वन किनारको पाखो बारीमा चैत महिनाको टन्टलापुर घाममा मालती र मङ्गले घैया छर्दैछन् । दुवै गीति संवादमा रमाइरहेका छन् । त्यसै क्रममा मङ्गले आफ्नी फूलजस्ती प्यारी मालतीलाई गीति भाकामा भन्छ :

मालती फूल फुल्यो–बारी उज्यालो, वनै उज्यालो
यो मेरो मायाको–मुखै उज्यालो, मनै उज्यालो ।

(माधवप्रसाद घिमिरे, मालती मङ्गले/गीति नाटक)

समयको ठ्याक्कै यकिन भएन तर करिब बीस वर्ष अघिको कुरा हो । म पहिलोपटक टिकट काटेर प्रोसिनियम थिएटर छिरेको थिएँ । माधवप्रसाद घिमिरेद्वारा रचित गीति नाटक मालती मङ्गले हेर्न । त्यो पनि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको त्यो भव्य हलभित्र । त्यो भन्दा पहिले गाउँघरमा विशेष अवसरहरूमा नाटक हेरेको हुँ । तर अहिले सम्झन्छु मेरो गाउँका ती सिनियर दाइ–दिदीहरू कति सिर्जनशील थिएछन् । ऊ बेलाको अभावमा पनि तिनीहरू नाटकका मञ्चमा बन्दुक पड्काउँथे । त्यो पनि सानदार शैलीमा । नेपथ्यमा ५ रुपियाँ जाने आलु बम हुन्थ्यो । शासकहरूसँग भरुवा टाइपका ५ फुटे बन्दुक हुन्थे । ती खाकी रङको पोशाक लगाउँथे र पाखोबारीमा घैया छर्दै गरेका सोझा मालती मङ्गलेलाई निसाना साँध्थे ।

ती दाइ–दिदीहरू तिनका विरुद्ध यस्तो डाइलग रच्थे कि शासकका बन्दुकको नालबाट धुवाँ निस्कन्थ्यो । परी आए कोदालो र खुर्पासँगै शाषकसँग लड्थे । शासकहरूले जिते तिनको शरीर ब्लेडले चिरेर नून खुर्सानीको धुलो हाली दिन्थे । र, तिनका छटपटी र पीडामा आनन्द लिन्थे । तर मालती र मङ्गलेले जिते वन पस्नुसिवाय अन्य कुनै दोस्रो उपाय थिएन । अन्ततोगत्वा वन पस्नुभन्दा तिनले मुङ्गलान रोजे ।

मोहनप्रकाश

नाटक समाप्तिसँगै हामी पर्ररर ताली पिट्थ्यौं र परिस्थिति अनुसार दुःखी पनि हुन्थ्यौं । तर बाल्यकालमा गाउँघरमा नाटक हेर्न पाउँदा बडो आनन्द आउँथ्यो ।

प्रज्ञाको भव्य हलमा नाटक सुरु भयो तर कति चाँडो सिद्धियो पत्तै पाइनँ । मैले पहिलोचोटी त्यहीं नाम सुनेको थिएँ अभिनेता हरिबहादुर थापाको । गीति नाटक मालती मङ्गलेमा मङ्गलेको भूमिकामा थिए उनी । अभिनेत्री लक्ष्मी श्रेष्ठले मालतीको भूमिका निर्वाह गरेकी थिइन् । नाटक निर्देशन गरेका थिए वसन्त श्रेष्ठले । त्यो बेला नेपाली चलचित्र पनि धेरै हेरिन्थ्यो । त्यसैले यी दुई नाम भने मैले धेरैचोटी सुनेको थिएँ । वसन्त श्रेष्ठ त्यो बेलाका चर्चित नृत्य निर्देशक थिए ।

