चूले मसी-ढु‌ङ्गोमा घोटेर मसी तयार पार्‍यो, अनि कागज सम्याएर बुरुस लिई त्यसले यस बेहोराको कागज तयार पार्‍यो-

चाङ चेड-युन र सम्बन्धित पक्षहरूका बिच भएको

खरिद-बिक्रीको कबुलियत

आफ्ना साथै ढुवानी गरी जहाजमा हालेर विदेशबाट कछुवाको एउटा ठुलो खबटो यहाँसम्म ल्याइपुऱ्याउने सुचाउ वतन भएका व्यापारी बेन शिः र मा पाओ-हा पारसी उपर्युक्त कछुवाको खबटो पचास हजार टेल चाँदीमा खरिद-विक्री गर्न मन्जुर भई यो कबुलियत गर्दछन् । यस कबुलियतमा हस्ताक्षर भइसकेपछि एक थरीले माल बुझाउने र अर्का थरीले पैसा बुझाउने कुरो पनि दुवै थरी यसै कागजबाट मन्जुर गर्दछन् । दुई थरीमध्ये कुनै पनि यस बोलकबुलबाट पछि हट्न खोज्यो भने त्यसबाट माथि मन्जुर गरिएको रकमको दशांश थप रकम जफत गरिनेछ ।

यसका दुई प्रति नक्कल तयार पारिए, र तिथिमिति लेखिइसकेपछि त्यहाँ भएको सबैको नाम साक्षीमा लेखियो। सबैभन्दा पहिले चाडको नाम र पुछारमा चु र लेख्ने मानिसका नाम थिए । त्यसपछि दुवै नक्कललाई एकैसाथ जोरेर राखी दुवैमा पर्ने गरी तिनका जोर्नीबाट मिति र ‘करार पत्र’ भन्ने शब्द लेखियो । यस प्रकार दुवै नक्कलमा आधी आधी लेखोट पर्न गएकोले पछि कसैले कागज फेरी जालझेल गर्ने नसक्ने पारियो । यति भइसकेपछि मुख्य मानिस भएकाले सबभन्दा पहिले वेन र पारसीले एवम् तिनका पछि अरूहरूले पनि दुवै कागजमा सहीछाप गरिदिए ।

आफ्नो पालि आइपुग्दा चाडले भन्यो, “कुरा मिलाइदिने विचका मानिसको कमिसन पनि साहै थोरै त हुनुहुन्न नि । लेनदेन राम्ररी टुङ्गियोस् भन्ने विचार छ भने, कमिसन पनि त्यसै अनुसारको हुनुपर्दछ ।”

पारसीले मुसुक्क हाँस्तै भन्यो, “त्यसबारे धन्दै मान्नुपर्दैन ।”

सहीछाप गर्ने काम भइसकेपछि महाजनले भित्री कोठाबाट चाँदी राखेको एउटा कन्तुर ल्याएर भन्यो, “अरू कुरा गर्नुभन्दा पहिले बिचका मानिसकै कमिसन दिइहाल्नुपर्‍यो ।”

कन्तुर खोल्दा सबै व्यापारीहरू त्यसका वरिपरि जम्मा हुन आए । कन्तुरमा चाँदीका पुरिया टनाटन भरिएका रहेछन्। पचास पचास टेलका बीस पुरिया गरी त्यसमा जम्मा एक हजार टेल चाँदी रहेछ। पारसीले दुवै हातले त्यो कन्तुर चाडलाई टक्र्यायो ।

त्यसले भन्यो, “यहीँ छँदै तपाईँहरूले यो कमिसन बाँडेर लिनुभए हुन्थ्यो ।”

त्यस्तो भोज र त्यस्ता कबुलियतले सबै व्यापारीलाई आश्चर्यचकित पारेको थियो । त्यस कारण त्यस लेनदेनका बारे अब तिनीहरूलाई कुनै शङ्कै रहेको थिएन । पारसीले अब कमिसनका लागि चमचम चम्कने सेतो चाँदी नै ल्याएर हाजिर गरिदिएकोले त तिनीहरूलाई कुरो साँच्ची साँच्चिकै भएको रहेछ भन्ने झन् पूरै पत्यार पर्‍यो। वेनलाई चाहिँ आफू रक्सीका नसामा भएको अथवा सपना देखिरहेको जस्तो लाग्यो । त्यसका मुखबाट वाक्य नै फुटेन । त्यो आश्चर्यले गर्दा लाटोले झै भइरहेको थियो। चाडले आई त्यसको बाहुला तानेकोले बल्ल ऊ सावधान भएर बस्यो ।

