अध्याय दशः न्याय र निर्णयको दिन
मिर्दाद: मैले कुनै निर्णय दिनु पर्दैन । दिव्य ज्ञान मात्र दिनु छ । म संसारमा निर्णय दिन आएको होइन । निर्णयको बन्धनबाट मुक्त गर्न आएको हुँ । मात्र अज्ञानताले न्यायाधीशको पहिरन लगाएर कानुन अनुसार सजाय दिन चाहन्छ ।
अज्ञानताको सबैभन्दा क्रूर न्यायकर्ता अज्ञानता हो । मानिसलाई नै हेर न । के अज्ञानताको कारण उसले आफैलाई दुई टुक्रा पारेको छैन र ? आफू र आफ्नो संसारलाई टुक्रा टुक्रा बनाउने सबै चीजहरूको सामु मृत्युलाई निम्तो दिएको छैन र ?
म तिमीलाई भन्छु । ईश्वर र मानिस फरक छैनन् । यहाँ केवल ईश्वर वा मानिस छन् । ईश्वर र मानिस एकै हुन् । हामी यसलाई कसरी गुणन गर्न सक्छौँ र ? हामीले यसलाई जति विभाजित गरे पनि केही फरक पर्दैन । यो सधैँ एक हुन्छ ।
ईश्वरको एकता उनको अनन्त नियम हो । यो नियम आफैमा लागू हुन्छ । आफैँले यसको घोषणा गर्न, आफ्नो गर्व र शक्ति कायम राख्नको लागि अदालत वा न्यायाधीशको आवश्यकता पर्दैन । सम्पूर्ण ब्रह्माण्डमा के दृष्य र के अदृश्य ? यो सुन्ने कान नभएकाको लागि घोषणाको माध्यम भनेकै मात्र एउटै मुख हो ।
महासागर विशाल र गहिरो भए पनि एक थोपा पानी हैन ?
यतिसम्म फैलिएको भए पनि पृथ्वी एउटै ग्रह होइन र ?
सबै ग्रहहरू असंख्य भए पनि सबै एउटै ब्रह्माण्ड होइनन् ?
त्यसरी नै सम्पूर्ण मानव जाति एउटै मानिस हो । त्यसरी नै मानिस आफ्नो सम्पूर्ण संसार सहित एउटा पूर्ण एकाइ हो ।
मेरा साथीहरू हो ! ईश्वरको एकता अस्तित्वको एक मात्र नियम हो । यसको अर्को नाम प्रेम हो । यो जान्नु र स्वीकार्नु भनेको सम्पूर्ण जीवनलाई स्वीकार गर्नु हो । अन्य कुनै पनि कानुन स्वीकार्नु भनेको केहीको अस्तित्वमा रहनु वा मृत्यु भएजस्तै हो ।
जीवन भित्र जम्मा हुन्छ । मृत्यु बाहिर निस्कन्छ । जीवन एकसाथ जोडिन्छ । मृत्यु तोडिँदै जान्छ । त्यसैले द्वैतवादी मानिस यी दुईको बीचमा झुण्डिएको छ । ऊ पक्कै संकुचित हुन्छ । तर टुक्रिएपछि मात्र जोडिनेछ । संकुचन जोडिएपछि मात्र नियमअनुसार चल्छ । जीवन यसको इनाम हो । विघटन र तोडाइमा उसले अनेकौँ पाप गर्छ । यसको तीतो परिणाम मृत्यु हो ।
तैपनि तिमी आफूजस्तै आत्मानिन्दित मानिसहरूको समूहमा बस्न रुचाउँछौ । कति डरलाग्दो न्यायकर्ताहरू । तिनीहरूको न्याय, अहाे !
निस्सन्देह ! मृत्युदण्डमा रहेका दुई अभियुक्तले एकअर्कालाई मृत्युदण्ड दिए भने, यो भन्दा भयानक अरू के हुनेछ ?
