भारतका युवापुस्ताका प्रख्यात उपन्यासकार चेतन भगतले यतिबेला उपन्यासको साटो एउटा सेल्फहेल्प पुस्तक लिएर आएका छन् । जीवनका लागि ११ सूत्र अर्थात् एलेभेन रूल्स फर लाइफ नामक पुस्तक निस्किएलगत्तै यसको पक्ष र विपक्षमा हल्ला शुरू भएको छ ।

इन्डिया टुडेको नवीनतम अङ्कमा उनको छोटो वार्ता प्रकाशित भएको छ । म्यागेजिन सोध्छः के कुराले तपाईंलाई यो पुस्तक लेख्न प्रेरित गर्यो ?

अहिलेको नयाँ पुस्तालाई कसरी जीवन बाँच्ने भन्ने दिशा निर्देश चाहिएको छ । उनीहरूमा यसबारे ठूलो चासो छ । हामी साह्रै नै दिग्भ्रमित पार्ने समयमा बाँचिरहेका छौँ । आँखा झिमिक्क पार्नेबित्तिकै हाम्रो समय चोरिन्छन् । हाम्रो ध्यान भड्किएको छ । लक्ष्य एकै छिनमा भाँडिन समय लाग्दैन । मेरालागि अर्को एउटा रोमान्टिक उपन्यास लेख्न समय लाग्ने थिएन । तर युवापुस्तालाई अहिले के चाहिएको छ भन्ने कुरालाई मनन् गर्दै यो सेल्फहेल्प पुस्तक लेखेको हुँ । साथै, म के पनि भन्न चाहन्छु भने यो लेख्दा मैले उपन्यास लेखे जत्तिकै रमाइलो महसुस गरेँ ।

जीवन बाँच्नका लागि नियम नै किन चाहियो ?
वास्तवमा हामी साह्रै न्यूनतम जीवन बाँचिरहेका हुन्छौँ । हाम्रो क्षमताभन्दा कमत्तर जीवन रोजिरहेका हुन्छौँ । खासमा हामी कहिल्यै पनि हाम्रो सबैभन्दा उच्चतम क्षमतामा काम गर्न सकिरहेका हुँदैन । बिहान सही समयमा उठ्न सक्दैनौँ, न त करियरमा नै केही चाहिँदो प्रगति गर्न सकेका हुन्छौँ । यस्तो किन हुन्छ त ? किनभने, हामीले हाम्रो जीवनमा जस्तो गरी बाँच्नुपर्ने हो, त्यो छान्दैनौँ । यी ११ सूत्र लाई तपाईंले साँच्चिकै पछ्याउनु भयो भने जीवनमा दिशा त पाउनु हुन्छ नै बाँच्नुको वास्तविक उद्देश्य के हो भन्ने थाहा पाउनुहुन्छ । यी सूत्रले मलाई काम गरेको छ । मेरा पाठकलाई पनि पक्कै यी सूत्रले काम गर्लान् भन्ने लागेको छ ।

तपाईंले किताबको प्राक्कथनमा पढ्नुको महत्त्वका बारेमा लेख्नुभएको छ । हामीले किन पढ्ने बानी गुमाइरहेका छौँ होला ?
किनभने, पढ्नुभन्दा भिडियो हेर्नुमा बढी आनन्द छ । हाम्रो दिमाग त्यसरी नै बनेको छ । तर पढ्ने कुराले हाम्रो फोकस बढाउँछ । हाम्रो ध्यान केन्द्रित हुन्छ । हाम्रो कल्पनाशीलता बढाउँछ । गहिरो सिकाइका लागि पढ्नु सबैभन्दा उत्तम बाटो हो । जसरी जिमखाना जानु तपाईंका लागि धेरै राम्रो कुरा हो तर जान मन लाग्दैन, त्यसैगरी पढ्नु त्योभन्दा सुन्दर पक्ष हो तर तपाईंलाई यसमा मन मान्दैन । अहिलेसम्म जसले गहिरो प्रभाव पार्ने काम गरेको छ, उसले नै गहिरो गरी पढेको छ ।

अहिले नयाँ केमा व्यस्त हुनुहुन्छ ?
म एउटा प्रेमकथामा काम गरिरहेको छु । यो अलि गहिरो किसिमको प्रेमकथा हुनेछ । एउटा राम्रो सेल्फहेल्प किताब पढिसकेपछि मेरा पाठकका लागि पक्कै एउटा सुन्दर प्रेमकथा पढ्न मन लाग्ला । त्यसैले म त्यो लेख्न थालूँला । ११ रूल्स फर लाइफ किताबका कारण म अचेल प्रायः मोटिभेसनल स्पिकरका रूपमा व्यस्त हुन थालेको छु ।

चेतन भगत (भारतीय लेखक)