
तारन्तारको फोन ।
दस वटा मेसेज ।
मेसेजमा – फोन उठाऊ न प्लिज । जस्ट फर वन मिनेट । जस्ट वान्ट हियर यु ।
अहँ उसले फोन उठाएन । फोनको रिङ्टोन हटायो भाइब्रेसनमा राख्यो । भाइब्रेसन पनि हटायो र मोबाइल ज्याकेटको खल्तीमा राख्यो । बाइक बटार्यो बत्तियो । ज्याकेको खल्तीमा मोबाइलको डिस्प्ले कयौंपटक बले तर उसले न रिङ्टोन सुन्थ्यो न भाइब्रेसन थाहा पाउँथ्यो । तर मनमा फोन आइरहेछ भन्ने आभास पाइ नै राखेको थियो ।
एक्कासि बाइक मोडियो । त्यै कफी प तिर । मनले मोडेको होइन, खै कसरी हातले मोडेर कफीसपको पार्किङ सम्म डोर्यायो । टेबलमा डङ्ग्रङ्ग हेलमेट बिसायो । फ्यात्त सोफामा चाबी हुर्यायो ।
“काम छैन तेरो,” आवेश मिसिएको सामान्य भन्दा चर्को आवाजमा बोल्यो ।
“बल्ल सुन्न पाएँ आवाज,” जवाफ सोफाको अर्को कुना बाट आयो । मुस्कान सहित फ्याँकेको चाबी हातमा खेलाउँदै ।
“तेरो फोन फुटाइदिम कि औंला काटिदिऊँ,” रिसको पारो एक डिग्री अझ बढ्यो । बढेको पारो बोलीको भोल्युमले प्रस्ट हुन्थ्यो ।
“फोन फाल्दे औँला तँलाई छोएर थाकेकै छैन,” मुस्कान यथावत् रहेर उनको जवाफ तुरुन्तै आयो ।
“सरप्राइज देको कि के हो ? फोन नउठाई सिधै आएर, आई नो हाउ मच यु लभ मि,” अहिले मुस्कानको पनि पारो बढ्यो हल्का लाडिएको आवाज सहित ।
“किन फोन गरिस् कोई मर्यो र ?” शब्दमा रिस भए पनि हाउभाउमा चैँ रिसको पारो कम भएको थियो ।
“उम् मेरो मन,” मुस्कान रहित सामान्य भाव सहितको उनको जवाफ ।
” किन ?” रिसको पारो लगभग शून्यतर्फ थियो ।
“कफी खाइस् ? खाना खाको कि नाइँ आज ? कति बेर भयो यहाँ बसेको ? चुरोट त खाइनस् नि ? मेरो कसम खाएर छोडेकी थिइस् फेरि खाइस् भने जानेको छु,” उसले सबै कुरा एक श्वासमै सोध्न भ्यायो ।
उनले एक मुस्कानले सबै कुराको जवाफ दिन सकी । उसले मुस्कानको बदलामा अर्को मुस्कान थपिदियो ।
उनले ब्ल्याक कफी मगाई चिनी बिनाको दुई कप । वेटर एक क्षण अकमक्क परे जस्तो गर्यो । टेबलको विपरीत तर्फ हेर्यो । अचम्म परेर।
“भाइ ! यहाँ नयाँ हो ?” वेटरलाई सोधी । वेटरले हो को भावमा टाउको हल्लायो उनको अर्डर नोट गर्यो र तुरुन्तै अलप भयो ।
उसले अघि साइलेन्समा राखेको मोबाइल ज्याकेटको खल्तीबाट निकाल्ने फुर्सद बल्ल पायो । नोटिफिकेसन थियो ६९ मिस्ड कल फ्रम पागल । मोबाइलको डिस्प्ले उनलाई देखायो अनलक नगरी । उनले जवाफ दिइन्, “ह्वाऊ ६९ माई फेभरेट ।”
