न्यास, विन्यास र सन्न्यासहरू ठेलमठेल मेरा मानस डबलीमा पाहुना लागिरहेछन् यतिखेर ! किन हो यकिन छैन । अनुमान भने गर्नैपर्ला ! एकै झम्कामा अनुमान हनुमान् बनिदिन्छ । न अनुमान हनुमान् बनिदिन्छ । न अनुमान हनुमान् नै हो ! न त पहलमान नै ! मिथक आख्यान भर्छ र भरिरहेकै हुन्छ- हनुमान् पहलमानभन्दा कय्यन् गुणा बलवान् ! मिथक मिथकै हुन् ! आख्यान आख्यानै हुन् ! तैपनि भन्न मन लागिरहन्छ, मिथक मानिसकै सिर्जना बनेको छ । आख्यान पनि उस्तै मानिसकै संरचना रहेको छ । कहिले मिथक मानिस बनिदिन्छ । कहिले मानिस मिथक ! मिथकीय मानिस ! मानवीय मिथक ! अन्योन्याश्रित हुन पुग्छ ।
परन्तु मलाई भने मिथक र मानिसको पराश्रय फेला पार्ने रहरले लहरझैँ तरङ्ग्याइरहन्छ मिथक र मानिसको संरचित आख्यानभरिका उपमेय उपमा बन्छ । मिथक मानिसको संरचनाशील स्वस्थ कल्पनाका सार्थक पात्र बनिदिन्छ । अनि मिथक सञ्चेतनाले ओतप्रोत सृष्टि साधनाको साधन बन्नपुग्छ र पो मिथकलाई मानिसका पुर्ख्यौली सम्पदाझैँ उच्चारण र स्मरणभरि जिउताइराख्छ । अनि मानिस एकपछि अर्को पुस्तान्तरण गर्दै आख्यान भरिरहन्छन् अनवरत नहिच्किचाईकन । यतिन्जेल हो मिथकका आख्यानभरि र आख्यानका मिथकभरि म पढ्छु, आफैँ मिथकीय पात्र वा आख्यानभरिको मिथक व्यक्ति बनिरहेको हुन्छु ।
रङ्गविन्यासमाथि विचरण गर्ने जमर्को गर्दै छु । उद्घाटन वाक्यमै भनेथेँ न्यास, विन्यास र सन्यास पाहुना लागिएको कुरो । न्यास एक साधना संवाहक प्रक्रिया, न्यास एक प्रकारको ध्यान योग । विन्यास न्यासलाई पुनर्योग गर्ने अर्को प्रगाढ प्रक्रिया । न्यासका विधिविधान विन्यासमा जस्ताको तस्तै उतार्नु आवश्यक हुन्न । गरिन्न पनि । न्यास र विन्यास झन्डैझन्डै निर्माण र विनिर्माण जस्तै हो । जसरी विनिर्माण निर्माण माथिको थप आयाम हो त्यसरी नै विन्यास न्यासमाथिको थप आयामिक पद्धति हो, प्रक्रिया हो ।
विन्यासले जपिरहेको हुन्छ, ध्याइरहेको हुन्छ न्यासलाई अरू उचाल्न । विन्यासले न्यासलाई उठाउन नयाँ तल्ला थप्न खोजिरहेको हुन्छ । थपिनै रहेको हुन्छ । थप्दै गरेको हुन्छ । एकै संरचनागत साधनालाई युगीन स्वरूप दिइरहेको हुन्छ । थप्दै गरेको हुन्छ । एकै संरचनामा उही नै साधन लगाइन्न । तापनि साधन फरक रहेर पनि उस्तै उही उस्तै देखिएको हुन्छ । रङ्ग विन्यासमा रङ्ग उही नै नभएर उहीझैँ लाग्ने उस्तै कोटिको रङ्ग प्रयुक्त रहेको हुन्छ । रङ्ग उही नै नभएर उस्तै रहेको मात्र हुन्छ । उही नै नभए पनि उस्तै उस्तैलाई उही भन्नु सामाजिक ढाँचाको अभिव्यक्ति बनेको छ । न्यास विन्यासलाई उस्तै गरी हामी एकसाथ उच्चारण गर्छौं । म यसबाट हुन्न । मात्र आफ्नो जिज्ञासा बाँडिरहेको हुन्छु म यहाँहरूबीच !
