कलाकार विजय थापा

वरिष्ठ कलाकार विजय थापासँग पछिल्लो मेरो भेट एक कला कार्याशालामा भएको थियो । भेटमा भलाकुसारीको सँगसँगै कला र कलासमीक्षाका सन्दर्भमा कुरा चले । विजय थापाले सिर्जना गर्ने कलाहरू आधुनिक कला अन्तर्गतका कला हुन् । किनकि उनले अख्तियार गरेका आधुनिक कलाशैली विश्वकला मञ्चमा पाश्चात्य मूलबाट उद्भव भएर आएका कला हुन्, जुन विश्वमा क्रमिक रुपमा विकास भएर आएका कला शैली हुन् । केही समयदेखि उनका नयाँ कला सामाजिक सञ्जालमा पोष्ट भएका पनि देखिन्छन् । ती कामहरू झट्ट हेर्दा तुलनात्मक रुपमा हिजोका उनका कामभन्दा फरक रुपमा देखा परेका छन् ।

विजय थापा नेपाली समसामयिक कलाक्षेत्रका एक स्तम्भ हुन् भन्दा उनीमाथि सही मूल्याङ्कन गरिएको ठहरिन्छ किनभने लगभग चार दशक भन्दा बढी समयको उनको कला आरोहणले एक अलग विशिष्ट पहिचान र उचाइ कमाइसकेको छ । नेपाली कलाक्षेत्र र राष्ट्रले उनको कला योगदानबाट धेरै फाइदा लिइसकेको छ । एकताका राजा-महाराजाहरूलाई कला सिकाउने र उनीहरूकै ‘पोट्रट’ बनाउने कामदेखि प्राज्ञिक ओहदा सम्हाल्दै नेपाली कलाक्षेत्रलाई हाँक्नेसम्मका कार्यहरू थापाबाट भएको छ ।

१९६५ मा बनारसबाट कलाअध्ययन सकेर नेपाल आएपश्चात थापाको कलाजीवनले वस्तुवादी कलाजीवन पार गर्दै अमूर्तवादी कलाधारमा पाइला टेकेको हो । थापाको कलायात्रालाई नियाल्ने हो भने उनको कलाले विश्वको सिंगो कलाविकासको आरोहलाई प्रतिविम्वित गर्दछ भन्दा अत्युक्ति नहोला । रोजर फ्रे, गोगा, सेजादेखि पिकासो र कान्डिन्स्कीसम्मका कलाकारहरूको कलाको झल्को मिल्छ उनको कलामा । कला के हो ? विश्वमा कलाको विकास कसरी भयो ? आदि, इत्यादि जान्न र बुझ्न पनि उनको कलाको गति धेरै सहयोगी सिद्ध हुन्छ । उनको कलाको विस्तार वा लय बुझ्न कलाको विगतलाई बुझ्न जरुरी छ । यसको विस्तार र विकास थाहा पाउन आवश्यक पर्छ ।

आजभन्दा झण्डै बाह्र हजार वर्ष अगाडिसम्म रहेको ढुंगेयुगको अन्त्यतिर कलाको शुरूवात र विकास भएको हो । त्यस युगमा मानवहरू दिनभरिका शिकारका उपलब्धिहरू गुफाका भित्ताहरूमा कोर्दथे । त्यसताकाको गुफा इतिहासमध्ये एक चर्चित गुफा हो– स्पेनको अल्तामिरा गुफा । आदिम मानव समाज जब नवपाषण युगमा आइपुग्यो, मानवीय आवश्यकताहरूले उनीहरूलाई नौलो आविष्कार गर्न उत्प्रेरित गर्‍यो । र, प्रगतिउन्मुख उनीहरू गुफाहरूमा बस्न छाडी खुल्ला जमीनमा थुम्का जस्ता घरहरू निर्माण गरी बस्न थाले । जुन चरण वास्तुकला र धार्मिक मठ मन्दिरको विकासको प्रारम्भिक चरण बन्यो । ती थुम्काहरूको विकशित रूप आजका चुच्चिदै गएका मिश्रका पिरामिडहरू हुन् । जहाँ मानव जनजीवन, युद्ध, शिकार आदिका चित्रहरू खोपिएका छन् । ग्रिकको वास्तुकलामा पनि भित्तेचित्र लेख्ने परम्परा थियो । युरोपमा पुनर्जागरण अगावैका पौराणिक शैलीका कलाकृतिहरूमा देवीदेवताहरू, इसामसिह आदिका चित्रहरू कोरिन्थे र दरबार, महलहरूका भित्ताहरूमा कथानक रूपमा परमेश्वरीय आस्था र भावनालाई चित्र उतारिन्थे ।

