अति विकसित आर्टिफिसियल जेनरल इन्टेलिजेन्स (एजिआई)ले भविष्यमा फिल्म निर्देशनसमेत गर्न सक्ने भविष्यवाणी फिल्म निर्देशक जेम्स क्यामरूनले गरेका छन् ।
सन् १९८४ मा द टर्मिनेटर फिल्ममार्फत उनले स्काइनेट नामक आर्टिफिसियल इन्टेलिजेन्स नेटवर्कका कारण पृथ्वीमा आइपर्ने समस्याका बारेमा उनले फिल्म निर्देशन गरेका थिए ।
टाइटानिक र अवतारजस्ता फिल्मका निर्देशक क्यामरूनले भनेका छन्, ‘भविष्यमा आर्टिफिसियल जेनरल इन्टेलिजेन्स प्रणालीमा एउटा इगो (अहं) जन्मियो भने त्यसको चेतनाले ऊ कलाकार बन्न नसक्ला भन्न सकिन्न ।’
‘हामीले पनि त कला त्यो बेलादेखि नै जन्माएका हौँ जुनबेलादेखि हामीमा चेतना छिर्यो,’ उनी भन्छन्, ‘त्यसैले कुनै समयमा पुगेर एजिआईले फिल्मको पटकथा लेख्न सक्ला, फिल्म नै निर्देशन गर्न सक्ला अथवा उसलाई मनपर्ने अरू नै काम गर्न सक्ला । यसमा नसक्ला भन्न सकिन्न ।’
हलिउडमा यतिबेला एआई र हलिउडका युनियन (संगठनहरू)बीचको द्वन्द्व चलिरहेको छ । एकातिर हलिउडका फिल्म स्टुडियोहरू बढीभन्दा बढी एआई प्रयोग र नयाँ प्रविधि प्रयोग गर्न चाहन्छन् भने अर्कोतर्फ संगठनहरू भने बढीभन्दा बढी मान्छेकै कलाको सदुपयोग होस् भन्ने चाहन्छन् ।
यस किसिमको द्वन्द्व गत वर्ष फेब्रुअरीमा ओपन एआई नामक कम्पनीले च्याटजिपिटी सार्वजनिक गरेपछि र हालै यसले उच्च गुणस्तरको भिडियो सफ्टवेयर सोरा जारी गरेपछि अझ चर्किएको हो । सोराले त टेक्स्ट (अक्षरहरू) लेखिदिएकै भरमा अद्भुत दृश्यहरू फिल्माङ्कन गरेर दिने गरेको छ । यसका चुस्त दृश्य र तस्बिरहरूले सर्वसाधारणलाई मोहित नै बनाएको छ ।
यसका बाबजुद यो प्रविधिले अझै पनि मान्छेको जस्तो क्षमता विकास गरिनसकेको निर्देशक क्यामरूनले बताएका छन् । मोहित पार्ने तस्बिर र भिडियोले मात्र फिल्म तयार नहुने उनको टिप्पणी छ ।
तर पछिल्लो समय एआई प्रविधिको विकाससँगै फिल्म उद्योगका धेरै कामहरू सजिलो हुने, निर्देशकको काम सजिलो पारिने, छोटो अवधिमा धेरै सुटिङ गर्न सकिनेजस्ता सुविधा भएको उनले बताएका छन् । उनले सन् २०२२ मा रिलिज गरिएको अवतारः द वे अफ वाटर फिल्मका लागि ३५० मिलियन डलर र १३ वर्ष खर्चिएका थिए । सो फिल्मले संसारभरबाट १.५ अर्ब डलर कमाएको थियो ।
फाइनान्सियल टाइम्ससँगको कुराकानीमा उनले पैसाको खोलो बनाएर बनाइएको फिल्मले उसै गरी कुस्त पैसा कमाएको देख्दा आफूलाई खुसी लागे पनि धेरै लामो समयसम्म यस्तो कामले दर्शकलाई नबाँध्ने उनले चेताएका छन् ।
जेम्स क्यामरूनले बनाएका फिल्महरू अहिलेसम्म संसारकै बढी कमाउने १० फिल्ममध्ये तीन वटा सूचीमा परेका छन् ।
क्यामरूनलाई जीवनभर फिल्म र विज्ञान तथा प्रविधि मिसमास गरेर फिल्म बनाउने रहर लागिरह्यो । फिल्म प्रविधि बुझ्नकै लागि भनेर उनले संसारकै सबैभन्दा गहिरो समुद्र तह मरियाना ट्रेन्चमा पुगेर दशकौँ अध्ययन गरेका थिए । उनले पानीभित्र कसरी थ्रिडि फिल्म खिच्ने भनी त्यहीँ अनेकन् प्रयोग गरेका थिए ।
उनले नयाँ किसिमको थ्रिडि प्रविधिसमेत बनाएका थिए र पछिल्लो समय एप्पल कम्पनीले बजारमा ल्याएको भिजन प्रो हेडसेटले उनको प्रविधिलाई अझ विश्वव्यापी बनाउने अपेक्षा गरेका छन् । यसलाई अझ व्यापक बनाउन संसारका सबै प्रविधि कम्पनीलाई लाइसेन्स दिने बताएका छन् ।
उनले सोचेजस्तो भएमा संसारमा थ्रिडिको पुनर्जागरण हुने विश्वास गरेका छन् । एप्पल प्रविधिले जारी गरेको हेडसेटमा आधारित थ्रिडि कन्टेन्टका लागि उनले केही काम गरिरहेको बताए । आफ्नो प्रविधिले संसार बदल्ने वा कसैले पनि नपत्याउने गरी फ्लप पनि हुनसक्ने गरी आफूलाई तयार पारेको उनी बताउँछन् ।
द टर्मिनेटर फिल्मका लागि आर्नोल्ड स्वाजनेगरले जस्तो अभिनय गर्यो, त्यस्तो चाहिँ एआईबाट काम हुनेमा उनी शङ्का व्यक्त गर्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।