रङ्गविन्यासहरू यसरी नै भए गरिए । रङ्गविन्यासकहरूले अन्ततः आफ्ना कर्मयोगलाई बिसाएर सन्न्यास लिए । सन्न्यास बिसाइ त हो नै पक्का । तर अन्त भने होइन किमार्थ । रङ्गविन्यासहरूमा विश्रान्ति छाउँछ । अन्त भने आउँदैन । अन्तै नहुने सृष्टिको लीला अनवत छ । अनवरत रूपमा विश्रान्ती खोज्नु अनवरत सृष्टिसार महिमाको नाम संज्ञा सन्न्यास बनिदिन्छ । एकले सन्न्यास लिन्छ । अर्कोले न्यास धारण गर्न थाल्छ । एकले न्यास धारण गर्दा अर्कोले विन्यासको चरण पाइसकेको हुन्छ । एकले विन्यास लिँदा अर्कोले सन्यासको स्थितिमा पाइला हाल्न पुगिहेको हुन्छ । क्रमबद्ध जीवनचक्र जस्तै रहन्छ । यसरी नै घुमिरहन्छ ।
नयाँ पिँढीले न्याय गर्दा अघिल्ला पुस्ताले विन्यासको खुड्किला टेक्न पुग्छ । अघिल्ला पुस्ताले विन्यास गर्न पुग्दा त्यसभन्दा अघिल्ला पुस्ताले सन्न्यास लिन पुग्छ । एकपछि अर्को पिँढी र पुस्ता एकपछि अर्को चरणबद्ध अवस्थामा अवतरण गर्दै गर्छ । विश्रान्ती यसरी आउने रङ्गविन्यासको क्रम बन्छ । यो क्रम निरन्तर निरन्तरता बन्छ, रहिरहन्छ । रङ्गविन्यास संस्कारले मसित अन्तर्मन पोख्छ । पोखिरहन्छ । म सुनिरहन्छु । आफैँसित अन्तर्क्रिया गर्छु । रङ्गविन्यासका अन्तर्क्रियाले मनलाई ढुक्क पारिदिन्छ । आत्मविश्वासको चकला फराकिन्छ । म ससाना घेराबाट फुत्कँदै एकपछि अर्को परिधि पाएका वृत्तमा फैलिदिन्छु ।
रङ्गविन्यासहरूका क्रम समाल्दै, सोच्दै म आफूलाई आफैँ आफूभन्दा परपरको परिधिसम्म पुर्याइरहेको हुन्छु । रङ्गविन्यासका वृत्तहरूले मलाई सधैँभरि आत्मविन्यासी बन्न मात्र दान दिइरहेको हुन्छ । मात्र आफैँले रङ्गविन्यासहरूका शब्द र स्वरबिनाका अभिव्यञ्जनालाई आत्मसात् गरिदिनुपर्छ । नगरी धरै हुन्न । गरिदिन्छु म पनि ।
रङ्गविन्यास रङ्ग सम्मिश्रण पनि बन्छ । रङ्गविन्यास रङ्ग संयोजन पनि भइदिन्छ । रङ्गविन्यास रङ्गका अर्थ बोधिसत्त्व पनि रहिदिन्छ । रङ्गविन्यास रङ्ग रसमाधुरी पनि बनिदिन्छ । रङ्गविन्यास रङ्ग रासमा पनि रसिदिन्छ । रङ्गविन्यास रङ्गलीलाका माध्यम पनि भइदिन्छ । रङ्गविन्यास गर्भाशयको भ्रूण पनि बन्न सक्छ । रङ्गविन्यास गर्ने बालक पनि हुन सक्छ । रङ्गविन्यास जन्मजात नव शिशु पनि हुन सक्छ । रङ्गविन्यास बालककालको निस्कपट स्वछन्द, बालापन पनि बनिदिन सक्छ । रङ्गविन्यास जीवन यौवन बन्न सक्छ । रङ्गविन्यास जीवनका मुहूर्त पनि भइदिन सक्छ । रङ्गविन्यास ‘तमसो मा ज्योतिर्गमय’ पनि हुन सक्छ । रङ्गविन्यास
‘मृत्योर्मा अमृतगमय’ पनि बन्न सक्छ । रङ्गविन्यास सद्दाम हुसेनको जीवन्त घाँटीको फाँसीको गाँठो पनि बन्न सक्छ । रङ्गविन्यास हाई… हाई…. दोहा चौपाई पनि बन्न पुग्छ । रङ्गविन्यास छि… छि… दूर… दूर.. पनि बन्न सक्छ । रङ्गविन्यास ‘फूलको आँखामा फूलै संसार । काँडाको आँखामा काँडै संसार’ पनि चरितार्थ बन्न सक्छ । एकाबिहान सखारै सखारै रङ्गले मसित आत्मविभोरी सन्देश सुनाएथे । म नि आनन्दले विभोर बनेर रङ्गविन्यासका मननीय गुनगुनाई सुन्दै गुनि नै रहें, बुनि नै रहें । जे गुने, जे बुने यिनै त हुन् श्रद्धासुमन गुच्छा यहाँलाई उपहार ! सम्मान !
