बुवाको बारेमा हामी कहिल्यै कुरा गर्दैनौँ किनभने त्यो विषयले नै हामीलाई भयभीत बनाउँछ ।
सात र दस वर्ष नपुगुन्जेल जोय र म केटाकेटी हुनमै कति व्यस्त थियौँ भने हाम्रा पिता किन हुनुहुन्न भनेर हामीलाई त्यति सुतै परेन । जे होस्, हाम्रो त नारीकै संसार थियो र यदि त्यहाँ पुरुष हुँदो हो त अनौठो अतिक्रमणकारीझैँ लाग्ने थियो होला। अन्य केटाकेटीकहाँ हामी खेल्न जाँदा कसैका पनि ‘पिता’ वरिपरि देखिँदैनथे। कहिलेकाहीँ उनीहरू ठिक रातिको भोजनअघि भौँतारिँदै आइपुग्थे। हामी भने त्यस बखत आ-आफ्नो घर फिर्ने तरखरमा हुन्थ्यौँ अथवा सप्ताहान्तमा हामी उनीहरूको एक झलक मात्र देख्ने गर्थ्यौं । ती पिताहरू पसिना चुहिरहने भीमकाय शरीरका हुन्थे । उनीहरू नीरस चुट्किला सुनाउँथे र हाम्रो नाम कहिल्यै थाहा राख्तैनथे । अनि हाम्रो जस्तै कतिपय साथीहरूको पनि साँझपख घर आइपुग्ने पिता थिएनन् । तर यो कुरा त्यति असामान्य लाग्दैनथ्यो। आइमाई र केटाकेटी नै हाम्रो संसार बनेको थियो। मेरी आमाका केही साथीहरू भए पनि ती उहाँ जस्तै एकल आमा थिए । न्यु क्यासलमा बस्ने हजुरआमासँग हामी कहिलेकाहीँ भेटघाट गर्थ्यौं अनि अमेरिकामा बस्ने आफ्नी दिदीसँग आमा कहिलेकाहीँ कुराकानी गर्नुहुन्थ्यो। हाम्रो विद्यालयमा पनि उमेर कति भयो होला भनेर कहिल्यै अनुमानसम्म गर्न नसकिने खलपत्रे बूढीहरू र भर्खर बीसपच्चीसका सुन्दरी ठिटीहरू नै शिक्षिका थिए। तर जे होस्, तिनीहरू सबै महिला नै थिए। टेलिभिजनमा देखिने पिताहरूबाट मात्र पिता भन्ने छवि हामीले मनमा कोरेका थियौँ तर सबैलाई थाहा भएकै कुरा हो नि टेलिभिजनमा देखाइने त सबै कुरा बनावटी नाटक मात्र हुन्छ ।
हाम्रा पिता हामी सानै छँदा टाढा जानुभएको थियो र अब कहिल्यै फर्केर आउनुहुन्न भनेर आमाले भन्नुभएको थियो। यही कुरालाई हामीले मानी आएका थियौँ। सायद पिता हाम्रो स्मरणमा रहेका भए अथवा हाम्रो जीवनमा पहिलेदेखि भइरहेको केही चीज अहिले आएर गुमाउनुपर्दाको झैँ अपूर्णताको अनुभूति हामीलाई भएको भए हामी अझै खोजीनिती वा प्रश्न गर्थ्यौं होला । भनिएका कुरा र नभनेरै राखिएका कुरा अथवा हठात् लिइएका कुनै निर्णय र एकैछिनको सङ्कोच जस्ता कुराले हाम्रो जीवनपथ नै फेरिदिन सक्छन् । सम्झेरै ल्याउने हो भने पनि दैनिक आउने सयौँ थरी मोडहरूले नै हाम्रो आफ्नो इतिहासको र हाम्रो आफ्नै पनि मार्गचित्र कोर्थे होलान् । म अलि कम जिज्ञासु अथवा जोय अलि कम मित्रवत् भएको भए अथवा यदि आमाले नै उहाँको बारेमा केही कुरा गर्न सक्नुभएको भए कस्तो हुन्थ्यो होला, म घोरिन्छु । तर अहँ, हामी आफ्नै जीवनमा अगाडि बढिरह्यौँ ।
