भारतको केरला राज्यको मलयाली भाषी फिल्म उद्योगले अहिले फिल्मी प्लटलाई बढी महत्त्व दिन थालेको छ, पछि चाहिँ पैसालाई । ठिकैको बजेटमा हृदय छुने कथालाई यिनले महत्त्व दिन थालेका छन् । उता तमिल र तेलुगु फिल्म उद्योगको बजेट भने बलिउडलाई नै छुँलाझैँ गरिरहेका छन् । केरलाको मलयाली फिल्म उद्योगले भने आफ्नो जरा खोज्न थालेका छन् । उनीहरूले सपनाको संसारभन्दा वास्तविकतालाई जोड दिने गरेका छन् । उनीहरूले दैनिक जीवनका समस्या, अप्ठेराजस्ता कुरालाई महत्त्व दिने गरेका छन् । यस्ता कथावाचनको मूल्य भने उनीहरूले चुकाइरहेका पनि छन् । सन् २०२३ को सबैभन्दा सफल बलिउड फिल्महरूमा जवान र एनिमलले ५०० करोडभन्दा बढीको बक्स अफिस व्यापार गरेका छन् । जबकि थोरै बजेटमा केरलाका फिल्महरूले सय करोडको व्यापार गर्नु उत्सव मनाउन काफी छ ।

विगत केही महिनामा मलयाली फिल्महरूले बक्स अफिसमा राम्रो व्यापार गरे । र, तिनले कमाउनु पर्ने पनि थियो । यस वर्ष चार वटा फिल्महरूले ब्लकबस्टरको उपाधि पाए । तिनले औसतमा १५० देखि २०० करोड कुल कमाई गरे । चिदम्बरमको ‘मन्जुमेल बोइज’ मलयाली फिल्म उद्योगकै सबैभन्दा बढी कमाउने फिल्म बन्न पुग्यो । त्यस्तै ‘प्रेमालु’, ‘ब्रह्मयुगम’ र पछिल्लो ‘आदुजीभम’ले पनि लोभलाग्दो व्यापार गरे । यी फिल्मले केरला राज्यमा मात्र दर्शकको मन जितेनन्, त्यहाँबाट उठेर भारतभर र मध्यपूर्वदेखि न्युजिल्यान्डसम्म आफ्नो व्यापार चम्काउन सफल भएका छन् । ‘मन्जुमेल बोइज’ सङ्कटमा परेका साथीहरूको उद्धार गर्ने र भाइचारामाथि बनेको फिल्म हो । यसको बजेट जम्मा २० करोड थियो र अहिले यसले संसारभरबाट २३० करोड कमाइसकेको छ । मलयाली भाषामा यति धेरै कमाउने यो पहिलो फिल्म बन्न पुगेको छ । यसअघि कहिल्यै नसुनिएको मलयाली फिल्म उद्योग अहिले सबैको चासोमा परेको छ । नयाँ पुस्ताका फिल्मकर्मी र पुराना सुपरस्टारहरूको गठजोडका कारण एक पटक यो सुनिने फिल्म उद्योग बन्न पुगेको हो । यिनले प्रस्तुत गर्ने पृथक् कथावस्तु र प्रस्तुतिले दर्शकको मनमुटु कब्जा गर्न सफल भएको छ ।

मन्जुमेल बोइज ११ जना साथीहरूको मित्रताको कथा हो । बच्चा देखिका यी साथीहरू हुर्किसकेपछि एक पटक कोडाइकनालस्थित निकै चर्चित गुण गुफामा बिदा मनाउन जान्छन् । १२ जनामध्ये एक जना साथी त्यो गुफाभित्र खस्न पुग्छ र हराउँछ । वास्तविक घटनामा आधारित यस घटनाका बारेमा सुन्नेबित्तिकै फिल्मका कथाकार तथा निर्देशक चिदम्बरम चकित भए । उनले पछि साथीहरूलाई सुनाए, ‘सङ्कटमा परेको साथीका लागि कसैले यति धेरै गर्न सक्छन् र त्यो हदसम्म पुग्न सक्छन् भन्ने थाहा पाएपछि मेरो दिमागमा नायकको छवि पूरै धूमिल भयो । वास्तविक नायक त एउटा साथीलाई बचाउन तिनको प्रयास नै नायक हो । फिल्ममा कुट्टन वास्तविक जीवनका सिजु डेभिड हुन् जो गुफामा ५० फिट तल श्रापित दुलोमा छिर्न पुग्छन् । उनका साथीले कुट्टनलाई बचाउन निकै ठूलो कसरत गछन् । यो जति शारीरिक रूपमा बलशाली कुरा छ, उति नै बुद्धिमताको कथा हो । हरेक व्यक्तिमा भगवान् हुन्छन् भन्ने त्यसै भनिएको होइन ।’

