सास्वतलाई भाइटिकाको दिन दिदीघर पुग्न ढिलो भैसकेको थियो । मुग्लिङदेखि नागढुङ्गा सम्मको बाटो पुनर्निर्माण भइरहेको कारण एक लेन मात्र खुला गरिएको थियो । धुवाँ-धुलोको मुस्लामाझ सास फेर्न गाह्रो भइरहेको थियो । नवविवाहित सास्वत बुलेट बाइकमा साइलेन्सरको ड … ड … ड  ध्वनि साथ धुवा उडाउँदै उकालो चढ्दै थियो । आधी घण्टा जति जाम पर्दा न्युट्रल गियर र देब्रे साइड लाइट बालेर सास्वतले बाइक रोक्यो । गाडीको लाइन् नसिधिँदै, ट्राफिक प्रहरी ऊ निर आइपुगेको रहेछ । चेकिङ होला भनेर सास्वतले ब्यागबाट लाइसेन्स र ब्लु बुक निकाल्न थाल्यो । प्रहरीले सस्वतलाई  भन्यो, “भाइ, त्यो पर्दैन, जाम खुलाउन आएको हो । अगाडीको पुलिस चौकीसम्म लिफ्ट चाहिएको छ ।”

ट्राफिक दाइकै छेउमा आफू जत्रो खैरो ब्याग लिएर एउटी अधबैँसे महिला उभिरहेकी थिइन् । दाहिने छेउको पल्सर १५० बाइकको आवाजले सस्वतलाई ट्राफिकको कुरा सुन्न गाह्रो भयो । सास्वतले आफ्नो ब्याग मिलाउँदै गर्दा पल्सरको पछाडि सिटमा बसेर प्रहरी दाइले ती अपरिचित महिलातिर इसारा गर्दै भन्यो, “वहाँलाई माथिसम्म पुर्‍याइदिनुस् है, बस मिस भएको रहेछ ।”

खुसी हुँदै आफ्नो ब्याग लिएर तिनी, बाइकको पछाडिको सिटमा बसिन् । जाम खुलिसकेकोले बस-ट्रकहरू हर्न बजाउँदै लामबद्ध रूपमा अगाडी बढिरहेका थिए । सास्वतले गियर शिफ्ट गरी एसिलिरेटर बटार्‍यो । ऊ धुलो र जाम पार गर्दै अगाडी बढिरहेको थियो । करिब दश मिनेटमा कच्ची उकालो सडक पार गरिसकेपछि मात्र उसले गति बढायो । हेलमेटको सिसा (भाइजर) माथि गरी प्रकृतिको प्रेमपूर्ण अभिवादनलाई स्वीकार गर्‍यो ।

काठमाडौँ उपत्यका सम्मको यात्रा बाइकमा पहिलो भएर होला सास्वतको नजरलाई अगाडिका गाडीहरू भन्दा छेउको रमणीय प्राकृतिक दृश्यहरूले आफूतिर आकर्षित गरिरहेको थियो । दक्षिण-पश्चिम कोणमा सूर्यले आफ्नो लालित्य बिस्तार गरिरहँदा उत्तर दिशामा निलो नभको काखमा हरियो  पर्वतीय शृङ्खलाको बडो मनोरम दृश्यले सास्वतको आँखा आफूतिर तानिरहेको थियो । पिकास्सोले रङ्गहरूको सम्मिश्रणबाट सेतो बादलरूपी क्यानभासमा चित्र कोरेको जस्तो परिवेश थियो ! मनमनै एयरपोडमा बजिरहेको गीत ऊ गुनगुनाउन थाल्यो । मनी रत्नम निर्देशित चलचित्र रोजाको गीतहरू, त्यसमध्ये चित्राजीको कोकिल स्वर, मिश्राद्वारा लिखित, रहमान सरको संगीतले सुसजित हिन्दी गीत,

