आज हामीले हाम्रो प्यारो साथी प्रकट पगेनी शिवलाई बिदा गर्दैछौँ । मन भारी भइरहेको छ । उनीसँग मेरो सम्बन्ध ४५ वर्षभन्दा बढी छ । पहिलो पटक उनी गाउँबाट कलेज पढ्न पोखरा आएका थिए । उनी मेरो घर नजिकै शुरूमा डेरामा बसेका थिए । त्यसै क्रममा उनीसँग मेरो परिचय भएको हो ।

यो परिचय पछि यति झ्याँङ्गियो कि मैले उनलाई मेरा विभिन्न नाटकमा अभिनयका लागि मनाएँ । खास गज्जब चाहिँ ‘गोलार्द्धको कालो आकाश’ नाटकमा अभिनयका लागि थियो किनभने त्यो नाटकबाट हामीले २०३८ सालमा प्रज्ञा प्रतिष्ठानमा नाटक महोत्सवमा भाग लिँदै थियौँ । त्यस वर्ष, त्यही नाटकबाट उनी सर्वश्रेष्ठ अभिनेतामा विजयी भए । उनको अभिनय नै गज्जब थियो । उनमा कविता, गीत र मुक्तकको राम्रो समझ थियो । त्यसले पनि उनले अभिनय गर्न सके भन्ने लाग्यो । उनको बुझाइका कारणले नै मैले मेरा सबै नाटकमा उनलाई नै अभिनय गराउँथेँ । त्यो नाटक पुरस्कृत हुनुमा यसको विषय र उनले गहिराईमा गरेको अभिनय नै मुख्य कुरा थियो । कथा चाहिँ, आत्महत्या गर्न गएको एउटा युवा जब नदीमा हाम्फाल्छ र जलहारीले उसलाई बचाउँछ । आत्महत्या गर्न लागेको आरोपमा प्रहरीले उसमाथि मुद्दा चलाउँछ । त्यो नाटक निकै गाह्रो छ । यसमा लामो मनोलग छ । यस्तो मनोलग त्यो बेला बिरलै हेर्न पाइने कुरा थियो ।

त्यो बेला म, प्रकट, उषा भट्टचन (शेरचन), तीर्थ श्रेष्ठ, अर्जुन जंग शाही लगायतको समूह थियो । कुल १५-२० जनाको टोली थियौँ । प्रकटले सधैँ उम्दा काम गर्ने भएकाले उनलाई छानेँ । पोखरेली युवा सांस्कृतिक समूहले त्यो बेला नियमित रूपमा कविगोष्ठी गर्थ्यो । उनी सदस्य भएकाले क्रियाशील पनि थिए । पोखरामा बस्ने भएकाले उनीसँग दैनिक भेट हुन्थ्यो । क्याम्पस वरपर नै बागबजारमा डेरा लिएर बस्ने भएकाले दिनहुँ भेट हुन्थ्यो । शुरूमा अभिनय, कविता, मुक्तकजस्ता टिकटमा कविता सुनाउने क्रम शुरू गर्यौँ ।

२०३५ सालबाट यो परम्परा शुरू भएपछि हामी ज्यादै आत्मिय भयौँ ।

पछि उनी विसं. २०४० को दशकमा लुम्ले गाउँस्थित कृषि केन्द्रमा जागिरे भए । त्यहाँ उनी परिवारसहित बस्थे । निकै व्यवस्थित बसाइ थियो । हामी कहिलेकाहीँ रमाइलो गर्न लुम्ले पुग्थ्यौँ । त्यहाँ साह्रै आत्मिय वातावरणमा उनले स्वागत गर्थे । त्यहाँ बस्दा भने उनले मुक्तकभन्दा गीतमा बढी ध्यान दिन थाले । पछि उनले त्यहाँको जागिर छाडे । उनको अक्षर ज्यादै सुन्दर भएकाले साइन पेन्टिङ गर्ने काम थाले । यो व्यापारमा उनी लामै समय टिके । साथीभाइ उनको पसलमा भेला हुने, रमाइलो गर्ने र अन्य कामहरू गरिरहन्थे ।

पछिल्लो समयमा गजलको लहर चल्यो । खासगरी सन् २०५० को दशकमा । उनको सबैभन्दा प्रख्याति त्यही बेला पाएका हुन् । टिकटमा मुक्तक त धेरै पहिलेदेखि हामीले चर्चामा ल्याएका थियौँ तर पछि त उनको मुक्तकमा पनि त्यही कुरालाई ध्यान दिइयो । उनको ‘प्रणयमा प्रकट’ निकै लोकप्रिय बन्यो । त्यो गजलको लोकप्रियता यति धेरै भयो कि उनलाई हरेक वर्ष यस्तो कार्यक्रमका लागि दबाब आउँथे ।

पछिल्लो समय उनले उपन्यास लेखिरहेको बताउँथे । उनको पान्डुलिपि घरैमा होला । परिवारले खोजेर त्यसलाई पक्कै प्रकाशन गर्ला भन्ने लागेको छ ।

आज उनको अन्तिम संस्कारको दिन हो । हिजैदेखि उनीसँग खिचिएका तस्बिरहरू निकै भाइरल भइरहेको छ ।