चाडले त्यससित भन्यो, “यो कमिसन हामीले कुन किसिमले भाग लाएर लिने ? तिमीले नै भनिदिनुपर्‍यो ।”

वेनले जवाफ दियो, “पहिले मुख्य लेनदेन नै सिद्ध्याइहालौँ ।”

मुस्कुराहटले जम्मै अनुहारै व्याप्त गर्दै पारसीले भन्यो, “यस विषयमा तपाईँसित कुरा गर्नु अझै बाँकी नै छ । चाँदी भित्री कोठामा राखिएको छ । जोखेरै राखिएको हुनाले त्यसमा एक सेन्टको पनि कमी छैन। तपाईँहरूमध्ये एकदुई जनाले भित्र गएर एउटा पुरिया तौलनुभए पुगिहाल्ला। सबै जोख्नैपर्ने के जरुरत ? पचास हजार टेल भनेको निकै पो हुन्छ । त्यति सबै एकै पटक लैजान पनि नसक्नुहोला । त्यसबाहेक, श्रीमान् वेन, तपाईँका परिवारका मानिस पनि यहाँ कोही छैनन्, सबै चाँदी नाउसम्म कसरी लैजान सक्नुहुन्छ ? त्यति जम्मै घर लैजानु पनि असजिलै कुरो हो ।”

एकछिन विचार गरेर वेनले त्यसका कुरा स्वीकार गर्दै भन्यो, “तपाईँले ठिकै भन्नुभयो । तपाईँको के राय छ ?”

पारसीले भन्यो, “मेरा तुच्छ विचारमा त तपाई अहिले घर गई नहाल्नुहोस् । यहाँ रेसमको मेरो एउटा पसल छ । त्यसमा तीन हजार टेलको पुँजी लगाएको छु। पसल भएको घर निकै ठुलो छ । त्यसमा समयभन्दा बढी कोठा होलान् । त्यो घरजग्गा दुई हजार टेल पर्ने छ । पसल यहाँबाट डेढदुई सय गजमै होला । पाँच हजार टेलमा घरसमेत त्यो पसल वेन महोदयलाई दिने मेरो प्रस्ताव छ। त्यसो भएमा त्यहीँ बसेर उहाँ आफ्नो कारोबार पनि गर्नुहुन्थ्यो र कसैलाई पत्तै नदिई बिस्तारो बिस्तारो चाँदी पनि आफ्ना पसलमा ओसारेर लैजाँदै गर्नुहुन्थ्यो । पछि इच्छा लागे कुनै भरपत्यारका कारिन्दाको जिम्मा यहाँको कामकाज सुम्पी आनन्दले उहाँ सुचाउ जान पनि सकिहाल्नुहुन्छ । नत्र भने, हुन त, चाँदी बुझाइहाल्नु मेरा लागि सजिलो भए तापनि त्यसलाई तर लाउन सक्नु वेन महाशयका लागि गाह्रै देख्तछु। यो खालि मेरो सुझाव मात्र हो ।”

चित्त बुझेका भावमा भुईँमा गोडा बजार्दै चेन र वेन दुवैले भने, “वडा राम्रो सुझाव हो । सबै दृष्टिले यो मनासिबै हो ।”

वेन विचार गर्दै थियो, “घरमा न मेरी स्वास्नी छ, न परिवारै । बाबु बराजुका सम्पत्तिका नाममा पनि केही बाँकी रहेन । यस्ता अवस्थामा सबै चाँदी बोकेर घरै लगेर पो कहाँ राख्ने ? यसका कुरा मानेर यहीँ किन नबस्नु ? जे भए पनि यस्तो सौभाग्य परमात्माकै कृपा नभई परी आउने होइन । तसर्थ यसले दिएका सुझावलाई नै मान्नु बेस हो । पसल र त्यसमा भएका माल गरी पाँच हजार टेलको नभए पनि मेरो गाँठीबाट के पो जाने हो र ?”