दुई साँढे एउटै जुवामा जोडिएको हुन्छन् । तैपनि उनीहरू एक अर्कालाई जोत्ने धम्की दिन्छन् । कस्तो हाँस्यादपद कुरा ।
एउटै चिहानमा दुईवटा लाश लडिरहेका छन् । तैपनि उनीहरू एक अर्कालाई आफ्नो योग्यताको बारेमा घृणा गरिरहेका हुन्छन् ।
दुई अन्धा मानिसहरू एउटा ढुङ्गाको साहायताले एकअर्काको आँखा निकाल्ने प्रयास गर्छन् । कस्तो दयनिय कुरा ।
मेरा साथीहरू हो ! निर्णयको प्रत्येक सीमाबाट टाढा रहनू । किनभने कुनै पनि व्यक्ति वा चीजको बारेमा निर्णय गर्न तिमीले कानून जान्न र त्यस अनुसार जीवन बिताउन मात्र होइन, तिमीले प्रमाणहरू पनि सुन्नुपर्छ । कुनै पनि विचाराधीन मुद्दामा तिमी कसको प्रमाण सुन्छौ ?
वायुलाई अदालतमा बोलाउने ? आकाशमुनि त जे पनि हुन्छ । त्यसलाई वायुले मद्दत गर्छ र प्रेरणा दिन्छ ।
ताराहरूलाई बोलाउछौ ? किनकि संसारमा हुने जुनसुकै घटनाको रहस्य ताराहरूलाई थाहा हुन्छ ।
आदमदेखि आजसम्मका प्रत्येक मृतकलाई अदालतमा हाजिर हुन आदेश दिने ? किनकि सबै मरेकाहरू जिउँदोहरूका बीचमा बाँचिरहेका छन् ।
कुनै पनि अवस्थामा पूर्ण प्रमाण पाउनको लागि ब्रह्माण्डबाट साक्षी हुनु आवश्यक छ । जब तिमी ब्रह्माण्डलाई अदालतमा बोलाउन सक्छौ, तब तिमीलाई अदालतको आवश्यकता पर्दैन । तिमी अदालतको सीमाबाट तल झर्नेछौ । साक्षीलाई न्यायाधीश हुन दिनेछौ ।
जब तिमी सबै कुरा जान्छौ ? तब कसैलाई न्याय गर्दैनौ ।
जब तिमी संसारलाई आफूभित्र मिलन गर्ने शक्ति विकास गर्छौ, तब बाहिर छरिएकाहरूलाई दोष दिदैनौ । तितरबितर गर्नेलाई आफ्नै फैलावटले दोषी घोषित गरिदिएको छ । आफूलाई दोषी ठान्नेलाई दोष दिनुको सट्टा उसको दोषबाट मुक्ति दिलाउने प्रयास गर्नेछौ ।
यतिबेला मानिस आफैँले थोपरेको बोझले नराम्ररी दबिएको छ । यसको बाटो निकै असहज र बाङ्गो छ । प्रत्येक निर्णय न्यायाधीश र अभियुक्त दुवैको लागि अतिरिक्त बोझ हो । तिमी आफ्नो बोझ हलुका राख्न चाहन्छौ भने, कसैको बारेमा निर्णय गरेर नबस । तिमी आफ्नो बोझ आफैँबाट हटोस् भन्ने चाहन्छौ भने, आफूलाई आफ्नै शब्दमा डुबाऊ। र सधैँभरि त्यसैमा हराऊ । तिमी आफ्नो मार्ग सीधा र समतल बनाउन चाहन्छौ भने, दिव्य ज्ञानलाई आफ्नो मार्गनिर्देशन बनाऊ ।
म तिमीकहाँ निर्णय होइन ईश्वरीय ज्ञान लिएर आएको हुँ ।
बैनूनः न्यायको दिनबारे के भन्नुहुन्छ ?