यस्तै चलिरह्यो, जोय र मैले ती तस्बिरहरू नभेटुन्जेल । हामी घर फर्कँदा घर शून्य थियो । आमा काममा जानुभएको थियो । घरको साँचो हामी सबैले एकएकवटा रिबनमा सिउरिएर आ आफ्नो घाँटीमा झुन्ड्याएका थियौँ । आमा हप्तामा एक पटक मात्र अबेरसम्म काम गर्नुहुन्थ्यो । हुर्किएर ठुला हुनु भनेको घर हाम्रो मात्र रेखदेखमा हुनु, मन लागेको बेलामा दुई टुक्रा बिस्कुट खानु अनि कहिलेकाहीँ हदै पार गरेर मनलाग्दी खेल्नु नै हो भन्ने हाम्रो सोचाइ थियो ।
त्यो दिउँसो चिसोचिसो र धुम्म परेको थियो । सिमसिम पानी परिरहेको थियो । घर फर्कँदा हामी दुवै दिदीबहिनीले आफ्ना ठुस्स गनाउने पुराना बर्सादी ओढ्नु नपर्ने मौकाको सदुपयोग गर्दै पूरै भिज्दै आउने उपाय गरेका थियौ आखिर आमाले कसै गरे पनि थाहा पाउने होइन क्यारे ।
सोफामाथि लपक्कै टाँसिएर गुँडुल्किएको लुसी कछुवा-बोक्रे गद्दी जस्तै देखिन्थी, त्यो पनि घुर्ने खालको। मैले मेरो भिजेको कपालबाट अलिकति पानी झट्कारेर उसको जीउमै पारेँ। उसले मतिर फर्किएर तिरस्कारपूर्वक कर्केर हेरिरही ।
‘ओहो हो। मलाई माफ गर लुसी मुसी।’ उसलाई बोकेर मेरो भिजेको स्विटरमा टाँस्दै मैले लापरबाहीपूर्वक भनेँ । ऊ निकै छटपटाई तर मैले कस्सिएर अँठ्याइरहे। लुसीले फुत्किने सङ्घर्ष त्यागेपछि मात्र मैले उसलाई सोफामा राखिदिएँ। भिजेर चिसै अनि अप्रसन्न थिई ऊ ।
‘तिमी ऊसित अति नै छुद्र भएकी छ्यौ है।” जोयले असन्तुष्टि पोखी । दौडिँदै गएर उसले लुसीलाई त्यहीँ फेरि नसुतुन्जेल सुमसुम्याइरही ।
‘कसैले त उसलाई को मालिक हो भन्ने कुरा देखाउनुपर्छ ।’ मैले प्रत्युत्तर दिए, ‘तिमी र आमाले उसलाई गर्ने व्यवहार देख्दा त उसले आफूले नै यो घर चलाउँछु भन्ने सोच्न थाल्न बेर लगाउँदिन ।’
कट्टु मात्र बाँकी राखेर हामीले लुगा फुकाल्यौँ । अनि हिटर बाल्यौँ । आमाको कोठामा गएर पहिरनको खेल खेल्ने यो नै उत्तम समय थियो जस्तो लाग्दै थियो। आमा घरमा हुँदा लागू हुने पहिरनसम्बन्धी नियमहरू कडा थिए। उहाँका पुराना लुगा र जुत्ता मात्र लगाउन पाइन्थ्यो । अनि हामीलाई यही खेल खेल्न दिने नितान्त उद्देश्य साथ बट्टामा साँचिएका सिँगार सामग्री मात्र । तर त्यो दिउँसो हामी त चलचित्रका कलाकारझैँ पहिरन लगाउन चाहन्थ्यौँ। तैपनि आमाको जिन्स प्यान्ट र सद्दे स्कर्टहरूको सङ्ग्रहबारे विचार गर्दा हाम्रो चाहना पूरा हुन कठिन प्रतीत भैरहेको थियो ।
चिसा खुट्टाले ध्यापध्याप गर्दै हामी आमाको कोठाभित्र छिर्यौँ । केही उत्साहजनक छनक पाएर लुसीले अल्छी पाराले आङ तन्काई र बुर्लुक्क तल ओर्लेर हाम्रो पछिपछि लागी ।
‘जोय हेर त, म ठोकेर भन्छु रातो लुगा मलाई पक्का ठिक हुन्छ ।” पुरानो सेतो दराजलाई ह्वाङ्ग खोलेर लुगा झुन्ड्याउने किलाबाट उहाँको एक मात्र गतिलो लुगा झ्वाट्ट तान्दै मैले भनेँ । आमा सानो कदको हुनुहुन्थ्यो । म भने ढाडे भइसकेको थिएँ ।
‘बोनी त्यो लगाउनु हुँदैन।’ जोयले लामो सास तान्दै भनी, ‘तिमी ठुलो समस्यामा पछि अब ।’
‘म यो लुगा बिगार्दिनँ क्या उल्लू । छाडिदेऊ अब । अनि तिमीचाहिँ के लगाउने नि ?”