त्यसले पारसीलाई भन्यो, “तपाईँको सुझाव साहै गहकिलो छ ।  म  एकदमै मन्जुर छु ।”

त्यसपछि पारसीले वेन, चाङ र चूलाई आफ्ना साथ भित्र कोठामा पाल्नुहुन आग्रह गर्‍यो । अरूहरूलाई त्यसले भन्यो, “यहाँहरूले तकलिफ गर्न जरुरत छैन । कृपया यहीँ बसिरहनुभए हुन्छ ।”

ती चार जना गइसकेपछि त्यहाँ बसेका अरू व्यापारीहरूले यति बेरसम्म आफ्ना मनमा गुम्स्याइराखेका कुरा परस्परमा गर्ने मौका पाए । तिनलाई साह्रै आश्चर्य र डाह भइरहेको थियो ।

“कस्तो आश्चर्यको कुरो !”

भाग्यैको खेल भन्नुपर्दछ !”

” एउटाले भन्यो, “अघि थाहा भएको भए टापुमा नाउ अड्दा हामी पनि किनारमा ओर्लंदा हौँ । अर्को कुनै खजाना भेट्टाइहाल्ने थियौँ कि ?”

अर्कोले भन्यो, “होइन, यस्तो भाग्य त परमात्माकै अनुग्रहले हुने हो । कसैले गरेर यस्ता कुरा हुने होइनन् ।”

त्यसै वेला वेन, चाड र चू फर्केर आइपुगे ।

व्यापारीहरूले सोधे, “भित्र के रहेछ ?”

चाडले भन्यो, “एउटा अग्लो मण्डप रहेछ । त्यहाँ पिपाका पिपा चाँदी टनाटन राखिएको रहेछ । हामीले दश वटा पिपा मात्र हौँ। हरेकमा चार हजार टेल चाँदी रहेछ । एक एकमा हजार हजार टेल भएका पाँच वटा कन्तुर पनि अघि सारिदियो । जम्मा पैंचालिस हजार टेल पुगिहाल्यो। ती सबैमा वेनका नाम लेखिएका कागज टाँसेर छाप लगाई आयौँ । खबटो बुझाइसकेपछि त्यो जम्मै चाँदी वेनको हुने भयो ।”

त्यत्तिकैमा पारसी पनि आइपुग्यो ।

त्यसले भन्यो, “पसलको हिसाबकिताब र घरजग्गाको कानुनी लेखापढी पनि हाजिरै छ । आफै हेर्नुहोस् राम्रै गरी पाँच हजार नपर्ने होइन । लौ अब माल ल्याउन नाउमा गइहालौँ ।”

सबै जना नाउतिर लागे । वेनले साथीहरूलाई सावधान तुल्याउँदै भन्यो, “हेर्नुहोस् है – नाउमा धेरै नै मानिस छन् । यस मामलामा चुपै रहनुभयो भने राम्रै गरी उपहार टक्र्याउनेछु ।”

भएभरका सबै कुरा थाहा पाए भने अरू व्यापारीले पनि पाएका कमिसनमा भाग माग्लान् भन्ने डर अरूहरूलाई पनि थियो । त्यस कारण केही नभन्नुमा ती पनि सहमत भए ।

नाउमा पुगेर वेनले खबडाभित्रबाट आफ्ना मालमत्ता र थैलीहरू झिक्यो र त्यसलाई प्रेमपूर्वक मुसार्दै त्यसले आफ्ना सौभाग्यका लागि आफैलाई बधाई दियो ।

पसलबाट साथै लिएर आएका दुई जना भुसतिघ्रे प‌ट्ठाहरूलाई पारसीले त्यो खबटो लिएर हिँडिहाल्ने आज्ञा दियो ।

त्यसले उनीहरूलाई सावधान पार्दै भन्यो, “हेर है, यसलाई सोझै भित्रै लगेर राख्नू, घरबाहिर नछोड्नू ।”

नाउमा भएका अरू मानिसले त्यो खबटो लगिन लागेको देखेर भने, “आखिर यो गद्दर पनि बिकेछ । कति मोल पाइयो होला ? उदेकै लाग्यो ।”

वेन चुप लागी आफ्ना झिटीमिटी किनारमा ओसार्न लाग्यो । अघि खबटो ल्याउँदा मद्दत गर्ने केही माझीहरू पनि हत्तपत्त किनारमा उत्रेर खबटोलाई चारैतिरबाट छामछुम गरेर भित्रपट्टि चियाई चियाई राम्ररी हेर्न लागे । तिनीहरू छक्क परेर मुखामुख गरी भन्न लागे, “त्यसमा त्यस्तो अपूर्व कुन कुरो रहेछ ?”

