‘डाक्टरसाब । वार्डमा उसलाई राख्न ठाउँ नै छैन ।’ नर्सले भनी । उसलाई प्राइभेट वार्डमा राखिदेऊ ।’ सर्जनले आफ्नो सेतो कोट फुकाल्दै भन्यो ।
बूढा म्याकलेअड बसेको सेमी-प्राइभेट कोठाबाहेक अरू कुनै कोठा खाली छैन । फेरि उनी अक्सिजन लिइरहेका छन् अनि आजको रात पनि काट्लान् जस्तो छैन। उनका परिवारै त्यहीँ कुरुवा बसेका छन् ।’
‘यो फुच्चेले उनलाई दुख दिँदैन, यो आज रातभरि ब्यूँझँदैन ।’ सर्जनले भन्यो । उसले आफ्नो ओभरकोट र टोपी लगाइसकेको थियो । रात आधा बितिसकेको थियो र ऊ थाकेको पनि थियो । ढ्याम्म ढोका लगाउँदै ऊ बाहिर निस्क्यो ।
‘ऊ सायदै ब्युँझेला ।’ फुच्चेतिर हेर्दै नर्स सोच्न थाली । लामो, सुनौला कपाल, सानो तिखुल्ले अनुहार, दुब्लो, अग्लो शरीर, हड्डी नै देखिने लिखुरे, कुनै कार दुर्घटनामा पर्यो भने त कच्याककुचुक नै भइहाल्ला जस्तो, ऊ बेफ्रिकी किसिमको देखिन्थ्यो । शरीरभरि जस्तो नै रहेका सेता पट्टीहरूका पत्रबीच उसको अनुहार ध्वाँसे देखिएको थियो । उसको अनुहार र लवाइबाट ऊ को हो भन्ने थाहा हुँदैनथ्यो। ऊ चढेको गाडी चोरीको हुन सक्थ्यो । गाडीधनी को हो भन्ने अहिलेसम्म थाहा भएको थिएन । यो अठारवर्षे ठिटोचाहिँ पक्कै कारधनी थिएन । अठार, सत्र अझ सोर मात्र अर्थात् ऊ जति वर्षको पनि हुन सक्थ्यो । भित्र ल्याउँदा ऊ बेहोस अनि रगताम्मे थियो । भाग्यले त्यहाँ अस्पताल थियो नत्र साना सहरमा अस्पताल कहाँ हुनु र ?
‘उसलाई तेइस नम्बरमा राखिदेऊ ।’ नर्सले अर्दलीलाई भनी । उनीहरूले उसलाई गुडाउँदै लगे । नर्स पछिपछि लागी । राति त्यस बेला अस्पताल शान्त थियो । बच्चा रोएको आवाजसमेत सुनिँदैनथ्यो । फेरि झिसमिसेमै घण्टी बज्न सुरु हुन्थ्यो । त्यसैले अब एक दुई घण्टामै बिरामीहरूको निश्वास, विलाप अनि साना केटाकेटीहरूले एकअर्कालाई ब्युँझाएको आवाज सुन्नुपर्ने हुन्थ्यो ।
तेइस नम्बरमा शान्ति थियो । अक्सिजन लिएको घ्यारघ्यार आवाज भने सुनिन्थ्यो । राति बाल्ने मधुरो बत्ती बलेकै थियो । नर्सले बूढा म्याकलेअड त्यहीँ पल्टेको देखी । जानुअघि उसले तिनलाई हरेर जानुपर्थ्यो ।
‘केटाको टाउको जोगाऊ है ।’ उसले अर्दलीहरूलाई भनी ।
‘हाम्लाई था’छ । उसलाई भित्र ल्या’को हाम्ले देखिरा’थ्यौँ ।’ बूढोचाहिँ अर्दलीले भन्यो ।
उनीहरूले केटालाई जतनसाथ बेडमा राखे र उसका हातखुट्टा तन्काएर फैलाइदिए ।
‘अरू क्यै सिस्टर ?’ बूढो अर्दलीले साध्यो ।
‘पर्दैन, धन्यवाद ।’ उसले भनी र उनीहरू गएपछि उसले त्यस केटालाई पातलो कम्बल ओढाइदिई । त्यस केटाले राम्ररी सास फेरिरहेको थिएन । नर्सले उसको नाडी छामी । त्यो अझै पनि धरमरिएकै थियो । अन्तिम सुई दिएपछि लट्ठ्याउने औषधी नदिनू भन्ने निर्देशन दिएर डाक्टर गएका थिए ।
हलमा फोनको घण्टी बज्यो। ऊ फोन उठाउन गई। रातिका लागि एक जना मात्र नर्स भएर पुग्दैनथ्यो तर त्यहाँको चलनै त्यस्तै थियो । त्यसैले अस्पतालमा अहिले धेरै नर्स थिएनन् । म्याकलेअडलाई नै एक जना नर्स अहिले चाहियो । त्यसमाथि यो नयाँ ठिटो ।
‘हल्लो ।’ नम्र स्वरमा उसले भनी ।
‘सिस्टर ” प्रस्ट र शान्त स्वर उसले ठम्याइहाली ।
‘हजुर मिसेज म्याकलेभड !’