रङ्गविन्यास जहाँ पनि हुन सक्छ । जेमा पनि हुन्छ । जसरी पनि हुन सक्छ । रङ्गविन्यास जेसुकै निमित्त पनि हुन सक्छ । रङ्गविन्यास जहिले पनि हुन सक्छ । रङ्गविन्यासको परिधि हुन्न । रङ्गविन्यासको सीमा आकाश बन्छ । आकाशभरिको अन्तरिक्ष र अन्तरिक्षभरिको आकाश रङ्गविन्यासको सीमा बन्छ । मात्र रङ्गलाई छोइदिनुपर्छ । मात्र रङ्गले छोइएको हुनुपर्छ । रङ्गविन्यासले ओतप्रोत भइन्छ, होइन्छ । रङ्गविन्यासले ओतप्रोत हुनु भनेको रङ्गको रङ्गीन भाका हाल्नु हो । रङ्गमा रास मच्चाउनु हो । रङ्गका लाली रच्नु हो । रङ्गमा रङ्ग भर्नु हो । रङ्गमा रङ्ग भर्नुको रहस्य रङ्गमा जीवन लीला रच्नु हो । रङ्गविन्यासका न्यास त आचमन गर्नु जति हो । म रङ्गविन्यासमा आत्मविभोर बन्छु । आत्मविभोरीपनबाट आनन्दसार जीवन चुम्बन पाउँछु ।
ममा सदाबहार रहेको छ रङ्गविन्यास आचमन । आचमन आत्मशुद्धिको पर्याय बन्छ । यस पर्यायभित्रको मर्मबोधमा आचमनका बिम्बबोध हुन सक्छ । बिम्बबोध हुनु भने प्रतीकलाई सटीक रूपमा बुझ्नु हो । यस अर्थमा रङ्गविन्यासहरू प्रतीकात्मक बनिदिन्छ र प्रतीकात्मकतामा रङ्गविन्यास अमूर्त शैलीमा परिणति पाउँछ । रङ्गविन्यासहरू मात्र अमूर्त शैलीका अभिव्यञ्जना बनोइन । अपितु रङ्गविन्यासलाई युगबोधक चित्रकलाकै मुटु मान्नु अनुचित परोइन ।
रङ्गविन्यास यसरी नै युगबोधक तत्त्व बन्छ; बनिरहेछ । युगबोध गर्न रङ्गविन्यासका शृङ्खलाबोध गर्न सक्नुपर्ने हुन्छ । प्रत्येक युगका प्रत्येक रङ्गकर्मीले रङ्ग रङ्गमा महत्ता दर्साए । रङ्गका रङ्गमा महत्ता भर्नु रङ्ग युगबोध गर्नु नै हुन्छ । रङ्गका रङ्गमा निहित रङ्गबोधी मर्मभित्रका रङ्गधर्म सबैका लागि पसार्नुवसार्नु रङ्गको मर्मबोध हुनु हो । बोधिज्ञान आफूभित्र मात्र सीमित राख्नु हुन्न । बुद्धले यसलाई बोधिसत्त्व भने । युग युगमा युगद्रष्टाहरूले युग दर्शनलाई आफ्नै मर्म ठानेर कर्म गरे सकर्मका । सकर्म त्यसैले धर्म बने । धर्मकर्मको चकलाभित्र रङ्गविन्यासका मर्म पनि समाहित हुन पुगे । मलाई मेरै अहम तत्त्व गुण यसलाई सम्झाइरहन्छ । सम्झिरहन्छु म पनि । कहिले वल्टाइ कहिले पल्टाइ ।
मेरो वल्टाइपल्टाइ मात्र हात चलाई नभएर विश्लेषण र विवेचनाको सङ्केत बन्छ । बिलकुल साङ्केतिक । सङ्केतलाई जीवन सटीक प्रतीक बनाउन सक्दा रङ्गविन्यासको गरिमा उचालिएको हुन्छ । रङ्गविन्यासको उचाइमा गरिमाबोध गर्न पाउँदा मलाई मैभित्रको मनले चुम्बन गरिरहेझैँ लाग्न थाल्छ । आखिर म भन्नु, मेरो बोधिसत्त्व रहेको रहस्य यतिन्जेल म रङ्गविन्यासहरूसित रटिरहेछु । आत्मसात् गरिरहेछु । रङ्गविन्यासहरू त मेरा चेतन उघार्ने तत्त्वमसि बनिदिन्छ । म रङ्गविन्यासीहरूलाई मेरै सञ्चेतना उपहार गरिरहेछु गरिरहुँला पनि ।
