अध्याय १२: रचनात्मक माैनताकाे भाषणमा इमान्दारिता सबैभन्दा ठूलो झूट

 

नरोन्दा: तीन दिन बित्दा सात साथीहरू सम्मोहनको नशामा थिए । पछि गुरुको आदेशमा उनीहरू फेरि एकैठाउँ भेला भएर गुफातिर लागे । गुरुले हाम्रो आगमनको अपेक्षा पूरा भएझैँ गरी भेटे ।

मिर्दाद: मेरा साना चराहरू हो ! म तिमीहरूलाई मेरो गुफामा फेरि स्वागत गर्दछु । मिर्दादलाई स्पष्ट रूपमा आफ्नो विचार र इच्छा व्यक्त गर्ने अनुमति देऊ ।

मिकायन: हाम्रो एउटै विचार र चाहना मिर्दादको नजिक हुनु हो । ताकि हामीले उनको सत्यता महसुस गर्न र सुन्न सकौँ । सायद हामी छायाबाट मुक्त हुन सक्छौँ । तैपनि उनीहरूको मौनताले हामी सबैमा श्रद्धाको साथ मिश्रित डर पैदा गर्छ । के हामीले उनीहरूलाई कुनै पनि तरिकाले अपमान गरेका छौँ ?

मिर्दाद: तिमीलाई मबाट टाढा धपाउन म तीन दिनसम्म केही बोलिनँ । म मौन बसेको छु । तिमीलाई आफ्नो नजिक ल्याउन मौन बसेको छु । जहाँसम्म मलाई अप्ठ्यारो पार्ने कुरा छ । याद गर ! जो कोहीले मौनताको अजेय शान्तिको अनुभव गरेको छ भने, उसलाई न कहिल्यै असन्तुष्ट हुने अवस्था सृजना हुन सक्छ, न त कसैलाई असन्तुष्ट पार्न सक्छ ?

मिकायन: के बोल्नु भन्दा चुप लाग्नु असल हो ?

मिर्दाद: बोलेको कुनै पनि शब्द सबैभन्दा इमान्दार झूट हो । जबकि मौन कम्तिमा नग्न सत्य हो ।

अविमार: त्यसोभए के हामी यो निष्कर्षमा पुग्छौँ कि मिर्दादका शब्दहरू इमानदार भए पनि झूट मात्र हुन् ?

मिर्दाद: हो, मिर्दादको शब्द पनि ती सबैलाई झुट मात्र हो । जसको ‘म’ मिर्दाद जस्तो छैन । जबसम्म तिम्राे समस्त विचारहरू एउटै खानीबाट उत्पादन हुँदैनन्, तबसम्म तिम्रा शब्दहरू इमान्दार भए पनि झूटा रहनेछन् ।

जब तिम्रो ‘म’ र मेरो ‘म’ एउटै हुन्छ, तब मेरो ‘म’ र ईश्वरको ‘म’ एउटै हुन्छ । हामी शब्द त्यागेर सत्यपूर्ण मौनतामा हृदयबाट खुलेर बोल्नेछौँ ।

तिम्रो ‘म’ र मेरो ‘म’ एउटै नभएको कारणले म तिमीसँग शब्दयुद्ध गर्न बाध्य भएँ । ताकि तिम्रो आफ्नै हतियारले तिमीलाई हराएर मेरो खानीमा लैजान सकूँ ।

अनि मात्र तिमी संसारमा गएर त्यसलाई परास्त गरेर आफ्नो नियन्त्रणमा ल्याउन सक्छाै । जसरी म तिमीलाई हराएर आफ्नो नियन्त्रणमा ल्याउनेछु अनि मात्र तिमी संसारमा परम चेतनाको मौनता खोतल्न सक्षम हुन सक्नेछाै । त्यसपछि भने शब्दहरूको खानीमा ईश्वरीय ज्ञानको लागि तिमीलाई डुबाउन योग्य हुनेछ ।

