प्रेम के हो ?
के यो भयानक रोग हो
भोक या भोग हो
के भय डर त्रास आस वा साहस
के यो आकर्षण हो कि गुरुत्वाकर्षण
अत्यावश्यक हो वा अर्थहीन
के यो गंगा–सागर भन्दा गहिरो
या आकासभन्दा फराकिलो छ ?
के यो कमजोरी हो या आत्मबल
यो समस्या हो या समाधान
के एक्लोपनको जडी ओखति हो
या अमनचयनको साध्य
के यो बन्धन हो या सम्बन्धन
समर्पण हो या आत्मसमर्पण
के यो तपस्या हो या तागत
तृष्णा हो या अभिलाषा
सेवा, सद्भाव, स्नेह वा दयाभाव
आखिर के हो, प्रेम ?
यो मौसमी हुन्छ वा सदाबहार
हरियाली हुन्छ वा खडेरी
नाप, तौल, उचाई वा योग्यता
कति होला यसको
गुलियो–नुनिलो, अमिलो–पिरो
स्वाद कस्तो हुन्छ यसको
यो संयोग हो या योजनाबद्ध
लाभ–हानि हो या योगदानी
धर्मको फल वा कर्मको उपज
पाप हो या पुण्य
सर्वश्व हो या शून्य
अवसर हो वा चुनौती
सुनिश्चित हो या अनिश्चय
भागफल हो या शेष
जोड, घटाउ वा गुणन
ब्रह्माण्ड हो या अवशेष
खास हो या सर्वनाश
सबथोक हो या विशेष
नाम हो या सर्वनाम
क्रियापद हो या विशेषण
शून्यता या सम्पूर्णता
फूल हो या फल
सगुन हो या सौगात
दान हो या अनुदान
बरदान हो या श्राप
आशीर्वाद हो या अभिशाप
विशेषण हो या विभीषिका
आविस्कार हो या अन्वेषण
आखिर के हो प्रेम ?
नीति, सिद्धान्त, विचार, दर्शन
केमा आधारित छ यो
पानी हो या आगो हो
सुखको द्योतक या दुःखको प्रतीक
निर्लज्ज वा निकृष्ट कस्तो हुन्छ
के यस्को आकारप्रकार हुन्छ
वा निरञ्जन निराकार हुन्छ
के यो जादू हो, या टुनामुना
के यो अनुपम संगम हो
वा आत्मा मिलनको योग हो
प्रसंग या प्रारब्ध के हो
आत्मीयता, प्रतिबद्धता, लगाव,
अनुभूति या अनुमान
अतित वा वर्तमान
इज्जत वा शान
लज्जा वा अपमान
मधुपर्क या मधुमास
स्वास हो वा अन्धविश्वास
कारक हो वा प्रकार
कर्तव्य हो या नैसर्गिक अधिकार
आखिर के हो प्रेम ?
के यो सजिलै प्राप्त होला
या कठिनाई भोग्नुपर्ला
के यो प्रणालीगत हुन्छ
वा अन्धाधुन्द हुन्छ
व्यवस्थित हुन्छ
वा अस्तव्यस्त हुन्छ
के यो सिर्जनशील हुन्छ
वा जड़सूत्रवादी
यो प्राकृतिक हो या मानव–निर्मित
स्वचालित हो या समय–सिर्जित
सहकार्य, सन्तुष्टि हो
या अरु केही
अधुरो होला या मधुरो होला
युद्ध होला या बुद्ध होला
सस्त्राष्त्र वा परमाणु बम
कि कोमल मनको हतियार
वाल्मीकि हो या रत्नाकर
ध्यान हो या दिव्यज्ञान हो
सचित्र हो वा विचित्र
के यो प्रसारित हुन्छ
साटासाट वा क्रय–विक्रय हुन्छ
ऋण–धन, आय व्यय दायित्व
वा नगरी नहुने कार्य
परम्परा वा रीत हो कि अनमोल प्रीत
नियति या सौभाग्य
ज्ञातव्य हो वा भवितव्य
ठोस, तरल, ग्यास
नाशवान वा अविनाशी
साश्वत सत्य हो या
गठित दिग्भ्रम
देह हो या आत्मा
आखिर के हो प्रेम ?
मलाई लाग्छ यो द्रुत गतिमा
फैलिने महामारी हो
खतरनाक महामारी प्रकोप हो
हर्मोन नामक आत्मरस मौलाएर
शरीरभर फैलिएपछि
कहिले यसले सुवास छर्छ
त कहिले दुर्गन्ध फैलाइदिन्छ
र विश्वयापी रुपमा दुनियाँलाई
यसको प्रकोपले डढेलोझैं सखाप पार्दछ
कतिपयलाई सिकिस्त पार्दछ
प्रपिण्डीय चेतनाको रसविज्ञानद्वारा
सञ्चालित र नियन्त्रित हुन्छ
जीवशाष्त्रीय पुरातत्वभित्रको
एक बुँद आवश्यक्ताको ध्वनि मिश्रित
अश्रुगुप्त अनि प्रेरकतत्व
जसले जीवाष्मको खोजी गर्दै
उत्तरपिंढीको पक्षपोषण गर्दछ
हो त्यो नै हो प्रेम
न चोरले चोर्ने, न राज हर्ने
न मर्ने, सदा अमर रहने
जति बाँड्यो उति भाँड़ो भर्ने
रीस–राग, आग्रह, छलकपट, षड़यन्त्र
वा तन्त्रमन्त्र लोभ–लालच
आशा–इच्छा आग्रह र आकांक्षालाई
थाँती राख्दै मन र मष्तिष्कको
बरोबर सहकार्य र सन्तुलन नै प्रेम हो
कहाँ होला, कसरी होला के होला, किन होला
यी सबै कुरा सबैले सधैँभरि सिकिरहनुपर्छ
पढिरहनुपर्छ, प्रक्रियाभित्र परिरहनुपर्छ
परिबन्दमा पाकिरहनुपर्छ
तर एउटै कुरा छ जसलाई पढाई रहनुपर्दैन
बुझाउनुपर्दैन, देखाउनु पर्दैन आफैँ सिक्दछ
देख्दछ, जान्दछ, बुझ्दछ र प्रेम गर्दछ
अनि प्रेमपिण्डको पक्षपोषण गर्दछ
र निशानी चिह्न प्रदान गर्दछ
यो बहुअस्तित्वबाद र बहुआयामिक हुन्छ
हो त्यो नै हो प्रेम ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।