‘हेर्नुस् न सिस्टर, म निदाउनै सकिनँ । हामी कसैलाई पनि निद्रा परेको छैन । कृपया तपाईँले एकचोटि ।’
‘भइहाल्छ नि ।’ रिसिभर छेउमै राखेर कोठामा फर्किन् । केटो अलि राम्ररी सास फेर्दै थियो, तर उसले त्यता हेरिन। म्याकलेअड हलचल नगरी पल्टेका थिए । बुढाको ठेगान थिएन-सास पनि फेरेका थिए कि थिएनन् । उसले बूढाको नाडी छामी तर नाडी भेटिन, अनि दौडिहाली टेलिफोनतिर ।
‘मिसेज म्याकलेअड !’
‘हजुर ।’
‘तपाई आउनुभए हुन्थ्यो, तुरुन्तै ।’ त्यसपछि उसले ड्युटीमा रहेको डाक्टरलाई फोन गरी, ‘डाक्टरसाब, मैले म्याकलेअड परिवारलाई बोलाउन पठाएँ ।’
‘ए, सबै सिद्धियो र ?”
‘त्यस्तै लाग्छ ।’
‘त्यसो भए सुई तयार गर, म आइहालेँ ।’
‘हस् डाक्टरसाब ।’ कीटाणुमुक्त सेतो कपडामाथि सुईहरू राख्दै उसले किस्ती तयार पारी । ती सुईहरूको खासै काम थिएन । तिनले बूढालाई केही क्षणका लागि मात्र ब्युँताउन सक्थे-बिदाबारीका लागि मात्र । तर यो नियम नमान्ने अधिकार केवल डाक्टरलाई थियो। उसले त्यो किस्ती कोठामा लगेर बिस्तारै राखिदिई। बूढा र केटा दुवै हलचल नगरी जस्ताको तस्तै पल्टेका थिए । केटाको सासफेराइ भने केही सुधारिएको जस्तो थियो ।
नसले बूढाको अक्सिजन मास्क मिलाउँदै अक्सिजनको मात्रा अलिकति बढाइदिई । छेउको बत्ती बालेर दुइटा कुर्सी ल्याई। हिजो डाक्टरले मिसेज म्याक्लेअडलाई उनका श्रीमान् अर्को एक दिनभन्दा नबाँच्ने बताएका थिए । त्यो सुनेर उनको अनुहार सेतै भएको थियो उनको सेतै फुलेको कपाल जस्तै । उनले भनेकी थिइन्, ‘कृपया अन्तिम घडीमा मलाई बोलाइदिनुहोला । म घरमै बसिरहन्छु ।’
त्यसपछि डाक्टरले बूढाको अन्तिम सास नजिक आएपछि उसकी श्रीमतीलाई बोलाइदिनू भनेर नर्सलाई अराएका थिए ।
डाक्टर भित्र आयो । ऊ बाटुलो, दयालु अनुहार भएको सानो काँटीको तर हट्टाकट्टा युवक थियो ।
‘भयो, डाक्टरसाब ! सबै ठिक्क पारिसकेँ।’ नर्स मार्टिनले भनी ।
‘ठिक छ, म आइहालेँ ।’
डाक्टर आएर हतारहतार जाँच्दै बरबराएझै बोल्यो, ‘मिति आइसकेछ लगभग गइ नै सक्यो, उनीहरू आउनेबित्तिकै म सुई लगाइदिन्छु ।’
‘ल, लिनुस् ।’ नर्सले सुईहरू दिई ।
‘यसले धेरैबेर त होइन, आधा वा एक घन्टाजति काम गर्ला । त्यो अर्को बिरामी को हो नि ?’
‘दुर्घटनाको केस हो ।’
‘दुर्घटना पनि कति हुन थालेको अचेल ?’