मिर्दादको हातबाट यसरी पराजय नभएसम्म तिमी साँच्चिकै अजेय र महान् विजेता बन्न सक्दैनाै । न त तिम्रो हातबाट पराजित नभएसम्म संसारले आफ्नो निरन्तर पराजयको दाग धुन सक्छ ।

त्यसैले युद्धको लागि तयार हुनू । आफ्नो ढाल र कवचको जोहो गर्नू । आफ्नो तरवार र भाला तीखा बनाइ उध्याउनू । मौनतालाई ढोल बजाएर झण्डा समाउन दिनू ।

बैनून : ढोलक बजाउने र झण्डा बोक्ने एकै समयमा ! यो कस्तो मौनता ?

मिर्दाद: तिमीलाई लैजान चाहको मौनता एक अनन्त विस्तार हो । जहाँ अस्तित्व नै अस्तित्वमा परिणत हुन्छ । अस्तित्व गैर-अस्तित्वमा एउटा अद्वितीय शून्य हो । जहाँ अनेकाैँ ध्वनि उत्पन्न भएपनि त्यो मौन हुन्छ । जहाँ प्रत्येक आकृतिलाई रूप दिइन्छ र निराकार बनाइन्छ । जहाँ हरेक अहंकार लिखित र अलिखित छ । जहाँ ‘ऊ’ र ‘ती’ मात्र हुन्छ ।

अरु केही छैन । यदि तिमीले मौन ध्यानमा त्यो शून्यता र त्यो विस्तारलाई पार गरेनाै भने तिमीले थाहा पाउदैनाै कि तिम्रो अस्तित्व कति वास्तविक छ ? तिम्रो अस्तित्व कति काल्पनिक छ ? न त तिमीलाई त्यो थाहा हुनेछ ।

तिम्रो वास्तविकता सम्पूर्णसँग कति जोडिएको छ ?

म चाहन्छु कि तिमी यो मौनतामा यात्रा गर । ताकि तिमी आफ्नो पुरानो र खँदिलो भित्री वस्त्र खोल्न सक्छाै । बिना प्रतिबन्ध घुम्न सक्छाै ।

म चाहन्छु कि तिमीले यस मौनतामा आफ्ना चिन्ता, डर, चाहना र इच्छाहरूमा आफ्नो ईर्ष्या र चाहनाहरू खन्याउनू । तिमीले उनीहरूलाई एक एक गरी हराउँदै गएको देख्नेछाै । यसरी उनीहरूको निरन्तर चिच्याहट र तीखो आवाजको दुःखाइबाट आफ्ना कानलाई मुक्त गर ।

म चाहन्छु कि तिमीले यस मौनतामा यस संसारका सबै धनु-बाणहरू फ्याँकिदिनू । जसबाट तिमी सन्तुष्टि र सुखको खोजी गर्न सक्छाै । वास्तवमा बेचैनी र दु:ख बाहेक अरू भने शिकार गर्न सक्दैनाै ।

म चाहन्छु कि यो मौनतामा तिमी अहंकारको अँध्यारो र निस्सासिने खोलबाट बाहिर आऊ । त्यो ‘एउटै अहं’को उज्यालो र खुला हावासँग मिल । म तिमीलाई यो मौनतासँग मिलन गरिदिन्छु । आफ्नो जिब्रोको लागि आराम नगर, जुन बोल्दा थकित हुने गर्छ ।

म तिमीलाई पृथ्वीको फलदायी मौनतामा मिलन गराउँछु । अपराधी र धूर्तको डरलाग्दो मौनतामा होइन ।

म तिमीलाई अण्डा दिने कुखुराको धैर्य र मौनता बुझ्नको लागि अनुरोध गर्दछु । सुत्केरी बहिनी जस्तो अधीर गनगन नगर्न पनि अनुरोध गर्छु ।

आफ्नो रौं भएको छाती र पखेटा मुनिको अदृशय हातले अचम्मको काम गर्छ भन्ने मौन विश्वासका साथ उनी एक्काइस दिनसम्म अण्डा पकाउँछिन् । अन्ततः अण्डाभित्रको ओडारबाट खुसीले पागल भै बचेरा खुल्ला आकाशमा आफ्नो अनन्त उडान भर्न निस्कन्छ ।