यहाँ पनि नाटक सिद्धिएर बाहिर निस्किँदा बडो आनन्द र स्फुर्ति भएझैं महसुस भयो । यसको कारण थियो गीति नाटकको सौन्दर्य र आकर्षण । अन्य दर्शकहरू पनि एकअर्कामा नाटकको प्रसंशा गर्दै हलबाट बाहिरिए । यसपछिका दिनहरूमा म काठमाडौंका नाटक घरहरूमा नियमित पुग्न थालें । अहिले म नाटकको नियमित दर्शक भएर बल्ल पो बुझ्दैछु । नाटक हेरेर आनन्दित हुनु भनेको चलचित्र वा डिस्को गएर लिएको आनन्दभन्दा फरक आनन्द रहेछ । वनविहार गरेर लिने आनन्द, नदीमा पौडी खेलेर लिने आनन्द, नाचेर वा सङ्गीत सुनेर लिने आनन्द । सबै आनन्दका आ–आफ्नै स्तर या रागात्मकता हुने रहेछन् । मानवीय शरीरका हरेक अङ्ग, अवयव वा कोष–कोषले आनन्द अनुसारको प्रतिक्रिया दिंदा रहेछन् । नाटक हेरेर आनन्दित हुनु भनेको विरेचित हुनु रहेछ । म त्यतिखेर विरेचित भएको रहेछु । अर्थात् ग्रिसेली भाषामा ‘क्याथार्सिस’ । ‘क्याथार्सिस’ आयुर्वेद चिकित्सासँग सम्बन्धित शब्द हो ।

रेचक औषधिको प्रयोगद्वारा शरीरका विकारबाट मुक्त गरेर बिरामीलाई राहत दिनु । समग्रमा भन्नुपर्दा विरेचित हुनु भनेको मनका लोभ, क्रोध, ईर्ष्या, द्वेष, अहङ्कार जस्ता विकारहरूलाई त्रासदिले सफा गरेपछि हुने आनन्द र शरीरमा आउने स्फूर्ति । हो, यही जीवनको निरन्तर विरेचित प्रक्रिया रहेछ रङ्गमञ्च । घर, परिवार, पैसा आदिको प्रवाह नगरी किन एउटा रङ्गकर्मी रङ्गमञ्चमा भुल्छ र वर्षौसम्म साधनामा रमाउँछ ? विश्वमित्रको तपस्या भङ्ग गर्न खोजेझैं समाजका भिरङ्गीहरूले रङ्गकर्मीहरूलाई पनि छोड्दैनन् । तर एउटा तटस्थ र दृढ रङ्गकर्मीले त्यो साधनाको आनन्द भेट्टाउँछ र रङ्गमञ्चमा आफूलाई अर्पन्छ ।

पाश्चात्य ग्रिक दार्शनिक एरिस्टोटल (ई.पू. ३८४–३२२)ले विरेचन सिद्धान्तको प्रतिपादन गरेका थिए । उनले धर्मपरक, नीतिपरक, सौन्दर्यपरक र संरचनापरक भागमा बाँडेर विरेचन सिद्धान्तको व्याख्या गरेका छन् । त्यस्तै विरेचन र सुखात्मकता, विरेचन र साधरणीकरणका आधारमा पनि यसलाई व्याख्या गरेका छन् ।

वि.सं. २०६५ को कार्तिक २० गते म पहिलो पटक राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर पुगेको थिएँ । कविले मलाई फोनमा घरको ठेगाना बताएका थिए, ‘लैनचउरको बेलायती दूतावासको पछाडि आएर सोध्नु, त्यहीं अलकाबस्ती छ, हो त्यहीं हो ।’ कविज्यूको घर पुग्नुपूर्व मनभित्र धेरै कुराहरू खेलेका थिए । त्यत्रो कविको घरको गेटमा कुकुर होला ! गार्ड होला ! यस्तै–यस्तै । तर गेट त जो जतिखेर गएपनि खुल्लै हुँदोरहेछ । न कसैको रोकतोक न कुनै सोधपुछ । वरिपरि बगैंचाका माझ दुईतल्ले सुन्दर घर । म घरको द्वारमा पुग्दा कविज्यूकी १३/१४ वर्षकी नातिनी आइन् र बोलिन्– ‘बुबा खाना खाँदै हुनुहुन्छ । त्यतिञ्जेल संग्रहालय हेर्दै गर्नु भन्नुभाछ ।’ उनले संग्रहालयको चाबी खोलिन् । म अचम्मित परें एउटा व्यक्तिको पनि यो स्तरको संग्रहालय हुन्छ भनेर । एउटा कोठाको चारै भित्ताहरूमा मान–सम्मान, पदक तथा कदरपत्रहरू राख्ने ठाउँ नभएर र्याकमा समेत खात–खात लगाइएको थियो । भनिन्छ, नेपाली साहित्य वा कलाका क्षेत्रमा कविज्यू अहिलेसम्मकै सबैभन्दा धेरै मानसम्मान प्राप्त गर्ने व्यक्तित्त्व हुन् । उनले सानाठूला गरेर करिब दुई सय पुरस्कार र मान–सम्मान प्राप्त गरेको बुझिन्छ । उनले प्राप्त गरेको सबैभन्दा ठूलोे पुरस्कार पाँच लाख राशिको भूपानमानसिंह प्रज्ञा पुरस्कार हो ।