‘त्यही त ।’
यो सामान्य कुराकानी थियो । मृत्युको ज्ञानमाथि पर्दा हालिँदै थियो-जवानको अनि वृद्धको मृत्यु ।
‘म भित्र आउन सक्छु ?’ ढोकाबाट मिसेज म्याकलेअडले भनिन् ।
‘आउनुहोस् न, म उहाँलाई सुई दिँदै छु, प्राणवर्धक सुई, बुझ्नुभयो ? अब कुरा गर्न सकिन्छ ।’
‘धन्यवाद डाक्टरसाहेब ।’
बुढ्यौलीले छुँदै गएको उनको शरीर सानो तर बलियो थियो । उनी अल्पभाषी थिइन् । भाव पनि नियन्त्रित । उनले टोपी फुकालिन् । उनको सानो तर भरिलो हात केही काम्यो तर त्यो कुरा नर्सले मात्र थाहा पाई ।
‘बस्नुस् न ।’ नर्सले भनी ।
‘हामी सबै आएका छौँ ।’
‘आउनुस्, आउनुस्, सबै जना आए हुन्छ, केही फरक पर्दैन ।’ डाक्टरले भन्यो ।
उनीहरू सबै भित्र आए। नर्स मिस मार्टिन सबैलाई चिन्थी-छोरा जर्ज, बुहारी रुथ र छोरी मेरी । जर्ज साधारण अग्लो युवक थियो । ऊ दुखी देखिन्थ्यो । कैलो कपाल भएकी रुथचाहिं दुब्ली थिई र रुमालले मुख छोपेर रुँदै थिई । बूढाकी छोरी मेरी भने आफ्नो बाबु जस्तै काली भए पनि निक्कै हिस्सी परेकी थिई । परिवार घनिष्ठ थियो। ती सबै बुढालाई भेट्न दिनदिनै आउँथे । अपरेसन पनि सबैको सल्लाहले नै भएको थियो। बाँच्ने आसै नभएको बूढा म्याकलेअडको जीवन अपरेसनपछि तीन महिना लम्मिएको थियो । त्यही साँगुरो कोठामा उनले तीन महिना बिताएका थिए ।
‘त्यो केटा नि” जर्जले टाउकाले अर्को बेडतिर सङ्केत गर्दै सोध्यो ।
‘त्यो बेहोस छ ।’ नर्सले भनी, ‘ठाउँ नपुगेर यहाँ राखेको। ऊ यहाँ छैन नै भन्ने सम्झे हुन्छ ।’
नर्सले बूढाको चाउरिएको छालामा स्प्रिट घसेपछि डाक्टरले सुई घुसार्यो । त्यसपछि बाहिर निस्कँदै उसले भन्यो, ‘मिसेज म्याकलेअड । तपाईँले आधा घन्टाजति कुरा गर्न पाउनुहुन्छ । केही परे मलाई बोलाउनुहोला । म यतै हुन्छु ।’
‘धन्यवाद’ मिसेज म्याकलेअडले भनिन् ।
डाक्टर र नर्स बाहिर नआउन्जेल मिसेज म्याकलेअड पर्खिरहिन् । छोराबुहारी बेडनजिकै बसे। मेरीचाहिँ आमानिरै घुँडा टेकेर बसी ।
‘हामी सबै जना यहीँ छौँ।’ बूढाको कानैनिर मुख लगेर मिसजे म्याकलेअडले प्रस्ट स्वरमा भनिन्, ‘जर्ज र रुथ खाना खाने गरी साँझमै आएका थिए । हामीले खसीको सुरुवा खायौँ, तपाईँलाई मन पर्ने । मीठी भएको थियो । सुरुवाको लागि मैले दिउँसै बारीबाट गाजर उखेलेकी थिएँ । बगैँचा पनि अचेल त राम्रो हुँदै आएको छ ।’
‘बुबा, खाना खाएपछि हामीले लेमनपाइ खायौँ।’ जर्जले भन्यो, ‘रुथ पनि आमाले बनाउने जस्ती पाइ बनाउन सिक्तैछिन् । तर बुवा, उनलाई पाइ बनाउन सिक्नैपर्छ भनेर मैले कर गरेको चाहिँ होइन नि । हो त रुथ ?
‘अहँ, होइन ।’ रुथले भनी। उसको रुवाइ बन्द भए पनि ओठ अझै कामिरहेको थियो ।
‘रुथ मीठो पकाउँछिन् ।’ जर्जले थप्यो ।
मिसेज म्याकलेअडले भनिन्, ‘हो त ! त्यो उमेरमा मैले पकाउने गरेको भन्दा मीठो पकाउँछिन् । सम्झिनुभा’छ ? मैले पहिलोपल्ट बनाएको पाइ । बाहिर डढेको, भित्रचाहिँ काँचै । झन् मैले तपाईँलाई मन पर्ने चेरी पनि हालेकी थिएँ । तपाईँले हाँसेरै टारिदिनुभयो र पो । नत्र त म रुनै आँटिसकेकी थिएँ ।. धन्य । तपाईँले पाइ पकाउनैका लागि भनेर त मैले तिमीसँग बिहे गरेको हैन नि ! भनेर मलाई सम्झाउनुभयो ।’
‘बुवा ! यो वर्ष पनि चेरी त लटरम्मै फल्ला जस्तो छ ।’ छोरी मेरीले भनी र आफ्ना कुहिना ओछ्यानमा अड्याएर निर्मिमेष आफ्ना बाबुको अनुहार हेरी, ‘चेरी पाकेपछि जर्जले थाप्ने जालका लागि मैनाहरू तयार भएर बसेका होलान् ।’
जर्ज हाँस्यो ।
‘बुवा ! ती मैनाहरू कहिल्यै सिक्तैनन् । तिनीहरूलाई हरेक वर्ष जालभित्रका चेरीले लोभ्याइहाल्छन् । तपाईँलाई ती जालभित्रका चराहरूले सरापिरहेको जस्तो लाग्थ्यो नि ! यसपालि पनि सराप्ने भए ।’
मेरीले मधुर स्वरमा भनी, ‘मेरा लागि त चेरीपाइ र वनभोजदेखि बल्ल गर्मी सुरु हुन्छ ।’
‘म बूढीलाई समेत वनभोजमा केही विशेष छ जस्तो लाग्छ । हाम्रो बिहेको कुराकानी पनि आइतबारको वनभोजमै छिनिएको थियो ।’ मिसेज म्याकलेअडले पुरानो कुराको सम्झना गरिन् ।
जर्ज फेरि भन्न थाल्यो, ‘बुवा ! तपाईँले त सम्झनुभएको छ कि छैन कुन्नि, तपाईँले मलाई जुलाई ४ मा ‘पार्सन ताल’मा भएको वनभोजमा माछा मार्न सिकाउनुभएको थियो, अनि मैले पहिलोपल्टै बास् माछा जालमा पारेको थिएँ । मैले त कराएर सबैलाई हेर्न बोलाएको थिएँ ।’
मेरीले स्वप्निल स्वरमा भनी, ‘मलाई गर्मी असाध्यै मन पर्छ । तर शरद् पनि रमाइलै हुन्छ । बुवा ! त्यो ओखरको रूख सम्झिनुभा’छ ? अनि मेरो स्कुल नि ? म त स्कुल पनि रमाएरै जान्थेँ हगि ?… जर्ज तिमीलाई स्कुल जान मन लाग्दैनथ्यो भन्दैमा मलाई नजिस्क्याऊ त !’
