ल्याटिनका सर्वश्रेष्ठ कवि भर्जिल १५ अक्टोबर ७० इ.पू. मा रोमको मन्टुआ नगर नजिकै अन्डेज भन्ने ठाउँमा जन्मेका थिए। खेतमा काम गर्न गएकी उनकी आमालाई सुत्केरी व्यथा लागेर रोमेलीहरूका पुजनीय कवि भर्जिल खेतमै जन्मेका थिए भनिन्छ । उनका बाबु सामान्य आर्थिक अवस्था भएका निम्नवर्गीय किसान थिए । भर्जिलले केमोना र मिलनमा आफ्नो स्कुले शिक्षा पूरा गरे । १६ वर्षका भएपछि दर्शनशास्त्र र साहित्यको अध्ययन गर्न उनी रोम गए। भर्जिलको सानो खेतीमा पनि सरकार लागेपछि उनको घर फर्कने बाटो रहेन। पछि उनको परिवारलाई सरकारले पर्याप्त क्षतिपूर्ति दिएपछि उनी कविको रूपमा सम्मानपूर्वक राजदरबारमा बस्न लागे ।

इ.पू. ३७ मा उनको एक्लोग्स (Eclogues) नाउँको ग्रामीण कविताहरूको सङ्ग्रह प्रकाशित भएपछि उनी सफल देखिए। त्यसको ७ वर्षपछि जोर्जिक्स (Georgics) अथवा खेती गर्ने कला नाउँको प्रसिद्ध काव्यकृति चार ठेलीमा प्रकाशित भयो । यस कृतिमा भर्जिलले खेतीपाती, हरिया चउरहरू, हिमाच्छदित पहाड, रमणीय प्राकृतिक दृश्य र पशुपक्षीको वर्णन अत्यन्त सुन्दर ढङ्गले गरेका छन् । नेपल्समा डेरा र नोला नजिकैको एक गाउँमा उनको एउटा घर पनि थियो ।

मृत्युभन्दा एघार वर्षअघि भर्जिललाई रोमका सम्राटबाट रोमका निर्माता मानिने ट्रोजन बारे एउटा महाकाव्य तयार गर्ने आदेश भयो। सोही बमोजिम उनले विश्व सुन्दरी हेलेनको निम्ति भएको ट्रोइको युद्धको वर्णन गर्दै ल्याटिन भाषामा एनेइड (Aeneid) महाकाव्य तयार गरेका थिए। यो कृति बाह्र ठेलीमा प्रकाशित भयो । यस कृतिले जुलियन बंश (अगस्ट्स यस बंशका प्रमुख मानिन्छन्) को गौरवगाथा प्रस्तुत गरेको छ । एनेइड लेखी सकेर भर्जिल ग्रीस र एथेन्सको भ्रमण गर्न भनी हिँडे, तर एथेन्समा पुगेपछि उनी बिमारी भए। बेथा बढ्‌दै गएपछि एथेन्सबाट उनी फर्के र ब्रुन्डिसिउम आइपुगेपछि क्राइस्टपूर्व १९ को सेप्टेम्बर २१ मा उनको मृत्यु भयो। उनको इच्छा बमोजिम उनको शव नेपल्समा पोज्जुअली जाने बाटाको छेउमै गाडियो । धेरै वर्षपछि उनको चिहानमा मानिसले पुजा गर्न थाले ।

उनी साहै इमान्दार, कोमल स्वभावका र मीठो बोली भएका कवि थिए। त्यसैले उनका मित्र होरेस उनको ज्यादै प्रशंसा गर्दथे । भर्जिलको जीवनकाल देखिनै उनका कृति ल्याटिनका महत्त्वपूर्ण ग्रन्थ मानिँदै आएका छन् । तिनको काव्यात्मक सौन्दर्य अझै पनि उत्तिकै जीवन्त मानिन्छ । तेस्रो शताब्दीदेखि उनका कृति पवित्र पुस्तकको रूपमा पुजिन्छन् । इटालेली महाकवि दान्तेले आफ्नो विश्वविख्यात कृति दैवी सुखान्त नाटक को रचनामा भर्जिलललाई आफ्ना गुरु थापेका थिए। यसैबाट पनि उनको महानता स्पष्ट हुन्छ ।