मिर्दाद: बैनून ! हरेक दिन न्यायको दिन हो । हरेक प्राणीको कर्मको हिसाब पलपलमा हुन्छ । यस जगतमा केही चीज लुकेको छैन । केही पनि असन्तुलित रहँदैन । यस्तो कुनै सोच, कार्य र इच्छा छैन । जुन व्यक्तिको विचार, कार्य वा इच्छामा टाँसिएको हुँदैन ।
यस संसारमा कुनै विचार, इच्छा र कर्म फल बिना रहँन सक्दैन । सबैले आफ्नो कर्म र प्रकृतिको नियमअनुसार परिणाम लिन्छन् । ईश्वरको नियम अनुसार जे छ त्यो जीवनमा जोडिन्छ । यसको विरुद्धमा जे पनि हुन्छ । जुन चिज मृत्युसँग जोडिएको हुन्छ ।
बैनून ! सबै दिन उस्तै हुदैन । केही शान्त पनि छन् । तिनीहरू राम्ररी बिताएका समयको फल हुन् ।
केही बादलले घेरिएका छन् । तिनीहरू मृत्युमा आधा निद्रा र जीवनमा आधा जागा बिताएको समयको उपहार हुन् ।
आँखामा बिजुली र नाकमा गर्जनसहित आँधीमा सवार भएर तिमीलाई आक्रमण गर्ने अरू पनि छन् । उनीहरूले तिमीलाई माथिबाट आक्रमण गर्छन् । तलबाट कोर्रा लगाउँछन् । दायाँ र बायाँ फ्याँक्छन् । पृथ्वीमा फ्याँक्छन् । धुलो निल्न बाध्य पार्छन् । त्यसबाट बच्न तिमीले कहिल्यै नजन्मने कामना गर्नुहुन्छ । ती दिनहरू कानुन विरुद्ध जानाजानी बिताएका समयको परिणाम हुन् ।
संसारमा पनि यस्तै हुन्छ । यतिबेला आकाशमा डुब्ने छाया बाढीको आँधी बनेर आएका छायाभन्दा कम अशुभ छैनन् । आँखा खोलेर हेर ।
जब दक्षिणी हावाको घोडामा सवार बादललाई उत्तरतिर सरेको देख्छौ, तब तिमी यसले वर्षा ल्याउँछ भनी सोच्छौ । तर मानवरूपी बादलको बहाव नाप्न तिमी किन बुद्धिमानी छैनौ ? मान्छेहरू आफ्नै जालमा कति नराम्ररी फसेका छन् । देख्दैनौ र ?
द्वन्द्वको दिन नजिकै आउँदै छ । त्यो दिन कति डरलाग्दो छ । हेर त ! शताब्दीयौँदेखिको दौडानमा मन र आत्माको नसाबाट मानिसमा यी द्वन्द्वका लेप टाँसिएका छन् । मानिसरूलाई ती द्वन्द्वबाट कसरी तान्ने ? यसका लागि उनीहरूको मासु च्यात्नुपर्छ । हड्डी समेत चकनाचुर पार्नुपर्छ । मासु च्यात्ने र हड्डी चकनाचुर गर्ने काम मानिस आफैले गर्नेछ ।
जब ढक्कनहरू उठाइन्छ । तिनीहरू पनि निश्चित रूपमा त्यहीभित्र हुनेछन् । जब भाँडाहरूले आफूभित्र भएका सबै चीज निकाल्नेछन्, तब मानिसहरूले आफ्नो कलंक कहाँ लुकाउछन् ? तिनीहरू कहाँ भाग्छन् ?
त्यस दिन जीवितहरूले मरेकाहरूलाई ईर्ष्या गर्नेछन् । मरेकाहरूले जीवितहरूलाई सराप्नेछन् । मानिसका वचनहरू उनीहरूको घाँटीमा अड्किनेछन् । उनीहरूका हृदयबाट सर्प र बिच्छीहरू निस्कनेछन् । उनीहरू आफैँले उनीहरूलाई आफ्नो हृदयमा राखेका र पालनपोषण गरेका थिए भन्ने बिर्सेर उनीहरू डरले चिच्याउदै भन्नेछन् । ‘यी सर्प र बिच्छीहरू कहाँबाट आए ?’
आँखा खोलेर हेर । ठेस लाग्ने संसारको लागि ज्योति बनेको यो डुङ्गा भित्रै यस्तो दलदल छ कि, तिमीले यसलाई पार गर्न सक्दैनौ । यदि दियो नै पासो बन्यो भने समुद्रमा रहेका यात्रुहरूको लागि कति भयानक अवस्था सृजना होला ?
मिर्दादले तिम्रो लागि नयाँ डुङ्गा बनाउनेछन् । त्यो ठ्याक्कै त्यही गुँडभित्र हुनेछ । उहाँले त्यही जग बसाउनेछन् । यस गुँडबाट उडेर तिमीले मानवका लागि शान्तिको सन्देश मात्र नभएर अनन्त जीवन लिएर संसारमा जानेछौ । यसका लागि कानुन जानेर नियम पालना गर्नु आवश्यक छ ।
जमोरा: हामीले कसरी ईश्वरको विधिविधान जान्ने ? पालन गर्ने ?
