छोडेर ढुङ्ग्राको तातो दुध
छोडेर ठेकीको ढक्क जमेको दही
लाजमको आलो मोही छोडेर
गाउँ आजकाल कोक, फ्यान्टा डकार्छ

गाउँ उसबेला हातगोडा आफैँ चलाउथ्यो
र आफ्नै पसिना बेच्थ्यो हाटबजारमा
आफ्नै करेसाबारीमा तरकारी फलाउँथ्यो
खेत, खलियानहरूमा बैंश चढाउँथ्यो र मुस्कान छोड्थ्यो
नदीभन्दा जोसिलो गाउँ समुद्रझैं अल्छे भएको छ

शनैःशनैः गाउँ लुते बाख्रोझैँ हुँदै गएको छ
रूखिएर माटो सिरूसित प्रीत लाइरहेछ
वृद्धाश्रमको वृद्धझैँ कसैको पर्खाइमा आँसु झारिरहेछ

गाई, भैंसीको गोबर खान्थ्यो माटो
फूर्तिलो भएर बस्थ्यो सधैँ
आजकाल युरिया खाएर ठुस्स ठुस्किएर बस्छ
भूइँकुहिरोले ढाकेको देउरालीझैँ
धुमील बन्दै गैरहेछ माटोको मुहार

तरकारी आजकाल बारीमा हैन बजारमा फल्छ
पहिले अनाज भकारीमा भित्रिन्थ्यो
अहिले गाडी चढ्छ र बोरामा झर्छ

बुधबारेहरू, विहीबारेहरू थोता भएका छन्
कमिलाको गोलो हुने हाट
अचेल खबटे भै बसेको छ
यहाँको रङ, सुगन्ध कतै हराएको छ
बैंशले मतमतिएर बतासमा अट्टहास छर्ने हाट
आजकाल हिउँदको एक्लो सिरेटो बाँचिरहेछ
हाटहरू नै बिल्लबाँठ लाग्छन् आजकाल

हार्दिकता हराउँदै गएको छ गाउँमा
माया, सद्भाव सात समुन्द्र तरेको छ
विश्वासले विष खाएको छ
इमान्दारिताले ईस् गरेको छ गाउँमा

बोल्नेको बिख बिक्ने नबोल्नेको औषधी बिक्न छोडेको छ
गाउँले आजकाल गाउँबाटै गोहो मोडेको छ
आफैँले आफ्नो सयल यात्रा तोडेको छ

कुनै बेला जाग्रम बस्ने गाउँ आजकाल पार्टी गर्छ
दोहोरीमा ठुम्का हान्ने गाउँ आजकाल हिपपमा गफ गर्छ
आफ्नै इतिहासलाई इतिश्री गर्छ
गाउँ आजकाल पञ्चेबाजामा नाच्नुको साटो
बेन्डबाजा बजाउँदै बिन्दासले बुर्कुसी मार्छ

गोरेटो, घोडेटो हिँड्ने गाउँ आजकाल रोडमा रन्किन्छ
ढुङ्गेधारा, चौताराहरूमा खुइ मार्ने गाउँ
आजकाल चोक र गल्लीहरूमा उठबस् खेल्छ

खै किन हो कुन्नी
वर वारि, पऽर पारि, सात गाउँ चिन्ने गाउँ
अचेल आफ्नै छिमेकीलाई चिन्न छोडेको छ
बास माग्न आउने अपरिचितलाई विश्वास गर्ने गाउँ
अचेल पल्लाघरेलाई विश्वास गर्न सक्दैन
एक सुसेलामा खोलापारि सहयोग गर्न पुग्ने गाउँ
अचेल आफ्नै छिमेकीको मलामी जान सक्दैन
लौरो चाहिएको छ आजकाल गाउँलाई

भालेको डाकमा ब्युँझिने गाउँ
आजकाल मोबाइलको अलार्ममा उठ्छ
ब्रेकफास्ट खान्छ र लन्च गर्छ गाउँ आजकाल
र रातो घाम हेर्दै तातो ढ्याउ उडाउँछ

चौतारीमा थकान मेटाउने गाउँ
अचेल बसको सिटमा बसेर थाक्छ
वरपीपलको छहारीमा रम्ने गाउँ
भ्युटावरको टुप्पोतिर टोलाउँछ

कसैले कानमा फुसफुस गरे झैँ मान्छ
अन्तै कहीँ कतै कसैले बोलाए झैँ मान्छ
किन किन गाउँ अन्तैतिर उडी भाग्न खोज्छ

खोई केमा छ गाउँ अचेल ?
खाजा, खाना कि खेतीमा ?
चटनी, तरकारी या केमा ?
आफ्नै भिन्न मिऽऽठो लवजमा ?
भेष कि परिवेशमा ?
भाषा कि परिभाषामा ?