ये हँसि वादिया, ये खुला आशमा,  आगए हम कहाँ ए मेरे सजना ।

इन बहारोमे दिलकी कली खिल गई, मुझ्को तुम जो मिले हर खुसी मिलगई।

बादलको मुस्लाहरूलाई आफ्नो अँगालोमा बेरी पहाड सोह्रशृङ्गार गरेकी, श्रावण मासकी पतिव्रता नारीझैँ प्रीत गाँसिरहेकी थिइन् । सडकको देब्रे किनारमा तल निरन्तर बगिरहेकी त्रिशुलीको निश्छल बहावलाई आँखाले छुन सकिन्थ्यो । शीतलताको बिम्ब कलकल बगिरहेकी त्रिशूली नागकन्या झैं प्रतीत हुन्थिन् । हरेक वर्ष दुर्घटित सवारीसाधन आफूमा समाहित गर्छिन्, वर्षा ऋतुमा गर्जन्छिन् । उनको मानव प्राणमोह रहस्यमयी छ त्यसैले होला डुबेका कोही जीवित फर्किंदैनन् । प्राय अप्राप्य बस्तु हामीलाई सुन्दर लाग्ने गर्दछ । प्राप्तिभन्दा पर सन्तुष्टिको सीमा निर्धारण गर्दा प्रयास सौम्य ठहरिँदो हो । त्रिशूलीको मौनतामा अक्रान्त आत्माहरू समाहित गर्ने कैलाशबासी शिवको जटाबाट  प्रवाहित गङ्गाको रुद्ररुप महासागरसम्मको चिरशान्ती यात्राको बिम्बझैँ  प्रतीत हुन्छ ।

पानीमा सूर्य किरण परावर्तन भई हिराको मोती झैँ टल्किन्थ्यो, युवतीले गलामा लगाएको हार झै ! नदी कतै साँगुरो कतै फराकिलो आकार, कतै सतही त कतै अत्यन्त गहिरो, रहस्यमयी, सुन्दर, अप्राप्य पहेली हुन् त्रिशूली ! त्यसैले सायद नदीलाई नारीको पर्याय मान्ने रहेछन् क्यार ! नदीको अङ्गालोमा बेरिएर न्यानो मायाको स्वाद चाख्न पाएर होला, हर्षित वायुको बदलिँदो गतिसँगै चञ्चल आवेगमा गजबको ताजगी थियो ! सुमधुर यात्राको परिवेशसँग मेल नखाने दृश्य सास्वतले देख्यो, जब उसको नजर साइड मिररमा पर्‍यो ।

बडो गम्भीर, कुनै पिडाले मर्माहत ती महिलाको मुहार देखेर उसको मनमा केही प्रशन उब्जिए । बिचको आफ्नो ब्यागमा टाउको अड्याउन खोज्दै उनको टोलाइरहेका  आँखाबाट अश्रुधारा हल्का च्याउरिएको गहुँवर्ण  गालामा पस्रिन खोज्दै थियो । छेउकै त्रिशूली नदीझैँ अपरिचित संवेगयुक्त । बाटोमा गाडीको चाप खासै नभएकोले सास्वतले गति बढाउँदै गयो ।  ब्यागमा केही हलचल भएको जस्तो लागेपछि उसले साइड मिरर घुमाई पछाडिको सिटतिर फेरि हेर्‍यो । उनको नजर सास्वतको ब्यागमा रहेछ । आफूले पछाडि बोकेको कालो ब्यागमा खासै गह्रुङ्गो सामान त थिएन । दिदीकोलाई कोसेली, भान्जा-भान्जीको लागि चकलेट, आफ्नो ल्यापटप  र फोन राखेको थियो । बाइक चलाउँदा गोजीमा फोन राख्ने बानी उसको  थिएन । ऊ अलिक डरायो, बल्ल सम्झ्यो ट्राफिक दाइलाई लाइसेन्स देखाउन ब्याग खोलेको बेला ब्यागको जिप लगाउन ऊ बिर्सेको रहेछ । उनले भनिन्, “मैले चेन लगाइदिएँ है ! झोलामा के छ ?, ल्यापटप ?”

टाउको हल्लाउँदै सास्वतले ‘हो’ भन्यो तर सशङ्कित भयो । एकछिन् पछि बाइक रोकेर उसले झोला फ्यूल ट्याङ्कमा अगाडीतिर राख्यो । ती महिलालाई आफ्नो झोला बिचमा राख्न भन्यो । अचानक मौसम फेर्यो, निलो आकाशले आफ्नो अस्तित्व गुमायो, बादलले सूर्य ढाकिसकेको रहेछ । एक दुई थोपाले सास्वतलाई स्पर्श गर्दा हेलमेटको सिसा तल झारेर पाँच गियरमा स्पिड बढायो । नौबिसे कटिसके पछि, उपत्यका पुग्न अझै एक घण्टाको बाटो बाँकी रहेछ । एक छिन पछि साइड मिररमा उसको नजर फेरि गयो, उनी सायद निदाएकी थिइन्, बाटो घुमाउरो थियो, सास्वतलाई अलिक अप्ठ्यारो भइरहेको थियो । उसले क्लच थिचेर स्पिड कम गर्दै भन्यो, “ब्यालेन्स गरेर बस्नुस्, एक छिनमै हामी कलङ्की  पुग्ने छौँ !”