‘हरे ! तिमीहरू दुई जना कुकुरबिरालो जस्तो गर्न कहिल्यै छाड्दैनौ हैन ?’ मिसेज म्याकलेअडले हाँस्ने प्रयास गर्दै भनिन् ।
अर्को बेडमा इन्तुनचिन्तु भएर सुतिरहेको त्यस केटाका परेला फरफराए, तर कसैले थाहा पाएन । उसलाई नै पनि आफ्नो परेला फरफराएको थाहा भएन तर टाढा कतै ध्वनि-प्रतिध्वनिहरू गुन्जिरहेको जस्तो उसलाई लाग्यो ।
मेरीले भनी, ‘हामी सानो छँदा सारै रमाइलो हुन्थ्यो। आमा । कहिलेकाहीँ त के लाग्छ मलाई भने हामी फेरि पहिलेकै जस्तो हुन पाए पनि हुन्थ्यो, तपाई र बुबासँग ।’
‘चुपचुप… उहाँले केही भन्न खोज्नुभएजस्तो छ ।’ आमाचाहिँले भनिन् ।
बूढाको गम्भीर अनुहार हेर्दा उनीहरूले तिनको ओठ हल्लिएको देखे। बूढाले सुस्केरा हाले, आँखा उघारे र उनीहरूको अनुहार पालैपालो हेर्न थाले । मिसेज म्याकतेअडले भनिन्, ‘तपाई नभएकाले घरै शून्य भएको छ । त्यसैले खानासाना खानेबित्तिकै हामी सबै यतै लाग्यौँ ।’
‘मार्था ” बूढाको मधुरो स्वर सुस्केरा जस्तै निस्कियो ।
‘हल र म यहीँ छु। हामी सबै जना यहीँ छौँ।’
‘फुच्चे हल र जर्जीले बुबालाई दर्शन भनेका छन् । अहिले त सुतेका छन् । हाम्रो घरनिर बस्ने लु बेकरलाई नानीहरू है भनेर आएकी । लु बेकर जाती छिन्-राम्ररी हेरविचार गरिदिन्छिन् । हल भने हजुरबुवा घर आउनेबित्तिकै आफ्नो तीनपाङ्ग्रे साइकल देखाउँछु भन्दै थियो । उसको जन्मदिनमा बुवाले भन्नुभएको जस्तै साइकल हामीले किनिदिएका छौँ नि” बुहारी रुथले एकैसासमा भनी ।
‘उसले अहिल्यैदेखि क्रिसमसका बारेमा सोच्न थालिसक्यो।’ जर्जले थप्यो, ‘तपाईँले उसको नयाँ साइकलमा घण्टी हालिदिनुहुन्छ कि भनेर हिजो सोध्दै थियो ।
मेरीको आवाज भने अधि जस्तै स्वप्निल थियो, ‘आहा मलाई मन पर्ने क्रिसमस । अझ पुराना क्रिसमसहरू त म हरेक क्रिसमसमा सम्झन्छ । अनि क्रिसमसमा आनन्ददायी गान गाउनेहरू म ओछ्यानमा गुटुमुटु भएर बस्दा झ्यालबाट सुनिने त्यो मीठो गीत ।’ भन्दै ऊ मधुरो स्वरमा गुनगुनाउन पाली, ‘कस्तो बालक होला ।
अर्को बेडमा सुतेको केटाका आँखा अघि नै उघ्रेका थिए । उसले टाउको घुमायो तर केही देख्न सकेन । आवाज भने ऊ स्पष्ट सुन्दै थियो । उसले गीतको फाँकी पनि सुन्यो ।
‘मैले सबै सम्झेको छु ।’ बूढा म्याकलेअडले भने ।
क्रिसमस हो, खुसी भनेको परका यस्तै हुन्छ । फेरि भीडभाडको क्रिसमसभन्दा परिवारसँग मनाइने क्रिसमस धेरै रमाइलो हुन्छ । अहिले त झन् साना केटाकेटी हल र जर्जी पनि छन् । आफ्ना व्यग्र आँखाहरू बूढाको अनुहारतिर दौडाउँदै मिसेज म्याकलेअडले भनिन् ।
‘मेरीको बिहेपछि त हाम्रो परिवार अझ ठुलो हुन्छ ।’ जर्जले भन्यो ।
‘तर हामी कहिल्यै परचक्री हुँदैनौ, सधैँ यस्तै रहन्छौँ । हाम्रा लागि त सबै थोक आमा र बुबा नै हुनुहुन्छ। म त पछिसम्म पनि यही परिवारको सदस्य रहनेछु ।’ मेरीले थपी ।