मैले उक्त संग्रहालय एकसरो आँखा लाउन नभ्याउँदै कविजी माथिल्लो तलाबाट भर्याङ झरे र भर्याङ छेवैको बैठक कोठामा मलाई लिएर गए । ती वृद्ध हातहरूले मेरा हात समाएर आँखामा आँखा जुधाएर बोलेका सम्झना ताजै छन् । मानौँ, त्यहाँ धेरै वर्षपछि हजुरबा र नातिको भेट हुँदै थियो । मेरा हात समाएरै सँगैको सोफामा बस्न अनुरोध गरे उनले । र, हँसिलो मुख खोल्दै कविजी बोले– ‘ल अब त्यहाँ मध्येका तपाईंलाई मन परेका केही कविता सुनाउनुस् ।’

मैले अघिल्लै दिन उनलाई मेरो ‘काला गुराँसहरू’ नामक कविता संग्रहको भूमिका लेखनको निम्ति फोनमा सबै कुरा गरेको थिएँ । त्यसपछि मैले उनलाई केही कविता सुनाएँ । त्यसपछि पुनः उत्साहित हुँदै अझै सुनाउन भने । त्यसबेला उनले मेरा १०/१२ वटा कविता ध्यानपूर्वक सुने र उही हँसिलो अनुहारमा बोले– ‘धेरै उत्साह छ तपाईंका कवितामा, आजको एकसातापछि आउनुस् म लेखिराख्छु ।’

त्यसपछि केही गफगाफ गरेर हामी छुट्यौं । कविजीसँगको यो भेटले पनि मलाई बिरेचित गरायो । आनन्द वा सुखानुभूति कवि वा काव्यको प्रयोजन रहेछ । मैले कल्पना गरेका कवि र वास्तविकतामा भेटेका कविबीच गहिरो भिन्नता पाएँ । सरलता र सादगीले भरिएको कोमल हृदयका महर्षीझैँ पाएँ मैले पहिलो भेटमै कवि घिमिरेलाई ।

लैनचउरको बाटो हिंडेर रत्नपार्क जाँदै गर्दा उही मालती मङ्गले नाटक स्मृतिमा छायो । त्यसभित्रको मङ्गलेले गाउने गीति संवादको एउटा पङ्ति आज पनि मलाई कण्ठस्थ छ :

शिरको टोपी भुइँमा राखी म गर्छु बिनती
गाउँको भाइ हो, शरणमा छोडें एकली मालती ।

शाहकालीन समयको इतिहासको गर्भमा लुकेको गोरखाको फुजेल गाउँको सत्य घटनालाई कविले सयपत्री फूलको माला जस्तै उनेर गीति नाटक बुनेका थिए । मालती र मङ्गले एउटै मालिकको घरका कमाराकमारी थिए । जवानीसँगै तिनीहरूको एकअर्कासँग मायाप्रीति बस्यो । तर उक्त प्रेमको शक्तिलाई गलत साबित गर्न मालिक तगारो बन्छ अर्थात ऊ मालतीप्रति कुदृष्टि राख्छ र एकदिन कमारोलाई बेचिदिन्छ । दुवैजना विलाप गर्छन् । र, कमारो अर्थात मङ्गले कमारी मालतीलाई सम्झाउँदै भन्छ– ‘यो फूल तिमीलाई दिएर जान्छु, जैलेसम्म यो वैलिदैन तैलेसम्म तिमीलाई पनि केही हुन्न, म पनि मर्दिनँ ।’

