‘द वर्डस्’ १९५९ मा प्रकाशित भएको थियो भने उनले नोबेल पुरस्कार पाउने सालमा नै बर्नार्ड फ्रेक्टम्यानले यस पुस्तकलाई अंग्रेजीमा अनुवाद गरेका थिए। अस्तित्ववादका आधुनिक दार्शनिक सार्त्रको मूल पुस्तकको रूपमा ‘विइङ एण्ड नथिङनेस’लाई लिने गरिन्छ। सार्त्रद्वारा सबैभन्दा पहिले लेखिएको वा चर्चामा आएको पुस्तक ‘नजिया’, ‘बिइङ एन्ड नथिङनेस’ हुँदै अझै खारिएर आएको यो ‘द वर्डस्’ सार्त्रको एक अद्वतीय पुस्तक रहेको छ। रूसोको आत्मकथा ‘कन्फेसन’सँग दाँज्न मिल्ने यो पुस्तक पढ्न अति नै रोचक छ। अस्तित्ववादी दार्शनिकको आफ्नै आत्मकथामा विशेष अस्तित्व त भेटिन्छ नै तर ‘नजिया’मा जस्तो निराशाभन्दा प्रेरणा प्रशस्त भेटिन्छ। दर्शनमा चाख लिने, पढ्न मन पराउने र लेख्न ध्यान दिने पाठकका लागि यो पुस्तक मन्त्रजस्तै छ भन्दा फरक नपर्ला।

जम्मा २५५ पेजको यस पुस्तकको १३५ पेजसम्म उनको पुर्खाको सामान्य जानकारी, बाल्यकाल, आमा, हजुरआमा, हजुरबा र बाल्यकालको दैनिकी तथा नैरश्यताको कुरामा व्यस्त हुन्छन् भने १३६ पेजबाट उनको अध्ययन तथा लेखन कलामा उनी कसरी अघि बढे, कुन अवस्थाले उनलाई लेख्नमा प्रेरणा थप्दै गयो भन्नेमा मनैदेखिका कुरा गहन तरिकाले लेखेका छन् ।

लेखक सार्त्रको यो पुस्तक हेर्दा रूसोको आत्मकथामा पाइने लेखन शैली भेटिन्छ तर रूसोको भन्दा यो अझै उच्चस्तरीय छ भन्दा पनि फरक नपर्ला। नोबेल पुरस्कार पाएलगत्तै अङ्ग्रजीमा अनुवाद भएको यस पुस्तकमा उनको पारिवारिक पृष्ठभूमि, उनले कल्पना गरेको दुनियाँको रमाइलो र नरमाइलोपना, उनले जानेर वा नजानेर गरेका बदमासी, उनको जिन्दगीको छटपटी, प्रकृति-मानवीय जिन्दगी बीचमा आफ्नो शारीरिक तथा मानसिक अवस्थामा देखेको कुरूपता, समय-समयमा उनमा आउने गरेको मृत्युमय अवस्था र लेख्दै गर्दा आफ्नो जिन्दगीमा आउने गरेको भ्रमलाई स्पष्ट रूपमा देखाएका छन् ।

भीडको संसार विचित्र छ। विचित्र संसारमा हामी बाँच्न र खुशी हुन बाध्य छौँ। खुशी हुनकै लागि हामी प्रत्येक दिन सूची बनाएर अगाडि बढेका हुन्छौँ। जहाँ जसरी हुन्छ अरूको अगाडि उनीहरू भन्दा फरक र उचाइका आधार देखाउन हामी हरपल तँछाड मछाडमा छौँ । उनले यस पुस्तकमार्फत त्यही तँछाड, मछाड र न्यास्रोपनालाई साहित्यिक र दार्शनिक अन्दाजमा प्रस्तुत गरेका छन्। नजिया र विइङ एण्ड नथिङनेसको दर्शन द वर्डसमा स्पष्ट देखिएको छ।

दुई वर्षकै उमेरमा उनका पिताको असामयिक निधनका कारण मावली हजुरबा-हजुरआमाको काखमा रमाउन पुगेका सार्त्रको घरपट्टिको खासै परिचय उल्लेख भएको छैन । मावलीतर्फ स्वेचर थर रहेका छन् भने घरपट्टिको सार्त्र थरबाट पृथ्वीमा आएका छन्। पानी जहाजको इन्जिनियरका रूपमा कार्यरत बपिस्ट सार्त्र र एनी मेरीको कोखबाट सन् १९०५ मा जन्मेका सार्त्र दुई वर्षको उमेरमै टुहुरो हुन पुगे। पेसाका हिसाबले प्रतिष्ठित इन्जिनियर पिताको अचानक मृत्युपश्चात उनकी आमा माइत शरण लिन पुगिन्। मावल तर्फका हजुरबा चार्ल्स र हजुरआमा लुजको प्रत्यक्ष निगरानीमा हुर्केका सार्त्रमा खान-लाउन कुनै पनि दुःख भएको उनको आत्मकथामा देखिँदैन। शिक्षित हजुरबा र शिक्षित हजुरआमाको निगरानीले सार्त्रलाई अध्ययनशील बनाउँदै लग्यो ।

जे जति माया-ममता, खान-लाउन पर्याप्त भए पनि आफ्नै पिताको अभाव र आफू १२ वर्ष हुँदा पोइल गएकी आमाको मायाको महसुसले सार्त्र भन्छन्, ‘मेरी आमा जस्ती भए पनि मेरालागि सबैभन्दा ठूली देवी हुन्। म उनको काखमा निदाउँदा मैले संसारका सबै सुख भेट्ने गर्दछु। संसारमा मेरी आमा जहाँ गए पनि संसारका कुनै पनि कानुनले मेरी आमाको मायाबाट मलाई वञ्चित गराउन सक्दैन। मेरी आमाले कहिले पनि कसैलाई नराम्रो भन्ने गर्ने त कुरै छाडौँ उनी सोच्न पनि सक्दिनन् (द वर्डस्, पेज नं. २६)।

