अध्याय सोह्र
ऋण र ऋणी पैसा भनेको के हो ? रास्टिडियन डुङ्गाको ऋणबाट मुक्त छन्
नरोन्दा: एक दिन सात साथी र गुरु निद्राबाट ब्यूझिएर डुङ्गामा फर्किंदै थीए । त्यही बेला ढोकामा उभिएका शमदामले आफ्नो खुट्टासामु उभिएको मानिसको अगाडि एउटा कागजको टुक्रा हल्लाउँदै क्रोधित हुँदै यसो भने, “तिम्रो लापरवाहीले मेरो धैर्यता भङ्ग गरेको छ । अब म उदार हुन सक्दिनँ । कि त मेरो ऋण तिर ! नत्र जेलमा सड !”
हामीले त्यो व्यक्तिलाई चिन्यौँ । उसको नाम रास्टिडियन थियो । ऊ डुङ्गा भाडामा लिनेहरू मध्ये एक थियो । जो केही पैसाको लागि डुङ्गाको ऋणी थियो । ऊ उमेरको बोझले जति दबिएको थियो, त्यो भन्दा धेरै डुङ्गाको बोझले दबिएको थियो । उसले विनम्रताका साथ भन्न थाल्यो, ‘भर्खरै मैले मेरो एक मात्र छोरा र यी साता गाई पनि गुमाएको छु । यही शोकले मेरी वृद्ध श्रीमतीलाई पक्षाघात भएको छ । त्यसै कारण मलाई ऋण लागेको छ । कृपया मलाई ऋण तिर्ने मौका डेऊ । तर शमदामको मन पग्लेन ।
यो देखेर गुरु रस्टिडियन तर्फ गए । बिस्तारै उनको हात समातेर भने,
मिर्दाद: उठ, मेरो रास्टिडियन ! तिमी पनि ईश्वरको रूप हौ । ईश्वरको रूपलाई कुनै छायाको सामु झुक्नु पर्दैन ।
त्यसपछि शमदामतिर फर्केर भने,
मलाई ऋणको कागजात देखाऊ ।
नरोन्दा: केही बेर अघि मात्रै रिसाएको शमदामले भेडाभन्दा निकै आज्ञाकारी भएर चुपचाप आफ्नो हातमा रहेको कागज गुरुलाई दिएको घटनाले हामी सबैलाई चकित बनाएको छ । गुरुले कागज लिएर निकै बेर जाँच गरे । शमदाम केही नबोली स्तब्ध भएर हेरिरह्यो । मानौँ उसमाथि कुनै जादू छाएको छ ।
मिर्दाद: यो डुङ्गाको संस्थापक साहूकार थिएन । के उसले तिमीलाई पैसा उधारो दिने र व्याज लिने नियतले छोडेको हो ? के उसले तिमीलाई चल सम्पत्ति छोड्यो ? जसकारण तिमीले यसलाई व्यापारमा प्रयोग गर्न सकेको होस्, वा जग्गा भाडामा दिएर अन्न जम्मा गर्न सकेको होस् ? के उसले तिम्रा दाजुभाइको रगत र पसिना तिमीलाई सुम्पेका हुन् ? जसको लागि तिमीले निकै परिश्रम गर्यौ । जसको रगतको अन्तिम थोपासम्म चुस्यौ । के यस्तै मानिसहरूलाई कैद गर्ने उद्देश्यले जेल बनेको हो ?
उहाँले तिमीहरूलाई एउटा डुङ्गा, एउटा वेदी र ज्वाला दिनुभयो । अरू केही हैन । डुङ्गा जो उहाँको जीवित शरीर हो । वेदी जो उहाँको निडर हृदय हो । ज्योति जो उहाँको जलिरहेको विश्वास हो । अनि उहाँले तिमीलाई यस संसारमा यी तीनलाई सधैँ सुरक्षित र पवित्र राख्न आदेश दिनुभएको थियो । अविश्वासको कारण मृत्युको तालमा नाचेर, आस्थाको अभावमा अन्यायको दलदलमा फसेको यो संसारले तिमीलाई व्यावहारिक र शुद्ध रहन आज्ञा दियो ।
शरीरको हेरचाहले तिम्रो आत्मालाई विचलित नगर्न सक्छ । तिमीलाई भक्तहरूको दानमा जीवन निर्वाह गर्न अनुमति दिइयो । डुङ्गा स्थापना भएदेखि परोपकारको कमी कहिल्यै भएको छैन ।
तर हेर त ! तिम्रो दान अब श्रापमा परिणत भएको छ । आफ्नो र परोपकारी दुवैको लागि अभिशाप बनाएका छौ । दाताहरूले दिएको उपहार मार्फत मात्र तिमीले उनीहरूलाई आफ्नो नियन्त्रणमा ल्याउनेछौ । उनीहरूले तिम्रो लागि कात्ने धागोबाट तिमीले उनीहरूलाई कोर्रा लगाऊ । उनीहरूले तिम्रो लागि बुनेको कपडाले उनीहरूलाई नै नाङ्गो पार । उनीहरूले तिम्रो लागि पकाएको रोटीले उनीहरूलाई नै भोको राख्न सक्छौ । उनीहरूले तिमीहरूका लागि काटेर बनाएको ढुङ्गाहरूद्वारा उनीहरूका लागि तिमीले जेलहरू बनाउछौ । उनीहरूले तिमीलाई न्यानोपनको लागि दिएका काठबाट उनीहरूका लागि तिमी जुवा र कफिनहरू बनाउछौ । तिमीले उनीहरूलाई आफ्नै रगत र पसिना ब्याजमा फिर्ता दिन्छौ ।
जनताको रगत र पसिनाको पैसा बाहेक अरु के नै छ र ? ठगहरूले जनतालाई बन्धक बनाउन साना ठूला सिक्का बनाएका छन् । जनताको रगत र पसिना बाहेक अरू के धन छ ? जो ती धूर्त मानिसहरूले जम्मा गरेका छन् । जसले थोरै पसिना बगाउँछन्, जसले गर्दा उनीहरू सबैभन्दा बढी पसिना बगाउनेहरूलाई कुल्चन सक्छन् ?