धेरैले मलाई मैले राखेको तस्बिरको कुरा सोधिरहेका छन् । यो तस्बिर टिकटमा मुक्तकको कार्यक्रम सकिएपछि खिचिएको हो । त्यो बेला एउटा टिकट दुई रूपैयाँ पर्थ्यो । त्यो एउटा टिकट बेच्न निकै गाह्रो हुन्थ्यो । हामी विद्यार्थीले बेच्ने ठाउँ भनेको शिक्षक वा प्राध्यापक नै थिए । उनीहरू पनि टिकट किन्न गाह्रो मान्थे ।

अहिलेको उद्योग वाणिज्य संघको क्षेत्रमा पहिले ठूलो चौर थियो । त्यहाँ एउटा सानो चौतारो थियो । त्यहाँ हामीले टिकटमा मुक्तक कार्यक्रम गरिसकेपछि त्यहाँका सामान उठायौँ । त्यो सामान उठाइसकेपछि कसैले यो तस्बिर खिच्नु भएको हो । यो तस्बिर कसले खिच्यो, त्यति याद त आइरहेको त छैन तर विश्व शाक्यले खिचेका हुन् कि जस्तो लाग्छ किनभने अधिकांश तस्बिर उनैले खिचेका छन् । त्यो बेला स्टुडियो चलाउने केही सीमित व्यक्ति थिए । तीमध्ये विश्व शाक्य र उनका दाइको स्टुडियो हामीसँग बढी नजिक थिए । त्यसैले यो तस्बिर विश्वले नै खिचेको हुनुपर्छ ।

त्यो कार्यक्रम मेरालागि पनि प्रिय छ किनभने त्यो बेला हरिभक्त कटुवाललाई हामीले काठमाडौँबाट डाकेका थियौँ । उहाँ चर्चित मुक्तककार हुनुहुन्थ्यो । उहाँलाई प्रमुख अतिथि बनाएका थियौँ । त्यसपछि वर्षेनि यो कार्यक्रम गरेका थियौँ ।

केही दिनअघि हामी एउटा कार्यक्रममा थियौँ । त्यो कार्यक्रममा चितवनमा कविडाँडाले दिएको पुरस्कार लिने कार्यक्रम थियो । फर्कने क्रममा यो तस्बिर हामीले खिचेका थियौँ । प्रकट यति मज्जाले हाँसेका छन् कि उनी बिरामी थिए भन्ने कसैले कल्पना पनि गर्न सक्दैन । चैत २५ गतेको कार्यक्रमपछि उनलाई घरमा भेट्दा पनि उनले बिरामी हल्काफुल्का भएको जनाउ दिएका थिए तर बाहिरबाट हेर्दा खासै केही चिनो देखिएको थिएन ।

उनले घरैमा एउटा कटेजजस्तो बनाएर छोरासँग मिलेर एउटा होटल‑रेस्टुराँजस्तो चलाउने प्रयासमा रहेछन् । त्यहीँ बस्दै गर्दा उनले हामीलाई केही फलफूल खुवाए । त्यसैबेलाको तस्बिर हो यो । छाप्रोजस्तोमा बसेर हामीले केही कुरा गर्यौँ ।

अर्को तस्बिर यतिबेला धेरैले सेयर गरको चाहिँ तीर्थ, प्रकट, म र दिनेश अधिकारीको पनि छ । मुक्तक कार्यक्रमकै बेला खिचेको हुनुपर्छ । २०३७ सालको मुक्तक कार्यक्रमपछि वनमाली निराकारकहाँ हामी गएका थियौँ । उहाँ अहिले भैरहवामा बस्नु हुन्छ तर पहिले पाल्पामा बस्नु हुन्थ्यो । हामीले उहाँलाई पाल्पाबाट बोलाएका थियौँ । पाल्पा, काठमाडौँबाट प्रतिनिधित्व गराउँथ्यौँ । काठमाडौँबाट दिनेश अधिकारी आएका थिए । विजय वजिमयको घरमा यो तस्बिर खिचेका थियौँ कि जस्तो लाग्यो ।

त्यो बेला कार्यक्रम सकिएपछि अन्तकतै जानुभन्दा वजिमयको घरमा जान्थ्यौँ । त्यै भएर उनीकहाँ गयौँ । डाँफे कला मन्दिरमा नियमित सांस्कृतिक कार्यक्रम हुन्थ्यो त्यो बेला तर त्यो निजी संस्था थियो । हामीले नाटक देखाउनुपरे हामी त्यहाँ जान्थ्यौँ । त्यहाँ मुक्तक कार्यक्रम दिउँसो गरेपछि साँझपख बस्दा यो तस्बिर लिएको जस्तो लाग्यो ।

प्रायः तस्बिर विश्व शाक्यले नै तस्बिर खिच्थे । तर कसले खिच्यो ठ्याक्कै थाहा भएन । आज उनलाई तस्बिरमार्फत सम्झनु पर्दा दिक्क लागिरहेको छ ।

(प्रख्यात साहित्यकार सरूभक्तसँग गरिएको कुराकानीमा आधारित।)