बाटो धुलो रहित भएकोले उसले आफ्नो हेलमेटको भाइजर फेरि माथि गर्‍यो, उसलाई अनौठो गन्ध, विषादी (पेस्टिसाइड) जस्तो  कतै पोखिएको जस्तो आभास भयो । ऊ  फेरि सशङ्कित हुन पुग्यो । ती अपरिचित महिलाले एक ठाउँमा बाइक रोक्न भनिन् । सास्वतले स्ट्यान्ड तल झारी हेल्मेट निकाल्दै गर्दा, अलि पर पुगेर ती महिला भोमिट गरिरहेकी थिइन् । एक छिनपछि पसलतिर पुगिसकेकी थिइन् । उनलाई आफ्नो झोलाको खबर थिएन, हिँड्ने चाला सामान्य थिएन, रक्सीको पसलभित्र  पसिन् ।  सास्वत त्यो पसल नजिक पुग्दा ती महिलाले पानीको बोतलमा स्थानीय जाँड भर्दै थिइन् । ऊ  झनक्क रिसायो । केही नबोली ती महिलालाई त्यही छोडेर निस्कने विचार गर्‍यो । उसलाई अगाडिको चेकपोस्टमा मा.प.से (मादक पदार्थ सेवन) चेकिङको डर थियो । लरबरिएको बोलीमा ती महिलाले भनिन्,

“मसँग बसभाडा तिर्ने पैसा छैन, कलङ्कीसम्म पुर्‍याइदिनुस्, बिन्ती छ !”

“अनि रक्सी किन्ने पैसा कहाँबाट आयो नि ?”, रिसाउँदै सास्वतले प्रश्न तेर्सायो । केही नबोली, उनले टाउको तल झुकाइन् । ती महिलाको लागि नशा बाँच्ने माध्यम बनेको सास्वतलाई आभास भयो । एक दुई पसल मात्र थियो त्यस निर्जन ठाउँमा, छेउबाट गुज्रिने बाटो सुनसान थियो । सास्वत एकछिन् सोचमग्न भयो, पछि दया लागेर भन्यो, “अहिले शान्त भई पछाडि बस्नुस्,  म कलङ्की भन्दा यतै तपाईंलाई झार्दिन्छु । त्यसपछी जे गर्नु छ, गर्नु होला,  जहाँ जानु छ, जानुहोला ।” कलङ्की चोक पुग्नु अगावै महिलाले आफ्नो आफन्तहरू यतै बस्छन् भनिन् । घरहरू देखाउँदै नाता प्रस्ट पार्थिन् । यो मेरो फुपूको घर, त्यो ठूलो दाइको ! कलङ्कीको उकालो चढ्न भन्दा पहिले नै छेउमा बाइक रोकी सास्वतले ती महिलालाई झर्न आग्रह गर्‍यो ।

“कलङ्की चेकपोस्टमा मा.प.से चेकिङ छ होला, छेउबाट हिँड्दै जानुस् है ।”, यति भन्दै सास्वत बाइक स्टार्ट गरी अगाडी बढ्दै गर्दा, साइड मिररमा नजर गयो । उनलाई फुटपाथमै लडेको हेरे पछि बल्ल सम्झना आयो कि उनले आफूसँग पैसा नभएको कुरा पहिले नै भनेकी थिइन् । उनको हिँड्न नसक्ने अवस्था थियो । हल्का चोट लागेको थियो, रक्सीको नशाले ब्यालेन्स बिग्रेको होला, मनमा सोची बाइक रोकेर सास्वतले ती महिलालाई छेउकै खाजा पसलतिर हिँड्न आग्रह गर्‍यो ।

“बिहानैदेखि केही खाएको छैन, म आफ्नो घर छाडेर ठुली दिदी घर जाँदै छु ।”, ती महिलाले मधुरो स्वरमा भनिन् । उनको हालत दयनीय थियो । हातमुख धोएर एकछिन् पछि ती महिला सास्वतको कुर्सी विपरीत दिशामा, टेबलको अर्को छेउ बसिन् । दुवैजना केही बेर मौन बसिरहे । वेटर आएर एक बोतल पानी बीचको टेबलमा राखेर, खाजाको अडर माग्यो ।