साथीहरू हो ! आफ्नो धर्मको ख्याल गर । जसरी आफ्नो लाजको मुख बन्द राख्छाै, त्यसरी नै आफ्नो इज्जतको मुख पनि बन्द राख । घमण्ड गर्ने इज्जत मौन निन्दा भन्दा खराब छ । घमण्डी भलाइ मौन खराबी भन्दा निकै खराब छ ।

धेरै गफ नगर । बोलिएका हजार शब्दहरू मध्ये एक मात्र शब्द हुन सक्छ, जुन वास्तवमा बोल्न आवश्यक छ । बाँकी सबैले बुद्धिलाई धमिलो पार्छ । कान थुनिदिन्छ । जिब्रोलाई सताउँछ र हृदयलाई पनि अन्धो बनाउँछ ।

वास्तवमा बोल्न आवश्यक शब्दहरू बोल्न कति गाह्रो छ ! लेखिएका हजार शब्दहरू मध्ये त्यहाँ एक मात्र यस्तो शब्द हुन सक्छ, जुन वास्तवमा लेख्न आवश्यक छ । अरू सबैले मसी र कागज बर्बाद गर्छन् । जहाँ यस्ता क्षणहरू पनि छन् । जसलाई प्रकाशको पखेटाको सट्टा काँचको खुट्टा दिइएको छ।

साँच्चै ! लेख्न आवश्यक शब्दहरू लेख्न कति गाह्रो ! अहो ! कति गाह्रो छ !

बैनूनः प्रार्थना के हो ? मिर्दादको बारेमा बताऊ ? प्रार्थनामा हामीले आवश्यकताभन्दा बढी शब्दहरू बोल्नुपर्छ । आवश्यकभन्दा धेरै कुराहरू माग्नु पर्छ । तर हामीले मागेका कुराहरू हामीलाई विरलै उपलब्ध गराइन्छ ।

 

अध्याय तेह्र: प्रार्थना

मिर्दाद: तिमीले आफू बाहेक देवताहरूलाई सम्बोधन गर्ने प्रार्थना व्यर्थ छ ।

तिमीसँग आकर्षित गर्ने शक्ति छ । भगाउने शक्ति छ । तिमीभित्र ती चीजहरू छन्, जसलाई तिमी आकर्षित गर्न चाहन्छाै । तिमीभित्र ती चीजहरू पनि छन्, जसलाई तिमी हटाउन चाहन्छाै ।

केही लिन सक्ने क्षमता हुनुको अर्थ दिन सक्ने क्षमता हुनु हो ।

जहाँ भोक छ, त्यहाँ भोजन छ । जहाँ भोजन हुन्छ, त्यहाँ भोक अवश्य हुन्छ । भोकको पीडाले व्याकुल हुनु भनेको सन्तुष्ट भएर आनन्द लिने क्षमता हुनु हो ।

हो ! आवश्यकताले नै आवश्यकता पूरा हुन्छ ।

के ताला प्रयोग गर्ने अधिकार साँचोले दिदैन ? के तालाले साँचो प्रयोग गर्ने अधिकार दिदैन ? के ताला र साँचो दुबैले ढोका प्रयोग गर्ने अधिकार दिदैन ?

जब तिमी साँचो हराउँछाै वा कतै राखेर बिर्सन्छाै, तब लोहारलाई खबर गर्न हतार नगर । लोहारले आफ्नो काम गरेको छ । धेरै राम्रोसँग गरेको छ । उसलाई बारम्बार एउटै कुरा गर्न नभन । तिमी आफ्नो काम गर । लोहारलाई एक्लै छोड । उसले एक पटक तिमीसँग काम गरिसकेपछि अरू धेरै चीजहरू गर्न बाँकी छ । तिम्रो स्मृतिबाट दुर्गन्ध र फोहोर फाल । तिमीले साँचो पक्कै पाउनेछाै ।