मान्छे जहिल्यै राम्रो हुनका लागि जन्मेको हुन्छ। मान्छे आफ्नो भविष्य सुरक्षित हुने हैसियतले काम गरेको हुन्छ। यो धर्तीका सबै जिन्दगीको रहस्य हुन्छ र त्यही रहस्यले मान्छेलाई बाँच्ने प्रेरणा दिएको हुन्छ। त्यसकै लागि मान्छे कल्पना गर्छ र विचार गर्छ। जन्मेपछि बच्चा सबैभन्दा राम्रो आमाको हुन्छ किनकि त्यहाँ आमाको सबैभन्दा ठूलो पीडा हुन्छ। सार्त्र भन्छन् जन्म दिँदा आमाले मृत्युलाई मारेर मलाई अँगालो हालेकी थिइन्। म बाबु बिनाको टुहुरो भए पनि आमाको प्यारो थिएँ। मलाई कहिले पनि राम्रोभन्दा नराम्रो देखाउने कोसिस गरिएन।श्यामश्वेतमा खिचिएका मेरा फोटोहरूमा मेरी आमाले गरेको सजावटबाट मैले थाहा पाउँथेँ कि म मेरी आमाका लागि कति प्यारो थिएँ भनेर। भर्खर जन्मेको एक बालकले जसरी स्वस्थ सुत्केरी आमाको दुध चुस्दा आमाले सन्तुष्टि पाउँछिन् त्यति नै मैले मेरी आमाले मेरो नाक चुसिदिँदा आनन्द लिने गर्दथेँ (द वर्डस्, पेज नं. २८)।

अध्ययनशील जिन्दगी संसारमा सबैभन्दा सुन्दर हुन्छ।अध्ययनले संसार परिक्रमा गराउँछ। सार्त्र भन्छन्,मेरा हजुर बा अध्ययनशील थिए।मलाई पढ्न सिकाए, पढ्नमै रमाउन सिकाए, पढाइबाट नै सबै सम्भव छ भन्ने कुरा सिकाए। म कहिले पनि नराम्रो शब्द प्रयोग गर्ने व्यक्तिको संसारमा पुग्न सकिन। जो मेरो संगतमा आयो,त्यो पनि मेरै अनुसरण गर्ने बनाउन सफल भएँ।मेरा हजुरबाको संगत दार्शनिक हेनरी वगसाँ (सन् १९२७ को साहित्यतर्फ नोबेल पुरस्कार विजेता) सँग पनि थियो।वहाँका पुस्तक तथा वहाँका मृदुभाषाबाट म सानैमा प्रभावित हुन पुगेँ (द वर्डस्, पेज नं. ३०)।

बाबुको मार्ग निर्दशन र आमाको माया भनेको बच्चाका लागि सबैभन्दा महत्त्वपूर्ण भविष्यको पूर्वाधार हो।नियमित चलेका सबै घरपरिवारको अभ्यास पनि यस्तै चलेको र रहेको हुन्छ।पिता बिनाका टुहुरा सार्त्र पिता सम्झेर आफ्नै पिताको माया कस्तो हुन्छ भन्ने कुराको उत्सुकता र निराशामा भएको कुरा व्यक्त गरेका छन्।नभएको कुरा पाउने आशा राख्नु मानवीय जिन्दगीमा प्रकृतिको नियम नै हो र मान्छेको बाँच्ने आधार पनि यही नै हो (द वर्डस्, पेज नं. ३२)।

सार्त्र भन्छन्,मैले मेरो वाल्यपनलाई सधैँ आदर गर्छु।मेरो वाल्यकालमा मैले बाहिरी दुनियाँ देखेर मैले मैले ममाथि नै धेरै प्रश्न गर्न थालेको थिएँ कि यथार्थ समाज के हो ? बाहिरको सम्पन्नता-असम्पन्नता, हुने-नहुने, पढेका-नपढेका, राम्रा-नराम्रा यी सबैको अध्ययन मेरो आफ्नो विषय भैसकेको थियो।मैले देखेका आम मान्छेलाई मेरो नजरबाट देख्ने र सोच्ने गर्दथें।मेरो एकोहोरोपनलाई मेरा हजुरबाले विशेष नियालिरहेको मैले महसुस गरिनै रहेको थिएँ।मेरो एकोहोरो मन शान्त पार्न मेरा हजुर बा शेक्सपियरका कविता, आध्यात्मिक दर्शन र प्रेरणादायी वचनले भरिदिँदा म आफूलाई अध्ययनशील बनाउन अझै सफल हुँदै गएँ (द वर्डस्, पेज नं. ३४)।

मान्छे जन्मेपछि वरिपरिको वातावरण के छ,त्यसमा नै भर पर्ने गर्दछ।बच्चा जन्माएपछि बचाउने काम पहिलो आमाको हुने गर्दछ भने परिवेश कस्तो बनाउने भन्ने सम्बन्धमा परिवारको भूमिका मुख्य हुने गर्दछ।कृषक परिवारमा छोरालाई कृषक बन्न कसैले सिकाउन पर्दैन तर कृषक पिताबाट छोरो शिक्षक बन्नका लागि धेरै मिहिनेत गर्नु पर्दछ। मेरो हजुर बा अध्ययनशील हुनुहुन्थ्यो।मेरो घरको वातावरणमा किताब नै मैले साथीका रूपमा पाएँ।हजुरबा हजुरआमाका कोठाहरू प्रसस्त पुस्तकले भरिएका थिए।त्यो दृश्यले मलाई सधैँ नै पढ्नु पर्ने रहेछ भन्ने आभास गराउँदथ्यो (द वर्डस्, पेज नं. ४१)।

नाबालकको सामाजिकीकरण प्रक्रियामा परिवारका आफूभन्दा ठूला मान्छेको अनुशरण गर्नु हाम्रो सामाजिक दायित्व हुन्।चल्दै आएको संस्कारमा रमाउन भनेको सामाजिकीकरणको सुन्दर सकारात्मक पक्ष हो।त्यस्तै मेरो परिवारमा मेरो पढ्ने लगनशिलता देखेर मेरा हजुरबा, हजुरआमा तथा छिमेकी पनि मख्ख पर्थे । मैले मेरो पुस्तक कसरी राख्नु पर्छ भन्ने कुरा वहाँहरूसँग सिकिसकेको थिएँ।मैले मेरा हजुरबा र हजुरआमाका पुस्तक पनि सम्हालेर राखिदिने गर्दा ममा पुस्तक प्रतिको मोह र लेखन प्रतिको मोहले वहाँहरू मसँग प्रभावित भै सक्नु भएको थियो (द वर्डस्, पेज नं. ४७)।

हजुरबा हजुरआमासँगको दैनिकीले बच्चाले पनि सानैमा बुढ्यौली बुद्धि पाउँछ भन्छन् । धेरै सोचाइमा मेरो यो पनि रह्यो कि मेरी आमाले भाइबहिनी पनि जन्माउनु भएको भए म कति खुशी हुने थिएँ होला। मैले कुनै पनि सहयोगका लागि कसैको सहयोग लिनु पर्दैनथ्यो। कुनै पुस्तक पढ्नका लागि भाइबहिनीसँग मिलेर पढ्थेँ होला भन्ने लाग्दथ्यो। नभएका भाइबहिनीको सम्झनामा पनि मैले अक्षर चिन्ने भए पछि Horace का कविता र Gutsav Flubert को The madam Bovary किताब धेरै पटक पढेको थिएँ। प्लेटोको बारेका हजुरबाले भनेका कुराले म त्यतिबेला नै इतिहासबारे जानकारी पाउन थालेको थिएँ।वहाँ मलाई काखमा राखेर इन्जिनियर, डाक्टर, अभिनेता, साहित्यकार बन्ने अनेक बाटाका बारेमा सुनाइरहनु हुन्थ्यो।म वहाँका कुरामा मक्ख पर्दै सुनिरहन्थेँ (द वर्डस्, पेज नं. ५६)।