“तपाईं के खानु हुन्छ ?”, ती महिलालाई सास्वतले सोध्यो ।

“एक प्लेट चिकेन  मःमः, एक कप चिया !”,  ती महिलाले वेटरतिर फर्केर भनिन् ।

“मलाई भेज मःमः  मात्र है, म  चिया खाँदिन, पाइन्छ भने एक ग्लास दूध नै ल्याइदिनुस् न है!,”, मुस्कानयुक्त अभिवादन गर्दै सास्वतले भन्यो । वेटर गइसकेपछि आफ्नो निधारमा लागेको चोट देखाउँदै उनले आफ्नो वृत्तान्त भन्दै गइन् । उनको व्यथा सास्वतले गम्भीरतापूर्वक सुनिरह्यो । असहाय आफूलाई सम्हाल्ने अवस्थामा थिइनन्।  आफ्नै जीवन स्विकार्न नसक्ने अस्तित्वको जटिल मनासिक द्वन्द्वमा फसेकी  थिइन् । आफ्नो देब्रे आँखाको तल्लो किनारमा पस्रिएकोको कालो डाम  देखाउँदै भनिन्, “मेरो श्रीमानले आज बिहानै जाँडको नशामा मलाई कुट्यो । म दैनिक ज्यालादारी एक दिन काम नगरे घरमा खान धौधौ पर्छ । बाँच्नुको अर्थ देख्दिन म । कसको लागि किन बचूँ म ?”

सास्वतले मधुरो स्वरमा सोध्यो, “छोरा छोरी छन् होला नि ? तिनीहरूको माया लाग्दैन ?”

“छोरा कक्षा ६ मा पढ्छ, छोरी सानै छे, स्कूल जाँदैन । नभेटेको एक वर्ष बितिसक्यो तर महिनाको खर्च पठाइदिने गर्छु ! त्यही भएर मेरो श्रीमान् रिसाउनु हुन्छ, गाली गर्नुहुन्छ ।”

सास्वतलाई बुझ्न अप्ठ्यारो परेको देखेर ती महिलाले थपिन्, “मेरो पहिलो विवाहको सन्तान भएर होला, मसँग तिनीहरूलाई बस्न दिनु भएन, त्यसैले गाउँमै बाबा कहाँ छोडेकी छु ।”

सास्वतले जिज्ञासा राख्यो, “अहिले के कुरामा  खटपटले झाग्डा भयो त्यसो भए ?”

“मेरो श्रीमानले एउटीलाई मन पराउन थालेका छन्, यो विषयमा पटक पटक विवाद भइरहन्थ्यो । आज त झगडा गरेर घर छोडेको । त्यो घरमा मेरो गर्भमा रहेको बच्चा सुरक्षित थिएन सर ।” , यति भन्दै गर्दा उनको मुहारमा अन्धकार छाएको जस्तो भयो, सुक्सुकाउन थालिन् । जिब्रो दन्तेलहरभित्र कारागारमा राखी सलाइभालाई घाँटीको बाटो हुँदै पेटमा पठाइरहेकी थिइन्, यो मात्र दुखको संकेत थिएन ।  सायद पिडा मानव मन पगाल्ने प्रमुख भाव हुँदो हो ।

सास्वतलाई  बोल्न अनुचित लागेर झ्याल पारी हेरिरह्यो । बस स्टेन्डमा गाडीमा पसी पानीको बोतल बेचिरहेकी एउटी ताम्र वर्णकी नानीको क्रियाकलापमा आफूलाई भुलाउन खोजिरहेको थियो । सास्वतले भावयुक्त बिचार पोख्यो, “जीवनमा कुनै कष्ट आउँदाखेरि हामीले आफैलाई माया गर्न छोड्नु हुन्न । सुख-दुःख हाम्रो जीवनको दुई पृथक् पाटो देखिए पनि त्यो भन्दा पर हाम्रो समयले छुट्टै खेल रचेको हुन्छ । बदलिँदो परिवेशसँगै आफूमा  परिवर्तन ल्याउन सकिन्छ । आफ्नो कर्म भाग्य या ईश्वर जेमा चित स्थिर हुन्छ त्यसमै आस्था राख्नुस् ! परमात्माले आफ्ना सन्तानको कुभलो गर्दैनन् ।”

ती महिलाले बिचमै रोकेर भनिन्, “तपाईं त बडो ज्ञानका गुणका कुरा गर्नुहुन्छ !”

सास्वतले कुरा टुङ्ग्याउन खोज्यो, “समयले हाम्रो परीक्षा लिइरहेको हुन्छ, कहिलेकाहीँ बच्नु पनि बडो बहादुरीको काम हुँदो रहेछ !”