अध्याय एघारः प्रेम ईश्वरको नियम हो
मिर्दादले दुई साथी बीचको विवाद सुल्झाउँछन् विणा बजाउन आदेश दिँदै नयाँ डुङ्गाको प्रशंसा गाउँछन् ।
मिर्दाद: प्रेम ईश्वरको नियम हो । तिमी बाँच । तिमीले प्रेम गर्न सिक्न सक्छौ । तिमीले प्रेम गर्यौ भने बुझ कि तिमी बाँच्यौ । यसबाहेक मानिसले अरू केही सिक्नु पर्दैन ।
अनि प्रेम गर्नु भनको के हो ? यस बाहेक प्रेमीले प्रेमिकालाई सदाको लागि लिनु र दुबै एक हुनु हो ?
अनि मानिसले कसलाई प्रेम गर्नुपर्छ ? के उसले जीवनको रूखको एक विशेष पात छान्नु पर्छ र आफ्नो सबै प्रेम त्यसमा खन्याउनुपर्छ ? त्यसोभए त्यो पात उम्रेको हाँगा के हुन्छ ? त्यो हाँगाबाट निस्किएको डाँठ ? त्यो हाँगा जोगाउने बोक्रा ? ती जराहरू, जसले बोक्रा, डाँठ, हाँगा र पातहरूलाई पोषण दिन्छ । जरालाई छातीमा अँगालो हाल्ने त्यो माटो के हो ? माटोलाई उर्वर बनाउँने सूर्य, समुद्र र हावा के हुन् ? एउटा रुखको एउटा सानो पात पनि तिम्रो प्रेमको हकदार हुन्छ भने पूरै रुख पूर्णतया के हुन्छ ? जसले पूर्ण रूपमा प्रेमको अंश रोज्छ । उसको भाग्यमा दुःखको रेखा स्वतः कोरिन्छ ।
तिमी भन्छौ, “एउटै रुखमा विभिन्न प्रकारका पातहरू छन् । कोही स्वस्थ छन् । कोही अस्वस्थ छन् । कोही सुन्दर छन् । कोही कुरूप छन् । कोही विशाल छन् । कोही साना छन् । अब भन, हामी कसरी मनपर्ने अंश छनौट गर्नबाट जोगिन सक्छौँ ?”
म तिमीलाई भन्छु । बिरामीको फिक्कापनबाट स्वस्थको ताजापन आउँछ । म यो पनि भन्छु कि कुरूपता नै सौन्दर्यको रंग र ब्रश हो । यो पनि भन्छु कि, यदि उसले आफ्नो उचाइको केही भाग विशालतालाई दान नगरेको भए, तिम्रो कद पुड्को हुने थिएन ।
तिमी जीवनको रुख हौ । आफैँलाई टुक्रा टुक्रामा फाल्नबाट सावधान रहनू । फललाई फलसँग । पातलाई पातसँग र हाँगालाई हाँगासँग तुलना नगर । यसलाई ररूखको जरासँग पनि तुलना नगर । न त रूखको माटोसँग नै । ठ्याक्कै तिमी के गर्छौ, जब एक भागलाई बाँकी भागलाई भन्दा ज्यादा प्रेम गर्छौ । वा बाँकीलाई बहिष्कार ।
तिमी जीवनको रुख हौ । तिम्रो जरा जताततै छ । तिम्रा हाँगा र पातहरू जताततै छन् । तिम्रो फल हरेकको मुखमा छ । यस रूखमा फलहरू जस्तोसुकै होस् । यसका हाँगा र पातहरू जे जस्ता भएपनि ती सबै तिम्रा फल हुन् । ती तिम्रो शाखा र ठेगानाहरू हुन् । तिम्रा जरा हुन् । रूखले मीठो र सुगन्धित फल फलाओस् । सधैँ बलियो र हरियो रहिरहोस् भन्ने चाहन्छौ भने, त्यसको जरालाई पोषित गर्ने रसको ख्याल गर ।
प्रेम जीवनको रस हो । जब कि घृणा मृत्युको धक्का हो । तर हाम्रो नसामा रगतजस्तै प्रेमको प्रवाह नितान्त आवश्यक छ । रगतको बहाव रोकियो भने संकटको साइरन बज्छ । द्वेष बाहेक प्रेमलाई दबाउने वा रोक्ने अर्थोक के छ ? त्यसैले यो खाने र खुवाउने दुवैको लागि घातक विष बन्छ । साथै घृणा गर्ने र घृणा गर्न बाध्य पार्ने दुवैको लागि ।