धिक्कार छ ! जो आफ्नो मन र बुद्धि बर्बाद गर्नेहरूका लागि आफ्नो जीवन धन जम्मा गर्नमा बिताउँछन् । उनीहरूलाई थाहा छैन कि उनीहरू के जम्मा गरिरहेका छन् ?
वेश्या, हत्यारा र चोरहरूको पसिना । क्षयरोग, कुष्ठरोग र पक्षाघात भएका बिरामीहरूको पसिना । अन्धाको पसिना । लङ्गडा र कमजोरहरूको पसिना । किसान र उसको गोरुको पसिना । गोठालो र उसको भेडा, बाली लगाउने र बाली काट्नेको पसिना । यी सबै धेरै भन्दा धेरै धन जम्मा गर्नेहरूले जम्मा गर्छन् ।
अनाथ र दुष्टहरूको रगत । तानाशाह र शहीदहरूको रगत । दुष्ट र न्यायीहरूको रगत । लुटेराहरू र लुटिएकाहरूको रगत । जल्लादहरू र तिनीहरूका हातमा मरेकाहरूको रगत । शोषक र ठगी गर्नेहरूको रगत । तिनीहरूद्वारा शोषण र ठगी गर्नेहरूको रगत लगायत अरू धेरै रगत पनि सम्पत्ति जम्मा गर्नेहरूले नै जम्मा गर्छन् ।
धिक्कार छ तिनीहरूलाई ! जसको धन र व्यापार जनताको रगत र पसिना हो । रगत र पसिनाले अन्ततः आफ्नो मूल्य तिर्नेछ । त्यो मूल्य भयानक हुनेछ । यसको उधारो पनि भयानक नै हुनेछ ।
ऋण ! त्यो पनि ब्याजमा ! यो साँचो कृतघ्नता हो । यति लाजमर्दो कि यसलाई माफ गर्न सकिदैन ।
तिमीसँग ऋण दिन केही छ ? तिम्रो जीवन आफैमा उपहार होइन र ? यदि ईश्वरले तिमीलाई आफ्नो सबैभन्दा सानो चीज उपहार दिएबापत ब्याज लिन थाले भने तिमी के तिर्छौ ?
के यो संसार एउटा संयुक्त खजाना होइन ? जसमा हरेक मानिसको साथै हरेक चीजको पालनपोषणको लागि सबथोक जम्मा हुन्छ ।
के रानी चरीले तिमीलाई आफ्नो गीत र झरनाले उसको स्वच्छ पानी दिन्छ ?
के बगरले आफ्नो छाया र खजूरले आफ्नो मह मिसाएको फल दिन्छ ?
के भेडाले आफ्नो ऊन र गाईले ब्याजमा दूध दिन्छ ?
के बादलले आफ्नो वर्षा र सूर्यलाई यसको ताप र प्रकाश बेच्छ ?
यी लगायत हजारौँ चीजबिना तिम्रो जीवन कस्तो हुनेछ ? अनि तिमीहरूमध्ये कसले भन्न सक्छ कि कुन व्यक्तिले संसारमा आफ्नो ढृकुटी सबैभन्दा बढी जम्मा गरेको छ ? कुनले सबैभन्दा कम जम्मा गरेको छ ?
शमदाम ! के तिमी डुङ्गाको कोषमा रास्टिडियनको योगदान गणना गर्न सक्छौ ? तैपनि तिमीले उसलाई उसको योगदान फिर्ता दिनुहुन्छ । सायद उसको योगदानको एउटा सानो अंश मात्र । ऋणको रूपमा ब्याज पनि मागेर अझै पनि उसलाई जेल पठाएर त्यहाँ सडाउन चाहन्छौ ?