ऊ नहाँसी नमुस्कुराई बस्नै सकेन । मुस्कानको पारो दुवैको ओठमा र खुसीको पारो दुवैको मनमा बराबर डिग्रीमा थियो ।
0 0 0 0
फेसबुक मेसेन्जरको नोटिफिकेसन घर पुग्ने बित्तिकै ट्वाङट्वाङ लगातार बजेको बज्यै गर्यो लगभग १५ पटक । लगातार मेसेज आएको रैछ । १५ वटा मेसेज मध्य १३ वटा बिचका मेसेजमा आई मिस यु लेखिएको थियो । पहिलोमा हाई लभ र अन्तिममा ओके बाई लेखिएको थियो । पहिलो मेसेज सेभेन फोर्टि थ्रि पि एममा आएको थियो पन्ध्रौं मेसेज सेभेन फिफ्टि फाईभ पि एम मा । उसले मेसेज हेर्दा सवा आठ भएको थियो । पाँच मिनेट पछि रिप्लाई गर्यो । मिस यु टु । टक टु यु लेटर ।
“म खाना खाएर कुरा गर्छु ल ? मामु खाना कुर्दै होइसिन्छ,” अर्को मेसेज पठायो । अनि मोबाइल चार्जमा राखेर किचनतर्फ लाग्यो ।
खाना खाएर आउँदा सम्म नौ बजिसकेको थियो ।
मेसेज देख्यो – आऊ न प्लिज । राइट नाउ । तुरुन्तै । मिसिङ् लाईक हेल । जस्ट कम ।
“सरि ईट्स टु लेट,” उसले रिप्लाई दियो । फेरि तुरुन्तै लेख्यो । सि यु टुमारो एट कफिसप । मेसेज तुरुन्तै सिन भयो । तुरुन्तै रिप्लाई आयो ।
“नो आई निड यु एट माई बेड राइट नाउ ।”
वाइफाइ अफ गर्यो । मोबाइलमा मेसेज आयो । “आउँदै हो ?”
उसले रिप्लाई दिएन । पाँच मिनट पछि फोन आयो । उसले फोन उठाएन । त्यसपछिको पाँच मिनटमा छ पटक कल आयो । सातौं पटकको फोन उठायो उसले । सुरुमै भन्यो, “आई कान्ट कम ।”
उनले मुस्कुराउँदै भनी, “महोदय कम को स्पेलिङ रिभाईज गरेर बुझ ।”
“सि ओ एम ई”
अक्षर छुट्टाछुट्टै गरेर स्पेलिङ लेख्यो र मोबाइल छेउमा राखेर आँखालाई भएभरको बल लगाएर चिम्म गर्ने प्रयास गर्यो । मोबाइल भाइब्रेट गर्यो । एकछिन हेर्ने हिम्मत पनि आएन । फेरि भाइब्रेट गर्यो । बाध्य भएर हेर्यो ।
मेसेज थियो “आई नो यु क्यान कम बिई्ङ् केयरफुल बिईङ् युजफुल बिइङ् माइन ” ।
उसको घरको गेट रातभर खुल्ला बस्यो त्यो दिन अनि उनको घरको गेट राति एघार बजे उसलाई स्वागत गर्दै थियो ।
0 0 0 0