‘अँ…! यो लगाउँदा कस्तो हुन्छ ?’ जोयले ऱ्याकबाट गुलाबी घाँघर निकाली । यो घुँडासम्म आउनुपर्ने लम्बाइको भए पनि जोयको पिँडुलासम्म आइपुग्थ्यो । म खितिति हाँसेँ ।
अनि यो जुत्ता नि ? आमाले गर्मी मौसममा कहिलेकाहीँ लगाउने फित्ता भएको राम्रो हिल जुत्ताको जोडी तानेर जोय तिनमा खुट्टा घुसार्दै थिई ।
‘सुन्दर ।’ म खितखिताएं। आमाको रातो लुगा लगाउँदा म चौध वर्षजतिकी देखिन्थे ।
‘वाह ! तिमी त अर्कै देखिन्छ्यौ ।’ प्रशंसा गर्दै जोयले भनी ।
म कतिसम्म मक्ख परेँ भने उसलाई भनेँ, ‘अँ, तिमी पनि राम्री देखिएकी छ्यौ ।’ गुलाबी छोटो घाँघर र जुत्ताको साथमा जोयले आफ्नो सेतो भोटो लगाएकी थिई। आफ्नो सिँगारलाई अन्तिम स्वरूप दिन उसले लुसीलाई हल्कासँग ओछ्यानबाट उठाई र सलझैँ गरी काँधमा बेरी । लुसीले आफ्ना अगाडिको खुट्टा निर्लिप्त भएर चाट्न थाली ।
म दराजतिर फर्किएँ । दराजको तल्लोपट्टि भएका घर्रामाथि चढेर सबभन्दा माथिल्लो खोपाभित्र चियाएर ध्यानपूर्वक हेरेँ । आमाले त्यो खोपामा चल्तीमा नभएका अथवा फाल्नै माया लाग्ने लुगाहरू राख्नुहुन्थ्यो । प्लास्टिक झोलाका डल्ला पोकाहरूचाहिँ नखोलिएका गहनाका सन्दुकझैँ थिए। मैले कुर्कुच्चा उठाएर खुट्टाका पन्जाले त्यो माथिल्लो खण्डको किनारमै टेकेको थिएँ। त्यसको सेतो फर्माइकामा अझै पनि मेरा औँला चिप्लिरहेका थिए । भुईँमा म उत्तानो परेर पछारिनुअघि कुनै न कुनै सामान झ्याप्प समाइहाल्न मसँग एउटा मात्रै मौका थियो । त्यतिकैमा मेरा हातले भित्र कुनै ठुलो कुरा भएको पहेँलो झोलालाई छाम्न पुगे । मैले त्यो झोला च्याप्प पारेर समात्नेबित्तिकै, दराजको खोपा समातिरहेको मेरो अर्को आत चिप्लियो र म भुईँमा थ्याच्च थचारिएँ। म गलैँचामा बजारिएको लगत्तै पछि मैले एउटा मधुरो कुइयँ… आवाज सुनेँ। त्यो आवाज सुस्केराभन्दा किञ्चित् पनि ठुलो थिएन । जोय खित्का छोडेर हाँस्न थाली अनि लुसी भने जोयको काँधबाट धनुषको तीर छुटेझैँ स्वाट्ट कुदेर एकैचोटि खाटमुनि पुगी ।
