रवीन्द्र मानन्धर

अभिव्यक्तिको सशक्त र असरदार माध्यम हो व्यंग्य चित्र । कलाकार तथा कार्टुनिष्ट रवीन्द्र मानन्धर २०५० सालदेखि यसै विधामा मन दिएर लागेका हुन् । कक्षा ९ मा पढ्दा बनाएको एउटा व्यंग्यचित्र त्यसबेला कामना प्रकाशनले प्रकाशन गर्ने महानगर दैनिकमा छापिएपछि उनी हौसिए । त्यसपछि उनले कार्टुनमात्र होइन, चित्रकला तर्फ पनि ब्रस घुमाए ।

कलेज जीवनमा आय आर्जनको लागि शिक्षण पेसा अपनाए पनि कार्टुन र चित्रकलालाई सँगसँगै लगे । यस बीच केही स्थानीय पत्रिका, नेवारी अखबारको लागि पनि मानन्धरले व्यंग्यचित्र बनाए ।

२०५९मा उनले कान्तिपुर पब्लिकेशनको नेपाल म्यागजिनमा चित्र कोर्न काम पाए । यो उनको जागिर थियो, उनले जागिरमात्र खाएनन् । फुर्सदको समय देरअबेर रात जागा बसेर भए पनि आफ्नो रुचि र ग्राहकको अर्डरअनुसार क्यानभासमा ब्रस चलाइरहे । अहिलेसम्म कतिओटा चित्र बनाइयो त ? प्रश्नको जवाफमा उनी भन्छन् खै कति हो कति ?, यसको लेखाजोखा त कहाँ हुनु र ? पहिले त छापिएका (प्रयोग भएका) चित्र जतन गरेर पनि राख्ने गरेको थिएँ । केही वर्षपछि कोठाका यत्रतत्र यस्ता प्रयोग भएका कलाको चाँग लाग्न थाल्यो । अनि मुटुमाथि ढुङ्गा राखी केही मिल्काएँ, कति केटाकेटीलाई रंग भर्न दिएँ । आफूले रेखा मात्र कोरेर छोडेको कलामा स–साना नानीहरुले जानी नजानी रङ भरेको देख्दा मनमा बेग्लै आनन्द आउँथ्यो । तैपनि अनुमान गर्दा व्यंग्यचित्र र इलस्ट्रेसन गरी चौबीस पच्चीस हजार त पुग्यो होला । अहिले पनि फुर्सद मिल्यो कि उनमा थाहै नदिई चित्रकला बनाउने मुड भइहाल्छ । कति बेला क्यानभासमा ब्रस चल्न थाल्छ, कतिबेला बाहिर अध्याँरो छिप्पिइसक्छ, उनलाइ पत्तो हुँदैन ।

नेवारी सम्पदा, संस्कृति, भेषभूषा, दैनिक दिनचर्या, दृश्यचित्र तथा पोट्रेट रवीन्द्रलाई मनपर्ने विषय पेन्टिङ थिम हुन् । उनले आफ्नो सिर्जना थुप्रै पटक विभिन्न प्रदर्शनीमा पनि राखेका छन् तर बेचेका भने छैनन् । मानन्धर भन्छन्, “पैसासँग आफ्नो पेन्टिङ साट्न कहिल्यै मन भएन । भविष्यमा पैसा अभावले पिरोल्न थाल्यो भने बिक्रीको विषयमा सोचुँला । अहिलेलाई बेचेर पैसा कमाउने भन्दा पनि आफैँले सिर्जना गरेको चित्रकलामा चुर्लुम्म डुबेर रमाउन चाहन्छु ।”