जब अव्यक्त ईश्वरले तिमीलाई वाणीद्वारा सृष्टि गरे, तब तिमी आफैँमा अव्यक्त भयाै । तिमी पनि ईश्वर झैं अव्यक्त छाै ।

ईश्वरले तिमीलाई आफ्नो कुनै अंश दिएका छैनन् । उनीभागवण्डामा बस्न सक्दैनन्र । उनले आफ्नो पूर्ण, अविभाज्य र अव्यक्त ईश्वरत्व सबैलाई दिएका छन् । तिमीले यो भन्दा ठूलो सम्पति के माग्न सक्छाै ? तिम्रो आफ्नै कायरता वा अन्धोपन बाहेक कसले वा केले तिमीलाई यो प्राप्त गर्नबाट रोक्न सक्छ ?

कतिपय अन्धा र कृतघ्न मानिसहरू आफ्नो सम्पदाको लागि कृतज्ञ भै ईश्वरत्व प्राप्त गर्ने बाटो खोज्नुको सट्टा, बरू आफ्नो दाँत, पेटको दुःखाइ र व्यापार घाटाको दोष थोपर्ने एक किसिमको डस्टबिन बनाउन चाहन्छन् । साथै त्यसमा एक अर्काको झगडा, बदलाको भावना र कैयौँको अनिदो रातहरू फ्याँक्न चाहन्छन् ।

अरूले ईश्वरलाई आफ्नो व्यक्तिगत खजाना बनाउन चाहन्छन् । जहाँबाट उनीहरू संसारका चमकदार र बेकारका वस्तुबीच आफूले चाहेको कुरा पाउने आशा राख्छन् ।

कोही ईश्वरलाई एक प्रकारको व्यक्तिगत लेखापाल बनाउन चाहन्छन् । जहाँ उनीहरू अरूलाई के दिनु पर्छ र अरूले उनीहरूलाई के दिनुपर्छ भन्ने कुराको हिसाब मात्र राख्दैनन्, बरू उनीहरूलाई लागेको ऋण पनि ईश्वरले नै तिरुन् भन्ने अपेक्षा गर्दछन् ।

हो ! यहाँ धेरै र विभिन्न प्रकारका काम छन् । जुन मानिसले ईश्वरलाई सुम्पन चाहन्छ । यद्यपि यहाँ धेरै थोरै व्यक्ति छन्, जो सोच्दछन् कि, यदि धेरै कर्म गर्नको लागि ईश्वर वास्तवमै जिम्मेवार छन् भने, उनले मात्र ती सबै कर्म पूरा गर्नेछन् । यी कमसल काममा उनलाई प्रेरणा दिन, वा उनको कामको सम्झना गराउन कसैलाई केही आवश्यक छ र ?

सूर्य उदाउने र चन्द्रमा अस्ताउने समयमा के तिमी ईश्वरलाई सम्झन्छाै ?

के तिमी उनलाई खेतमा झरेको मकैको दाना सम्झाउछाै ? जो जीवनको लागि झरेको थियो ।

के तिमी उनलाई माकुराको सम्झना दिलाउछाै ? जसले फाइबरबाट आफ्नो लागि विश्राम गर्ने घर बनाइरहेको छ ।

के उनलाई गुँडमा रहेका साना भँगेराका बचेराहरू सम्झाउछाै ?

यो अनन्त ब्रह्माण्ड भर्ने असीमित चीजहरूबारे उनलाई सम्झाउछाै ?

किन तिमी आफ्ना सबै अर्थहीन आवश्यकताहरू उनको सम्झनामा थोपर्छाै ? के तिमी उनको नजरमा भँगेरा, मकै र माकुरा भन्दा कम योग्यताको छाै ? किन तिम्रा उपहारहरू उनीहरूजस्तै ग्रहण गर्दैनाै ? आवाज ननिकाली घुँडा टेकी, हात नलम्काइ र भविष्यको चिन्ता नगरी आफ्नो काम गर्न किन सक्दैनाै ?