तिम्रो जीवनको पहेँलो पात दूध छुटाइएको पात हो । पहेँलो पातलाई दोष नदिनू । सुकेको हाँगा प्रेमको भोको हाँगा हो । सुकेको हाँगालाई दोष नदिनू ।
सडेको फल घृणा गरिएको फल हो । सडेको फललाई दोष नदिनू । बरु, आफ्नो अन्धो र कञ्जुस मनलाई दोष दिनू । जसले जीवनको सारलाई दान जस्तै थोरैलाई बाँड्छ र धेरैलाई त्यसबाट वञ्चित गर्दछ । त्यसो गर्दा आफैँलाई पनि थाहै नपाइ वञ्चित गर्दछ ।
आत्म-प्रेम बाहेक कुनै प्रेम सम्भव छैन । सर्वव्यापी आत्मा बाहेक कुनै आत्मा वास्तविक छैन । त्यसैले ईश्वर आफैँ शुद्ध प्रेम हुन् । उनी आफैलाई प्रेम गर्छन् ।
जब सम्म प्रेमले तिमीलाई चोट पुर्याउँछ, तब सम्म तिमीले आफ्नो वास्तविक आत्मा फेला परेको छैनौ । न त तिमीले प्रेमको सुनौलो चाबी नै पाएका छौ । तिमी क्षणिक अहंकारलाई प्रेम गर्छौ । तिम्रो प्रेम क्षणिक छ ।
पुरुषको नारीप्रतिको प्रेम प्रेम होइन । यो प्रेमको निकै अस्पष्ट संकेत हो । आफ्नो सन्तानको लागि आमा वा बुवाको प्रेम, प्रेमको पवित्र मन्दिरको थैली मात्र हो । जबसम्म हरेक पुरुष हरेक नारीको प्रेमी र प्रत्येक नारी हरेक पुरुषको प्रेमिका बन्दैनन्, तबसम्म प्रत्येक सन्तान प्रत्येक आमाबाबुको सन्तान बन्दैनन् । र प्रत्येक आमाबुवा तबसम्म प्रत्येक सन्तानको आमाबुवा बन्दैनन्, जबसम्म नारी वा पुरुष मासु र रगत मात्र रहिरहनेछन् । मासु र रगतको घनिष्ठ सम्बन्धको बारेमा तिमी घमण्ड गर्न सक्छौ । तर प्रेमको पवित्र शब्द कहिल्यै उच्चारण नगर । त्यसो गर्नु ईश्वरनिन्दा हुनेछ ।
जबसम्म तिमी एक व्यक्तिलाई आफ्नो शत्रु ठान्छौ, तबसम्म तिम्रो कोही मित्र हुँदैनन् । शत्रुता भएको मन कसरी मित्रताको लागि सुरक्षित घर हुन सक्छ ?
जब सम्म तिम्रो मनमा घृणा रहन्छ, तब सम्म तिमी प्रेमको आनन्दबाट अनभिज्ञ हुन्छौ । यदि तिमीले जीवनको सारले अरू सबै चीजहरू पोषण गर्यो, तर त्यसबाट एउटा सानो कीरालाई वञ्चित गर्यौ भने, त्यो सानो कीराले तिम्रो जीवनमा तीक्तता थप्नेछ । कसैलाई प्रेम गर्दा, तिमी वास्तवमा आफैँलाई प्रेम गर्दै हुन्छौ । त्यसै गरी कसैलाई घृणा गर्दा तिमीले वास्तवमा आफैँलाई घृणा गर्दैछौ । तिमी जसलाई घृणा गर्छौ त्यो तिमीले प्रेम गरेकोसँग जोडिएको छ । एक सिक्काका दुई पाटा जस्तै जो एकअर्काबाट कहिल्यै अलग हुन सक्दैनन् ।
यदि तिमी आफैँमा सच्चा हुन चाहन्छौ भने, तिमीले प्रेम गर्ने र तिमीलाई प्रेम गर्नेलाई प्रेम गर्नुअघि, तिमीले घृणा गर्ने र तिमीलाई घृणा गर्ने सबैलाई प्रेम गर्नुपर्छ ।
प्रेम कुनै गुण होइन । प्रेम एक आवश्यकता हो । रोटी र पानी भन्दा ठूलो । प्रकाश र वायु भन्दा नीकै ठूलो ।
