साँझ घर पुग्ने
गन्तव्य तय गरी
पृथ्वीभन्दा माथि
निकै माथिबाट
शुरू गर्छ महासागरको यात्रा
विश्व स्वच्छताको गीत गाउँदै
धरतीको आत्मीयतामा रम्दै
जगतमा जीवन देखाउँदै
अवरोधका पहाड पन्छाउँदै
पुग्छ थलमण्डलको अन्तिम ठाउँ
अभियान बनाएर भिजाउँछ
प्यासीका घाँटीहरू
धरालाई सिँचाइ गरी फुलाउँछ
मगमगाउँदो फूल
अन्धकारका विरुद्ध घुमाउँछ
ठूला ठूला टर्बाइन
उसकै मिहिनेतले बनेको छ
सुवासिलो संसार
अपोमय विश्वविद्यालयबाट
अमृत शोधार्थीले
कहिल्यै खानु पर्दैन हरेस
अमृतमय स्वादमा
जलमार्गको पथबाट
पुर्याउँछ सफलताको शिखर
युगौँदेखि
पानीकै गतिले, दिएको छ
संसारभर जीवन र ज्योति
प्रत्येक घुट्कोमा जीवन दिने
धर्तीभर धन दिने
पानीकै रङ हो, जीवनको रङ ।
दुई तिहाईको उपस्थितिमा
मानव सभ्यता बचाउन
क्रियाशील शक्तिलाई
चेतनाको चक्षुबाट
हेर्यो भने प्रष्ट देखिन्छ
पानीमा स्वाद र रङ
सभ्यताको आदिदेखि वर्तमानसम्म
जनसमुदायलाई धर्म, कर्म सिकाउँदै
जनकल्याणकारी
शासन गर्नेको एकल नाम हो पानी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।