‘यो पटक्कै हाँसोउठ्दो छैन मूर्ख, मेरो ज्यानको कुनै न कुनै भाग त भाँचेँ मैले आज ।’
‘ओहो, खै हेरूँ त ‘ जोयले भनी ।
उसले मेरो शरीरका सबै भाग खोतलखातल पारी तर छिसिक्क केही खोस्रिएको सम्म पनि भेटिएन । त्यसैले मैले काँध माथि उचाल्दै आफ्नो ध्यान मेरो एउटा हातमा रहको झोलातिर डोऱ्याएँ । झोलामा प्लास्टिकका पत्रैपत्रभित्र बेरेर राखिएको केही चीज थियो। त्यसलाई झोलाबाट बाहिर झिकेर म प्लास्टिक पत्रहरूलाई उधिन्न थालेँ । त्यो एउटा पट्याएर राखिएको सेतो रङको लुगा रहेछ भन्ने थाहा पाउनासाथ मैले झट्कारेर त्यसलाई खोलेँ ।
मन्द सुस्केरा हाल्दै जोयले फोक्सोभरिकै सास ओकली ।
यो आमाको विवाहको पोसाक थियो । बैठक कोठाको फोटोमा आमाले यही घिउ रडको पोसाक लगाउनुभएको थियो । त्यो घाँटीसम्म टम्म परेको थियो अनि घाँटी र छातीको भागमा पातलो लेसले सजाइएको थियो । बाहुलाको भाग कुमबाट भुक्क परेर उठेको थियो र नाडीमा पुगेपछि बल्ल चुस्त पारेर लामो कपडाले मोडिएको थियो । घाँघर तलसम्मै लामो थियो तर भित्रीचाहिँ कम्मरसम्म मात्र हालिएको थियो । त्यसको भित्री केही जालीदार कपडाले बनाइएको थियो र दुई औँलाले रगडेर छाम्न मज्जा आउँथ्यो । यस्तो राम्रो कुरा हामीले जिन्दगीमा कहिल्यै देखेका थिएनौँ ।
‘आहा !’ प्रभावित हुँदै मैले भनेँ, ‘ठिक पो हुन्छ कि हुँदैन !’
‘अनि म नि ? मैले चाहिँ लगाएर हेर्न नपाउने ?’ जोयले भनी ।
‘तिमी धेरै सानी छ्यौ, उल्लू। बरु म तिमीलाई उचाल्छु अनि तिमी पनि अरू नै केही चीज खोजेर झिक न ।’
जोयको खुट्टा राख्नका लागि रिकाब बनाएर चढाइदिँदै मैले उसलाई माथिल्लो खोपासम्म पुग्ने गरी उचालेर ठेलेँ । उसले भित्र चलमल गरेको र केही चीज च्याप्प समातेको मैले थाहा पाइरहेको थिएँ ।
भयो ।’ उसले स्याँस्याँ गर्दै भनी। मैले उसलाई भुईँमा राखिदिएँ । उसले हातमा एउटा कुटको बाकस लिएकी थिई ।
‘त्यो त लुगा जस्तो देखिँदैन नि !’ शङ्का गर्दै मैले भनेँ ।
‘किन देखिँदैन ?’
‘मान्छेले कुटको बट्टामा लुगा राख्दैनन् नि त ।”
‘राख्न पनि सक्छन् नि !’
