ग्लेन बुरोजले २५ वर्षे शाकाहार त्यागेर मांशाहारी जीवन रोजे । उनकी पत्नी एड्रियाले दोस्रो सन्तान जन्माएपछि जुन ऊर्जाहीन जीवन बाँचिरहेकी थिइन्, चिकित्सकीय सल्लाहबाटै मासु खान थालिन् । त्यसपछि जुन ऊर्जा उनमा देखियो, त्यसअघि ग्लेनले कहिल्यै देखेका थिएनन् । त्यसपछि ग्लेन पनि मांशाहारी भए । अहिले ग्लेन मांशाहारी जीवनको सकारात्मक पक्ष प्रचार मात्र गरिरहेका छैनन्, मासु पसल नै थापेका छन् । उनी आफूलाई ‘इथिकल बुचर’ मान्छन् । आफूले बेच्ने मासुमा ओमेगा ३ होस् भन्ने चाहन्छन् । घाँस खाएका, कुनै आधुनिक पशु औषधि नखुवाएका पशुको मासु मात्र उनी बेच्छन् ।
उनी त एउटा उदाहरण मात्र हुन् । पछिल्लो समय यस्ता इथिकल मांशाहारीको संख्या बढ्न थालेका छन् । ५२ वर्षे अभिनेता मार्टिन फ्रिम्यानले पनि ३८ वर्षे शाकाहारीपन त्यागेर मांशाहारी बनेका छन् । अचेल उनी मांशाहारी हुनुका फाइदा प्रचार गर्दै हिँडेका छन् ।
‘सर्लक’ तथा ‘द हबिट’ फिल्मका ५२ वर्षे यी अभिनेता पछिल्लो समय शाकाहारी मासुको विरोधी भएर निस्केका छन् । शाकाहारी मासु त्यस्तो मासुलाई भनिन्छ, जुन पशुहत्या नगरी कारखानामा बनाइन्छ । अचेल कारखानामा उत्पादन गरिने भेज-मासुको हल्ला निकै ठूलो छ । अमेरिकी सरकारले यसलाई सर्वसाधारणले प्रयोग गर्ने अनुमति दिइसकेपछि यसको चर्चा चुलिएको हो ।
अभिनेता मार्टिनको भनाइमा, यस्ता भेज-मासु खानु र मज्जाले भुटेका खान्की (अल्ट्राप्रोसेस्ड) खानु उस्तै रहेको बताउँछन् । ती दुवै स्वास्थ्यका लागि खतरा हुने हुनाले उमालिएको मासु वा कम पकाइएको इथिकल मासु खानु स्वास्थ्यका लागि लाभप्रद रहेको उनको भनाइ छ ।
त्यसो त मासुका बारेमा पक्ष र विपक्षमा लामो समयदेखि चर्चा हुँदै आएको छ । धेरैले पशुहत्या गरी खाइने मासुलाई निको मान्दैनन् । प्रख्यात गायक पल र उनकी पत्नी लिन्डा म्याकर्टनी शाकाहारी जीवन जिउँछन् । उनीहरू मासुको विकल्पमा प्रयोग गरिने तरकारीहरू खासगरी गेडागुडीमा जोड दिनुपर्छ भन्दै प्रचार गरिरहन्छन् । उनीहरूले त ‘मिट इज मर्डर’ कार्यक्रममा सहभागी समेत हुने गरेका छन् ।
पछिल्लो समय धेरैले शाकाहारी हुने धुनमा स्वास्थ्य बिगारिरहेको अभिनेता मार्टिन बताउँछन् । शाकाहारी हुने धुनमा उनीहरूले खारेका, तारेका भेज खान्कीमा जोड दिने गरेका र त्यस्ता खान्की मासुभन्दा खतरनाक हुने उनको बुझाइ छ ।
नक्कली मासु पनि तारेका र खारेका भेज जत्तिकै खतरनाक हुने उनको बुझाइ छ किनभने मासुमा जुन फाइबर हुन्छ, कारखानाबाट उत्पादित भेज मासुमा त्यस्ता फाइबरको अभाव हुन्छ । ती पोषिलो पनि हुँदैनन् । त्यस्तै भेज अल्ट्रा प्रोसेस्ड खान्की थोरै खाँदा चित्त बुझ्दैन र मान्छेले बढी खान्छ । जति बढी प्रोसेस्ड खान्की खायो, स्वास्थ्यलाई उति हानि गर्छ ।
त्यसैगरी तारेको भुटेको मासुहरूको अत्यधिक प्रयोग गर्दा आन्द्रासम्बन्धी क्यान्सर हुने प्रबल सम्भावना हुन्छ ।
त्यसो त अमेरिकामा कारखानामा उत्पादित विरूवाबाट बनाइने नक्कली मासु (वैकल्पिक मासु) प्रतिको जनताको रूचि ह्वात्तै घटेको छ । हिथर मिल्स नामक कम्पनीले यस्ता हरित नक्कली मासु उत्पादन गरेर बेच्न थालेको निकै भइसकेको छ । तर सर्वसाधारणको रूचि घटेका कारण यो कम्पनी नै घाटामा चल्न थालेको छ ।
यस्ता कुरामा मलजल गर्ने काम रब हब्सनजस्ता लेखकले पनि गरेका छन् । लेखक हब्सनले कसरी हरिया तरकारी, गेडागुडी, फलफूल र सागहरूको उपयोगले मासुको विकल्प दिन सक्छन् भनी पुस्तक नै लेखेका छन् । उनको ‘अनप्रोसेस योर लाइफः ब्रेक फ्रि फ्रम अल्ट्रा–प्रोसेस्ड फुड्स फर गुड’ निकै चर्चित बन्न पुगेको छ ।
उनले बजारमा गरिएका अनेक अनुसन्धानका आधारमा ‘अल्ट्रा प्रोसेस्ड फुड’ (एपिएफ)का बेफाइदा, नक्कली मासुको खतरा तथा मासुका विकल्पका बारेमा ९० वटा भन्दा खान्कीले दिने मानसिक तथा शारीरिक स्वास्थ्यका बारेमा चर्चा गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 