‘म पनि तपाई जस्तै असल पिता बन्न सकेँ, आशीर्वाद दिनुहोस् बुबा ” जर्ज पनि भावुकताले भरियो ।
अर्को खाटको केटाले पनि बिस्तारै केही देख्न थाल्यो। उसका आँखा अब पूरै खुलेका थिए। अर्को बेडमा चारैतिरबाट मान्छेहरूले घेरिएर सुतेको बूढो मानिसलाई उसले देख्यो। बूढाले लट्ठ परेको स्वरमा भन्यो, ‘कति ज्ञानी केटाकेटीहरू ऊ अर्धनिद्रामा जस्तो देखिन्थ्यो ।
‘बुबा, तपाई जहिले पनि हाम्रो चाहना बुझ्नुहुन्थ्यो । अझै पनि म सानी छंँदाको मेरो पुतली सम्झन्छु । म नौ वर्षकी त थिएँ त्यति बेला । अनि मेरो पहिलो औँठी। म पन्ध्र वर्षकी हुँदा क्रिसमसको रूखमा मेरा लागि बुबाले राखिदिनुभएको औँठी। तर मलाई हीरापन्ना जडेकै औँठीको चाहना थियो भन्नेचाहिँ कसरी थाहा पाउनुभयो ?’
‘अँ, त्यो औँठी सारै सानु थियो हगि ?’ आमाचाहिँले भनिन् । ‘मसँग अझै छ त्यो, मलाई अहिलेसम्म एकदमै मन पर्छ ।’ ‘हो नि, म बाह्र वर्षको हुँदा मलाई स्कीको ठुलो चाहना थियो, तर बुवा । मलाई अचम्म लाग्छ, तपाईँले त्यो कुरा कसरी थाहा पाउनुभयो ? मैले कसैलाई भनेको थिइनँ । मलाई त स्की एकदम महँगो हुन्छ जस्तो लाग्थ्यो । त्यहीँ मेरो अपेन्डिक्स झिकिएको सालको कुरा त हो नि ।’ जर्जले भन्यो ।
‘बुबा, हामी सबैको मनको कुरा थाहा पाउनुहुन्छ-विशेष गरेर क्रिसमसताका ।’
‘फेरि स्नातक सिद्ध्याउने बेलामा मलाई प्रमाणपत्रभन्दा बढी एउटा राम्रो घडीको चाहना थियो भनेर कसरी थाहा पाउनुभयो नि ?’
‘अनि मलाई क्यालिफोर्निया घुम्न मन लागेको कुरा नि ?’ मेरीले सोधिन् ।
‘तिमीहरूको मनका कुरा हामी बुझ्थ्यौँ ।’ म्याकलेअडले धोद्रो स्वरमा बिस्तारै भने । बोल्दाखेरि उनका परेला फरफराए ।
अर्को बेडको केटाले तिनीहरूलाई हेर्न भनेर कोल्टे फर्क्यो । उसलाई अत्यन्त पीडा भइरहेको थियो । ट्रकसँग ठक्कर खाँदा ऊ कहाँ गइरहेको थियो ? अहँ, कहीँ होइन । वास्तवमा ऊ कतै गइरहेको थिएन ।
उसलाई खपिनसक्नु भएको थियो । ऊ भागिरहेको थियो । तर कोबाट ? सायद कसैबाट पनि होइन । शून्यदेखि शून्यसम्म । सडकसडकमा बरालिँदै, किनभने उसले जे गरे पनि कसैलाई केही मतलब थिएन । उसको को थियो र मतलब राख्ने ? अनि क्रिसमस ? क्रिसमसको त उसलाई सम्झनै थिएन ।
‘अर्को आइतबार इस्टर पर्छ।’ मिसेज म्याकलेअड भन्दै थिइन्, ‘ड्यफोडिल फुलिसके र इस्टर लिली फुल्नै लागे । यसपालि ६ वटा थुँगा फुल्या छन् । पहिलेपहिले तीनवटासम्म फुलेका थिए ।’
मिस्टर म्याकलेअडले बल गरेर प्रस्ट स्वर निकाल्दै भने, ‘हैन पाँचवटा ।’
‘लौ हेर । मैले भन्दा उहाँले नै बढी सम्झनुभएको रहेछ । हो त, एक साल त पांँचवटा फुलेका थिए ।’
अर्को बेडको केटाले ‘इस्टर’ भन्ने शब्द सुन्यो । त्यो शब्द उसले जानेको थियो । त्यस दिन मानिसहरू चिटिक्क परेर चर्च जान्थे, तर किन र केका लागि ?