वेटरले टेबलमा खाजा राखेर गएपछि अवस्था सामान्य बनाउन सास्वतले ती महिलालाई नाम सोध्यो । मोमोको डल्लो अचारमा डुबाएर आफ्नो मुखमा हालिन्, चपाउँदै मुखमा उज्यालो छर्दै भनिन्, “मेरो नाम  सावित्री ! छोरी गायत्री, छोराको नाम चाहिँ गणेश हो !”

एक छिन् ती महिला मौन बसिन् अनि जिज्ञासापूर्ण भावले आँखीभौँ माथिपट्टि निधार खुम्च्याउँदै सोधिन्, “तपाईँ क्रिस्चन हुनुहुन्छ ?”

अनौठो प्रश्न थियो । सास्वतलाई अलि व्यङ्ग्यात्मक लाग्यो, उसले  मनमनै सोच्यो, “सायद ईश्वरलाई इशु सुनिन् ।”

सास्वतले ठट्यौली पारामा सोध्यो, “परमेश्वरको कृपा बारे ज्ञान पेलेकोले क्रिस्चन धर्म प्रचारक ठान्नु भयो कि के हो ? खाजा नसकुन्जेल म प्रवचन भनम या गफ, पेल्न सक्छु है, सुन्ने भए !”

दुवै जना हाँसे, माहौल अलिक सामान्य हुँदै गयो तर सास्वतलाई पछि त्यो क्रिस्चन ठानेको प्रश्न अस्वाभाविक लागेन । एक पल्ट जनजाति समुदायमा अनुसन्धानको क्रममा जाँदा उसले घर-घरमा अपरिचित व्यक्तिले बाइबल ग्रन्थ वितरण गरिरहेको देखेको थियो । एउटा झोपडीको चौतारीमा पकेट बाइबल फालिएको अवस्थामा रहेछ । धर्म परिवर्तन नेपालमा नौलो विषय छैन, त्यसकै डर सावित्रीको मनमा छ की ?”,

यी  कुरा सास्वतको मनमा घुमिरहँदा,  ठट्यौली पारामा सावित्रीलाई सोध्यो, “म त क्रिस्चन हैन तर तपाईं कृष्ण हुनुहुन्छ !”, सास्वत आफै हाँसिरह्यो । सावित्रीले आशय बुझिन्, यो त प्रश्न हैन, आफ्नो चरित्रप्रति लक्षित बाण रहेछ ।

“मैले तपाईंलाई धर्मसँग जोडेर शङ्का गरे महाशय  तर तपाईं त मेरो चरित्रमाथि नै …. ”, स्तब्ध भइन्, एकछिन् सुकसुकाइन् अनि मधुरो स्वरमा भनिन्, “कृष्ण पितृसत्ताको उपज हो । १६ हजार गोपीको प्रिय गोपाल, द्वारकाधिश देवता भयो । म त स्त्री हुँ, देवत्व हामीबाट पर भाग्दछ,  नवदुर्गा पुज्ने समाजले रजस्वलालाई पाप कसरी ठान्यो ?  खै किन धामी झाँक्रीको तन्त्र मन्त्रको शिकार हामी नै कसरी हुन पुग्छौँ  ?”

सावित्री बोल्दै गइन्, “वियोग नारीको गहना झैँ भएको छ । राधा अविवाहित रहिन्, मिराबाइ विष पिएर समाधि लीन भइन् । यी प्रतिबिम्ब हुन् हाम्रा । विष्णु अवतार तिम्रो श्री कृष्ण पुरुषत्वको प्राय, स्वघाेषित परमात्मा थियो रे !

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥४-७॥

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥४-८॥” (श्रीमद्भगवद गीता)

यस्ता श्लोकहरूको प्रपञ्च रची द्वारिकाका साधु-सन्यासीहरूले तिम्रो कृष्णलाई स्वघोषित देवता बनाइदियो । म बरु द्रौपदीमा आफ्नो प्रतिबिम्ब पाउँदछु । उनी पाञ्चाली कहलिन् । मेरो दुई पतिले मलाई स्वीकार गरेनन्, तेस्रो खोज्ने म ममा साहस छैन । तर म पाञ्चाली जति दोष तपाईंको श्री कृष्णमाथि थोप्छु कुरुक्षेत्र रक्तपातक लागि । एक पारिवारिक द्वन्दको सिकार अर्को राजनीतिक द्वन्द्वको, महाभारत हैन पुरुषार्थ अहम्को द्वन्द्व थियो त्यो, केवल अहम्को ! कौरव -पाण्डवबिच आफ्नै भाइ भतिजको रक्त पिउने युद्ध मात्र थियो त्यो ? आम जनताको महाव्यथा किन लेखेनन् व्यास मुनीले ?  किन एक दशक लामो शस्त्र द्वन्द्वमा सहिद शाही सेना र माओवादी लडाकुको कथा मात्र  लेखियो ? इतिहास सत्ताको पुच्छर हुँदो हो, समय परिवेश अनुसार बाङ्गिन्छ ।  तिम्रा संस्कृत वेदहरू हजारौँ स्थानीय भाषाहरूको चिहानमा लेखिएका हुन्, बुझ्यौ ?”