फूलबारीभित्र सारिद्यौ फूल नाउँ पारी मङ्गले
मङ्गले फूल नवैलेसम्म, मर्दैन मङ्गले
हेरी यै फूल, धाने है दिल–नराऊ, नरोऊ ।

कथा अगाडि बढ्दै जाँदा बाटामा दुई स्वर्णफूल फेला पर्छन् । ती हुन्– गोरखाली रानीका कानका कर्णफूल । रानी आफ्ना दायाँ कानको कर्णफूलले कमारोलाई किन्छिन् । बायाँ कानको कर्णफूलले कमारीलाई किन्नकै निम्ति दिन्छिन् र दुवैको मेल गराउँछिन् । रानीको दया भावनाको साथै न्याय दृष्टिले पनि ती दुई दासदासीलाई स्वतन्त्र दिलाउँछिन् । तर समयको शक्ति विचित्रको छ । महारानीको बायाँ कानको कर्णफूल लिएर मालतीलाई छुटाउन पुग्दा अर्धमुर्छित मालती फेला पर्छे । मालतीकाको जवानीमाथि आँखा गाडेको मालिकको अन्याय सहनुभन्दा देहत्याग गर्न उचित ठानी मालतीले । गीति नाटक दुःखान्त परिवेशमा अन्त्य हुन्छ ।

बोल्दाबोल्दै रोकियौ फेरि बोल हो
आँखा खोल मालती ! आँखा खोल हो ।

पृथ्वीनारायण शाहले राष्ट्र एकिकरणसँग विद्यमान दासप्रथा राजाज्ञा जारी गरेर वि.सं. १८२५ मा मुक्त गराएको कुरा इतिहासमा उल्लेख छ । त्यस्तै वि.सं. १८३० मा सात गाउँका बाँधबँधिनी र कमाराकमारीलाई मुक्त गराएका थिए । पछि तत्कालीन प्रधमानमन्त्री चन्द्र शमशेरले यसलाई औपचारिक रूपमा सदाको लागि अन्त्य गरेका थिए ।

कविज्यूले दिएको एक साताको समय अर्थात् कार्तिक २८ गते म पुनः पुगें कविकुञ्जमा । मसँग विद्यालयमा पढ्दै गरेका थप ४ भाइबहिनीहरू पनि साथमा थिए । उनीहरू पनि विद्यालयमा फाट्टफुट्ट कविता लेख्थे । उनीहरूका कविता पनि कविज्यूले ध्यानपूर्वक सुनेर बहुत हौस्याए । त्यसपछि हामी कविजीसँग फोटो खिच्न बगैंचामा निस्कियौं । उहाँकी धर्मपत्नी महाकालीसहित घरका अन्य सदस्यहरू पनि हामीसँग सहभागी भए । म अहिले पनि सम्झिएर दङ्ग पर्छु । त्यो कविता संग्रह अहिले पनि मसँग केहीप्रति बाँकी छन् । अहिले कसैलाई देखाउन समेत संकोच लाग्छ । ब्याचलर पढ्दै गर्दा लहडमा कोरेका ती वैंसका लहड मात्र थिए । तर कविज्यूले करिब एक पेजको भूमिकामा कविताका गुणगानले भरिदिए । र, बगैंचामा फोटो खिच्दा पनि ‘यो ठाउँमा चाहिं म कविसँग फोटो खिच्छु’ भन्दै दुई तीन ठाउँमा मलाई आफैंले तान्दै लगे । र, कवि दम्पतिसँग सन्तुष्ट हुने गरी हामीले फोटा खिच्यौं ।