“आभासको नयाँ फेसबुकमा मलाई किन एड गर्दैन ? म वैतरणी तर्ने हजुरआमाले पनि नाति देख्न हेर्न नपाउने ? सब्बैको फोन लाग्छ सब्बैले देख्न पाउँछन् मैले देख्न नपाउने ? खाछ खाछैन । पढ्छ पढ्दैन ? के गर्या छ, कस्तो छ, केई देख्न पाको छैन । तिमीहरूको पो सावाँ हो मेरो ब्याज नाति सर्लक्क परेको कति उज्यालो कति राम्रो । म बोल्न नपाउने ? मेरो नाति मेरो जुनलाई बेकाम्मा बाहिर पठा । त्यो बिरानो देशमा ।” उसको हजुरआमा बिहानैदेखि फत्फताउँदै थिइन् ।
“आमा नआत्तिनु न आभास ठिक छ । आभासले पढ्दै छ । आभास राम्रो काम गर्दै छ ।” उसको बाबाले आफ्नी आमालाई ढाडस दिन खोजे । बाबाको मन कम चटारोमा चैँ थिएन । तर पनि आफ्नी आमा अर्थात् आभासको हजुरआमाको मनलाई ढाडस दिन प्रयासरत थिए ।
“मेरो फेसबुकमा नातिको फेसबुक हाल्द्याऊ, मै भिडियो कल गर्छु । तिमेर्को त भर लाग्नै छाड्यो ।” हजुरआमाको जिद्दी यथावत् नै थियो । मुहारमा नातिको न्यास्रो यथेष्ट देखिन्थ्यो ।
आभासकी आमाको मुहार मलिन थियो । मुस्कान खोसिएको ओठ काला निला फुस्रा भएका थिए । आँखाका डिलमा खुम्चिएका मुजा काला हुँदै गएको थियो । तौल घटेर आधी ज्यान भैसकेकी थिइन् । मनमा व्यापक खिन्नता थियो डाको छाड्न मात्रै मन लाग्थ्यो । बिचरीलाई डाको छाड्न त के आँसु झार्न पनि बन्द कोठाको आवश्यकता पर्थ्यो । रात परेपछि सुँक्कसुँक्क रोदन बिस्तारै बढ्दै डाँकोमा परिणत हुन्थ्यो । रोदन अन्तिम चरणमा श्रीमान् पनि सामेल हुन्थे । भन्थे, “के गर्नु बुढी हाम्रो भाग्यै खोटो रैछ । सम्हालिनु पर्छ रोएर बिलौना गरेर छोरो फर्किंदैन ।” वाक्य सकिन्जेलसम्म उनको गहले आँसुका भेल बहाइसकेको हुन्थ्यो । जोडबल लगाएर मनलाई रोक्थे तर आँसु रोक्न हत्केलाको पछिल्लो भाग मात्रै सामर्थ्य हुन्थ्यो ।
“सुत भोलि बिहान फेरि आमा कराउनु हुन्छ । नातिलाई फोन गर भन्नुहुन्छ । नातिलाई भेट्छु भन्नुहुन्छ । कसरी भेटाम् कसरी देखाम् । के जवाफ दिम् ।”
आभासको हजुर आमा दुईपटक मुटुको अप्रेसन गरेकी दिनमा नौ थरी ओखतीको भरमा थिइन् । डाक्टरले उनलाई कुनै मानसिक आघात पुग्ने खबर नदिनु तनावबाट मुक्त राख्नु भनेर सल्लाह दिएका थिए ।
आफ्नी बिरामी आमालाई यस्तो विस्मयको खबर कसरी दिने के गरी दिने कतिन्जेल लुकाउने उसको मनमा ठुलै हुण्डरी चलिरहन्छ ।
आभासकी आमा बोल्छिन्, “बिचरी कृति । उसको बेहाल देख्दा उसको गति देख्दा मन थाम्न गाह्रो हुन्छ ।”
“कैले भेट्यौ ? कस्तो छ अवस्था औषधीले काम कत्तिको गरिरहेको रहेछ ?”