ईश्वर निकै टाढा छन् । तिमीलेले आफ्नो इच्छा, कल्पना, प्रशंसा र गुनासोहरू उनको कानसम्म पुगोस् भनी बेस्सरी चिच्याउनुपर्छ ? के उनी तिमीभित्र र तिम्रो वरिपरि छैनन् ? के तिम्रो जिब्रो र तालुको दूरिभन्दा धेरे नजिक उनको कान छैन ?

तिम्रो लागि उनको ईश्वरत्व मात्र पर्याप्त छ । जसको बीउ उनले तिमीभित्र राखेका छन् ।

तिमीलाई आफ्नो दिव्यताको बीज दिएर पनि, तिम्रो सट्टा ईश्वरले नै यसको हेरचाह गर्नुपर्‍यो भने, तिमी यस धरतीमा रहनुको के अर्थ भयो ? अनि जीवनभर के गर्थ्याै ? तिम्रो लागि गर्न योग्य काम केही छैन र ईश्वरले नै तिम्रो लागि सबै गर्नुपर्छ भने, तिम्रो जीवनको महत्व रह्यो ? तिम्रो प्रत्येक प्रार्थनाको के उपयोग ?

आफ्नो अनगिन्ती चिन्ता र आशाहरू ईश्वरमा नछोड । उनले तिमीलाई सुम्पिएको अदालतका साँचो तिम्रै लागि खोल्न उनलाई विन्ति नगर। बरु आफ्नो हृदयको विशालतामा खोज । हरेक ढोकाको साँचो दिलको विशालतामा पाइन्छ । हृदयको विशालतामा सबै चीजहरू छन् । तिमीलाई भोक र तिर्खा जगाउने सबै चीज छन् । चाहे तिनीहरू खराब वा असल नै किन नहोउन् ।

तिम्रो आदेशमा काम गर्न एक विशाल सेना तैनाथ गरिएको छ । ऊ तिम्रो सानो आदेश पनि पालन गर्न तयार छ । यदि ऊ असल र सुसज्जित छ, उसलाई कुशलतापूर्वक नेतृत्व गर्न सिकाइएको छ र उसले निडरतापूर्वक नेतृत्व गरेको छ भने, उसको लागि असम्भव केही छैन । कुनै पनि अवरोधले उसलाई आफ्नो गन्तव्यमा पुग्नबाट रोक्न सक्दैन । यदि ऊ पूर्ण रूपमा सुसज्जित छैन । उचित शिक्षा दिइएको छैन । उसको आचरण साहसविहीन छ भने, गन्तव्यहिन यात्रामा लाग्छ, वा सानो बाधाको अगाडि हार मान्छ भने त्यो सेना होइन ।

भिक्षुहरू हो ! साना रातो रक्त कोशिकाहरू यस क्षण चुपचाप तिमीहरूको शरीरमा परिक्रमा गरिरहेका छन् । तिनीहरूमध्ये प्रत्येक कोशिका एक एक शक्तिको चमत्कार हुन् । प्रत्येक कोशिका तिम्रो समस्त जीवन र सूक्ष्मतामा सल्बलाउने जीवनको पूर्ण र सत्य विवरण हुन् ।

उक्त सेना हृदयमा जम्मा हुन्छ । हृदयबाट नै निस्कन्छ र मोर्चा खडा गर्छ । यही कारणले हृदयले यति धेरै प्रसिद्धि र सम्मान पाउँछ । तिम्रो सुख दु:खको आँसु यहीँबाट बग्छ । तिम्रो जीवन र मृत्युको डर पनि यसैभित्र छ ।

तिम्रा कामना र चाहनाहरू उही सेनाका साधन हुन् । तिम्रो बुद्धिले यसलाई अनुशासनमा राख्छ । तिम्रो दृढ संकल्पले यसलाई काम गराउँछ । यसबाट पर्याप्त उर्जा लिन्छ ।