मालती मङ्गले इतिहास रचेको चर्चित गीति नाटक थियो । जुन पहिलोचोटी २०४२ र त्यसपछि ०४४ सालमा पनि प्रज्ञा भवनमा चलेको थियो । यो नाटकले चर्चा कमाउनुमा तारादेवी, नारायणगोपाल र अम्बर गुरुङको पनि भूमिका थियो । तर त्यतिबेला थियो एउटा समस्या । नारायणगोपालसँग तारादेवी र अम्बर गुरुङको बोलचाल बन्द रहेछ । तर कविज्यूलाई पनि यिनै कलाकार चाहिने, भएन त फसाद ! तर कविजीले हिम्मत हारेनन् र एक दिन सिधै हानिए महाराजगंजस्थित नारायणगोपाल निवास । र, नारायणगोपालले ग्रीन सिग्नल दिएपछि एक दिन प्रज्ञा प्रतिष्ठानमै अम्बर गुरुङ र नारायणगोपाललाई सँगै चिया पिलाएर सम्बन्धको पुनर्स्थापन गराए । तर तारादेवी र नारायणगोपालको सम्बन्ध धेरै चिसिएको रहेछ । एक अर्कामा पुनर्बाेलचाल नहुने देखेपछि प्रज्ञाकै मञ्चको दुवैका बीचमा ठूलो पर्दा राखेर गीत रेकर्ड गराइएको थियो रे ! यस्तै समस्याहरूका बीचमा खोजिएको समाधानबाट यो गीति नाटकले धेरै दर्शकलाई विरेचित पनि गरायो । यी बाहेक किरण प्रधान, दीपक जंगम, ज्ञानु राणाको स्वर पनि थियो यो नाटकमा ।

सङ्गीत, नृत्य र अभिनय नाटकका विशिष्ट तत्त्वहरू हुन् । त्यसो त यी तीनै कलाका पनि विशिष्ट क्षेत्र हुन् । सामान्यतः सङ्गीतले श्रवण आनन्द, नृत्यले शारीरिक आनन्द र अभिनयले भावानन्द प्रकट गर्दछन् । अर्थात सङ्गीत र नृत्यभित्र अभिनय भाव मिसिएर नै गीति नाटक बन्दछ । यस्ता प्रकारका लोकनिकट गीति नाटक सर्वसाधारणसम्मले सजिलै बुझेर आनन्द लिन सक्छन् । त्यसैले नेपालजस्तो देशका कुनाकन्दरासम्म यस्ता कथा इतिहास र लोकका गर्भमा छरिएर रहेका छन् । कवि घिमिरेको त्यसैको संकलनको प्रयास थियो यो गीति नाटक । कवि स्वयंले पनि कविताको परिभाषा दिने क्रममा, ‘शब्द र सङ्गीत, अर्थ र अभिप्राय’ लाई विशेष महत्त्व दिएका छन् ।

अँ, एउटा महत्त्वपूर्ण कुरा त मैले झण्डै छुटाएछु । बैठक कोठामा भाइबहिनीहरूका कविता सुनिसकेपछि टाइप गरिएको भूमिकाको पातोसँगै एउटा पुस्तकको भित्री भागमा हात कमाउँदै कविले आफ्नो हस्ताक्षर र मिति लेखे । र, ‘ल तपाईंलाई मेरो उपहार’ भनेर उक्त पुस्तक मेरो हातमा राखिदिए । त्यो पुस्तकले मलाई सिधै त्यही प्रज्ञाको हलमा पुर्यायो, जहाँ मैले प्रोसिनियम थिएटरको पहिलो नाटक मालती मङ्गले हेरेको थिएँ । हो, त्यो कविजीको उपहार वा चिनो त्यही पुस्तक थियो– ‘मालती मङ्गले’, जुन आज पनि मेरो बुकर्याकमा बसेर मलाई चियाइरहेको हुन्छ ।

वि.सं. २०४६ सालको प्रजातन्त्र आगमनपछिको कुरा हो । झापा जिल्लाको आँपटारी स्थित श्री बाल निकुञ्ज प्राविको चउरमा मञ्चित नाटकका दृश्यहरू थिए ती, जुन मैले प्ररम्भमा चर्चा गरेको थिएँ । अहिलेका शासक केपी ओली मङ्गलेको भेषमा भूमिगत नै थिए त्यो बेला । आज आएर उनी त्यही खाकी रङमा ठाँटिएर नागरिकका घाउमा त्यतिबेलाकै शासकले जस्तो नूनचुक दल्दैछन् । जीवनको रङ्गमञ्चले कतिखेर कुन मोड लिन्छ अनुमान गर्न गाह्रो छ । मालती मङ्गलेलाई इतिहासको गर्भबाट ब्युँताएर कविज्यूले महाप्रस्थान गरे तर शासक मङ्गलेहरूको प्रस्थान कस्तो हुने हो समयले नै देखाउला । स्वर्गीय कविमनलाई हार्दिक श्रद्धासुमन !