रास्टिडियनबाट के चासोको माग गर्छौ ? तिम्रो ऋणले उसलाई कति फाइदा पुर्यायो, देख्न सक्दैनौ ? मरेको छोरो, मरेको गाई र पक्षाघाती श्रीमती ! यो भन्दा राम्रो भुक्तानी के चाहियो र ? यस्तो झुकेको पीठमा अझ फोहोरी लात ? यो भन्दा बढी ब्याज के लिन सक्छौ ?
ए शमदाम आँखा मिच ! अब जाग । तिमीलाई पनि ब्याजसहित ऋण तिर्न भनियोस् । असफल भएमा कारागारमा तानेर सड्नको निम्ति छोडियोस् ।
साथीहरू सबैलाई म यही भन्छु । आफ्नो आँखा मिच । जाग ।
जब तिमी सक्छौ दिनू । तर ऋण कहिल्यै नदिनू । नत्र तिमीसँग भएका सबै चीज लगायत तिम्रो जीवन पनि ऋण बन्नेछ । ऋण तिर्ने समय छिट्टै आउनेछ । तिमी निर्धन भएपछि जेलमा पर्नेछौ ।
नरोन्दा: गुरुले हातमा समातेको कागजलाई फेरि हेरे र केही सोचेर टुक्रा टुक्रा पारेर हावामा छरिदिए । त्यसपछि हिम्बल तर्फ फर्केर, जो डुङ्गाका कोषाध्यक्ष थिए । उनले भने,
मिर्दाद: रास्टिडियनलाई दुईवटा गाई किन्न र जीवनभर आफ्नो र आफ्नी श्रीमतीको हेरचाह गर्न पर्याप्त पैसा देऊ ।
रास्टिडियन ! तिमी शान्त भएर जाऊ । तिमी आफ्नो ऋणबाट मुक्त छौ । ध्यान दिनू कि तिमी कहिल्यै ऋणी बन्दैनौ । किनकि, दिनेको ऋण लिनेको ऋण भन्दा निकै ठूलो र भारी हुन्छ ।
अध्याय सत्र
मिर्दाद विरुद्धको संघर्षमा शमदामले घूसखोरीको सहारा लिन्छन् ।
नरोण्दा : धेरै दिनसम्म रास्टिडियनको मुद्दा डुङ्गामा चर्चाको मुख्य विषय बनेको छ । मिकायन, मिकास्टार र जमोराले उत्साहका साथ गुरुको प्रशंसा गरे । जमोराले आफूलाई पैसा हेर्न वा छुन पनि घृणित भएको बतायो । बैनून र अविमारले चुपचाप आफ्नो सहमति र असहमति व्यक्त गरे । तर हिम्बलले पैसा बिना संसार कदापि चल्न नसक्ने भन्दै यसको स्पष्ट विरोध गर्यो । कम खर्च र परिश्रमको लागि धन भनेको ईश्वरको उचित पुरस्कार हो । गरिबी अल्छी र बेकारको खर्च ईश्वरको प्रत्यक्ष दण्ड हो । ऋण र ऋणी यो संसारको अन्त्यसम्म रहने पनि उहाँले बताए ।
यस अवधिमा शमदाम प्रमुखको रूपमा आफ्नो प्रतिष्ठा सुधार्न व्यस्त थिए । उसले एक पटक मलाई उहाँकहाँ बोलायो । आफ्नो कोठाको एकान्तमा मलाई भन्यो,
“तिमी यो जहाजको लेखक र इतिहासकार हौ । तिमी एक गरिब मानिस्को छोरो हौ । तिम्रो बुवाको कुनै जग्गा छैन । तर सात छोराछोरी र श्रीमती छन् । जसको लागि उसले काम गर्नुपर्छ । उनीहरूको न्यूनतम आवश्यकताहरू पूरा गर्नुपर्छ । यो दु:खद घटनाको एक शब्द पनि नलेख्नू । नत्र हाम्रो पछि आउने मानिसहरूले शामदामलाई हाँसोको पात्र बनाइदिनेछन् । तिमीले यो पतित मिर्दादलाई छोडिदिनू । म तिम्रो बुवालाई जग्गाधनी बनाउँछु । उसको गोदाम भरेर सुरक्षित राख्छु ।”
मैले जवाफ दिएँ कि शमदामले भन्दा ईश्वरले मेरो बुवा र उनको परिवारको राम्रो हेरचाह गर्छन् । जहाँसम्म मिर्दादको कुरा छ । मैले उसलाई मालिक र मुक्तिदाताको रूपमा स्वीकार गरेको छु । उसलाई छोड्नु अघि बरू आफ्नो जीवन नै त्याग गर्नेछु । डुङ्गाको इतिहास इमान्दारीपूर्वक बुझाइ र क्षमता अनुसार लेख्नेछु ।
पछि मलाई थाहा भयो कि शमदामले आफ्ना प्रत्येक सहकर्मीलाई यस्तै प्रस्तावहरू राखेका थिए । तर म कति सफल भएँ भन्न सक्दिनँ । हो, हिम्बल पहिले जस्तो नियमित गुफामा नआएको पनि प्रस्टै देखियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।