‘त्यसो भए खोल न त । मलाई मतलब छैन ।’
पोसाककै सोचमा मग्न हुँदै जोय बट्टाको छेउमा टाँसिएको च्यापच्याप परेको टेप निकाल्ने कोसिस गर्न थाली ।
मैले लगाइरहेको रातो पोसाक फुकालेँ । त्यसको छेउको सिलाइ च्यातिएको मैले देखेँ तर जोयलाई भनिनँ । विवाहको पोसाक उठाएर समातेँ । त्यसको पछाडिपट्टि तलसम्मै लहरै टाँकैटाँक थिए । टाँकको भित्रपट्टि पर्ने गरी भने नदेखिने गरी जिपर राखिएको थियो । मैले त्यो पोसाक टाउकोबाट छिराएँ । फिनाइल गोलीको गन्धले पुरानो लुगा ह्वास्स गनायो । घाँघर मेरो खुट्टावरिपरि लरक्क लर्केर फुरफुर गर्न थाल्यो । त्यसको फरफराहटले गर्दा लुसी सिकार खेल्ने शैलीमा खाटमुनिबाटै एक पटकमा एउटा र त्यसपछि अर्को खुट्टा अगाडि लम्काउन थाली । जोयसँग मदत नमागेरै मैले पछाडिको जिपर लगाएँ ।
घाँटी चिलाएजस्तो लाग्दै थियो तर जब म अल्झिएर लड्ने र निसासिने खतरा एकै पटक बेहोर्दै लडखडाउँदै ऐनाअगाडि पुगेँ, सबै असजिलो छुमन्तर भयो । त्यो त साँच्चै राजकुमारीको पोसाक थियो अनि त्यो लगाउँदा मेरो जन्मदाग पनि पटक्कै देखिँदैनथ्यो ।
‘ए जोय !’ सासै अड्केझैँ गरी मेलै भनेँ, ‘यता हेर त मलाई ।’ कुनै प्रत्युत्तर नसुनेपछि मैले फर्केर हेरेँ । हातभरि तस्बिरहरू लिएर जोय पक्क परेर मतिर हेर्दै टोलाइरहेकी थिई ।
एक शब्द पनि नबोली म उसको छेउमा बसेँ । त्यहाँ आमाबुबाका दर्जनौँ तस्बिरहरू थिए-समुद्र किनारामा, पार्टीहरूमा, एउटा पुरानो रातो गाडीभित्रबाट बाहिरपट्टि निहुरिएको, हामी दूधे बालक अनि काखे वालक हुँदा हँसिला आमाबुवाले बोकेका, अनि हामीले कहाँ हो भनी नचिन्ने ठाउँमा बिदा मनाइरहेका तस्बिरहरू । हामीले यसरी पर्खालको सानो चिर्कटोबाट अरूलाई चियाइरहेझैँ गरी तस्बिर हेरिरहेको त्यो दृश्य अलि सङ्कोच मान्नुपर्ने किसिमको थियो ।
तस्बिरहरूको एउटा खात भने गह्रुङ्गो कागजको झोलाभित्र राखिएको थियो । जोयले त्यो ओछ्यानमाथि खन्याई । विवाहका तस्बिरहरू सल्ल बाहिर चिप्लिए र चारैतर्फ छरिए। लुसी खाटतिर लम्किई र ती तस्बिरहरूलाई खुट्टाले भकुन्ड्याउन थाली । केही तस्बिरहरू उल्टिएका थिए र तीमध्ये प्रत्येकका पछिल्तिरको खाली भागमा प्याजी रडको छाप लागेको थियो । ‘तस्बिर : टमस एनफिल्ड १९८३’ मैले मितिमा ध्यान दिएँ तर जोयलाई केही पनि भनिनँ त्यतिखेर ।
‘ध्यानसँग ‘ बिरालोलाई ओछ्यानबाट तानेर तन्नामा अल्झेका उसका खुट्टालाई हलुकासँग निकालिदिँदै मैले हकारेँ। तस्बिरमा आमाले लगाउनुभएको पोसाक लगाएर आफू ओछ्यानमा लमतन्न पल्टिएको कुरा सारै हासउठ्दो लागिरहेको थियो ।