“तीन दिनअघि आभासको लागि स्मार्ट घडी पठाएकी छे । झगडा भयो रे मेरो तर्फ बाट आभासलाई सरि भन्दिनु न है मम्मी भनेकी थिई । उसको फोन मेसेजको क्यै रिप्लाई गर्दैन भन्दै थिई ।”
“मेरो बाबू ! मेरो मुटु ! कसरी उठावोस् फोन कसरी गरोस् मेसेज ।”0 आमाको भक्कानो फेरि फुट्यो । अब बाउसँग पनि सम्झाउने बुझाउने शब्द र शक्ति दुवै सकिएका थिए ।
0 0 0 0
वेटर फेरि दिक्क मानेर कृतिलाई हेर्दै थियो । कालो चस्मा टाउकोमा राखेर मस्किंदै क्याफे छिर्दै थिइन् कृति । केही बोल्दै पनि सायद एक्लै होइन आफ्नो छेउमा भएको मान्छेसँग ।
“आज फेरि एक्लै आएर दुइटा कफी मागेकी छे ? पैसा कति वटाको दिन्छे ?” मेनेजरले जिज्ञासा भाव वेटरलाई सोध्यो ।
“टिप्स पनि दिएर सबै पैसा तिरेर जान्छे ।” वेटरले जवाफ भावमा भन्यो ।
“अनि किन उनको कफी लेट गर्दै छस् ?” मेनेजरले आदेश भावमा भन्यो । त्यो भनेको चार मिनटमा कृतिको टेबलमा दुईवटा कफी र दुईवटा चुरोट टक्राएर वेटर फर्कियो । कृतिको धन्यवादको रिप्लाईमा वेलकम म्याम भन्दै ।
उसले आर्को कफीको कप छुँदा पनि छोइन आफ्नो तर्फ भएको कफी रित्याइ । बिस्तारै आनन्दले चुरोट पनि तानी । बिचबिचमा हाउभाउ देखाई । केहीबेर फिस्स मुस्काई एकछिन पछि गलल्ल हाँसी । निधारमा कहिले गाँठो पर्थ्यो कहिले फेरि गालामा डिम्पल । कैले लाली भरिन्थ्यो गालाभरि मोहनी लागेझैँ मडारिन्थी क्याफेको सोफामा ।
कैले आभासले उसको गाला सुमसुम्याउँथ्यो । एक्कै छिनमा चिमोट्थ्यो । एकछिन आभास मोबाइल हेर्थ्यो । एकछिनमा रिसाउँथ्यो । क्याफेमा भएकाहरूको आँखा छलेर आभासले कृतिलाई चुम्बन गर्यो ।
गाला सुमसुम्याउँदा ऊ फिस्स हाँसी । मोबाइल चलाउँदा निधारमा गाँठो पारी । आभास रिसाए झैँ गर्दा फकाउन गालाको डिम्पल देखाई । आभासको चुम्बन पछि उसको मुहार पुरै रातो भयो । अझ आभास एकान्तको फाइदामा आफ्ना हत्केला उसका अङ्गहरूका स्पर्शको दौडमा हुँदा उ मडारिन्थी सोफाभरि लत्रक्क पर्थी । आभासको आभास पूरा शरीरभरि म्याराथनमा दौडन्थे । कृति नतमस्तक हुन्थी आभाससँगै कहाँ कहाँ पुग्थी । तर एक्लै । उनको बिमारीले पुर्याउँथ्यो । सायद आभासको मायाले वा आभासको अभावले सायद आभास नहुनु नै कृतिको आभास थियो । वा आभास आफैमा कृति थियो । कि कृति मात्रै आभास गर्थी । कि आभासले कृतिको मनमा क्यै आभास दिन्थ्यो । आभास वास्तवमा त विदेशमा मरिसकेको थियो । तर कृतिको बिमारीमा सायद मनमा सायद कफी सपमा मात्रै भएपनि आभास जिन्दा थियो कृतिको लागि ।
कृति कफी सपबाट पैसा आभासले तिर्ने पालो भनेर निस्किई । मेनेजर अक्क न बक्क भयो । वेटरले मेनेजरको मुखमा एकटकले हेर्यो । लौ पैसा दिन्छे हैन भनेको भावमा ।
एकछिनमा एम्बुलेन्स कफी सपको पार्किङसम्मै आइपुग्यो । स्ट्रेचरमा हालेर कृतिलाई एम्बुलेन्स चढाइँदै थियो । मेनेजर अचम्मित मान्दै एम्बुलेन्स नियाल्दै थियो । पछाडिबाट आवाज आयो, “केही खाएकी थिई र ? पैसा तिर्न बाँकी छ ?”
मेनेजरले दुई कफी र दुई चुरोटको बिल दियो । आभासको आमाको मनमा भान आयो – मेरो छोरो कम्तीमा यहाँ कफीसपमा त जिउँदो छ, कृतिको आभासमा त जिउँदो छ ।
उनले बिल तिरिन् अनि मुस्कुराउँदै मेनेजरलाई भनिन्, “यी नानीलाई कहिल्यै एउटा मात्रै कफी नदिनु ल ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