जब तिमीले आफ्नो रगतलाई एउटै गुरुको इच्छाले सुसज्जित गर्छाै, तब उसले सबै इच्छालाई मौनताको छायामा समावेस गर्छ । अनुशासनलाई एक महान गुरुको विचारमा समर्पण गर्दछ । आफूमा अभ्यास स्थापित गर्ने मुख्य संकल्पको आदेश जिम्मेवारीपूर्वक सुम्पनू । तब तिमी विश्वस्त हुन सक्छाै कि तिम्रो इच्छा पूरा हुनेछ ।

कयौं अयोग्य इच्छा र विचारबाट आफ्नो मनलाई मुक्त गरी, अटल संकल्पद्वारा अन्य सबै लक्ष्यलाई त्यागी, सन्तत्वमा ध्यान केन्द्रित नगरेसम्म सन्त हुन कसरी सकिन्छ ?

म भन्छु कि आदमको पालादेखि आजसम्म हरेक पवित्र इच्छा, पवित्र विचार र पवित्र संकल्प त्यस मानिसको सहयोगमा आउनेछ, जसले सन्तत्व प्राप्त गर्ने दृढ संकल्प गरेको छ । सधैँ यही भैरहेको छ । जहाँ भए पनि पानीले समुद्रलाई नै खोज्छ । यत्रतत्र छरिएर रहेका प्रकाशले सूर्यको किरण नै खोज्छ ।

हत्याराले आफ्नो योजना कसरी पूरा गर्छ ? उसले केवल आफ्नो रगतलाई नकारात्मक उत्साहले उमाल्छ । हृदयमा हत्याको लागि पागलपनले भरिपूर्ण प्यासको मूल फुटाउँछ । घातक विचारहरूको साथमा आफ्नो प्रत्येक योजनाको कल्पना गर्दै जान्छ र निर्ममताका साथ जो कोहीलाई घातक प्रहार गर्न थाल्छ ।

म तिमीलाई भन्छु कि युगौदेखि आज सम्मका हरेक हत्यारा बिना निमन्त्रणामा दौडिरहेकाछन् । जसलाई हत्याको लत लागेको पाखुरा बलियो र स्थिर बनाउनु छ । किनभने कागले कागलाई साथ दिन्छ । हाइनाको समूहले हाइनालाई ।

प्रार्थना गर्नु भनेको आफू भित्रको एक मात्र मुख्य इच्छा, केवल एक मुख्य विचार र संकल्पको उपचार गर्नु हो । यो आफैँलाई हेर्ने एक असल तरिका हो । तिमीले आफ्नो लागि मात्र प्रार्थना नगरेर सबैको लागि प्रार्थाना गरिरहेका छाै । प्रार्थनाको लयमा तिमी पनि उनीसँगै पूर्ण रूपमा एउटै लयमा मिल ।

यस ग्रहको वायुमण्डल, जहाँ तिम्रो हृदय यसको सम्पूर्णतामा प्रतिबिम्बित छ । जन्मौ जन्मदेखि देखेका सबै संग्रह र सम्झनाहरू यसैसँग तरंगित छ ।

न कुनै वचन वा कर्म, न कुनै चाहना वा सुस्केरा, न कुनै क्षणिक सोच वा अस्थायी सपना, न कुनै मानिस वा जनावरको सास, कुनै छाया, न कुनै भ्रम, जो आजसम्म आफ्नै रहस्यमय बाटोमा हिँडिरहेका छन् । जुन कालान्तरसम्म पनि चलिरहने छ । यी मध्ये कुनै एकसँग तिमी आफ्नो मनको धुन भेट्टाउन सक्छाै । तिमी पक्कै धुन सुन्न हतार गर्नेछाै ।

प्रार्थना गर्नलाई ओठ वा जिब्रो चाहिदैन । बरु चाहिन्छ एउटा शान्त र जागृत हृदय । एउटा प्रमुख इच्छा । एउटा प्रभावशाली विचार । एउटा प्रभावशाली संकल्प । जसमा न शंका छ न संकोच । प्रत्येक अक्षरमा हृदयको पूर्ण चेतनाको साथ उपस्थित नभएका शब्दहरू अर्थहीन हुन्छन् । जब हृदय जागृत हुन्छ, तब जिब्रो आरामसँग सुत्न सक्छ । ताला लगाएको ओठको पछाडि लुक्नसक्छ ।