आँसु पुछ्दै सावित्री बोलिरहिन्, “प्राय तपाईंको देवताहरू राजा थिए, त्यसैले सायद पुजिएका छन् । धर्म र राजनीतिको सम्मिश्रण हो देवत्वकरण । सावित्री होस् या सीता, दोषी हामी नै ठहरिन्छौँ । लक्ष्मनले सुर्खपनाको नाक काट्दा, रावणले किन लक्ष्मनको नाक काटेन ? किन ? छ जवाफ तपाईंसँग ? किन सीतालाई हरण गरी लंकाको अशोक बाटिकामा राखियो ? वाल्मीकि ऋषिले सीताको चित्रवन वनवास बेला कथा लेख्नु भयो, त्यसको नाम त सीतायण हुन पर्ने हैन ? रामायण कसरी हुन पुग्यो ?”

सास्वत मौन थियो र अनुत्तरित प्रश्नहरूले उसलाई थिचेको जस्तो अनुभव भयो ।

“तपाईंको श्री कृष्णको कथा मुनिवर वेदव्यासले हैन, वात्स्यायनले लेखेको भए म बडो चाखले श्रवण गर्दै इस्कोनले धर्म अतिवाद प्रचार गरे जस्तै  कृष्ण दर्शनको प्रचार गर्दै हिँड्थें !”, यति भन्दै आफ्नो मुहारको अपरिचित तेजमा जोडको हाँसो मिसाइन् । छेउका टेबलमा बसेका मानिसहरूको ध्यान पनि सावित्रीको लरबरिएको  बोली तर प्रस्ट विचार मै केन्द्रित थियो ।

“तपाईँ बस्दै गर्नुस्, मलाई फेरि रिँगटा लागिरहेको छ, नशा उत्रेको छैन जस्तो छ … सायद तपाईंको देउतालाई मन परेन मेरो बोली..”, यति भन्दै अनौठो हाँसो साथ वथरुमतिर गइन् ।

एकछिन् पछि सास्वतको दिदीको फोन-कल आयो, कुरा गरेर सास्वतले फोन टेबलमामा राख्यो । सावित्री फ्रेस भएर फर्की आफ्नो टेबलमा बसिरहेकी थिइन्। उनको नजर सास्वतको फोन वालपेपरमा पर्‍यो । आमासँगको फोटो हेर्ने बित्तिकै सोधिन्, “को हुन् ? आमा हुनुहुन्छ है !, आमाको अङ्गालो बाहेक त्यति खुसी कहीँ हुन सक्दैन मान्छे! म त ६ वर्षको हुँदा मेरो आमा बित्नु भयो, आमा ज्यूँदै भएको भए आज मेरो यो अवस्था हुने थिएन ।” यति भन्दै गर्दा भावविभोर भइन्,  सुक्सुकाउन थालिन् ।

सास्वतले अवस्था सहज पार्न कुरा मोड्न खोज्यो, “तपाईंलाई कुन देउता मन पर्छ त ?”

“श्री गणेश !”

“किन ?”

“पृथिवीको परिक्रमा प्रतियोगीयतामा आफ्नो बाआमाको वरिपरि घुमेर जित्नुभयो त्यसैले वाँहाको पूजा सब भन्दा पहिले हुन्छ नि !”