मेरा हजुरबाले मभित्र महान् दार्शनिकपना देख्नु भएको थियो, महान कवि देख्नु भएको थियो, महामानव देख्नु भएको थियो।मलाई भिक्टर ह्युगो देख्नु भएको थियो हजुर बाले।ममा जस्तो जे देखे पनि मैले ममा एक राम्रो पढ्ने, निरन्तर अध्ययनशील बनाउने प्रण लिई नै सकेको थिएँ।मलाई त्यस वातावरणले एक अध्ययनशील बनाउन मद्दत गरिसकेको थियो। मेरो धर्म पढ्ने हो भन्ने मैले देखेको थिएँ। मैले पुस्तकमा भगवान् देखेको थिएँ। एक पुस्तकालयलाई मन्दिर देख्न शुरू गरेको थिएँ। मलाई पढाउने शिक्षकहरूलाई मैले पुजारीको रूपमा देख्न शुरू गरेको थिएँ। हजुरबाको चाहनाअनुसार प्राचीन ग्रीक कवि Hesoid तथा Victor Hugo को नाममा फूलपाति चढाउँदै उनीहरूको नाम कण्ठस्थ गराउँदै मेरा यात्रा अगाडि बढ्न शुरू गरेका थिए।विस्तारै Anatole France, Homer, Luthern हुँदै धेरै साहित्यकारहरूको प्रवेश ममा प्रवेश हुन थाल्यो। मेरा साथीहरू वहाँहरू नै हुन थाल्नु भयो। जीवन जगत् के हो भन्ने कुरा शिक्षकभन्दा पनि पुस्तकमार्फत मैले चिन्न थालेँ(द वर्डस्, पेज नं. ६१)।

यात्राका लागि बाहिर निस्कनै पर्छ, नहिँडी हिँड्न सकिँदैन, आमाको मात्र बोलीले हामीलाई पुग्दैन, कष्ट सानो लिएर हुँदैन।पढ्न पनि फ्रान्स मात्र पढेर पुग्दैन।म विस्तारै पढाइमा फ्रान्सको घेराबाट बाहिरको दुनियाँमा निस्कदै थिएँ।मेरो पढ्ने यात्रा इटालीदेखि जर्मनका दार्शनिक तथा साहित्यकारमा पुग्न शुरू गरेको थियो।Andre Zidd का रचनाहरूले मलाई विशेष प्रभावित बनाएको थियो।विस्तारै म जर्मनी कवि गोथेका रचनाहरूमा रमाउन शुरू गरेँ।इटाली ग्रीसका Homer जस्ता कविहरूको लेखमा मुग्ध हुन थालेको थिएँ (द वर्डस्, पेज नं. ६६)।

विद्यालयमा पढ्दा सबैको राम्रो हुन नसक्नु मेरो पनि कमजोरी नै रह्यो, तर मेरो चरित्र भनेको सत्यको नाम हो भन्ने कुरा मैले कहिले पनि भुलिन।जब म कसैबाट आलोचित हुनेबित्तिकै मैले उनीहरूको आँखाबाट मलाई हेर्ने गर्दथेँ। म मेरो पढाइको गति म आफैँ लिन थालेको थिएँ। मेरो गुणको परिभाषा दिन सक्ने म आफैँ भैसकेको थिएँ। म जे जति बन्दै थिएँ, मेरो हजुरबाका कारणले बन्दै थिएँ भने बुझ्दै गएपछि म मेरै कारणले बन्दै गएको थिएँ।मेरा हजुर बा र मेरा शिक्षकहरू त मेरा माध्यम मात्र थिए (द वर्डस्, पेज नं. ८५) ।

कुनै पनि अभिभावकले उसका छोराछोरीलाई राम्रा नै भएको देख्न चाहन्छन्।कसैले पनि प्रशंसा नै गरेको सुन्न चाहन्छन्।मेरो पिता अहिलेसम्म जिउँदा हुन्थे भने मेरो भविष्यको संकेत देखेर त्यसलाई दबाएर नै राख्थे होला।मेरी प्यारी आमाले त मलाई कहिले पनि सामुद्रिक इन्जिनियर वा नेभीमा नजाने नै सल्लाह दिनुभएको छ,जहाँ प्यारी मम्मीलाई छोडेर मेरो पिताको मृत्यु भएको थियो।म मेरो मरेको पिता र मेरी विधवा आमाको जुन संकल्प हुने थियो त्यसभन्दा अझै ठूलो संकल्प लिएको थिएँ कि पढेर र अध्ययन गरेर मान्छे अघि बढ्ने भए त्यसका लागि सबै कुरा त्यागेर त्यो बाटो मैले अँगाल्दै थिएँ। म अरूको लागि देख्नमा नराम्रो थिएँ होला तर पढ्नका लागि संसारकै राम्रो बन्ने छु भन्ने म मा दृढ संकल्प पलाएको थियो (द वर्डस्, पेज नं. ८७-८८)।

म मेरो पिताजी भन्दा मेरो हजुर बाको नाताबाट परिचित थिएँ।मेरो सम्र्ण जिम्मेवारी हर बा र हजुरआमाको थियो।अध्ययनशील हुँदै जाँदा र जीवन जगतको कुरा बुझ्दै जाँदा मभित्र म को हूँ भन्ने कुरा मनमा आउन थाल्यो।म मेरो शारीरिक रचनाको बारेमा पनि मैले सोच्न थालेँ।मेरो उचाइ पनि मात्र ५ फिट मात्र छ।शारीरिकरूपमा म केही कमजोर पनि छु।म थाहा पाउदै गएँ।म जन्मँदा मेरो अवस्था केही नाजुक नै थियो।मेरो हजुरबाको आशीर्वादमा म हुर्कँदै गएँ। हजुर बा धनी थिए। जग्गा जमिन प्रशस्त थियो। सबै बुझ्दा मेरो हजुरबा एक सामन्ती थिए भन्ने कुरा म बुझ्दै गएँ। म यथार्थ मानवीय जिन्दगीको अध्ययनमा थिएँ भने मेरो हजुरबाको पृष्ठभूमि फरक थियो। मेरा हजुरबाका नामबाट म जे पनि हुन सक्थेँ तर म मरो स्तरको मापदण्ड मैले नै बनाउनु थियो।त्यसका लागि म दिन रात कोसिस गरेर अगाडि बढ्नु नै थियो।मेरो सोचाइले मलाई सोच्ने बनाएको थियो।म अरूको नजरमा मानसिक रोगी जस्तो देखिन थालेको थिएँ।मेरो यो स्थितिलाई देखेर धेरै साथीहरूले मेरी मम्मीलाई पनि भने र मम्मीबाट पनि मेरो यो सोचनीय अवस्थाको बारेमा नसोधेको होइन तर म यो अवस्था र बारेमा मम्मीलाई बताउन सक्ने अवस्थामा थिइनँ किनकि मैले मेरो संघर्ष मेरो तरिकाले अगाडि बढाउनु थियो। म मेरी आमालाई हौसला दिन्थेँ र आश्वस्त तुल्याउँथेँ (द वर्डस्, पेज नं. ९२-९४)।