यस्तै अर्को ‘प्रेमालु’ पनि चर्चित मलयाली फिल्म बन्न पुग्यो । गिरिश एडीद्वारा निर्देशित यो फिल्म किशोरावस्थाको प्रेम, प्रेमको असफलता र त्यसबाट निस्कने प्रयास निकै रोचक र हास्यात्मक तरिकाले प्रस्तुत गरिएको छ । त्यसो त सन् २०१४ मा रिलिज भएको अन्जली मेननको ‘बेंगलोर डेज’ नामक फिल्मको विषयवस्तु पनि यही हो तर यो ‘प्रेमालु’ले भने अहिलेका युवापुस्ताको कथा छोएको छ । फिल्मले पछिल्लो समयको क्लिष्ट शहरी सम्बन्ध छोएको छ ।

यो फिल्मको बजेट जम्मा तीन करोड थियो । अहिले संसारभरबाट १२० करोड कमाइसकेको छ भने अझै कमाइको आँकडा जारी छ । फिल्मका निर्देशक गिरिश एडी भन्छन्, ‘फिल्म किन चल्यो मलाई थाहा छैन । म त यत्ति चाहन्थेँ कि मन छुने कथामा फिल्म बनाऊँ । अहिलेका २० वर्षे तन्नेरी भारतीयहरू स्वतन्त्र छन्, तर उनीहरू दुविधामा छन्, उनीहरू जति महत्त्वाकांक्षी छन्, उनीहरूलाई जराप्रति पनि उत्तिकै प्रेम छ तर प्रेम र जीवनका बारेमा धेरै दुविधा छ । म तिनै कुरा हास्यपुटका साथ देखाउन चाहन्थेँ । शायद अहिलेको संसारका युवाको समस्या यही नै हो । त्यही कुरा छोएका कारण यो फिल्म चलेको हुनुपर्छ ।

दुई दशकदेखि दक्षिण भारतीय फिल्म समीक्षा गरिएका महेश बाला भन्छन्, ‘पछिल्लो समय मलयालम फिल्मले चासो पाउनुको मुख्य कारण ओटिटी प्लेटफर्ममा गुणस्तरयुक्त फिल्म हेर्ने अवसर जुर्यो र संसारले यसको गुणवत्ता बुझ्यो । सन् २०१९ कुमबालाङ्गी नाइट्स ओटिटीमा यति हिट भयो कि त्यसपछि त खोजी खोजी मलयाली फिल्म हेर्न थालियो । पछिल्लो समय द ग्रेट इन्डियन किचन, पाडा, जोजीजस्ता फिल्म हेरिसकेपछि ठूलो पर्दामै हेर्नुपर्ने महसुस दर्शकले गरेको हुनुपर्छ ।’