यता मिस्टर म्याकले अडका आँखा लोलाउन थाले। मिसेज म्याकलेअडको सङ्केत बुझेर जर्ज ढोकातिर गयो र मुखरित भयो, ‘डाक्टरसाब, एकचोटि यता आइदिनुपर्यो ।’
डाक्टर सुस्तरी भित्र पस्यो र मिस्टर म्याकलेअडतिर झुकेर हेर्न थाल्यो । उसले बूढाको नाडी हेर्न थाल्यो। नाडी राम्रोसँग चलेको थिएन । एकछिनसम्म उसले नाडीको चाल सुन्ने प्रयास गर्यो र ‘अवस्था ठिक छैन’को पारामा टाउको हल्लायो ।
मिसेज म्याकलेअडको अनुहार फुस्रो भयो। एकैछिन त्यहाँ निस्तब्धता छायो । अनि उनले छोराछोरीहरूतिर फर्केर मलीन तर गम्भीर स्वरमा भनिन्, ‘अब तिमीहरू घर जाओ। म एकछिन बस्छु ।’
उनीहरूले कुरा बुझे । अनि एकअर्कातिर हेराहेर गरे। रुथले आफ्नो फुट्नै लागेको रुवाइ थाम्ने कोसिस गरी। ढोकाबाट ननिस्किउन्जेल नरोऊ है भनेर जर्जले पहिले नै सम्झाएको थियो ।
‘शुभरात्रि बुबा । भोलि बिहान भेटौँला ।’ जर्जले भन्यो ।
‘प्यारो बुबा । भोलि बिहान है त” मेरीले आफ्ना बुवातिर निहुरिएर ।रुँलारुँला जस्तो स्वरमा भनी, ‘भोलिको उज्यालो, चम्किलो बिहानीमा ।’
उसका पिताले आँखा त उघारे तर केही बोलेनन् । छोराछोरी र बुहारी बाहिरिए । डाक्टर पनि केही सङ्कोच मानेजस्तो गर्दै उनीहरूको पछि लाग्यो ।
अर्को बेडबाट त्यो केटो ती दुई बूढाबूढीलाई हेरिरहेको थियो । हरे। अब के हुन्छ, ती त बूढा थिए तैपनि । उसलाई रोऊँरोऊ लाग्यो तर उनीहरूका लागि होइन । उसलाई आफ्नै लागि रुन मन लाग्यो, किनभने उसको बाबु थिएन, उसकी आमा थिइन, उसको परिवारै थिएन । कोही यस्तै परिस्थितिका केटाकेटीहरूका बिच हुर्कन्छ अनि जीवनमा सबै कुरा ठीकठाक छ भन्ने सोच्दछ भने ऊ सही हुँदैन । केटाले देख्यो, ती बूढी मान्छे बूढासँग कुरा गर्न थालिन् ।
‘हल । हाम्रा केटाकेटीले सम्झेभन्दा बढी दुईका सम्झना छन् । तपाई असल पति हुनुहुन्छ । पति असल भए नै पत्नी सुखी हुन्छे । यसो भनेर मैले ‘दाता’ भन्न खोजेकी होइन तर तपाई त्यो पनि हुनुहुन्छ । अनि एउटा असल मानिस भएको कारणले मलाई पनि सुखी मानिस बनाउनुभएको छ । हामी दुवैको यही सुखले गर्दा हामीले हाम्रा छोराछोरीलाई पनि सुखी राख्न सक्यौँ ।’ उनी एकछिन चुप लागिन् अनि आफ्नो स्वर नियन्त्रण गर्दै फेरि भन्न थालिन्, ‘जुन वनमा तपाईँले मसित विवाहको प्रस्ताव राख्नुभएको थियो, त्यो वनको बाटो म कहिल्यै पनि सम्झिन सक्तिन ।’
बूढाको हातले केही खोजेजस्तो लाग्यो । त्यो हात उनले आफ्ना दुवै हातले च्याप्प समातिन् र भनिन्, ‘म यहीँ छु प्यारा हल !’ उनको गला अवरुद्ध भयो र उनले दुवै ओठलाई दाँतले टम्म दबाइन्, ‘हे भगवान् ! मलाई मदत गर ।’ अनि फेरि पहिलेझैँ दृढस्वरमा भन्न थालिन्, ‘म अब सधैँ त्यो वनमा हामी दुवैलाई उभिरहेको देख्नेछु । त्यो दृश्य हृदयमा नदोहोऱ्याई म त्यहाँबाट कहिल्यै हिँड्ने छैन ।’
‘मार्था !’ यो आवाजले शान्ति भङ्ग गर्न नसके पनि उनले भने सुनिन् ।
‘हजुर, म यहाँ छु हल ! म यहीँ हुन्छु ।’ बूढाले एक्कासि आँखा उघारे, अनि तिनलाई देखेर मुसुक्क हाँसे, ‘एउटा राम्रो जीवन…।’ उनको आवाज धमिलिँदै गएर त्यहीँको शून्यतामा विलीन भयो । मिसेज म्याकलेअडको हातबाट बूढाको हात खुकुलिँदै गयो । तिनका आँखा बन्द भए ।