म पाँच वर्षको उमेरमा सबैभन्दा पहिले मृत्यु (मरेको मान्छे) देखेको थिएँ।भर्खरकी महिला र एक मेरै उमेरको बालकको मृत्यु देख्दा मेरी आमाले जसरी आँसु बगाउनु भएको थियो,त्यसले मलाई कठोर बनाइसकेको थियो। मेरै उमेरको बालकमा मेरी आमाको आँसु, मृत्यु पश्चातको अन्त्येष्टि प्रक्रियाहरूले मलाई धेरै सोच्ने बनाएको थियो।मैले सोच्न थालेको थिएँ कि हाम्रो अस्तित्व के हो। हाम्रो खुशी के हो,हाम्रो मान-सम्मान के हो र हामी के हौँ। धनी र गरीबको अर्थ उनीहरूको पहिचानको फरक ? तर म अध्ययनमा थिएँ । विस्तारै Voltaire पढ्न थालेको थिएँ। मान्छेका जिन्दगीका बारेमा अध्ययन नै सबैभन्दा ठूलो हो भन्ने कुरामा म झन् विश्वस्त हुँदै गइरहेको थिएँ (द वर्डस्, पेज नं. ९७-९८)।

म संस्कारमा अरू सबै मजस्ता बालकहरूलाई क्रिश्चियन बनाइएजस्तै म पनि क्रिश्चियन बनाइँदै थिएँ। म क्याथोलिक क्रिश्चियन भएँ। पुर्खा अनुसारको धर्म अनुशरण गर्नु मेरो धर्म थियो तर यो धर्मले के गर्छ मलाई थाहा थिएन। मलाई क्रिश्चियनको कसम खुवाउँदै गर्दा मैले मेरो हजुरबाको अनुहारमा धेरै नियालेर हेरेको थिएँ। वहाँमा क्रिश्चियनको जवाफ दिन सक्ने अवस्थामा हुनुहुन्छ वा हुँदैन तर मैले सोध्नु परेन। म मेरो शरीरमा विश्वास गरेँ। मेरो स्वास्थ्यमा विश्वास गरेँ, मेरो मिहिनेतमा विश्वास गरेँ। मेरालागि मेरा सहयोगी नै सबै थिए। क्रिश्चियनका नाममा मेरो संलग्नता भनेको मात्र वहाँहरूको लागि विश्वास गर्छ भन्ने आधार मात्र रह्यो तर यथार्थ ममा नै थियो (द वर्डस्, पेज नं. १०१)।

संसारमा सफल हुनु छ भने सबैभन्दा पहिले आफ्नी आमा र आफ्नी श्रीमतीलाई इज्जत दिन सक्नु पर्छ।उनीहरूलाइ सकारात्मक नायिका बनाउन सक्नु पर्छ।Madame Bavory को उपन्यासमा मेरी मम्मीको भूमिका बनाएँ र अगाडि बढाउँदा जति महिलाबाट ताली आयो,शायद यसभन्दा पहिले कहिले पनि आएको थिएन (द वर्डस्, पेज नं. १०८)।

मेरा फरक किसिमका दिनहरूमा मैले सोच्ने गर्दथेँ कि म मात्र फ्रान्सको होइन मलाई मानवीय जीवन र ब्रम्हाण्डका लागि जन्माइएको हो।म मेरो आफ्नो मात्र होइन कि लेख्ने र पढ्ने अवस्थालाई आम मानवीय जीवनलाई सन्देश दिने हैसियतले अगाडि बढ्ने छु।म पिताजी विनाको टुहुरो पक्कै हो तर केही पहिले टुहुरो भएको हो।टुहुरो हुनु त सबैलाई छँदै छ नि।सृष्टिले मलाई जे जति दिएको छ ती सबै अमूल्य छन्।जो कतिपयले नपाएर पनि मैले भन्दा धेरै गरेका छन् भन्ने कुरा मनमा लिएको थिएँ (द वर्डस्, पेज नं. ११३)।

मेरो यात्रा मर्नका लागि हो,त्यो मलाई थाहा थियो तर मर्नुभन्दा अगाडिको काम के हो त अब मलाई सूची बनाउनु थियो र बनाउन थालें।जति मेरो संकल्प अगाडि बढ्दै जान्थ्यो त्यति नै मेरा शत्रुहरू पनि बढ्दै जान्थे।जब मैले नाटकको अभिनय गराउँथेँ, विधवा तथा भर्खर श्रीमान् मेरेका श्रीमतीको दृश्य देखाउँदा मेरी आमा नै हुन् भनेर भक्कानिने गर्दथेँ (द वर्डस्, पेज नं. १२३)।

एक पटक मैले केरा व्यापारीका बारेमा लेखेको थिएँ । यो पुस्तक मेरी आमाले पटक पटक पढेकी थिइन् । पुस्तक खासै चर्चामा आउन सकेन तर मेरी आमाका लागि त्यो बाइबलजस्तै भएको थियो किनकि त्यो उनको छोराको रचना थियो,मेरो पहिलो पुस्तक बनाना सेलरको प्रकाशनमा मेरी आमा, मेरी हजुर आमा र हजुरबा जति खुसी हुनु भएको थियो तर त्यो खुसी धेरै टिक्न सकेन किनकि पब्लिकमा पुगेपछि त्यसका समीक्षाहरू आए । पुस्तकबारे प्रशंसाभन्दा टिप्पणीको बाढीले मेरा आफ्ना मान्छेहरूलाई दुःखी बनाएको थियो। मलाई सानै उमेर भए पनि मलाई कुनै फरक परेको थिएन र रचना मेरा लागि निरन्तर लाग्ने प्रेरणा मेरो भित्री अस्तित्वले दिएको थियो।म निरन्तर लागि नै रहेँ। स्कुले गृहकार्यमा विशेष व्यस्त रहने म शुक्रबार र शनिबार मेरा रचना गर्ने बानी परेको थियो। स्कुल गृहकार्य भए पनि मैले केही न केही लेखि नै रहन्थे किनकि लेखाइले मलाई मानवीय अस्तित्वको के हो भन्ने कुरामा तल्लीन महसुस गर्दै थिएँ।मैले लेख्दा मेरो शरीर र मेरो आत्मा अलग सम्झन्थेँ।जसले गर्दा मलाई लेख्न सजिलो हुने गर्दथ्यो।त्यसअनुरूप नै मैले नाटकहरू रचना गर्न शुरू गरेँ (द वर्डस्, पेज नं. १४६)।

