहा पत्रिका प्रमाणित गरिरहेको थियो । जब नोस्टाल्जिया पुस्ता सकिन थाल्यो, पत्रिकाको भविष्य पनि सकियो । उसले नयाँ पुस्तालाई पछ्याउन सक्नुपर्थ्यो । त्यो गर्न नसक्दा पत्रिकाको भविष्य नै चौपट भयो ।

अमेरिकी रिडर्स डाइजेस्टको अवस्था पनि खासै गतिलो छैन । मूल कम्पनीले पत्रिका धान्न नसकेपछि एउटा प्राइभेट इक्विटी फन्डलाई बेचिएको थियो ।
कहिलेकाहीँ सोच्छु… हरेक कुराको अन्त्य छ ।

(५)

एक दिन एउटा स्टार्टअप चलाइरहेको साथीले मलाई भन्यो, ‘मैले तलब नलिएको कति धेरै भइसक्यो । कर्मचारीलाई तलब दिँदा दिँदा आफ्नो भागमा केही पर्दैन ।’

‘तलब किन नलिएको त ?’ मैले सोधेँ ।

‘उनीहरूलाई दिँदा दिँदा केही बाँकी रहँदैन,’ उसले भन्यो ।

‘अनि तलब नलिएको तिमीले कर्मचारीलाई पनि सुनाउँछौ ?’ मैले फेरि सोधेँ ।

उसले भन्यो, ‘अँ, कहिलेकाहीँ ज्यादै तनावका अवस्थामा म उनीहरूलाई सुनाउँछु ।’

एलन मस्क/ तस्बिरः रोयटर्स

मैले भनेँ, ‘स्वइच्छाले नलिनु आफ्नो ठाउँमा छ । त्यो तिम्रो छनोट हो, बाध्यता होइन । मैले तलब लिइनँ भनेर गर्व गर्नु चैँ वाहियात हो । तलब बाँडेरै पैसा सकिन्छ भने त्यो व्यवस्थापनको कमजोरी हो । त्यो कमजोरी कर्मचारीमा थोपर्नु वा मैले आफूले तलब नलिएर तिमीहरूलाई दिइरहेको छु जताउनु मूर्खता हो । यसमा गर्व गर्नुपर्ने भन्दा पनि व्यवस्थापनमा तिम्रो कमजोरीको द्योतक हो ।’

यो जवाफपछि साथी रिसायो । अहिलेसम्म मसँग बोलेको छैन ।

मलाई यो कुराको सम्झना किन आयो भने, एक पटक म इलन मस्कको समाचार पढ्दै थिएँ । उसले आफूले तलब नलिएको कुरा बताइरहेको थियो । अर्बपतिहरूले तलब लिँदैनन् । तलब उनीहरूको चासोभित्र पर्दैन । त्यसको साटो उनीहरूले प्याकेज लिन्छन् । सेयरका रूपमा पाइने त्यस्ता प्याकेजको मोल करोडौँमा हुन्छ ।

अमेरिकाको डेलावेर अदालतले सन् २०१८ देखि मस्कले पाउनुपर्ने सेयर प्याकेजमा चासो दिँदै त्यो अपारदर्शी भएको भन्दै रोकिदिएको थियो । त्यो प्याकेजको मोल ५५.८ अर्ब रहेको छ ।

त्यत्रो रकम किन दिएको भनेर अदालतले सोधेको होइन, दिने प्रक्रिया पारदर्शी भएन भनेर रोकिदिएको थियो । त्यसमाथि कम्पनीको सेयर मूल्य घटेको घट्यै छ । १० प्रतिशत कर्मचारी कटौतीमा परेका छन् । मानौँ, टेस्ला कम्पनी घाटामा छ भने पक्कै पनि मस्कले त्यत्रो रकम लिन मिल्दैन । त्यो अनैतिक बन्न जान्छ । कर्मचारीले तलब पाएनन् भने प्रमुख कार्यकारी भएर मैले पनि तलब लिएको छैन भनेर मस्कले मुख फुलाउन मिल्दैन ।

अदालतको फट्कारपछि कम्पनीले यो यो कारणले मस्कले यत्रो रकम लिन लागेको भन्ने ५०० पृष्ठको प्रतिवेदन बुझाएको छ । अब हेर्नु छ, अदालतले यी सारा प्रक्रियामा कस्तो निर्णय लिन्छ ।

तसर्थ, व्यवस्थापकको काम भनेको व्यवस्थापन गर्ने हो, सेलिब्रिटी हुने तर अव्यवस्थापनको नमुना बन्ने होइन । संसारलाई नैतिकताको पाठ सिकाउने मस्क आफू पनि नैतिक हुनुपर्छ भन्ने धारणा यहाँहरूलाई राखेँ ।

अब यो पढेपछि त्यो साथी मसँग फेरि रिसाउने होला 😃 !!