बूढा मर्दै छन् भन्ने कुरा अर्को बेडबाट सजिलै देख्न सकिन्थ्यो । केटालाई फेरि रोऊँरोऊँ लाग्यो । सानो छँदा एउटा ठुलो केटाले उसको टाउकामा हिर्काएको दिनदेखि ऊ रोएको थिएन । त्यस बेला कुटिएकोमा उसलाई केही लागेको थिएन, बानी परिसकेको थियो। तर त्यो केटाले कुट्दा उसलाई गाहारो भएको थियो । उसको पनि दाजु भइदिएको भए त्यस्तै हुन्थ्यो होला भन्ने कल्पनाले गर्दा ऊ रोएको थियो । मिसेज म्याकलेअड पनि रुँदै थिइन् । उनका गालाबाट आँसुका ढिक्का झर्दै थिए । उनले बूढाको हात तल राखिदिइन् । झोलाबाट छालाको जिल्ला भएको एउटा पुस्तक झिकिन् र सानो स्वरमा पढ्न थालिन् । उनका आँखाबाट आँसु झरी नै रहेका थिए, ‘भगवान्, मेरा पालक हुनुहुन्छ, म चाहन्नँ…! ”
केटाले ती शब्दहरू सुन्यो। त्यो बाइबलको कुनै पङ्क्ति थियो । त्यतिखेर ती शब्दहरू उसका लागि अर्थविनाका खोक्रा शब्द थिए-फगत शब्द । उच्चारण मात्र गरिने अर्थ नभएका शब्द । तर आज उसले अकस्मात् ती शब्दको अर्थ बुझेको थियो-ती बूढा मानिसको मर्नबाट डराउनुपर्ने छैन ।
‘मृत्युको छाया भएको उपत्यकाबिच हिँड्नुपरे पनि अनिष्टदेखि म डराउने छैन ।’ तिनी पढ्दै गइन् र बूढालाई नडराउनू भनेर सम्झाउँदै गइन्, …. तपाईँसँग माया गर्ने परिवार छदै छ। हामी सबै तपाईँलाई औधी माया गर्छौँ ।’
त्यसपछि बिस्तारै उनले विगतका सम्झना ताजा पार्न थालिन् । कसरी उनीहरू वनमा उभिएका थिए र उनीसित राखिएको विवाह-प्रस्ताव उनले स्विकारेकी थिइन्। त्यही प्रेम नै उनीहरूको परिवारको आधार थियो, त्यो परिवार जसमा उनीहरू दुई जना, जर्ज-रुथ र उत्तका सन्तान अनि मेरी र कुनै दिन उनका पनि…।
केटो तकियामा टाउको राखेर उत्तानो पल्टेको थियो । उसको टाउको अलिअलि दुखिरहेको थियो र अब भने उसलाई रुन मन लाग्न छाडेको थियो ।
मिसेज म्याकलेअड भन्दै थिइन्, ‘ र म सधैँका लागि स्वर्गमा बास पाउनेछु ।’ उनले किताब बन्द गरिन् र धेरैबेरसम्म त्यसै बसिरहिन् । उनी उठिन्, श्रीमान्तिर निहुरिन् र ओठमा अन्तिम बिदाइ अङ्कित गरिन्, ‘हस् त प्रिय । अर्कोचोटि हाम्रो भेट नभएसम्मका लागि अनि उनी ढोकातिर गइन् र डाक्टरलाई भनिन्, ‘डाक्टरसाब । म अब घर जान्छु ।’
डाक्टर भित्र आए, ‘सबै सिद्धिएछ । तपाईँ बहादुर हुनुहुँदो रहेछ मिसेज म्याकलेअड !’
‘म बहादुर होइन ।’ उनले भनिन्, ‘र सबै सिद्धएको जस्तो पनि मलाई लाग्दैन । हामीले सँगै सुरु गरेको जीवन सधैँ रहिरहनेछ-शाश्वत जीवन..!’ ‘त्यो त हो ।’ सुन्दै नसुनी डाक्टरले भन्यो ।
त्यसपछि तिनी गइन् । तिनको भनाइको अर्थ केटाले बुझेको थियो । ऊ दलिन हेर्दै, सोच्दै पल्टिरह्यो । यसभन्दा पहिला जीवनको अर्थ उसलाई थाहा थिएन, केही बुझेको पनि थिएन उसले । तर आज उसले बुझ्यो । जीवन त त्यो प्रेम रहेछ जुन प्रेमले मानिसमा परिवार सुरु गर्ने इच्छा जागृत गराउँछ । उसले आजसम्म कसैलाई माया गरेको थिएन र उसलाई माया गर्ने पनि कोही थिएन । तर यो कुरा आज गौण प्रतीत भएको थियो । जे भए पनि आफ्नो परिवार सुरु गर्न त ऊ सक्थ्यो । ‘ए बाबु!’ डाक्टर केटातिर निहुरियो, ‘कतिबेर भयो है तिमी ब्युँझिएको ?’