बाटोमा हिँड्दै गर्दा देखिने सडकका दुःखको यथार्थको महसुसलाइ लिएर लेख्न शुरू गर्दा मलाई आनन्दको महसुस हुने गर्दथ्यो।पाटी, पौवा र सडकका यथार्थ जिन्दगीहरूले मेरा शब्दहरू भर्न पाउँदा म उनीहरू जस्तै हुने गर्थे।म एकान्त रूचाउने र एकोहोरिने बानी बस्दै गयो तर मानसिक रूपमा रोगी होइन कि उत्सुकताको एकोहोरोपनले मलाई रचनाकार बनाउन सफल बनाउँदै लगेको थियो । कहिलेकाहीँ त सडक, पाटी र पौवाका दुःखहरू मलाई विक्षिप्तजस्तै बनाउने गर्दथ्यो तर मैले म आफैँलाई सम्हाल्ने गर्दथेँ । साम्हालिनुमा मैले म आफैँ गर्व गर्थें। विक्षिप्त अवस्थाका क्षणहरू दार्शनिक पुस्तकहरू मलाई घेर्ने गर्दथे।मेरा लेखहरूबाट कहीँकतै म अपराधी हुनुपर्छ कि भनेर मेरी आमा, हजुरआमा र हजुरबा त्रसित भैरहने गर्ने हुन्थ्यो।मैले वहाँहरूलाईआश्वस्त बनाउने क्षमता वृद्धि गरिसकेको थिएँ।विस्तारै वहाँहरूले ममाथि विश्वास गर्ने थाल्नु भएको थियो (द वर्डस्, पेज नं. १४८) ।

मेरो लेख्ने शैली, बक्दै हिँड्ने मेरा शब्दहरू र अवस्थाले एक्लै हिँड्दा बोल्ने र केही चिच्याएर नै बोल्ने बानीले मेरा वरिपरिका मान्छेहरू मलाई पागल हो कि भनेर सन्देहको दृष्टिकोणबाट हेर्ने गर्दथे।मेरो लेख्ने विषयबस्तुहरूमा बच्चा, युवा, बुढाबुढी, जँड्याहा, वेश्या, चोरजस्ता सबै चरित्रहरू आउने भएकाले म सधैँ उनीहरूको भूमिकामा म आफैँको अभिनयजस्तो हुने भएकाले म फरक किसिमको देखिने रहेछु भन्ने कुरा मैले अरूको हेराइबाट थाहा पाउने गर्दथेँ (द वर्डस्, पेज नं.१५३)।

आम फ्रेन्चहरूको समाजमा सम्पन्न परिवारका रूपमा परिचित मेरो परिवारले मलाई लेखेको देख्दा र लेखाइमा कष्ट पाएको महसुस गर्दा मेरो परिवारमा जति असन्तुष्टि थियो,त्यति नै मेरो मानवीय लेखप्रति गर्व भएको महसुस गरेको मैले पाइरहेको थिएँ।साहित्य र दर्शनका लागि जर्मन भाषा पनि त्यति नै धनी भएकाले मैले जर्मन भाषा पनि अध्ययन गर्न शुरू गरेको थिएँ।मेरा हजुरबाका अति मिल्ने साथीहरू मध्ये कति साहित्यकार पनि भएकाले मलाई साहित्य तथा दर्शन लेखमा प्रोत्साहन पाउँदै गएको थिएँ।मेरो लेखन अभ्यासलाइ हेरेर मेरा हजुर बा मलाइ नयाँ Victor Hugo भनेर भन्न थाल्नु भएको थियो भने शेक्सपियर बन्न शुरू गरेको कोपिला भनेर भन्न शुरू गर्नु भएको थियो।तर मैले ती प्रशंसाबाट मलाइ टाढा राखेको थिएँ किनकी ती प्रशंसाले मलाइ प्रेरित त गरेको थियो तर आफूलाई नियन्त्रण नगरे मेरो सृजनामा धक्का लाग्न सक्थ्यो (द वर्डस्, पेज नं.१५७)।

मेरो लेखन कलालाई तिखारेर लैजानका लागि मैले विषयबस्तु के लिने भन्ने सम्वन्धमा मैले मलाई विभिन्न चरित्रमा ढाल्दै थिएँ। म कहिले हिरो भएको कथा लेख्थे भने कहिले चोर भएको कथा लेख्थें।लेख्दालेख्दै ममा धेरै पटक आत्महत्याको चाहना आएको थियो तर मैले सोही आत्महत्याको चाहानालाई विषय बनाएर लेख उतार्न थालेँ। मेरो अस्तित्व, मेरो जिन्दगीको उद्देश्य र रहस्य लेख्दा लेख्दै म लेखन नै मेरो प्यासको सन्तुष्टि हुन थालेको थियो (द वर्डस्, पेज नं.१५९)।

मान्छे जिउनका लागि सम्पत्ति चाहिन्छ भन्ने कुरा कति मुर्ख कुरा रहेछ भन्ने कुरा मैले मेरो कलम र कापीलाई सोधेको थिएँ। हुन त मेरा हजुरबा फ्रान्सका धनी व्यक्ति मध्येको एक हुनुहुन्थ्यो।जिन्दगी जिउनका लागि पैसा चाहिन्छ भन्ने कुरालाई आधारहीन बनाउनै पर्छ भन्ने मेरो लेखको विषय पनि बनाएको थिएँ।मेरो सम्पत्ति भनेको कलम, कापी र मेरो लेखन इच्छाशक्ति भए म पाटीमा पनि रमाउँछु भन्नेमा म विश्वस्त थिएँ।मेरा लेखन अभ्यास र सोचनीय अवस्थालाई मध्यनजर मेरा हजुरबा मलाई स्वर्गको उपहार भन्न थाल्नु भएको थियो। उहाँका दैनिकी प्रशंसाले मलाई झन् लेख्न प्रेरित गर्दै लगेको थियो (द वर्डस्, पेज नं.१६३)।