युरोपमा जस्तै नेपालमा पनि भित्तेचित्रहरू कोरिने चलन रहेको देखिन्छ । एघारौं शताब्दीको मध्येदेखि ताडपत्र, भोजपत्र आदि चित्रपटहरूमा चित्र बनाइने प्रचलन बसेको पाइन्छ । त्यसताका हरिवंश, पञ्चरक्षा, हितोपदेश आदि धार्मिक कथाहरूलाई नाटकीय ढंगबाट चित्रकलामा उर्तानु धर्म मानिन्थ्यो । नेपालका कलाकार अरनिको तेह्रौं शताब्दीमा तिब्बत र चीन पुगी नेपाली कलाको गौरव बढाएका थिए भने उता यति नै बेला युरोप र पश्चिमी मुलुकहरूमा धार्मिक, सामाजिक र राजनैतिक विषयवस्तुमा आधारित ‘रियालिज्म’ चित्रशैलीको जग मजबुत बनिसकेको अवस्था थियो । ग्रुनेवाल लगायतका कलाकारहरूको कला योगदानले वस्तुवादी कलाशैली पराकाष्ठामा पुगिसकेको पाइन्छ । लियोनार्दो दा भिन्ची, माइकल एन्जेलो, राफेल लगायतका कलाकारहरूको उदयले त युरोपीय कला झनै समृद्ध बनेको भेटिन्छ । पुरातन कलाका प्रतिनिधि कलाकारहरूले नै विश्वकलामा नौलो जागरणको युग ल्याउन आधार स्तम्भ निर्माण गरिदिएका कुरा इतिहासकारहरू बताउँदछन् । ती कलाकारहरूले आफ्नो जीवनकालमा परापूर्वकालदेखि नै चलिआएको चित्र र मूर्तिकलाको शैली वा प्रवृत्तिमाथि प्रगतिवादी लक्षण पस्केर कलाक्षेत्रमा चलिरहेको वस्तुवाद वा ‘रियालिज्म’लाई अघि बढ्ने ढोका खोलिदिएका थिए ।
यस्तै सन् १८८० को उत्तरार्द्धमा फोटोग्राफीको सुरुवातले चलिआएको ‘सररियालिज्म’ कलामाथि ठूलो परिवर्तन ल्याएको पाइन्छ । समाजमा यो प्रविधिले छिटो, छरितो तरिकाले कला सिर्जना गर्न थालेको देखिन्छ । यो प्रविधि जन्मिएपश्चात पोट्रेटका शौखिनहरू मोडलमा बसिरहनुपर्ने झन्झटबाट मुक्त भए । अब कलाकारहरूले गर्ने कामहरू फोटोग्राफी कलाले सजिलै पूरा गर्ने भयो । यही कारणले कला क्रान्तिको ढोका ढ्कढकाउन प्रोत्सान गर्‍यो र नौलो कलावादको खोजीलाई नैसर्गिक बनायो । साथै १८६३ मा फ्रान्समा चलेको नौलो कलामोडलाई परम्परावादी र यथास्थितिवादीहरूले अस्वीकार गरेपछि प्रदर्शनी भएको ४००० ‘अस्वीकृत कृति’को सफल प्रदर्शनीले पनि नौलो मान्यताको आवश्यकतालाई अपरिहार्य साबित गरिदिएको हो ।

त्यतिबेला पाश्चिमा मूलमा उदय भएका परिवर्तनवादी कलाकारहरू मोने, माने, डाली र भेनगागका समयानुरूपका कलाले कला दुरुस्तको प्रस्तुतीकरण मात्र होइन कला प्रयोग, अभिव्यक्ति र विद्वताको कसी पनि हो भन्ने मान्यताको विजारोपण भएपछि र दोमियोका समाजवादी चित्रहरूमा कलाक्रान्तिका झिल्काहरू देखिन थाल्यो । पछि कलाले परिवर्तनको आधुनिक संघार कलाले चिर्न सफल भएको हो । प्रथम र दोस्रो विश्वयुद्धको प्रभावमा त झन् आधुनिक कलाको स्वरूप नै स्पष्टरूपमा अगाडि आएर देखिन थाल्यो ।

तत्कालीन विश्वका परिवर्तित विश्व घट्नाक्रमहरू, औपनिवेशिक नीति, शीतयुद्ध, हिंसा, आर्थिक नाकाबन्दी, गरिबी, भौतिक र आणविकवादको प्रभुत्वजस्ता दम्भको परिणतिले पनि कलाकारहरूलाई आधुनिक कला जन्माउन प्रेरित गरेको हो । र, यो घट्नाक्रममा कलाकारहरू माने, रोजर फ्रे, गोंगा, सेजा, डाली, वेनदेतो, ब्राक, इटालीका कलाकार पाब्लो पिकासो, पल ली, अमेरिकामा ज्याक्सन पोलक, विलियम डि. कनिङ, मास्कोका कान्दस्की आदि थुप्रै आधुनिक कलाकारहरूको उदय भएको हो । अठारौंदेखि उन्नाइसौँ शतक त आधुनिक कलाको विकासक्रमको निम्ति स्वर्णयुग नै मानिन्छ । र, आजको पुँजीवादी प्रभुत्वको समयचक्रले त झन् कलाको प्रायोगिक सोचलाई फराकिलो बनाउँदै लगेको प्रमाण छ । युरोप र पाश्चात्य मुलुकहरूमा कलामा गरिएको प्रयोगले कलाको परिभाषालाई असीमित बनाउँदै लगेको छ । अचेल कलाकारहरू वाद र बन्धनको धेरा तोड्दै स्वनिर्मित वाद वा शैलीअनुरूप नै काम गरिरहेका छन् ।

नेपाली कलाले पनि यसरी नै कला विकासको फट्को मार्दै आजको रूपमा अर्थात आधुनिक र उत्तरआधुनिक कला रूपमा पाइला टेकेको छ । परम्परागतबाट शुरू भएर वस्तुवादी हुँदै अगाडि बढेको हाम्रो कलाविकासको यात्राले थापालाई पनि यही कला विकासको गतिमा राखेको छ ।