आफ्नो प्रेममा कसैले घमण्ड गर्नु हुँदैन । प्रेमलाई त्यही सहजता र स्वतन्त्रताका साथ स्वीकार गर, जुन तिमीलाई सास फेर्दा महसुस हुन्छ ।
प्रेमलाई प्रगति गर्न कोही चाहिँदैन । प्रेमले त्यो हृदयलाई उचाल्छ, जसलाई यसले आफ्नै ठान्छ ।
प्रेमको बदलामा कुनै इनाम नमाग । प्रेमको लागि प्रेम नै पर्याप्त इनाम हो । जस्तो कि घृणाको लागि केवल घृणा नै पर्याप्त सजाय हो ।
न त प्रेमसँग कुनै हिसाब राख । प्रेमले आफ्नो बाहेक कसैलाई लेखाजोखा गर्न दिँदैन ।
प्रेमले न उधारो दिन्छ न लिन्छ नै । प्रेमले न किन्छ न बेच्छ । तर जब दिन्छ, सबै दिन्छ । जब लिन थाल्छ, सबै लिन्छ । यसको नियम नै दिनु र लिनु हो । त्यसैले यो हिजो, आज र भोलि सधैँ उस्तै रहन्छ ।
जसरी शक्तिशाली नदीले आफूलाई समुन्द्रमा विलिन गराउछ, त्यसरी नै ऊ समुद्रले भरिपूर्ण हुन्छ । प्रेमको निम्ति आफूलाई पनि पूर्ण खाली गर्न सक्नुपर्छ । जसले गर्दा प्रेम सधैँ पूर्ण रहन्छ । समुन्द्रबाट प्राप्त उपहार हस्तान्तरण गर्न नमान्ने पोखरी सधैँ फोहोर र अस्तव्यस्त बनेर रहन्छ ।
प्रेममा न थोरै हुन्छ न धेरै । जुन क्षण तिमीले यसलाई उच्च श्रेणीमा राख्न वा मापन गर्न खोज्छौ, त्यो पल तिम्रो हातबाट चिप्लिन्छ । मात्र तीतो सम्झनाहरू छोडेर ।
प्रेममा न अहिले ? न पछि ? न यहाँ ? न त्यहाँ ? सबै ऋतुहरू प्रेमका मौसमहरू हुन् । सबै ठाउँहरू प्रेमका लागि अति उपयुक्त छन् ।
प्रेमलाई कुनै सीमा वा अवरोधहरू थाहा हुँदैन । जुन प्रेमको बाटो कुनै प्रकारको बाधाले अवरुद्ध हुन्छ, त्यो प्रेम, प्रेम भन्न लायक हुँदैन ।
प्रेम अन्धो हुन्छ, अर्थात् प्रेममा कुनै दोष देखिँदैन भन्ने प्रायः सुनिन्छ । यस प्रकारको अन्धोपन सबैभन्दा राम्रो दृष्टि हो ।
म चाहन्छु कि तिमी सधैँ यति अन्धो हुनू कि, जहाँ तिमीले कुनै कुरामा कुनै दोष देख्न सक्दैनौ ।
प्रेमको आँखा दावेदार र मर्मस्पर्शी छ । त्यसैले यसले कुनै दोष देख्न सक्दैन । जब प्रेमले तिम्रो दृष्टिलाई शुद्ध पार्छ, तब तिमीलाई प्रेमको अयोग्य जस्तो देखिने छैन । प्रेम नगर्ने दोषपूर्ण आँखा मात्र सधैँ दोष खोज्न व्यस्त हुन्छ । उसले देखेका गल्तीहरू आफ्नै गल्ती हुन् ।
प्रेमले एकता गर्छ । घृणाले विभाजन । माटो र ढुङ्गाको विशाल शिखर भनेको यो भारी थुप्रोलाई प्रेमले एकसाथ बाँधेर नराखेको भए यो एकैछिनमा छरपष्ट हुनेथियो । तिम्रो शरीर नाशवान देखिने भए पनि, यसमा रहेका प्रत्येक कोशिकाको उपचार गर्यो भने, पक्कै पनि विनाशको प्रतिरोध गर्न सकिन्छ । तैपनि ती सबै कोशिकालाई उतिकै प्रेम गर ।
प्रेम भनेको जीवनको मीठो संगीतले कम्पन हुने शान्ति हो । घृणा भनेको मृत्युको शैतानी विस्फोटसँग लडिरहेको युद्ध हो । तिमी के चाहन्छौ ? प्रेम गर्न वा अनन्त शान्तिमा बाँच्न ? वा घृणा र अनन्त युद्धमा संलग्न हुन ?
