पोल्यान्डेली पत्रकार तथा उपन्यासकार हेनरिक सिन्कीविक्ज ५ मे १८४६ मा पूर्वी पोल्यान्डको ओला ओकरजेस्का भन्ने गाउँको एक कुलीन तर गरिब परिवारमा जन्मेका थिए । उनी जोजेफ सिन्कीविक्ज र स्टेफेनिया सिसिस्जोवास्काका दुई छोरा र चार छोरी मध्ये माइला छोरा थिए। उनको परिवार ठाउँ ठाउँमा बसाई सर्दै सन् १८६१ देखि पूर्वी वार्साको प्रागा भन्ने ठाउँमा एउटा घर किनी स्थायी रूपमा बसोबास गर्न थालेको थियो। उनले वार्सा विश्वविद्यालयमा अध्ययन गरेका थिए। विद्यार्थी अवस्थामा उनी मानविकी बाहेक अरू विषयमा खास गरी पोलिस भाषा र इतिहासमा अत्यन्त कमजोर थिए भनिन्छ ।
सन् १८६२ मा पोल्यान्डमा राज्यकान्ति हुँदा उनी आफ्नो परिवार सहित रुस गए र पिटर्सबर्ग (अचेलको लेनिनग्राद) मा एउटा पत्रिकाको सम्पादक भएर बसे । लक्ष्यहीन भई विश्व भ्रमणको निम्ति उनी पेतेर्सबुर्गबाट हिँडे। दक्षिण युरोपको भ्रमण गर्दै उनी १८७६ मा संयुक्त राज्य अमेरिका पुगे र लस एन्जलसमा बसी आफ्नो यात्रा विवरण लेख्न थाले । उनी आफ्ना यात्रा विवरणहरू पोल्यान्डका पत्र-पत्रिकाहरूमा पठाउँथे । ती रचना मध्ये सङ्गीतकार जङको (Janko, the Musician) र वृद्ध घण्टीवाला (The Old Bell Ringer) निकै लोकप्रिय भए । प्रारम्भमा यात्रा विवरणबाट नै उनी पोल्यान्डका पाठकहरू बिच लोकप्रिय भएका थिए ।
सन् १८८० मा उनी पोल्यान्ड फर्के र साहित्यिक कर्ममा लागे । सन् १८८० को दशकमा उनले आफ्ना उपन्यासहरू क्रमशः छपाउन थालेपछि उनी पाठक बिच झन् परिचित हुन थाले । उन्नाइसौं शताब्दीको अन्त्यतिर र बिसौँ शताब्दीमा उनका कृति अनूदित भई उनले अन्तर्राष्ट्रिय मान्यता समेत पाउन थाले। फलस्वरूप उनले वीरगाथाका उत्कृष्ट उपन्यासकारको रूपमा सन् १९०५ को नोबेल पुरस्कार प्राप्त गरे ।
पोल्यान्डमा उनी तीन ऐतिहासिक उपन्यासहरू आगो र तलवार (With Fire and Sword), बाढी (The Deluge) र सर माइकेल (Sir Michael) बाट प्रसिद्ध छन् भने सम्राट निरोको समयको सेन्ट पिटर्सको कथामा आधारित उनको सबैभन्दा बढी विक्री भएको रोमको ऐतिहासिक रोमान्सेली उपन्यास को वादिस (Quo Vadis, 1896) बाट विश्वभर चर्चित छन् । हलिउडमा सन् १९५१ ताका यी उपन्यासका फिल्म पनि बनेका छन् । निम्नलिखित उनका अरू प्रसिद्ध कृतिहरू हुन् ः
१. सिद्धान्तहीन (Without Dogma, 1891), २ धरतीका सन्तान (Children of The Soil), ३. हामी उनीहरूको अनुकरण गरौं (Let us Follow Them), ४. कता जाने (Whither goest thou), ५. रोटीको लागि (After Bread) र ६. गौरवको मैदानमा (On the Field of Glory), ७ चहकिलो समुद्र किनारमा (On the Bright Shore), ८. मरुभूमि र जङ्गल (Desert and Wilderness), ९. व्यर्थ (In Vain) र १०. तेस्रो आइमाई (The Third Woman) ।
१५ नोभेम्बर १९१६ मा स्विट्जरल्याण्डको वेभीमा हृदय रोगबाट उनको मृत्यु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।