कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो एघारौँ श्रृंखला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृंखलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना कविका लुकेका कवितालाई यसले बढी महत्व दिए पनि नयाँ पुस्ताका असाध्यै राम्रा कविताहरू पनि यो अभियानमा समावेश गरिने डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् ।

प्रस्तुत छ, यसपटकका स्मार्ट पोयम्सहरू :

 

१. बिहे
(दिनेश अधिकारी)

बिहे गरेको भोलिपल्ट
हामी एउटा पैदलयात्रामा थियौँ

कहाँ के भयो ? एकाएक आकाश धुम्मियो

दिनेश अधिकारी

एकाएक मेघ गर्जियो
र झमझम पानी पर्न सुरु भयो ।
ओत लाग्न छेउछाउमा कुनै उपाय थिएन
र, हामीसँग एउटै मात्र सानो छाता थियो ।
ऊ नभिजोस् भनेर
घरी–घरी मैले ऊतिर छाता ढल्काइरहेँ,
मायले, उसले पनि मैतिर छाता ढल्काइरही,
पानी थामिएपछि पालैपालो
एक पटक मैले उसलाई हेरेँ
एक पटक उसले पनि मतिर आँखा ओछ्याई,
यतिन्जेलसम्म— न म नै नभिजेको थिएँ
न ऊ ओभानो बचेकी थिई,
सट्टामा— हामी दुवै पानीले निथ्रुक्क रुझेका थियौँ !

बिहे गरेको भोलिपल्ट
हामी एउटा पैदलयात्रामा थियौँ ।

२. रङ्गहरू
(श्यामल)

श्यामल

कालो हुन्छ अन्याय र अत्याचारको रङ्ग
भन्छन्, पहेलो हुन्छ त्याग र उत्सर्गको रङ्ग
बलिरहेको आगोझैँ रातो भनिन्छ क्रन्ति र परिवर्तन
शान्ति समुद्रझैँ नीलो र गहिरो हुन्छ भन्छन्,
श्रीमान् ! बुझेन यहाँको लाटो नागरिकले
तपाईँहरूको रङ्गीन भाषा थोरै पनि बुझेन !!
कालो सहरको पहेलो बत्तीमा हिँड्दा
शान्तिको विशाल पोखरीमा डुबेका छन् धेरै नागरिकहरू
भन्नुस्, कस्तो हुन्छ तिनीहरूको जीवनको रङ्ग ?
कस्तो हुन्छ तिनको भोकको रङ्ग ?
कस्तो हुन्छ त्यहाँ फैलिएको
अराजकताको रङ्ग ?

३. हिउँमा लेखिएका नामहरू
(तीर्थ श्रेष्ठ)

तीर्थ श्रेष्ठ

हामीले
लेखेर आएका छौँ
हिउँमा आ–आफ्ना नामहरू

एक छिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरू
एक छिनपछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै
नरहने हाम्रा नामहरू
हामी नरहँदा
कसरी रहलान् हाम्रा नामहरू !

हामीले
लेखेर आएका छौँ
हिउँमा आ–आफ्ना नामहरू

४. बोनसाई
(लक्ष्मी माली)

लक्ष्मी माली

म लहलहाउँदै
कलकलाउँदै
हुर्कँदै थिएँ !
अनायास मेरो स्वच्छन्दता
बाँधिन पुग्यो,
मेरा हातहरू, पाखुराहरू र गर्दन
उसको तारमा बेरिएर
बाङ्गिन पुगे !
उसको इच्छामा
उसको निर्देशनमा
मैले आफ्नो आकार बनाएर
उसकै बगैँचा र बैठक कोठामा
सो–पिसमा सजिएर
अन्ततः म सुन्दरी बन्न पुगेँ !

५. वनफूल
(नवराज कार्की)

नवराज कार्की

फुल्यो संयोगले वा कुनै दुर्घटनाले
कतै भीरपहरामा कुनै वनफूल
टिपी ल्याउने प्रतीक्षा छैन कसैको
विनामलजल विनामायामा
निष्प्रयोजन पहरामा किन फुलेछ वनफूल ?

कसैको खुसीमा, कसैको चुल्ठोमा
या माला बनेर कसैको गलामा
पुग्ला–नपुग्ला कतै मन्दिरमा
फुल्दै–झर्दै–झर्दै–फुल्दै
मौसम–मौसम, याम–याममा
लड्दै–बढ्दै शीत–शीतमा, घाम–घाममा
हुरी, असिना, आँधीमा, निस्फिक्री–बेपरवाह
कुनै छादन थिएन जिन्दगीको
न बारी, न कौसी, न गमलामा
कतै स्थान थिएन, त्यो एक्लो अनागरिक
किन फुल्यो हो, वनफूल पहरामा ?
किन फुल्यो हो, वनफूल त्यो एकान्तमा ?