पारसीले लेखापढी गर्दा साक्षी बस्नेहरू सबैलाई फेरि आफ्ना कोठीमा निम्त्याई एक पटक गएर बेनको नयाँ घर पसल पनि हेरेर आउन अनुरोध गर्‍यो ।

तिनीहरू व्यापारको मुख्य केन्द्र भएका बजारमा पुगे । त्यहाँ एउटा खुबै राम्रो र बडेमानको घर रहेछ। घरको अगाडिपट्टि पसल र एकापट्टि कोठीको अजङको फाटकसम्म पुग्ने एउटा गल्ली रहेछ। घरमा ठुलो पटाङ्गिनी र ठुलो एउटा हल पनि थियो। हलका अगिल्ला भित्तामा ‘रत्नागमनको आगार’ भनी लेखिएर टाँगिएको रहेछ । त्यसका दाहिने देब्रे लहरै कोठाहरू रहेछन् । तिनमा किसिम किसिमका रेसम र कुचिनले भरिभराउ दराज र घर्राहरू लामका लाम रहेछन् । मुख्य भवनका पछाडिपट्टि अरू अनेक कोठा र मण्डपहरू पनि रहेछन् ।

वेनले विचार गर्‍यो, “यो त कुनै राजकुमारको दरबारैजस्तो पो रहेछ । यसै एउटा रेसम कोठीबाट गनिनसक्नु नाफा कमाउन सकिहाल्दछु । यहीँ बसे भइहाल्यो, घरै किन गइरहनुपर्‍यो ?”

त्यसले पारसीसित भन्यो, “वेस रहेछ। तर, म त यहाँ एक्लै ठिङ्गो छु । यहाँ आउनुअघि मैले चाहिने जति नोकरचाकर र करकारिन्दाको बन्दोबस्त पनि त मिलाउनैपर्यो ।”

पारसीले भन्यो, “त्यसले कुनै वाधा नपर्ला । चाहिएजति मानिसको बन्दोबस्त मै मिलाइदिउँला ।”

वेन झन् खुसी भयो । सबै जना फर्केर फेरि पारसीकै कोठीमा आए । पारसीले तिनीहरूलाई चिया टक्र्यायो ।

त्यसले भन्यो, “महाशय वेन, तपाईँले आज रातिदेखि नाउमा जाने के काम ? अब त सरासर आफ्नै नयाँ घरमा सरिहाले भइहाल्यो। तपाईँका पसल र कोठीमा करकारिन्दा र नोकरचाकरको दुःख छैन । पछि चाहिएमा बिस्तारै बिस्तारै थप्दै गए पनि भइहाल्छ ।”

एउटा व्यापारीले भन्यो, “खरिद विक्रीको काम सकिइहालेकोले अब त्यसबारे केही भन्ने कुरै रहेन । तर, तपाईँसित एउटा कुरो नसोधी चित्त बुझेन – त्यो खबटो त्यति साह्रो दामी हुन गएको कति कारणले होला ? केही बताउनुहुन्छ कि ?”