रङ्गविन्यास कागजमा हुन सक्छ । रङ्गविन्यास भित्ताहरूमा हुन सक्छ । भित्ता रङ्गविन्यासका विपिन बनिदिन्छ । चित्रयुक्त भित्ता गारो बन्दैन । क्षितिज बनिदिन्छ । भित्ता र रङ्गविन्यास पर भइदिन्छ । भित्तेचित्र तयार हुन्छ र भित्तेचित्र मन्दिर र दरबारका भित्ताहरूमा विन्यासित भए इतिहास बने । ऐतिहासिक रङ्गविन्यासका सम्पदा बने, जुटे । पचपन्नझ्याले दरबारभित्रका भित्तेचित्र रङ्गविन्यासका इतिहास बक्छ, बोक्छ । इतिहास बक्ने र बोक्ने सम्पदा मात्र एक वर्ग समुदाय वा राष्ट्रको परिधिभित्र सीमित रहन्न । सम्पदा जब मानवीय खेमा अँगाल्न थाल्छ विश्वसम्पदा बन्छ ।
विश्व मानवीय बस्तीको चाका हो । रङ्गविन्यासहरू रेखा, थोप्ला, धर्सा छ्यापछ्यापीहरूमा पढ्न सकिन्छ । रङ्गविन्यासका भावभङ्गिमा यस्तै रसरञ्जनका पनि विन्यास बन्न थाल्छ । ‘सौन्दर्य द्रष्टाको दृष्टि सुन्दरतामा निहित रहन्छ’ किट्सले शताब्दियौँ अघि अभिव्यक्त गरे भन्छ मेरै विवेक ब्रह्म । रङ्गविन्यासका पाटाहरू रङ्गका रङ्ग अस्मिता बोक्छन् । रङ्गको अस्मिता रङ्गीन रहन्छ । रङ्ग हर्षको प्रज्ञापन बनिदिन्छ । रङ्गै त हो विस्मातका आलाप भरिदिन्छ । मानौँ रङ्गविन्यास नै टेप बनिदिन्छ । माइक्रो फिल्म बनिदिन्छ । सी.डी. बनिदिन्छ । सहज रूपमा एक कुनाको रङ्गविन्यास संस्कार सर्वत्र फैलिदिन्छ । मानौँ फैलनु पनि एक सञ्चार संस्कृतिका आयाम हो- एउटा फेरि ।
रङ्गविन्यासका विधि रङ्गकर्मीका हुन् । विधिका विधाता बनेका रङ्गकर्मी रङ्गविन्यासक हुन् । विन्यासकले जसरी रङ्गविन्यास गर्छ त्यसरी नै रङ्ग शैलीका शिल्प निर्धारण हुन पुग्छ । पिकासोले घोडाको पुच्छर चोपेर रङ्गमा छर्केको रङ्गका छिर्काहरू नत्र अमूर्त चित्रका पितृवंशज बन्नु नपर्ने थियो । बन्यो त्यसरी नै त्यस्तै अमूर्त शैली । व्यक्तित्व बनाइसकेका धारावाही प्रवाहलाई छुँदै हातहरू चोप्लिँदै मैले आर्जेका यी अनुभूति मेरा सम्पत्ति मेरै म जस्ता धेरै महरूका सम्पदा बन्न सकून् । मभित्रको मेरो म चाहना भर्छ ।
रङ्गविन्यासका यी अभिव्यक्ति साधना मेरो रङ्गविन्यासका रेखा हुन्, वर्ण हुन् । अक्षर यी रङ्ग रेखा हुन् । मसी रङ्गै हो, मसी वर्णै हो, अक्षर रेखैरेखाका वर्ण हुन् । वर्णै रेखैरेखाका अक्षरका आकार हुन् । अक्षर त्यसैले रङ्गमा रङ्गद्वारा रचिएको रङ्गविन्यास हो । रङ्गविन्यास त्यसैले अक्षर पनि । चित्र पनि । चित्र विचित्र पनि । विचित्र चित्र पनि रङ्गविन्यासै त बन्छ नि । यहीँनिर हो रङ्गविन्यास गर्दागर्दै म रङ्गीन बनिदिन्छु । यतैतिर हो कि रङ्गकर्मीहरू पनि रङ्गीन बनिरहेका हुन्छन् ।
यसै गरेर हुन् सबै रङ्गकर्मीहरू रङ्गविन्यासका अभियान भरिरहेका हुन्छन्, चलाइरहन्छन् । रङ्गविन्यासका अभियान सुन्दर लाग्छ मलाई । रङ्गविन्यासका मार्ग प्रशस्त पार्ने रहर छ मेरो । रङ्गविन्यासकहरूलाई रङ्गमञ्चमा प्रदर्शित गर्न मन लाग्छ मलाई । रङ्गकर्मीहरूको रङ्गीन जीवनलाई रङ्गका होलीबीच सुरङ्गी अभिनन्दन गर्ने मन छ- मलाई । लाग्छ सबै रङ्गकर्मीहरू मेरा हुन् । म सबैसबै रङ्गविन्यासकहरू अभिनव अभिनन्दक बनूँ, बनिरहन सकूँ ।
(रङ्ग अभिज्ञान – २०७४ बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।