विवाहको पहिलो तस्बिरमा आमा र उहाँका नयाँ बेहुला राता इँटाले बनेको एउटा विशाल चर्चबाट बाहिर निस्किरहनुभएको देखिन्थ्यो । चर्चको अड्बाङ्गेपन र नीरसता आमाको फूलैफूल, लेसैलेस र फुर्केफुर्काको सिँगारसँग ठ्याक्कै नमिल्दो देखिन्थ्यो । फेरि बेहुला भने अग्लो सुकुटे र तिखे, कुनै किसिमको कीराझैँ । दुवै जना विनम्रतापूर्वक मुस्कुराइरहेका थिए । जोयको तीखो कुकुर दाँत त्यही मानिसबाट सोझै प्राप्त थिए, मैले विचार गरेँ। मनै विचलित पार्ने कुरा त के थियो भने पछि गएर हाम्री आमा बन्नुपर्ने विषयमा कल्पनासम्म पनि गर्नुअगावैकी अझ तरुनी र कलकलाउँदी आमालाई हामी देख्दै थियौँ। तर तिनै आमाको अँगालोमा बाँधिएको हामीले नचिन्ने मान्छे हाम्रा बुवा देख्दा झन् झसङ्गमा नै परिन्थ्यो ।
अझै केही तस्बिरहरू पनि थिए। अलि चहकिलो पहेँलो लुगा लगाएर हामीले कहिल्यै नदेखेका मान्छेको हात समातेकी जुली काकीका ती तस्बिरहरू भऱ्याङमा खिचिएका थिए । एकदुईवटा तस्बिर रोमान्टिक शैलीका थिए जसमा बेहुला र बेहुली दुवैले असजिलो मानेका देखिन्थ्यो । अन्य तस्बिरहरू परिवारजनबाट घेरिएर खिचिएका थिए। ती तस्बिरहरूमा भएकामध्ये जुली काकी अनि एकदम ठुलो चोयाको टोपी लगाएका हाँसोउठ्दो गरी तन्नेरी देखिएका ग्रानलाई मात्र चिन्यौँ हामीले । कुनैकुनै तस्बिरमा जुली काकीले सानो बच्चा चपक्क पारेर बोकेकी थिइन् । त्योचाहिँ सारै अनौठो थियो किनभने उनका सन्तान थिएनन् ।
पिताको तर्फबाट अपरिचितहरूको बगालै थियो। केही चिनेका झैँ अनुहार परेका थिए। बाह्र वर्षजतिका जोयझैँ देखिने एउटी केटीले हाम्रो ध्यान तानी ।
‘यो को होली है ?’
‘म कसरी थाहा पाउँछु है लाटी ?’
आफू जस्तै देखिने कोही यो संसारमा छ भन्ने थाहा पाउनु एउटा अनौठो अनुभूति थियो । यी सबै हेर्नमा हामी यति तल्लीन थियौँ कि अगाडिको ढोका खुलेको अनि फेरि बन्द भएको हामीले सुनेनौँ ।
सायद आउँदाखेरि उहाँले सुरुमै हाम्रो आवाज सुन्नुभएको थियो । उहाँ सुस्तरी ढोकासम्म आउनुभएको थियो । बदमासी गरेको शङ्काले होला चियो गर्न त्यसो गर्नुभएको । सुत्ने कोठाको ढोका ह्वाङ्गै थियो तर खाट कस्तो ठाउँमा राखिएको थियो भने कोठाभित्रै आएपछि मात्र हामीलाई राम्ररी देख्न सकिन्थ्यो । भित्रपट्टि कुनामा आइपुगेपछि उहाँ बाटामै मूर्तिवत् हुनुभयो, फुटपाथमा हिँड्दै गर्दा बिजुलीको लट्ठामा नजानेर ठोकिएझैँ । हाम्रा आँखा जुधे । भय र पछुतोले गर्दा मलाई भित्रैदेखि हल्लाएझैँ लाग्यो ।
आमा रिसाएजस्ती देखिनुहुन्थेन । तत्कालै मलाई आज गाली खाइँदैन भन्ने थाहा भयो। टिभी हेर्ने सुविधा खोसिएला भनेर पनि डराउनुपर्ने थिएन । कोही ठुलो आवाज निकाल्दै थियो । कुकुर रोएजस्तो, निसासिएजस्तो डरलाग्दो र आग्रहपूर्ण आवाज ।
जोय र म खाटमा बस्यौँ, जडवत् । आमाबाहेक केही देखेनौँ हामीले । मेरा हातका तस्बिरहरू, पोसाक र हाम्रा चारैतिर रहेको कोठा सबै लुप्त भएका थिए र आमाबाहेक हामीले केही देख्न, सुन्न, अनुभूत गर्न सकेका थिएनौँ ।
