जति जति अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै छ, उति उति राष्ट्रपति जो बाइडेनको लोकप्रियता घट्दै गइरहेको छ । यस हिसाबले पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले चुनाव जित्ने सर्भेले देखाइरहेको छ ।

यस्तो अवस्थामा बाइडेनको यी चार वर्षे कार्यकालमा भएका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बढिरहेका बेला उनको उपलब्धि बुझाउन हलिउडका प्रख्यात फिल्म निर्देशक स्टिभन स्पिलबर्ग नै अघि सर्ने भएका छन् ।

७७ वर्षीय निर्देशकले राष्ट्रपति बाइडेनले यी चार वर्षमा गरिएका सुन्दर निर्णय र यसले अमेरिकीमाझ पुर्याइरहेको सकारात्मक प्रभाव पार्ने हिसाबले एउटा छोटो फिल्म निर्माणमा सघाउने भएको द टेलिग्राफ पत्रिकाले जनाएको छ । यो छोटो फिल्म डेमोक्य्राटिक नेसनल कन्भेन्सनमा प्रथम प्रदर्शन गरिने छ ।

खासगरी बाइडेनको कार्यकालमा कोभिड अवधिमा उनले लिएका नीति र त्यसको सकारात्मक प्रभाव, ठूला ठूला निर्माण कार्यका लागि छुट्याएको बजेट र यसले गाउँगाउँमा पुर्याएको आर्थिक सबलता साथै युक्रेनमाथि रूसी आक्रमणका बेला नेटोमार्फत पुर्याइएको सहयोग लगायतका सकारात्मक प्रभाव जनतासम्म नपुगेको महसुस गर्दै छोटो फिल्ममार्फत ती विषय बुझाउने प्रयास गरिने बताइएको छ ।

राम्रा कामको उचित प्रशंसा नपाएको भन्दै पछिल्लो समय राष्ट्रपति बाइडेनले साथीहरूमाझ गुनासो गर्ने गरेका थिए ।

एकातिर बाइडेन प्रशासनको राम्रो कामको उचित प्रचार नहुनु, अर्कोतिर सर्वसाधारणमाझ ट्रम्पको लोकप्रियता बढिरहनुलाई डेमोक्रेटिक पार्टीले गम्भीरतापूर्वक लिएको छ । ट्रम्प प्रशासनका बेला भएको राष्ट्रपतीय कार्यालय छाड्न गरेको आनाकानी लगायतका गम्भीर अपराधमा सर्वसाधारणले आँखा चिम्लिएकामा उनले आश्चर्यका रूपमा लिएका छन् ।

पुक नामक मिडियामा प्रकाशित समाचारअनुसार, बाइडेन कार्यकालका सुन्दर पक्षहरू देखाउने र दोस्रो कार्यकालका लक्ष्यहरू कसरी हासिल हुन्छ भन्ने चित्र प्रस्तुत गर्न फिल्म निर्देशक स्पिलबर्गलाई जिम्मा दिइएको छ ।

बाइडेनका लागि यस पटकको चुनावमा आर्थिक सहयोगका स्पिलबर्गको अगुवाईमा एउटा समितिसमेत बनेको छ । जसमा स्पिलबर्गका व्यापार साझेदार तथा ड्रिमवर्क्स फिल्म कम्पनीका पूर्व मालिकमध्ये एक जेफ्री काइजेनबर्गसमेत बाइडेन अभियानमा सक्रिय रहेका छन् ।

८१ वर्षीय राष्ट्रपतिलाई दोस्रो कार्यकाल छनोट गर्न हलिउडका कयौँ सेलिब्रिटीहरूले पैसा दान गरेका छन् । यसका लागि स्पिलबर्ग र उनकी पत्नी केट क्यापसअले एक साता लामो अभियान नै चलाएका थिए ।

त्यसो त डेमोक्रेटिक पार्टीको सम्मेलन आउँदो अगस्त १९ देखि २२ सम्म इलिनोइस राज्यको सिकागो सहरमा आयोजन हुँदैछ । बाइडेन जिताउने यस अभियानबारे राष्ट्रपति टोली र स्पिलबर्ग कसैले पनि केही बोलेको छैन ।