सास्वतले दिदीको लागि ल्याएको कोसेली सावित्रीलाई दियो र त्यससँगै पाँच सयको नोट  टेबलमा राखेर त्यहाँबाट जाने अनुमति माग्यो । सावित्रीले पैसा सास्वततिर सार्दै भनिन्, “मदत गर्दिनु भयो म आभारी छु ! आफ्नो दिदीको लागि ल्याएको  कोसेली दिनुभयो, भावविभोर भएकी छु तर मेरो स्वाभिमानले पैसा स्विकार्ने अनुमति दिँदैन । वैँसालु उमेर हुँदा म बाघ अंकित कागजी नोट गन्दिनथें ।  घृणा लाग्छ यो लक्ष्मीको स्वरूप देखेर । कसरी हात्ती अङ्कित कागजको बलले नाबालिक चेलीको योवन डाम्न सक्छ ? कयौँ सेट मारवाडी महात्माको चित्र अङ्कित कागज लिई  हाम्रो घरदैलोको लम्बाई नाप्न, गहिराई  छाम्न आउँथे । सुन-चाँदीले तौल नाप्न आउँथे तर जान्थे कहिले नफर्किने गरी । अतीत सम्झिँदा मन तितो हुन्छ र अचेल बिना कारण घृणा जाग्दछ कागजी पैसा देख्दा, केवल घृणा !”

उनको प्रफुल्लित मनोभाव मुहारमा प्रतिबिम्बित भइरहेको थियो । प्रेम र घृणा एउटै सिक्काको दुई पाटा हुन् क्यार । त्यसैले त हामी हाँसेको अतीत सम्झिँदा रुन र रोएका दिनहरू सम्झिँदा हाँस्न सक्दछौँ । सास्वतले सावित्रीको घृणामा सन्तोषको तृप्ति अनुभव गर्‍यो । सावित्री हर्षित हुँदै बिदा गरिन्, “तपाईं धदिङकै बाटो त फर्किनु हुन्छ होला नि ? बिन्ती छ, मलाई यो सहयोगको ऋण तिर्ने मौका दिनु होला !”

कसैको मनमा गाडेका कुरा सुनिदिनु पनि उसको लागि ओखती हुँदो रहेछ । सायद मानव विकाशक्रममा विषम परिस्थितिले नै सामीप्य र सद्भावको सिर्जना गरेको होला । भौतिक संक्रम झैँ मानसिक पिडा पनि संक्रमित हुँदो हो ।  अलिक अबेर घर पुगेपछि, राती सुत्ने बेलामा सास्वतलाई निदाउन गाह्रो भइरहेको थियो ।  आफ्नो डायरी पल्टाई उसलाई मनमा घुमिरहेको विचार लेखूँ जस्तो लाग्यो ।

० ० ० ०

“समयको निरन्तर चक्रसँगै युग फेरिदा नयाँ इतिहास थप्दो हो तर प्राय अलिखित घटनाहरू वायुवरमा बगिजान्छन् । सत्ययुगदेखि कलियुगसम्मको यात्रामा सिन्धु नदी किनार उत्पत्ति भएको मानिएको आर्य सभ्यतामा राज्य सञ्चालन देखि पारिवारिक परिवेशसम्म अनेकौँ परिवर्तनहरू इतिहासमा लेखिए । युगसँगै सावित्रीको जीवन के कति फेरिएको छ त ? सत्ययुगकी सावित्रीलाई देवत्वकरण गरी, महिलावर्ग व्रत बसिरहँदा कलियुगको सावित्रीसँग मैले आज तपाइलाई परिचित गराउन प्रयत्न गरे । पितृसत्ताको लाञ्छना लागेको हाम्रो आर्य समाजमा लैङ्गिक समानताको नारा धेरै नेताहरूले आफ्नो पेट भर्ने रोजगार बनाएको देखिन्छ । उचित सिप, शिक्षा र रोजगारको बेवास्ता राज्यले नगरेको कारण मानव बेचबिखनमा अझैँ कमी आएको छैन। तिन दशक पुरानो एउटा डकुमेन्ट्री (Selling of the Innocents) राजनीतिक द्वन्द्वले ग्रसित तत्कालीन नेपालमा मानव तस्करी बारे, माइती नेपाल संस्थाको प्रमुख अभियन्ता अनुराधा कोइरालाको काम बारे, बम्बईको कमाठीपुरा बारे त्यसमा चर्चा गरिएको रहेछ । भन्शालीद्वारा निर्मित ‘गङ्गुबाई कथियावाडी’ चलचित्रमा पनी कमाठीपुराको सामाजिक अवस्थाबारे बडो भावुक चित्रण गरिएको रहेछ । प्राय  सहरको रमझमबाट मोहित, जागिरको लोभमा फस्छन् त कोही चलचित्र पर्दामा देखिन ।