त्यस प्रश्नमा वेन पनि सरिक भयो । पारसीले हाँस्तै भन्यो, “तपाईँ महानुभावहरूले यति पटक समुद्री यात्रा गरिसक्नु भएर पनि यो कुरो थाहा नपाउनु आश्चर्यकै विषय हो । बिजुली का नौ वटा बच्चा हुने र तीमध्ये एउटा ‘टो ड्रम’ हुने कुरा तपाईँहरूमध्ये कसैलाई थाहा छैन र ? दश हजार वर्ष पुगेपछि टो आफ्नो खबटो फेरेर पूरा बिजुली बन्न जान्छ । वर्षका चौबिस चाडझैँ त्यसका खबटामा पनि चौबिसै वटा करङ हुन्छन्, र तीमध्ये प्रत्येकका जोनीमा एक एक वटा ठुलो मोती हुन्छ । करडहरू जम्मै बनी नसकेसम्म खबटो फेरेर टो ड्रम बिजुली को पूरा रूप लिन सक्तैन । त्यसलाई कसैले अघिबाटै समातिहाल्न सक्यो भने पनि त्यसको छालासम्म हात लाग्दछ, र त्यो छाला केही काम लागिहाल्ला कि करङमा भने केही हुन्न । चौबिस वटा करङ पूरा भएर प्रत्येकमा एक एक वटा मोती पनि बनिसकेपछि खबटो छोडी त्यो बिजुली’ बनी उडेर गइहाल्छ । महाशय वेनले ल्याउनुभएको खबटो ठिक समयमा छोडिएको र करडहरू जम्मै पूरा भइसकेका हुनाले बिजुली बनी उडेर जानुअघिबाटै पक्रिएका टो ड्रमका खबटाहरूभन्दा यो ज्यादै ठुलो छ । हामीहरूलाई यस्ता कुरा हुन्छन् भन्ने थाहासम्म त थियो, तर कुन टो ड्रमले कहिले र कुन ठाउँमा खबटो छोड्ला ? भन्ने कुरो भने कसले जान्नु ? खबटै त काम लाग्ने होइन; तर, रातमा पनि टल्कने त्यसका मोती भने अनमोल नै हुन्छन् । भाग्यैले आज त्यो मेरा हात लाग्न आइपुग्यो ।”

त्यसका कुरा सुनेर व्यापारीहरूले अझै पत्याइहाल्न सकेनन् । पारसी एकछिनका लागि भित्र गएर मुस्कुराउँदै फेरि हाजिर भयो ।

आफ्ना बाहुला वाट विदेशी कपडाको एउटा रुमाल झिकेर त्यसले भन्यो, “महाशय हो, लौ यता हेर्नुहोस् !”

त्यसले रुमाल फुकाएर देखाउँदा त्यसमा धागोका जालीभित्र ज्योतिले आँखै तिरमिराउने एउटा मोती देखियो । त्यो एक इन्ची व्यासको हुँदो हो । कालो रङको लाहापालिस लाएको किस्तीमा राखेर पारसीले त्यसलाई अँध्यारा ठाउँमा लगी राखिदियो । त्यो मोती अड्दै नअडी यताउति गुड्न थाल्यो र त्यसबाट एक एक फुट लामा प्रकाश-किरण निस्कन लागे ।

वाल्ल परी मुख बाएर बसिरहेका व्यापारीहरूतिर फर्केर पारसीले भन्यो, “यहाँहरू सबै जनाले गर्नुभएको मद्दतका लागि म साहै ऋणी छु । मैले यहाँ सिङ्गै खबटाका लागि अहिले दिनुपरेको जति त मेरो देशमा केवल यसै एउटा मोतीबाट आउनेछ । यसको मतलब बाँकी तेइस वटा त यहाँहरूले मलाई उपहारै दिनुभएको जस्तो भयो !”

सबै जना वज्राहतझै भए। तर, कागजमा सहीछाप भइसकेको हुनाले अब कुरा बदल्न सकिन्नथ्यो । तिनीहरूलाई त्यसरी अफसोसमा परेको देखेर पारसीले झटपट त्यो मोती एकातिर लगेर राख्यो, र भित्र गएर आफ्ना नोकरहरूलाई एक बाकस कुचिन लिएर आउने आज्ञा दिई ऊ तुरुन्तै फेरि फर्केर आयो । बेनबाहेक सबै जनालाई त्यसले दुई दुई थान कुचिन दियो ।

त्यसले भन्यो, “मैले यहाँहरूलाई कष्ट दिएँ। दुई दुई वटा अलखा हाल्न यति उपहार चढाएर म त्यसको कदर जनाउन चाहन्छु ।”

त्यसपछि त्यसले आफ्ना बाहुलाबाट साना साना मोतीका एक दर्जनजति लच्छी झिकेर सबैलाई एक एक लच्छी दियो ।

त्यसले भन्यो, “खाजासाजा खानका लागि यति खर्च चढाएको हुँ।” वेनलाई चाहिँ त्यसले चार लच्छी अलि ठुला दानाका मोती र आठ थान कुचिन दियो । वेनका साथै सबै व्यापारीहरूले खुसी भएर त्यसलाई धन्यवाद दिए । त्यसपछि पारसी र व्यापारीहरूले वेनलाई त्यसका रेसम कोठीसम्म पुऱ्याए । पारसीले त्यहाँका सबै करकारिन्दा र काम सिक्न बसेकाहरूलाई डाकेर नयाँ मालिकसित तिनको परिचय गरायो । यति भइसकेपछि मात्र ऊ बिदा भएर आफ्ना पसलमा गयो ।