अकस्मात् उहाँ चिच्च्याएर हुर्रिँदै ओछ्यानसम्म आउनुभयो र मेरो टाउकोमा तोरीको फूल देखाउने किसिमले झ्याम्म मुड्क्याउनुभयो । मेरो कन्चटमा ठोकिनुअघि उहाँको मुठी परेको हातले हावा नै सुइयँ ठेल्दै गरेको मैले थाहा पाएँ । वास्तविक ठोकाइचाहिँ नपाएजस्तो भयो मलाई । म हत्प्रभ बसिरहेँ। उहाँको अनुहार भने खुम्चिएको थियो। गालाबाट उँउँ आवाज निकाल्दै उहाँ पछिल्तिर झुक्नुभयो र स्वाट्ट मतिर थप्पड उचाल्नुभयो । थप्पड छल्न म पछाडि हटेको थिएँ जस्तो मलाई लाग्छ । त्यसपछि उहाँ त्यहाँबाट जानुभयो ।
यस पटक भने आमाले अगाडिको ढोका खोल्नु र लगाउनुभएको सुन्न हामीलाई कुनै समस्या भएन । तल सडकसम्मै पुगुन्जेल उहाँको लडखडिएको पदचापसमेत सुन्यौँ हामीले । मेरो छेउमा बसेर जोय चुपचाप रुन थाली ।
उहाँले किन जोयलाई होइन, मलाई हिर्काउनुभयो ? त्यो पोसाक लगाउनेचाहिँ मै भएको हुनाले पो हो कि ? कि नभए म ढोकाको नजिकै भएर हो ? सायद एकपछि अर्को गरी हामीलाई हिर्काउने उहाँको योजना थियो र मलाई हिर्काइसकेपछि आफ्नै कामले उहाँ चकित हुँदै त्यतिकै छाडेर हिँड्नुभयो ।
जेसुकै भए तापनि त्यस बेलादेखि जोयले भन्दा पनि मैले आमासँगको मेरो सम्बन्धमा एउटा सूक्ष्म परिवर्तन महसुस गर्न थालेँ । पीडा पनि उहाँले मलाई नै दिनुभएको थियो अनि अनुगृहीत पनि उहाँ मैप्रति नै हुनुहुन्थ्यो । म पनि फेरि उहाँले त्यसरी पिट्नुपर्ने अवस्था कहिल्यै नआओस् भन्ने कोसिसमा पूरै जीवन बिताउन सक्थेँ ।
त्यो दिनका बारेमा हामीले कहिल्यै कुरा गरेनौँ । त्यो विषयलाई नै हामीले हाम्रो मस्तिष्कको अन्तरकुन्तरमा गाडिदियौँ। हामीले पिताको बारेमा हुने संवाद कम गर्यो, यतिसम्म कि जोय र मबिच समेत यस विषयमा कमै कुराकानी हुन्थ्यो ।
जोय र मैले सबै तस्बिरहरू बट्टाभित्र राख्न थाल्यौँ । मैले पोसाक फुकालेँ। डल्लो पारेर त्यही प्लास्टिकको झोलामा कोचिदिएँ । दुवै चीज हामीले दराजको त्यही माथिल्लो खोपामा राखिदियौँ । हत्या गरेपछि लास टुक्राटुक्रा पारेर लुकाएझैँ गरी ।
त्यो घटनाको सम्बन्धमा केही कुराको नामनिसान बाँकी नरहने गरी हामीले थन्काए पनि त्यसको छाप मभित्र अमिट भएर कोरिन गयो ।
बदमासी गरिरहँदा उहाँको उपस्थितिको आभासपश्चात् पक्क परेर अनुहार हेरेको क्षणमा देखिने उहाँको एकोहोरो हेराइ मेरो मस्तिष्कमा तस्बिरको रिलझैँ खिचिएर छापिन गयो। तस्बिर बिग्रिएर उहाँको अनुहारको प्रतिबिम्ब मेरो आँखा नै ढाक्ने गरी बसेको झैँ ।
त्यो दिउँसो उहाँ पछि फेरि घर आउनुभयो । कुनै चलचित्रको दृश्य पहिलो प्रयासमा अग्घोरै बिग्रिएर पुनः छायाङ्कन गरिएजस्तै । उहाँले ढोका खोल्नुभयो । केही भन्नुभयो र रातिको खाना बनाउन भान्छा कोठातिर लाग्नुभयो । उहाँको यस्तो व्यवहारको के अर्थ लगाउने भनेर ठम्याउनै नसकेर जोय र म राजीखुसी खुरुखुरु मान्न थाल्यौँ। हामीले चुपचाप स्विकार्यो भने नै उत्तम उपाय थियो । सबै सिद्धिसकेको थियो । त्यो घटना कहिल्यै घटित भएकै थिएन ।
मिसेल हेन्ज टमस
अस्ट्रेलिया
लेखक, सम्पादक, पत्रकार । युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीबाट लेखनमा स्नातकोत्तर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।