मेलेनी क्यान्टरले उपन्यास लेखेर चर्चा कमाउने सपना देखेको निकै वर्ष भयो । खासगरी ४० वर्षयता त उनले उपन्यास लेख्न निकै प्रयत्न गरिन् । ६१ वर्षको उमेरमा बल्ल उनको पहिलो उपन्यास प्रकाशित भयो भने ६६ वर्षको उमेरमा दोस्रो उपन्यास बजारमा आएको छ ।
एक दशकभन्दा लामो नियमित प्रयास, चार वटा अप्रकाशित उपन्यास, सयौँ पटक विभिन्न प्रकाशकहरुबाट प्राप्त गरेका अस्वीकृतिका चिठ्ठीका बाबजुद उनले लेख्ने प्रयास भने छाडिनन् ।
सन् २०१९ मा बल्लतल्ल मेलेनीले एउटा लिटररी एजेन्ट फेला पारेकी थिइन् । फेलिसिटी ब्लन्ट नामक ती एजेन्टले सोचेकी थिइन्, ‘यति धेरै पटक अस्वीकृति झेलेकी उनले मलाई एजेन्टका रुपमा नियुक्ति गर्न अलि झिँजो मान्ने होलिन् तर उनी झट्ट तयार भइन् ।’
सन् २०२० मा मेलेनीको पहिलो उपन्यास ‘लाइफ एन्ड अदर ह्याप्पी इन्डिङ्स’ छापिएको थियो ।
उनका बा चित्रकार थिए तर आफू चित्रकार हुने सपना कहिल्यै पालिनन् । बरु उनले १५ वर्षको उमेरदेखि गितार बजाइन्, गीत फुराइन्, विद्यालय पनि पढाइन् । त्यसबाट पनि दिक्क भएपछि उनले एउटा नाट्य संस्थाको लागि काम गरिन् । केही नाटक निर्देशक र कलाकारको सहायक भएर पनि काम गरिन् ।
सन् २००८ मा उनी त्यसबाट पनि दिक्क भइन् र जीवनमा नयाँ बाटो खोज्न थालिन् । साथीभाइले ५० वर्षको उमेरमा शुभकामना दिँदै गर्दा उनलाई भने जीवनको समीक्षा गर्न मन लाग्यो । ‘जीवनभर मैले अरुका लागि काम गरेछु,’ अहिले लेखकका रुपमा चिनिन पाउँदाको खुसी साट्दै गार्डियन पत्रिकासँग मेलेनी भन्छिन्, ‘अब मैले आफ्ना लागि काम गर्न ढिला भयो भन्ने लाग्यो र म लेखनतर्फ मोडिएँ ।’
त्यसो त लेखक हुने हुटहुटी उनमा यति थियो कि सन् २००१ मा नै उनले आफ्नो उपन्यासको पहिलो ड्राफ्ट लेखेर सिध्याएकी थिइन् । आफू किशोरी छँदै सोेचेको कथालाई उपन्यासको आकार दिन उनलाई सकस भयो ।
यसको कयौँ वर्षपछि सन् २००८ मा उनी पुनः लेखनमा सक्रिय हुनेबारे सोच्दै गर्दा अक्सफोर्ड विश्वविद्यालयको छोटो लेखनकला प्रशिक्षणमा सामेल भइन् । यो छोटो प्रशिक्षणले उनको आँखा खोलिदियो । वास्तवमा उनी अरुजस्तो लेख्न जान्ने रहिनछिन् । आफू लेख्न सक्छु भन्ने भ्रममा रहेको पत्तो पाएपछि उनले मेरो खुबी केमा छ भन्ने खोज्न थालिन् ।
‘मेरो लेखाइमा केही हास्यपुट रहेछ,’ उनले आफू लेखकमा परिणत हुँदाको क्षण सम्झँदै भनिन्, ‘केही लिटररी एजेन्टहरुसँग भेट्दा उनीहरुले आफ्नो पहिलेको कामका अवसरमा भेटेका केही सेलिब्रिटीसँगको सरसंगतबाट जानेबुझेका कुरा लेख्न सुझाए ।’
उनले केही ड्राफ्ट पनि लेखिन् । हार्पर कोलिन्स नामक प्रकाशकले त उनलाई झन्डै लेखिका नै बनाइसकेको थियो तर प्रकाशकको नजरमा त्यो बिक्रीयोग्य उपन्यास नरहेको पाएपछि उनलाई त्यागिदियो । प्रकाशकले दिएको काम पनि फत्ते गर्न नसकेको पीडाले उनलाई भित्रैबाट हल्लाइदियो । त्यसपछि उनी एक जना लिटररी एजेन्ट खोज्दै पुगिन् । तिनै एजेन्टले उनलाई यस्ता असफलताले नै सफलतासम्म पु¥याउने भन्दै हौस्याइन् । त्यो हौसाईले नै उनलाई लेखक नबनुञ्जेलसम्म संघर्ष गर्नसक्ने आँट दिलायो ।
उनी हरेक दिन लेख्थिन् । लेख्दा उनलाई यति मजा आउन थाल्यो कि उनका पात्र, परिवेश र विषयवस्तुले उनलाई ध्यानस्थ बनाउँथ्यो । उनलाई समय बितेको पत्तै हुन छाड्यो । लेखेका कुरा उनले एजेन्टलाई पठाइन् तर एजेन्टले उनलाई साह्रै गतिलो लेख्न नसकेको प्रतिक्रिया दिन्थे ।
साह्रै भएन भनेपछि एक जना सम्पादक नियुक्त गरिन् र पहिलो उपन्यासको ड्राफ्ट तयार भयो । ‘लाइफ एन्ड अदर ह्याप्पी इन्डिङ्स’को अन्त्य निकै नराम्रो भयो किनभने कोरोना भाइरसले त्यही बेला संसार ठप्प भयो । उनले उपन्यास प्रचार गर्ने कुनै अवसर पाइनन् ।
यतिबेला उनको दोस्रो उपन्यास ‘द फकलिस्ट’ बजारमा आएको छ । ४० वर्षकी एउटी अविवाहित महिलाले आमा बन्न गरेको प्रयासको कथालाई पेन्गुइनले यही साता बजारमा ल्याएको छ ।
उमेरमा ६६ वर्षकी मेलेनी भन्छिन्, ‘६१ वर्षको उमेरमा मेरो पहिलो उपन्यास छापियो । ६६ वर्षको उमेरमा दोस्रो उपन्यास बजारमा आउँदैछ । धेरैले बुढी भइस् भन्लान् तर मनले रोजेको काम गर्न कहिल्यै बुढी भइन्न ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।