पढ्दै र लेख्दै जाँदा म अन्तर्राष्ट्रिय पुस्तकहरूको पहुँचमा पुगेको थिएँ।म बिस्तारै अमेरिकन लेखक डिकेन्सको नियात्राहरूबाट पनि परिचित हुँदै गएको थिएँ।डिकेन्सका पुस्तकले फ्रेन्च बजारमा लोकप्रियता लिइरहेको देख्दा मेरा पुस्तकले पनि यस्तै बजार लिन सक्ने अवस्थामा पुग्नु नै पर्छ भन्ने दृढसंकल्प लिएको थिएँ।मेरो वास्तविक लेख अझै बजारमा आएको छैन।मेरो वास्तविक लेख बजारमा आउँदा एक हलचलका साथ ल्याउनै पर्छ भनेर म दिनरात एक गरेर मिहिनेत गर्दै थिएँ।डिकेन्सका लेख र पुस्तकमा फ्रेन्चहरू झुमेको देख्दा म त्यो ठाउँमा चाँडै नै उभ्याउने छु भन्नेमा विश्वस्त भएको थिएँ (द वर्डस्, पेज नं.१६९)।

म सोच्ने गर्दथेँ-मेरो पढाइ र लेखाइ नै मेरो मुख्य स्वतन्त्रता हो।मैले मेरो स्वतन्त्रताको परिचय नै मेरो सोअनुसार दिने गर्दथे।यथार्थ जिन्दगी नलेख्दासम्म मैले विश्राम लिने छैन।यथार्थ जिन्दगी भनेको नै मेरो लेखाइ हो।ममा निस्केको महसुस नै आम मानवीय महसुस हो।मेरो यथार्थ महसुस लेख्नु नै मानवीय महसुस लेखन हो।यसको लागि सम्पूर्ण जिन्दगी नै लेखनमा लगाउनु पर्छ भन्नेमा म थिएँ (द वर्डस्, पेज नं.१७३)।

सुकरात, व्यासिल पास्कल, सोफेनहावर, शेक्पियर, भोल्टेयर, रूसो, फ्रेडरिक निच जस्ता विश्व प्रसिद्ध लेखहरूको लेख पढ्दा सबै लेखिइसकेको महसुस गर्ने गर्थें तर बिस्तारै थाहा हुँदै गयो कि वहाँहरूले त भर्खर शुरू गर्नु भएको रहेछ।मात्र वहाँहरूको लेख त एक सूत्र मात्र रहेछ भन्ने कुरा मैले लेख्न थाले पछि थाहा भयो।लेखन शैली अपनाएपछि लेखन वस्तुहरू त ब्रम्हाण्ड जत्तिकै असिमित हुने रहेछ भन्ने कुरा थाहा भयो (द वर्डस्, पेज नं.१७५) ।

प्रत्येक विहान मेरी हजुरआमा अंग्रेजी पत्रिका मर्निङपोष्टमा हुने गर्नु हुन्थ्यो भने म सडक र गल्लीहरूमा भएका सामाजिक रूपमा वेथिती मानिने घटनालाइ केन्द्रविन्दु वनाएर लेख लेख्ने गर्दथें।सडक र गल्लीका गुण्डागर्दी तथा असमान समाजका धनी भनिने ढोंगीहरूको बारेमा लेख लेख्दा मेरा शत्रुहरू बढ्दै गएका थिए।म वास्तविकतामा निर्भीक थिएँ । फ्लुबर्टजस्ता लेखकहरूको लेख अध्ययन गर्दै मानवीय र अस्तित्वमा लेख लेख्दा म आनन्दमा लुटपुटिने गर्दथेँ (द वर्डस्, पेज नं.१७७) ।

एक लेखक समाजमा हुनु भनेको सामाजिक सुधारकको एउटा पाटो नै हुने रहेछ भन्ने कुरा मेरा लेखहरूले प्रस्तुत गर्दै गइरहेको थियो।मेरो लेखले मेरो समाज नै उज्यालो बन्दै गइरहेको थियो। सामाजिक भ्रस्टाचार, कुसंस्कार, अनियमितताजस्ता विषयहरूमा बहस चल्दा लेखहरूको बस्तीको विशेष चर्चा हुने गर्दथ्यो।कुसंस्कारबाट जन्मिएका महिला हिंसा तथा सामाजिक कुरीतिको भण्डाफोर गर्दै मेरा लेखहरू निस्कँदा मेरो समाजलाई हेर्ने दृष्टिकोण नै फरक थियो (द वर्डस्, पेज नं.१७९) ।

शुरूका लेख लेख्ने बानी विकासमा परिपक्वता नहुँदा मेरा कयौं लेखहरूले गन्तव्य नै पाएनन्। लेख लेखिसकेपछि त्यसले गन्तव्य नै नपाएपछि वाहिहात लेखहरू भनेर मैले कहिले पनि हिम्मत हारिनँ, किनकि लेख्ने अभ्यासको विकास नै भोलिको लेखकको सुनौलो ढोका हो भन्नेमा म दृढ थिएँ।लेख्ने बानी भएका साथीहरूको संगत नभएकाले म एक्लो थिएँ।खास कुरा गर्ने हो भने मेरा मात्र दुई साथी थिए लेख्ने र पढ्ने। सशक्त लेख लेख्दै गर्दा मैले निदाउन नै बिर्सने गर्दथें। म असफल छैन, मेरो जिन्दगी महान् छ, यथार्थ जिन्दगीको कहानी लेखमार्फत ल्याउन सक्नु मेरो जिन्दगीको पहिलो र अन्तिम लक्ष्य हो भन्नेमा म दृढ थिएँ (द वर्डस्, पेज नं.१७९) ।

मेरा शब्दहरूको सत्यतामा चर्चका पादरीहरूको आँखा पर्न थालेको थियो।मेरा समाजिक यथार्थका लेखले कयौँ पत्रिकाका ढोंगी लेखहरू बन्द हुन थालेका थिए।मेरो चियोचर्चो गर्नेहरू प्रशस्त हुन थालेका थिए।मेरो लेख मान्छेहरूबीच हारालुछ हुन थालेका थिए।पढेलेखेका भनाउदाहरू मेरो लेखको प्रसिद्धिलाई ईर्ष्या गर्न थालेका थिए।यथार्थ लेखमाथि प्रतिबन्ध लगाउनेहरू मलाई ड्वाक्न शुरू गरेका थिए भने मैले विस्तारै भौतिक रूपमा मलाई लुकाउन शुरू गरेको थिएँ।नचाहँदा नचाहँदै म एक राजनीतिमा प्रवेश गरेजस्तो भूमिका देखिएको थियो।ढोंगी समाजको उच्छृङ्खल लेखकका रूपमा देखिँदै म एक प्रखर लेखकका रूपमा स्थापित हुँदै थिएँ (द वर्डस्, पेज नं.१८३-१८८)

