
कुरा केही समय पहिलेकै हो । त्यस दिन भान्छामा ठुलै हडताल भएको थियो । सबै तरकारीहरूले मिलेर हडताल गर्ने निधो गरेका रहेछन्, जुन हामी बुढा बुढीलाई थाहा थिएन । तरकारी केलाउने अनि काटकुट गर्ने जिम्मा मेरो हुने गर्थ्यो प्रायः । तर त्यस दिन केही गर्न सकिएन । तरकारीले सफा हुन चाहेन, काटिन चाहेन अनि पाक्न पनि चाहेन ।
लसुन, अदुवा एक कुनामा गएर नाराबाजीको तैयारी गर्दै थिए भने प्याज “मलाई त छो, दुइटै आँखाबाट मनसुन बगाइदिन्छु” भन्दै आफ्नो तागत बढाउन व्यस्त देखिन्थ्यो । आलु अर्को तिर मुन्टो फर्काएर अब म कसैसँग मिल्दिन भनेर बसेको थियो । भन्टा आफ्नो श्रीपेच देखाउँदै त्यसको कदर नभएको गुनासो गर्दै थियो । काउली वरिपरि सबैलाई नियाल्दै आफूलाई फोहोर मल हालेर हुर्काएको सिकायत गर्दै थियो । खुर्सानी, “मलाई नजिस्का नत्र ताइँ देखाई दिन्छु ।” भन्दै अझ पिरो बन्ने सुरसारमा देखिन्थ्यो । समग्रमा सबै रिसाएका थिए । कसैलाई पनि पाक्न मन थिएन ।
यिनीहरूको देखासिकीमा पाक्नै नपर्ने पनि हडतालमा उचालिएका थिए । काँक्रो, सधैँ सलाद र अचारमा सीमित हुनु परेको बिलौना गर्दै थियो । गाजर आफ्नो पौष्टिक हुनुको फाइदा उठाउँदै हडतालको नेतृत्व गर्ने जमर्को गर्दै थियो । जसरी हुन्छ, जे गरेर हुन्छ आज भान्छामा तरकारी पाकिने वाला थिएन ।
म हडतालको कारण पत्ता लगाउन तिर लागे । उता श्रीमती दाल र भातमा नै गुजारा गर्नु पर्ने कुरा गर्न थालिन् । छोरा छोरी तरकारी नभई भान्छामा नछिर्ने भन्दै आफ्नै हडताल सुरु गर्न तिर लागे । हडतालै हडतालको बीचमा आफ्नो दिमागले काम नगर्दा दिमागमा नै हडताल भएझैँ हुन थाल्यो । सुद्धि बुद्धि हराए, टाउकोभित्र शून्यता छायो । बेलुन फुटेर फुस्स भए जस्तो टाउको पनि फुस्स भयो ।
आँखा चिम्ले एकैछिन र सोच्न थाले तरकारी हडतालका कारणहरू । श्रीमती छोरा छोरीको हडताल समाधान गर्न तिर लागेकी थिइन् ।
कारण पत्ता लगाउँदै जाँदा धेरै कुराहरू थाहा लाग्दै गयो ।
१, भान्छामा तरकारीको शेयर कम भयो रे ! माछा, मासुको शेयर बढ्दै गयो रे ! त्यसैले हडताल सुरु भएको रहेछ ।
२, तरकारीको जन्म थलो उर्वरा जमिन मासिंदै गयो । उनीहरूको जन्म थलोमा खाली बिल्डिङहरू ठडिन पुगे । स्वदेशी तरकारीलाई विदेशी तरकारीले विस्थापित गर्न थाले । आफ्नो अस्तित्व गुम्ने खतरा भएकोले हडताल मात्र विकल्प भएको थाहा भयो ।
३, मान्छेहरूले खाउन् भनेर बिक्री हुन सधैँ तयार रहेको तरकारीहरू विक्री हुने ठाउँ नपाएर बिचल्लीमा परेको कुरा पनि सान्दर्भिक नै जस्तो लाग्यो ।
४, पौष्टिकताले भरपुर तरकारीहरूलाई औषधि हाली हाली बेच्ने व्यापारीहरूको विरोधमा पनि हडताल भएको कुरा थाहा हुन गयो ।
५, प्रयोग नभएका तरकारीहरूलाई दशतिर फालेर टोल, शहर, गाउँ ढुङ्ढुङ्ती गन्हाउने बनाएको विरोधमा पनि हडताल भएको रहेछ ।
