
१४ मार्च १८७९ का दिन बेल्जियमको ब्रसेल्सस्थित एउटा बौद्धिक परिवारमा ह्यारोल्ड मुनरोको जन्म भएको थियो। उनका पिता एडवर्ड विलियम इन्जिनियर थिए भने हजुरबा चाहिँ प्रसिद्ध चिकित्सक थिए । उनका मावली हजुरबा पिटर मार्गेरी चाहिँ सिभिल इन्जिनियर थिए। उनी एडवर्ड विलियम र अराबेल सोफियाका कान्छा छोरा थिए । मुनरो परिवार लन्डनको ब्लुम्सबेरीमा बसोबास गर्थ्यो । मुनरो नौ वर्षका हुँदा ४१ वर्षको उमेरमा उनका पिताको देहान्त भयो । यस घटनाले मुनरोको कवि हृदयमा ठुलो चोट पुऱ्यायो ।
सन् १८९८ मा आधुनिक भाषाको अध्ययन गर्न भनी उनी क्याम्ब्रिजको केउस कलेजमा भर्ना भए । १९०१ देखि अङ्ग्रेजी रोमान्सेली कविताबाट उनी प्रभावित भए । सन् १९०३ मा उनको विवाह भयो । प्रथम विश्वयुद्धमा उनी सार्वजनिक सेवामा संलग्न थिए। पछिल्ला दस वर्षसम्म उनी कामको निम्ति आयरल्याण्डदेखि स्विट्जरल्याण्डसम्म अल्लरिइरहनु पर्यो । उनको पहिलो कविता सङ्ग्रह सन् १९०६ मा प्रकाशित भएको थियो । बेलायतमा सन् १९११ देखि उनले लेखन व्यवसायलाई जीविकाको रूपमा ग्रहण गरे । उनी The Poetry Review का सम्पादक पनि थिए । पेसाले इन्जिनियर भएता पनि सन् १९१३ मा उनले लन्डनको डेभोन्सायर स्ट्रीट, ब्लम्सबेरीमा कविताका पुस्तकको पसल पनि सञ्चालन गरेका थिए । यो कविको ठुलो आकर्षणको केन्द्र रह्यो । कवि भेला हुने र कविता बारे चर्चा गर्ने ठाउँ भयो यो । यस्तो वातावरणबाट कविता लेख्न मुनरोलाई झन् उर्जा मिल्थ्यो । उनी आफ्नै खर्चमा पनि कविताका पुस्तक छाप्ने गर्दथे । कविको जमघटको निम्ति यसले अन्तर्राष्ट्रिय प्रतिष्ठा प्राप्त गन्यो, तर मुनरोले व्यापारिक सफलता भने प्राप्त गर्न भने सकेनन् ।
मार्च १९१३ मा आफूभन्दा सत्र वर्ष कान्छी ह्यामस्टीडकी एलिदा क्लेमन्टास्कीसँग मुनरोको भेट भयो। एलिदाले आफू डाक्टर बन्ने र वेश्यावृत्तिमा फसेका महिलालाई कोठीबाट उद्धार गर्ने उद्देश्य लिएकी रहिछन् । कविताको पुस्तक पसलमा काम गरे त्यसले समाजमा योगदान पुग्ने भनी मुनरोले उनलाई सम्झाए । एलिदाको पनि कवितामा रुचि भएकाले उनी मुनरोको पुस्तक पसलमा काम गर्न थालिन् । १९१६ मा उनले आफ्नी प्रथम पत्नीसँग सम्बन्धबिच्छेद गरी सन् १९२० मा एलिदासँग विवाह गरे । मुनरोको कविता लेखनमा एलिदाको निकै प्रभाव छ भनिन्छ ।
मुनरोका प्रारम्भिक कालका कविताहरू आदर्शवादी छन् । उनका विचारमा कविता व्यक्तिको कृतिम अभिव्यक्ति हो, किनकि यसमा मानवीय आदर्श प्राप्त गर्न प्रयत्न गरिने अभिव्यक्ति पाइन्छ । यस दृष्टिकोणले रचना गरिएको उनको प्रमुख कृति ऐच्छिक भद्रताका निम्ति प्रस्तावहरू (Proposals for a Voluntary Nobility) हो। उनी आफ्ना कवितामा वैयक्तिक भोगाइबाट उत्पन्न भएका तीता परिस्थितिमाथि व्यङ्ग्य हान्छन् । निम्नलिखित उनका केही प्रसिद्ध कृतिहरू हुन् :-
१. उज्यालो हुनुअघि (Before Dawn: Poems and Impressions, 1911) २. अनौठो बैठक (Strange Meeting, 1917), ३. ह्यारोल्ड मुनरोका सङ्कलित कविताहरू (Collected Poems of Harold Manro, 1935)
दुई वर्षको कष्टप्रद बिमारी पछि १६ मार्च १९३२ मा लन्डनको ब्रोडस्टेयरर्समा मुनरोको देहान्त भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