एक कोठामा बसेर लेख्ने र पत्रिकामा ठूला-ठूला अक्षरमा पत्रिका प्रकाशित हुँदा म गल्ली गल्लीमा प्रचारित भैरहेको थिएँ।मेरो प्रसिद्धि कहीँ कतैबाट काल भएर आउने हो कि भने मेरो परिवार त्रसित थियो।अरू पैसाका लागि लेख्ने गर्दथे।पैसाका लागि लेख्नेहरू सामन्तीका बारेमा र कसैको गुणगानका लागि लेख्दथे तर मेरो ठीक विपरीत थियो।मेरो नाङ्गो आँखाले जे देख्दथ्यो,त्यही लेख्ने गर्दथे।म विस्तारै अस्तित्वको नजिक थिएँ (द वर्डस्, पेज नं.१९०-१९३)।

मेरो लेख एक पटक पढेपछि सो मान्छे फेरि पनि मेरो लेख हेर्नै पर्ने मैले बनाएको थिएँ। किनकी मेरो लेखमा सत्यता थियो। सत्य लेख्न डराउनेका अगाडि मेरो लेखहरू बाइबलजस्तो भएर आएको थियो। म एक अस्तित्ववादी लेखकका हैसियतले जति मृत्यु रूचाउने गर्दथेँ,त्यति नै मैले मृत्युलाई घृणा पनि गर्दथेँ।किनकि मैले मेरो लेख लेखेर नसकिदासम्म मैले यस पृथ्वीबाट बिदा हुनु हुँदैन भन्ने ममा दृढ संकल्प थियो।देखेको लेख्नु, महसुस गरेको लेख्नु नै अस्तित्व हो भन्नेमा म दृढ थिएँ।म लेख्न थालेपछि मैले म आफैँलाई अमर घोषणा गरेर नै लेख्न शुरू गर्दथेँ (द वर्डस्, पेज नं.१९५-१९६)।

मानवीय जिन्दगीको बारेमा लेख्दा महिला र पुरूषका बारेका विषयहरू सबै गौण हुने गर्दथे।मानवीय जिन्दगीमा सबैभन्दा पहिले मानवीय जिन्दगीको अस्तित्व नै के हो भन्नु कुरामा ध्यान दिँदा महिला र पुरूषको भिन्नता गौण हो भन्नेमा म पक्का थिएँ (द वर्डस्, पेज नं.१९९)।

विश्वव्यापी रूपमा रहेका हाम्रा लेखकहरूको लेखबाट नै हामी यो सभ्यतामा आइपुगेका हौँ। कयौ चाङ लागेका इँटाहरूमा अरू केही इँटा थप्ने काम मबाट हुनु नै पर्छ भन्नेमा मेरो ध्यान थियो र म निरन्तर लागि नै रहेको थिएँ। मेरो परिश्रम देख्दा मेरी आमा रूने गर्नु हुन्थ्यो। मेरो पठनी र लेखकीय स्वभावबाट मेरी आमाले मलाऐ रूसोसँग तुलना गर्न थालिसक्नु भएको थियो।मलाई छोडेर फरक घरमा बसेकी मेरी आमाको आगमन र प्रस्थान दुवै आँशुमय हुने गर्दथ्यो तर म जहिले पनि किताब, कलम र कापीसँगै हुने गर्दथेँ (द वर्डस्, पेज नं.२०६) ।

हालसम्म विश्वव्यापी रूपमा आएका सत्य लेखहरूबीच मेरो लेखलाई पनि उभ्याने प्रण गरिसकेको थिएँ ।त्यसैले नै मैले सत्यभन्दा अरू केही पनि देखेको थिइनँ।मेरा लागि जुत्ता सिलाउने मान्छे र देशको राष्ट्रपतिलाई हेर्ने र सम्मान तरिका समान हुनुपर्छ भन्नेमा थिएँ।सम्मानले मान्छेलाई ढोंगी बनाउँछ भन्नेमा म दृढ थिएँ।यथार्थमा सत्य पनि यही नै थियो।समान दृष्टिकोण र समान व्यवहारले गर्दा समाजमा हुने गरेका असत्य तथा ढोँगीहरू मेरा शत्रु बन्दै थिए (द वर्डस्, पेज नं.२०९)।

लेख्दालेख्दै र पढ्दापढ्दै अस्तित्वमा डुब्दा मैले अर्थ र अनर्थको भुमरीमा म आफैँलाई धेरै पटक पाएको छु।यथार्थ जिन्दगी मैले पाउँदिनँ भन्नेमा म निश्चित भए पनि केही समयको जिन्दगीमा मान्छेले गरिनैहाल्नु पर्ने काम के के हो र कसरी मानवीय जिन्दगी निकाल्नु पर्छ भन्ने कुरा प्रस्ट्याउन चाहन्थेँ। कतिपय लेखहरू विवादमा आउँदा मेरी हजुरआमाले मेरो बाबुले लेख्न सिक्दै गरेको हो पछि धेरै राम्रो लेख्छ भनेर छिमेकीहरूलाई भन्ने गर्नुहुन्थ्यो (द वर्डस्, पेज नं.२१५-२२१)।

भर्खर लेख्न शुरू गर्दाको समयको एकान्तताको महसुस र लेखकीय अभ्यासमा पूर्णता पाउँदै गरेको अवस्थामा मेरो नामबाट मान्छेको उत्सुकता बढेको देख्दा म अचम्म पर्न थालेको थिएँ। मलाई मेरो काम प्रतिको विश्वासले म यति भएको हुँ भन्नेमा विश्वस्त थिएँ। म अरूभन्दा फरक भएकै कारणले यो प्रसिद्ध भएको हो भन्नेमा म विश्वस्त थिएँ तर म अतृप्त नै थिएँ। मैले केही सत्य त लेखेँ तर पुरा सत्य लेख्न कहिले सकुँला भनेर म सधैँ अन्योलग्रस्त नै रहने गर्दथेँ(द वर्डस्, पेज नं.२२८)।

मेरो देव्रे आँखा कमजोर हुँदा र डेढो हेराइले मलाई केही कुरूप बनाएको थियो। यही कुरूपताको प्रणले मलाई लेखक बनाएको थियो। कुरूपता मान्छेको कमजोरी होइन कि यथार्थ भनेको नै सुन्दरता हो भन्नेमा विश्वस्त थिएँ र म यही दृढतालाई अगाडि बढाएको थिएँ। जन्म र सम्भावित मृत्यु बीचको समयलाई बाँडफाँड गरेर के कति लेख्ने भन्ने बारेमा दृढ संकल्प लिइसकेको थिएँ (द वर्डस्, पेज नं.२३०)।