‘धेरै भएको छैन, आधा घन्टाजति भयो होला ।’ केटो ओठ तन्काएर हाँस्यो तर डाक्टरले भने दिक्क मान्यो ‘यो ठिक भएन, तिमीले सबै देख्यौ ।’ डाक्टरले घण्टी बजायो । नर्स भित्र आई ।
‘सिस्टर, यहाँ पर्दा हालिदिनुस् न ।’ ‘
हस् डाक्टरसाब !’
त्यहाँ पर्दा हालियो । दुई जना मानिसले स्ट्रेचर ल्याए र बूढालाई लिएर गए । केटो नबोली बस्यो । जे भए पनि उसले सबै थाहा पाइरहेको थियो । त्यो परिवार अहिले सायद जलपान गरिरहेको होला । जर्जचाहिँ आफ्नी आमालाई चिन्ता नगर्नु, हामी छोराछोरी, नातिनातिना सँगै भइहाल्छौँ भनेर सम्झाउँदै होला । साँच्चै उनले, ती बूढालाई कहिल्यै बिर्सने छैनन्फ्नी आमालाई चिन्ता नगर्नु, हामी छोराछोरी, नातिनातिना सँगै भइहाल्छौँ भनेर सम्झाउँदै होला । साँच्चै उनले, ती बूढालाई कहिल्यै बिर्सने छैनन्-उनीहरूको गहिरो अनि अमर प्रेमको कारणले ।
केटाको मन शान्त भयो । उसले आफू जन्मनुको अर्थ बुझ्यो । अब ऊ मर्ने छैन, खालि सुत्नेछ ।
ऊ अबेर उठ्यो । पर्दा हटाइसकिएको थियो अनि कोठा सफा थियो । अर्को बेड खाली थियो । अहिले त्यसमा सफला तन्ना कसिएको थियो । झ्यालबाट घाम भित्रसम्म छिरेको थियो । कोठामा ऊ मात्र थियो तर उसको जीवनमा पहिलो पटक ऊ एक्लो थिएन र कहिल्यै एक्लो बाँच्नुपर्ने छैन भन्ने यथार्थबोध भएको थियो उसलाई। परिवार कसरी बनेको हुन्छ भन्ने कुरा बल्ल उसलाई थाहा भयो । उसको पनि त परिवार हुन सक्छ । ऊ जागिर खोज्नेछ, एउटी असल केटी खोज्नेछ । ती बूढी पनि त असल केटी थिइन् होला । उसले बूढालाई पनि सम्झ्यो । उमेरमा ऊ दुब्लो, अग्लो थियो होला । त्यही दुब्लो केटाले वनमा ती केटीसित विवाह- प्रस्ताव राखेको अनि ती केटीले स्वीकार गरेको दृश्य उसको मानसपटलमा तरङ्गियो । ऊ पनि त्यस्तै केटी खोज्नेछ । बच्चाहरूलाई राम्ररी हेरविचार गर्ने ? मीठो खाना बनाउन जान्ने र क्रिसमस ट्री सजाउन सिपालु केटी ।… तीनपाङ्ग्रे !! सानो छँदा उसलाई पनि तीनपाङ्ग्रेको खुब रहर थियो । उसले आफू हुर्केको अनाथालय सम्झँदा सबभन्दा पहिले सम्झने कुरा नै त्यही थियो-उसले कहिल्यै पाउन नसकेको तीनपाङ्ग्रे । त्यस्ता चीज पाउन त आमाबाबु हुनुपर्छ । ऊ पनि पछि बाबु बन्नेछ । बूढा भाग्यमानी रहेछन्, आफ्ना सबै बालबच्चाहरूका अगाडि प्राण त्याग्न पाए । त्यसरी, बाँचुन्जेल चाहेका सबै कुरा पूरा भएपछि मर्न कहाँ गाहारो हुँदो रहेछ र ?
नर्स भित्र आई। ऊ सफासग्घरी देखिएकी थिई । उसले खुसीमिश्रित मधुरो स्वरमा सोधी ? ‘केही खाने हो बाबु ?’
उसले एकपल्ट तनक्क आड तन्कायो र प्रफुल्ल हुँदै भन्यो, ‘मलाई सन्चो अनुभव भएको छ, टन्न खाना खान पाए हुन्थ्यो । सारै भोक लागेको छ ।’
पर्ल एस्. बक
संयुक्त राज्य अमेरिका
जन्म : सन् १८९२, जुन २६, संयुक्त राज्य अमेरिकाको वेष्ट भर्जिनियामा । द गुड अर्थ (सन् १९३१) उपन्यासका लागि सन् १९३२ को पुलित्जर पुरस्कार विजेता । सन् १९३८ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता, साहित्यतर्फको नोबेल पुरस्कार पाउने प्रथम अमेरिकी महिला । द रेनबो (सन् १९७४), ड्रयागन सीड (सन् १९४२), चाइना स्काई (सन् १९४१), इन जर्मन पेन्सन आदि जस्ता थुप्रै कृतिहरू । फोर्टिन स्टोरिज (सन् १९६१), द गुड डीड (सन् १९६९), अ सर्टेन स्टार (सन् १९५७) आदि कथासङ्ग्रह ।
मृत्यु : सन् १९७३, मार्च ६ मा ८१ वर्षको उमेरमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।