ती सबै कुरालाई अहिले पछिल्लो समय बनेको फिल्म आडुजिविथमले अझ पुट दियो । नेपालमा पनि निकै चर्चामा रहेको बेन्यामिनद्वारा लिखित तथा दिनेश काफ्लेद्वारा नेपालीमा अनुदित उपन्यास ‘खबुज’मा आधारित ‘द गोट डेज’ फिल्मको बजेट भने अन्य मलयाली फिल्मको भन्दा निकै चर्को थियो । ८० करोड भारूमा बनेको यो फिल्मलाई ब्लेस्सीले निर्देशन गरेका छन् । फिल्म बनाउन उनले १६ वर्ष लगाएका थिए । यो फिल्म पनि केरलाका मजदुर नजीबको वास्तविक घटनामा आधारित हो । सन् १९९० को दशकमा अवसरको खोजी गर्दै साउदी अरब पुगेका नजीब र उनका साथी हकिम अरबका काफिलबाट अपहरणमा पर्छन् । अपहरणपछि उनलाई कहिल्यै पार पाउन नसकिने मरूभूमिमा बाख्रा चराउन लगाइन्छ । उनी त्यो आदिम सभ्यताबाट अहिलेको सभ्यतामा फर्कनु लगभग असम्भव देखिन्छ । न खाना, न पानी, न त साथीभाइको साथ न त कुनै आशाका बाबजुद नजीबको बाँच्ने जिजीविषा यो उपन्यासको मूल विषय हो । फिल्मलाई जोर्डनको मरूभूमिमा खिचिएको थियो । फिल्ममा उपन्यास पढ्दाको पीडा उतार्न स्वयं कलाकारहरूले पनि त्यो जीवन बाँचून् भनेर समय लगाएर फिल्म बनाइएको थियो । तर फिल्म रिलिज भएपछि यति चर्चा पायो कि यसले मलयालीभाषीबाहिर पनि चर्चा बटुल्यो । फिल्म रिलिज भएको दुई सातामा नै संसारभरबाट यसले सय करोड भारू कमाइसकेको छ ।

केरलास्थित फिल्म निर्माता तथा गोट डेजलाई बजारीकरण गर्न भूमिका खेलेका विवेक रामदेवन भन्छन्, ‘पछिल्ला राम्रो एउटा फिल्मले अर्कोलाई बजारमा पुग्न सहयोग पुगिरहेको छ । मन्जुमेल बोइजले आडुजिविथमलाई र यसले अरू फिल्मलाई पक्कै बाटो बनाउने छ ।

पहिला राम्रा मलयाली फिल्मलाई नेटफ्लिक्स र अमेजनले किन्न रूचि देखाउँदैनथे । साह्रै चासो भए पनि पहिले तिनको वास्तविक मूल्यभन्दा आधामा किनिन्थ्यो । अब सिनेमा हलमा संसारभर नै यी फिल्मको रिलिज भएयता भने यिनले राम्रो दाम पाउने निश्चित रहेको विवेक बताउँछन् ।

‘ब्रह्मयुगम’का निर्माता राहुल सदाशिवन फिल्मले अहिलेसम्म ८५ करोड कमाएको बताउँछन् । १७ औँ शताब्दीको केरला र त्यसमा पनि लोकभूताहा कथामा जम्मा तीन जना कलाकार भएको फिल्म बनाउनु ज्यादै प्रयोगशील काम थियो । केरलाका सुपरस्टार ममूटीले कहिल्यै जीवनमा यस्तो भूमिका खेलेका थिएनन् । फिल्मको बजेट जम्मा २७ करोड थियो । यो फिल्ममा व्यावसायिक फिल्मको कुनै गुण छैन । त्यसमाथि यो श्यामश्वेत फिल्म हेर्न को आउला भन्ने नलागेको पनि होइन । तर सिनेमा हलपछि सोनीलिभमा रिलिज गर्दा पर्याप्त दर्शकले फिल्मलाई हेरे । यसअघि सन् २०२२ मा पनि भूतकालम निकै रूचाइएको थियो ।

कहीँकतै पहिले नदेखिएको कथा, गजबको सामाजिक सन्देश, विविध भाषामा डबिङ गरिएको यो फिल्मले फिल्मी समाजले पनि राम्रो सहयोग गर्यो । मलयाली फिल्म उद्योगमा आएका नयाँ पुस्ताकका फिल्ममेकरको एकता, एकअर्कालाई सघाउने बानीजस्ता कुराले उद्योगमा काम गर्ने गज्जबको वातावरण तयार भएको फिल्म निर्देशक ब्लेसी बताउँछन् ।

मलयाली फिल्म मेकिङको प्रशंसक बलिउडसमेत भएको छ । करण जोहरले सन् २०२२ मा बनेको हृदयम र मन्जुमेल बोइजलाई हिन्दीमा पुनः बनाउँदै छन् । यस्तै अन्य फिल्म पनि अन्य फिल्ममेकरको आँखामा पर्न थालेको छ ।

(ओपन म्यागेजिनको आलेखमा आधारित ।)