हडतालको कारणहरू जानिसकेपछि म अत्तालिन थाले । यिनीहरूको हडताल त कुनै पनि कोणबाट बन्द हुने छाँट देखिन मैले । फकाउनु पर्यो, यसै बसेर तमासा हेरेर मात्र भएन भन्दै आलु नजिकै गए र भने, “हेर आलु, तिमी सबैसँग मिल्नै पर्छ । तिमी त महान् आलु त्यत्रो चर्चा छ संसारमा । मसिनेको घरदेखि म्याकडोनाल्डको भान्छासम्म आफ्नो आधिपत्य जमाउन सकेको तिमी आलु आज हडतालमा बसिदिएर हाम्रो भान्छाको बिजोग भयो । कृपया हडताल त्यागेर प्याजसँग मिलिदेऊ न । बरु आज आलु प्याजको तरकारीमा नै चित्त बुझाउला ।”
आलुले मुन्टो हल्लाउन मात्र लागेको थियो, उताबाट प्याज गर्जिन थाल्यो खाली ऊ चाहिँ सधैँ कोही न कोहीसँग मिल्नै पर्ने भनेर । उसलाई एक्लै तरकारी बनाएर कसैले खाँदैन भनेर । अनि त्यो सुनेपछि आलुले मानेन । बरु भन्न थाल्यो, “तिमी मान्छेहरू हामी आलु खाएर पेडाको धाक लगाउँदै हिंड्छौ अनि हाम्रो नै बदनाम गर्छौ कहिले ‘जाँचमा आलु खायो’ भन्दै, कहिले ‘तालुमा त आलु फलेछ’ भन्दै, कहिले त्यो मान्छेले ‘आलु घडी’ लगाएछ भन्दै । हामीलाई विभिन्न रोगको जड मान्ने पनि तिमीहरू नै होउ ।”
आलु र प्याज नमान्ने पक्का भयो । अब कतातिर लाग्नु लसुन र अदुवा मात्रैले तरकारी बन्दैन भन्ने सोच्दै गोलभेडातिर लम्के । महिनावारी हुँदा आइमाई पर सरेको जस्तो गोलभेँडा चिच्याउन थाली, “मलाई नछोऊ, म गलिसकेँ” भन्दै । अनि उसको गुनासो पनि सुन्न लायककै थियो । खाली तरकारीको स्वाद बढाउन मात्रै प्रयोग हुन्छ रे, नत्र कि अचार बन्छ रे कि सलाद बन्छ रे । गोलभेँडा मात्र तरकारी बनाउँदैनन् रे, त्यसैले हडतालमा सहभागी भएको रे ।
गोलभेँडाबाट पनि केही सहयोगको छाँटकाँट नदेखे पछि म सागपात भएतिर लागे । सागपातको आफ्नै बिलौना रहेछ, “हामी त्यस्तो लहलहाउँदो राम्रो सागपातलाई तिमीहरू भाँडोमा कोचेर उखरमाउलो गर्मीमा सुकाई सुकाई तड्पाई तड्पाई गुन्द्रुक अनि अरू के के जाति बनाउँछौ । तिमीहरूलाई के थाहा हामीलाई कति पिडा हुन्छ ।”
सबै तरकारीहरूको व्यथाहरू एक एक गर्दै सुन्दै आफ्नै अड्कल बाजीमा ठिक बेठिक छुट्टयाइरहेको बेला अकस्मात् दाल र भातको याद आयो । दाल र भातले पनि हडताल गरिदिए भने ! सोच मात्रले पनि मेरो शरीर काम्न थाल्यो । अनशन बस्ने बाहेक अरू के उपाय हुन सक्ला र त्यस्तो परिस्थितिमा ।
यो हडतालको पारो कसरी चढ्न पुगेको होला सबैमा ? कसले सिकायो हडताल गर्न ? यो हडतालको आविष्कारकलाई त तक्मा दिनु कि खोरमा लगेर थुन्नु ? म आफैसँग बरबराउन थाले । यो हडतालको न सीमा छ, न आकार छ, न रूप नै छ तर पनि किन यति शक्तिशाली । आज मेरो भान्छादेखि घर, टोल, गाउँ, शहर हुँदै सम्पूर्ण राष्ट्रलाई नै गाँजिसकेको छ यो हडतालले ।
तरकारी हडतालले निम्त्याएको सवालहरू सँगै मैले राष्ट्रकै हडताल दाँज्न थालेँ । र दाँज्न थालेँ हडतालले दिएका तरकारी बिनाका निस्ता भातका डल्लाहरू अनि कैयौँ छटपटाहटमा गुज्रेका रातहरू ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