सारा पृथ्वी तिमी भित्र बसेको छ । सबै स्वर्ग र तिनका बासिन्दाहरू तिमीभित्रै बस्छन् । त्यसैले पृथ्वी र यसको काखमा हुर्केका सबै सन्तानहरूलाई प्रेम गर । यदि तिमी आफैलाई प्रेम गर्न चाहन्छौ भने, स्वर्ग र तिनीहरूका सबै बासिन्दाहरूलाई प्रेम गर ।
नरोन्डा र अविमार ! तिमीहरू बिरामीलाई किन घृणा गर्छौ ?
नरोन्डा: गुरुको आवाज र विचारको प्रवाहमा अचानक आएको परिवर्तन देखेर सबै चकित भए । म र अविमार हाम्रो आपसी
विवादमा थियौँ । पछि यस्तो स्पष्ट प्रश्न सोध्दा हामी छक्क पर्यौँ । हामीलाई एउटा प्रश्नले विवामा पुर्याएको थियो । हामीले त्यो विवादलाई सबैबाट सावधानीपूर्वक लुकाएर राखेका थियौँ । हामी त्यसको विश्वासमा थियौँ । बिना कारण पनि होइन । यसबारे कसैलाई थाहा छैन । सबैले अचम्मका साथ हामी दुबैलाई हेरेपछि अविमारले ओठ खोल्ने प्रतिक्षा गर्न थाल्यो ।
अविमार : (मलाई निन्दा गर्दै) नरोन्डा ! तिमीले गुरुलाई यो कुरा भन्यौ ?
नरोन्डा: अविमारले ‘गुरु’ भनेपछि मेरो हृदय हर्षले फुल्यो । मिर्दादले आफ्नो रहस्य खुलासा गर्नुभन्दा धेरै अघिदेखि नै यही शब्दलाई लिएर हामीबीच मतभेद उत्पन्न भएको थियो । मानिसहरूलाई दिव्य ज्ञानको बाटो देखाउन आएका गुरु हुन् भन्ने मैले ठानेँ ।
अविमार चाहिँ मिर्दाद साधारण व्यक्ति हुन् भनेर जिद्दी गर्दै थियो ।
मिर्दादः अविमार ! नरोन्डालाई शङ्काको नजरले नहेर । ऊ तिमीले लगाएको दोषबाट मुक्त छ ।
अविमार : त्यसो भए कसले भन्यो ? के तिमी मानवका विचारहरू पनि पढ्छौ ?
मिर्दाद: मिर्दादलाई न त जासुस चाहिन्छ न दोभाषे । यदि तिमी मिर्दादलाई प्रेम गर्छौ भने उसले पनि तपाईँलाई प्रेम गर्नेछ । तिमीले सजिलैसँग उसका विचारहरू पढ्नेछौ । उसको हृदयलाई समेत जान्न सक्नेछौ ।
अविमार: अन्धा र बहिरा मानिसलाई माफ गर गुरु ! मेरो आँखा र कान खोलिदेऊ । म हेर्न र सुन्न चाहन्छु ।
मिर्दाद: प्रेमले मात्र चमत्कार गर्न सक्छ । हेर्न चाहन्छौ भने आँखाको नानीलाई प्रेम गर । यदि तिमी सुन्न चाहनुहुन्छौ भने, कानको पर्दालाई पनि उत्तिकै प्रेम गर ।
अविमार: तर म कसैको घृणा गर्दिन, नरोन्डालाई पनि ।
मिर्दाद: घृणा गर्नु प्रेम होइन अविमार ! प्रेम एक सक्रिय शक्ति हो । जब सम्म यसले तिम्रो हरेक प्रयास र कदमलाई कुनै असर गर्दैन, तब मार्गदर्शन बिना तिमी आफ्नो बाटो पाउन सक्दैनौ । जबसम्म प्रेम पूर्ण रूपमा तिम्रो हरेक इच्छा र विचारमा भरिन्न, तिम्रो इच्छाहरूमा प्रेम भरिएपछि मात्रै तिम्रो इच्छा सपना बन्न जान्छ ।
यस समयमा मेरो मन आनन्दले भरिएको छ । मलाई गीत गाउन मन लागेको छ । हे जमोरा ! तिम्रो विणा कहाँ छ ?