जीवनको अनेकौँ परावमा रोजगारीको अवसर नपाएर आफ्नो क्षम्तालाई अवमुल्यन गर्दै देह व्यापारमा लाग्नेहरुलाई चारित्रिक दोष लगाउनु अनुचित होला । अनुसन्धान अनुसार गरिबीको सिकार नियतीले पिडित, अशिक्षित जनजाती समुदायमा यो महामारी व्यापक फैलिएको देखिन्छ । हामी सामाजिक संजालको बिकाशसँगै नाजिकियौं तर अनलाइन दुर्घटना पनि भोगिरहेका छौँ । दिनहु प्रचारवादी मिडियाले काण्ड घोसना गरी मानसिक यातना दिइ निर्दोषहरुको ज्यान लिई रहेकै छ । लोग्नेको मृतुपश्चात चितामासँगै जिउँदै जल्नु पर्ने प्रथा अन्त्य भयो तर दिनहु आफ्नै परिवारमा कहिले दाइजोको नाउमा जल्ने आरती, बलत्कृत नाबालिक निर्मला होस् या होस्टलमै आत्महत्या घोसित शालीन, मैले सवित्रिमा यी पत्रहरुको बिम्ब देखेँ । अहिले पनी अश्मिताको नाउमा हजारौँ सावित्रीहरु जलाइएको खबर के सुनिएको छैन ? मैले केवल समाजिक परिवेश र नारी संघर्ष स्वरूपको चर्चा गर्न प्रयास गरेको छु । कथा युगसँगै फेरिए पनि पात्रको सम्वेदना फेरिएको रहेनछ ।”

यति कुरा डायरीमा पोखेपनि सास्वातलाई झन् भारी महसुस भयो । तर त्यो भारीपनलाई बाटामा भेटिएकी बालिकको सम्झनाले साम्य बनायो ।

० ० ० ०

घर फर्किने बेलामा नागढुङ्गाको ठिक त्यही मोडमा सास्वत एक छिन् आफ्नो बाइकलाई अड्याएर पर्वतीय शृंखला र निलो गगनको मिलन बिन्दु नियाल्न थाल्यो। बिहानीको समय, हरियो पालुवाहरू अटमको आगमनले आफुमा नुतन परिवर्तन सँगाल्दै थिए ! निरन्तर बगिरहेकी रहश्यमय त्रिशुली त्यस दिन बडो अनुशाशित भइ बगी रहेकी, निश्छल देखिन्थीन् । सडक छेउमै एउटा बालिका स-साना ढुङ्गा बटुल्दै आफ्नै संसारमा डुबेकी थिइ । सास्वतले केहि पृथक आकार र रङ्गको ढुङ्गाहरु बटुलेर बल्लिकालाई दिन खोज्यो । सुर्यको लालीले पोतेको मुहार, मृदुल ओठ र नाक खुम्चाई । ठुला आखाँमा अपरिचित भावले  परेलीका पर्दा  प्रश्नवाचक भावमा माथी तन्काई । सास्वतले बटुलेको ढुङ्गा दिदै सोध्यो,

“मैले बटुलेको ढुङ्गाहरू राम्रा छैनन् ? फाल्दिउँ नदीमा ?”

नानीले नाइँको भावले टाउँको हल्लाई, दुबै हात अगाडी सारिन् ! ढुङ्गाहरुसँगै ब्यागबाट निकालेर सास्वतले दुइवटा चकलेट पनी थमाई दियो । मन्द मुस्कानले प्रफुल्लित सौम्य मुहार, कोकिल बोलीमा नानीले थेन्कु भनी । सास्वतले तोतेबोलीको नक्क्ल गर्दै नानीको नाम सोध्यो। एक छिन् अक्मकिए पछी भनी, “गायत्रली !”

प्रफुल्लित सास्वत त्यहाँबाट बिदा भयो । साइड  मिररमा एक छिन् हेरी रह्यो, गायत्री नानीको क्रियाकलाप । समयको बेगसँगै पानीले डुङ्गा बालुवा बनाईदिन्छ । उसको मन किन नपग्लोस् ! सास्वतलाई आभास भयो, “बाल हृदयले हरेक बस्तुमा जादु देख्छ, परिवेशको मृदुलता आफुमा समाहित गर्छ, ऊ नाटकको कलाकार बनिसकेको हुँदैन, मुहारमा मुखौटा टाल्न जान्दैन । बालकलाई हेर्दा सब मोहित हुन्छन् तर बालकले मोहको परिभाषा जान्दैन ।  कर्कलोको पातसँग जिस्किने पानीको थोपा हो उसको मन ! बाल्यकालमा जिवन सरल हुँदा कति सौम्य हुँदो हो !”