मेरो लेखाइले मेरो जिन्दगीको सारतत्त्व के हो भन्ने कुरा प्रस्ट पार्न सकोस् भन्नेमा म जहिले पनि लागि नै रहेँ। लेखाइ, पढाइ र काम गराइको मापदण्डलाई आधार बनाउने तत्त्वबाट म सधैँ सतर्क थिएँ। म कुनै मान-सम्मानका नाममा ढोंगी जीवन बिताउन चाहन्नथेँ। मलाई थाहा थियो कि,क्षणिक मान-सम्मानले मान्छेलाइ ढोंगी बनाउँछ।मान-सम्मानलाई मान्छेले जिउने आधार बनाउँछ र मान-सम्मानको खोजमा पीडादायी मृत्यु मर्न बाध्य हुन्छ (द वर्डस्, पेज नं.२३५)।

म जन्मदै रूष्ट थिएँ।जन्मिसकेपछि रूष्ट भएर केही फाइदा छैन भन्नेमा प्रष्ट भएँ । जन्मनुको अर्थ के हो भनेर खोज्नु मेरो पहिलो काम भयो।जन्मको अर्थ के हो भनेर प्रश्न गर्दा पढे थाहा पाइन्छ भन्ने भयो।मेरो काम नै जन्मनुको अर्थ खोज्नु भयो। खोज्दाखोज्दै म कहाँ पुगें भन्ने नै थाहा भएन।म भौतिक रूपमा संसारभर पुग्न असम्भव थियो तर पुस्तकलाई माध्यम बनाएर संसार घुम्न सकिने माध्यम मसँग थियो। मानवीय जिन्दगीको उत्पत्तिदेखि हालसम्मको सभ्यता अध्ययन गरेको खण्डमा आफ्नो जन्म र जिन्दगीको सार्थकता थाहा हुन्छ भन्ने खोजमा हिँड्दाहिँड्दै यहाँसम्म आइपुगियो।यथार्थ जिन्दगी, जन्म र मृत्यु पढ्न र लेख्नमा छ भन्ने कुरा भएर नै म पढ्दै छु र लेख्दै छु।यो निरन्तर जारी छ र जारी नै रहनेछ (द वर्डस्, पेज नं.२३८-२४०)।

पिताजी अकालमा असामयिक मरे, युवती उमेरमा विधवा भएकी मेरी आमा योग्य पोइ खोजेर पोइल गइन्, मलाई कुनै गुनासो भएन, मेरी आमाले म शिशु हुँदाको समयमा जुन माया दिनु भयो त्यसले म तृप्त थिएँ र छु।मेरो हेरचाहले मेरी आमाले दुःख पाउनु हुँदैनथ्यो।मेरो बाबाको मृत्युको कारण मेरी आमा जुन दुःख पाउनु भयो त्यस प्रति म पनि दुःखी छु।मेरो लालन-पालन पश्चात वहाँको अर्को बिहेमार्फत वहाँले पाउनु भएको सम्पूर्ण खुशीप्रति म पनि वहाँ जत्तिकै खुशी छु (द वर्डस्, पेज नं.२४५)।

मलाई मेरो चर्चको धर्मले जिउँदो राखेको थिएन।मलाई त मेरो पवित्र कलम र मेरा पुर्खाहरूले दिएको किताबहरूले जिउँदो राख्न सफल भएको थियो।यदि मसँग पुर्खाका पुस्तक वा कलम हुँदैन थिए भने म पहिले नै मर्ने थिएँ वा आत्महत्या गरिसक्ने थिएँ होला।मेरो किताबसँगको मित्रताले मेरा पिताजी यसरी मलाई हेर्नु हुन्थ्यो कि ममा केही जादु छ।म यसरी पढ्ने गर्दथेँ कि कुनै पनि कुरा स्पस्ट नबुझ्दासम्म एकोहोरो पढिनै रहन्थेँ।चाहे त्यो शब्द हजार चोटी किन लेख्न र घोक्न नपरोस् (द वर्डस्, पेज नं.२५०)।

मेरो पहिलो दार्शनिक पुस्तक नसियामा मान्छेमा हुनु पर्ने यथार्थता पस्केको छु।मान्छेले आफ्नो सत्य लुकाएको हुन्छ।मेरो नसियाको विषयवस्तु नै यथार्थ मानवीय जिन्दगी हो।यो पुस्तक मैले मेरो आत्मा साक्षी राखेर लेखेको पुस्तक हो।मैले मेरो सत्य लेखें, मेरो सत्य भनेको आम मान्छेको सत्यता लेखें।जति ढोंगी कुरा गरे पनि मानवीय जिन्दगीमा हुने विषयवस्तु नै नसिया हो (द वर्डस्, पेज नं.२५२)।

मलाई मेरो भ्रमको जिन्दगी बाँच्नु थिएन।मेरा बाटाहरू अति नै कष्टमय थिए।मानवीय जिन्दगीमा रहेका जति पनि संस्कृतिहरू छन्,यिनीले मान्छेलाई बचाउदैनन्,यिनीहरू मान्छेलाइ खुशी हुने आधारहरू दिने गर्दछन्।संस्कृतिहरू मान्छेलाई न्याय दिन पनि सक्दैनन्।कष्ट, रूष्ट र निर्जन जिन्दगीमा केही पल खुशी दिने यथार्थता संस्कृति हो । संस्कृति विना हामीलाई समाजमा स्थापित र बचाउन गाह्रो छ।म जहिले पनि धार्मिक व्यक्तित्वसँग साथ मै रहेँ किनकि मलाई बाँच्नु थियो।झुठभित्र राखेर साँचो कुरा लेख्नु थियो।नबाँची लेख्न सकिदैनथ्यो।जिन्दगीको मात्र एउटा बाटो बन्यो लेख्ने, अनि लेखिनै रहने, अनि अविरल लेख्ने, मात्रै सत्य लेख्ने (द वर्डस्, पेज नं.२५४)।

मेरो पागलपनको यथार्थ के हो मैले कहिले पनि जानिन।म राम्रा, धनी र सुन्दर मान्छेको बीचमा हुर्कें तर म कहिले पनि राम्रो, धनी र सुन्दर बन्न सकिनँ।म जान्ने बन्न कोसिस गरेँ तर कहिले पनि राम्रो बन्न सकिनँ। म जहिले पनि सत्य लेख्न खोजेँ तर सत्य लेखेँ कि असत्य लेखे पाठक वर्गलाई थाहा हुनु पर्छ।मेरो हिसाबले मैले न पाप नै गरेँ,न त मैले कुनै धर्म नै गरें।जे देखें त्यही लेखें र जे महसुस गरें त्यही लेखेँ (द वर्डस्, पेज नं.२५५)।