जमोरा: के म गएर उसलाई लिएर आउँ गुरु ?
मिर्दाद: हुन्छ जामोरा !
नरोन्डा: जमोरा उठेर आफ्नो विणा लिन गयो । बाँकीले सबै कुरा बुझ्न सकेनन् । एक अर्कालाई हेर्दै चुपचाप बसे ।
जब जामोरा विणा लिएर फर्क्यों, तब गुरुले बिस्तारै यसलाई आफ्नो हातमा लिए । विणासामु स्नेहले आफ्नो शिर झुकाए । यसको प्रत्येक तारलाई प्रेमपूर्वक चलाए । त्यसपछि यसको मीठो धुनसँगै गाउन थाले ।
मिर्दाद:
मेरो डुङ्गा
तिमी पौड
ईश्वर तिम्रो कप्तान हुन्
पाल मेरो जहाज !
नरकले आफ्नो क्रोध
जीवित र मृतकहरूमाझ फुकाउनेछ
यो क्रोध
आगोमा भयंकरसँग डढ्नेछ
यसले पृथ्वीलाई
पग्लने भाँडो बनाउँछ
आकाशमा कुनै निशाना बाँकी रहनेछैन
पौड मेरो डुङ्गा
ईश्वर तिम्रो कप्तान हुन् ।
आऊ मेरो डुङ्गा
प्रेम तिम्रो मार्गदर्शन हो
उत्तर-दक्षिण
पूर्व-पश्चिम जाऊ
र
आफ्नो खजाना बाँड ।
आँधीले तिमीलाई छालको शिखरमा लैजानेछ
र
जहाँबाट तिमीले
अन्धकारका सेवकहरूलाई ज्योति दिनेछौ
आऊ मेरो डुङ्गा
प्रेम तिम्रो मार्गदर्शन हो ।
खैर !
विश्वास तिम्रो बन्धन हो
मेघ गर्ज्यो
पर्वतहरू काँप्छन्
टुक्रा-टुक्रा हुन्छन्
आतंक फैलिन्छ
मानव हृदय कमजोर हुन्छ
त्यो दिव्य ज्योति बिर्सन्छ
तर मेरो डुङ्गा चलिरहन्छ
विश्वास तिम्रो बन्धन हो ।
नरोन्डा: गुरुले गाउन छोडे । विणा प्रेमले पग्लिएर मिर्दादको छातीको छेउमा झुक्यो । त्यसपछि विणाका तारहरू कम्पन भएनन् । तैपनि त्यसबाट मीठो रागको धुन बज्यो । “मेरो डुङ्गा, ईश्वर तिम्रो कप्तान” को मसिनो स्वर हावामा नाच्दै थियो । गुरुको ओठ बन्द भएता पनि विणाको आवाज केही बेर समुन्द्रमा गुन्जियो र छालको रूपमा तैरदै चारैतिरका उचाइ र चुचुराहरूमा पुग्यो । पहाडदेखि तल उपत्यका सम्म । उपत्यकादेखि टाढा सागर सम्म । सागरबाट माथि नीलो आकाश सम्म ।
त्यो आवाजमा तारा र इन्द्रेणीहरूको वर्षा थियो । त्यसमा भूकम्पका मधुर कम्पनहरू थिए । त्यससँगै हावाहरू रोमाञ्चित भएर गीतको नशामा नाचिरहेका थिए । बुलबुले र नरम शीतले भरिएको कुहिरोले ढाकेका समुद्रहरू थिए । सारा सृष्टिले कृतज्ञताका साथ त्यो स्वर सुनिरहेको जस्तो आभास हुन्थ्यो ।
र बीचमा रहेको दूधे हिमाल अचानक पृथ्वीबाट अलग भई अन्तरिक्षमा तैरिरहेको जस्तो पनि लाग्थ्यो । उसको आफ्नै गौरवता अनि सुन्दरता झल्किरहेको थियो । त्यसपछि तीन दिनसम्म गुरुले कसैसँग एक शब्द पनि बोलेनन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