न त तिमीलाई प्रार्थना गर्न मन्दिरहरू चाहिन्छ ? जसले आफ्नो हृदयमा मन्दिर भेट्टाउन सक्दैन उसले आफ्नो मन कुनै मन्दिरमा पाउन सक्दैन ।

म तिमी र तिमीजस्ता सबै मानिसहरूलाई भन्छु । हरेक मानिसलाई होइन । धेरैजसो मानिसहरू अझै पनि भ्रममा छन् । उनीहरू प्रार्थना गर्न आवश्यक महसुस गर्छन् । तर प्रार्थना कसरी गर्ने थाहा छैन । उनीहरू बिना शब्द प्रार्थना गर्न सक्दैनन् । शब्द उनीहरूको मुखमा नआएसम्म उनीहरूमा शब्द आउँदैन । जब उनीहरू आफ्नो हृदयको विशालतामा घुम्न जान्छन्, तब उनीहरू हराउने र डराउने गर्छन् । मन्दिरको पर्खाल भित्र हामीजस्ता प्राणी देख्दा उनीहरू आफ्नो बथानबीचमा शान्ति र आनन्द पाउँछन् । उनीहरूले पनि तिनीहरूका मन्दिर निर्माण गरून् । तिनीहरूलाई आफ्नो पूजा गर्न दिनू । तर म तिमी लगायत हरेक मानिसलाई ईश्वरीय ज्ञानको लागि प्रार्थना गर्न आदेश दिन्छु । त्यो बाहेक अरु केही चाहनू भनेको कहिल्यै सन्तुष्ट नहुनू हो ।

सम्झनू, जीवनको मार्ग सृष्टिकर्ताको वचन हो । सृष्टिकर्ताको वचन प्रेम हो । प्रेमको मार्ग दिव्य ज्ञान हो । यिनीहरूको सहयोगले आफ्नो हृदय भर । आफ्नो जिब्रोलाई अनेकाैं शब्दको पीडाबाट बचाऊ । अनेकाैं प्रार्थनाको बोझबाट आफ्नो हृदयलाई बचाऊ । तिम्रो हृदयलाई सबै देवताहरूको दासत्वबाट मुक्त गर । जसले तिमीलाई उपहार दिएर आफ्नो दास बनाउँछन् । एउटा हातले तिम्रो स्याहार गरी अर्को हातले आक्रमण गर्छन् । जो तिमीले प्रशंसा गर्दा सन्तुष्ट र दयालु हुन्छन् । तर तिमीबाट श्रापित हुँदा क्रोध र बदलाले भरिएका हुन्छन् । जसलाई तिमीले नबोलाएसम्म तिम्रो कुरा सुन्दैनन् । उनीहरूले तिमीलाई केही पनि दिँदैनन् । जबसम्म तिमीले उनीहरूको लागि आफ्ना हात फैलाउँदैनाै, तबसम्म तिमीलाई बरदान दिएर पछुताउनेहरू पनि तिनै हुन् । जसको लागि तिम्रो आँसु धूप हो । जसको महिमा तिम्रो लाज हो ।

हो, यी सबै देवताहरूबाट आफ्नो हृदयलाई मुक्त गर । यहाँ तिमी एक मात्र ईश्वर भेट्टाउन सक्छाै । जसले तिमीलाई आफैद्वारा भरिदिन्छन् । तिमी सधैँ भरिएरै रहनेछाै ।

बैनून: कहिले मानिसलाई सर्वशक्तिमान् भन्छाै त कहिले बेकार भनेर घृणा गर्छाै ! कतै हामीलाई अन्धकार बोकी मडारिएको वादलमा लगी छोड्ने त हैनाै ?