बेनका छाप लागेका दश पिपा र पाँच कन्तुरमा चाँदी बोकेका भरियाहरू तुरुन्तै आइपुगे । ती पिपा र कन्तुर आफ्ना सुत्ने कोठामा राम्ररी राख्न लगाइसकेपछि वेन फेरि आफ्ना साथी व्यापारीहरू पर्खेर बसिरहेका ठाउँमा आयो ।

त्यसले उनीहरूलाई भन्यो, “यस यात्रामा लैजानुभएकोले म यहाँहरू सबैप्रति साहै ऋणी छु । यहाँहरूबाट मद्दत नभएको भए एक्कासि मेरो यस्तो भाग्योदय हुनै पाउने थिएन ।”

त्यसपछि भित्री कोठामा पसेर त्यो आफ्ना झिटीबाट टैन्जरिन बेचेर आएको सिक्का लिएर फेरि फर्केर आयो । त्यसले सबै व्यापारीलाई दश दशका दरले र चाङ एवम् आफूलाई अघि यात्राका प्रारम्भमा चन्दा दिने दुई जनालाई थप दश-दश सिक्का दियो। अब चाँदीका यी सिक्का वेनका लागि केही छँदै थिएनन् । तर व्यापारीहरू भने ती पाएर ज्यादै खुसी भए र त्यसलाई बारम्बार धन्यवाद दिन लागे । त्यसपछि वेनले केही सिक्का अझै झिक्यो ।

त्यसले भन्यो, “यति लगेर नाउमै रहेका हाम्रा सहयात्रीहरूलाई बाँडिदिने कष्ट पनि गरिदिनुपर्‍यो। कृपया मेरा तर्फबाट उनीहरू सबैलाई एउटा एउटा सिक्का दिनुहोला । यहाँका कामकाजको चाँजोपाँजो अलि मिलाइसकेर एक पटक घर जाने विचार गर्दछु। अहिले अब साथ जान नसक्ने भएकोले हाललाई यहाँहरूसित यहीँबाट बिदा लिन्छु ।”

चाडले त्यसलाई सम्झायो, “बिचका मानिसका लागि दिइएको एक हजार टेल चाँदी त त्यसै छ । पछि कुनै झगडा नपरोस् त्यस कारण त्यो पनि तिमीले नै बाँडिदिए बेस हुने थियो ।”

वेनले – “हो साँच्ची त्यो त बिर्सेछु” भन्यो ।

सबैसित सरसल्लाह गरेर त्यसले एक सय टेल नाउमा रहेकाहरूका निम्ति छुट्ट्यायो, र बाँकी नौ सय टेल चाहिँ त्यहीँ भएकाहरूमा भाग लगायो । चाडले नै नाइके भएर काम गरेको, र चूले कागज लेखिदिएको हुनाले त्यसले ती दुई जनालाई अरूलाई भन्दा एकएक भाग बढी दियो । एकदमै सन्तुष्ट भएर तिनीहरूले हृदयदेखि नै त्यसलाई धन्यवाद दिए ।

एउटाले भन्यो, “तर, जे होस् हामीले त्यस मुसलमानलाई त्यसै छोडिदिएका हौँ। वेनले मोल बढाएर अझै बढी माग्नुपर्ने थियो ।”

वेनले भन्यो, “त्यस्तो सानो चित्त गर्नु उचित होइन । दुर्भाग्यमा मैले धेरै दिन काट्नुपर्‍यो । त्यस बखत जेमा हात हाल्यो, मूल धनसमेत जाने गर्दथ्यो । बल्ल भाग्यको दया दृष्टि पर्न गएको छ, र आकाशबाट सम्पत्तिको ओइरो लागेजस्तो भइरहेको छ। यसबाट सबै कुरा भाग्यैको खेल रहेछ भन्ने बुझ्दछु । परमात्माले जे जति दियो, त्यसभन्दा बढीका लागि हातखुट्टा खियाउनु व्यथै रहेछ । त्यस पारसीले त्यो खबटो त ठुलो सम्पत्ति पो हो भन्ने नचिनेको भए हाम्रा लागि त्यसको के मोल थियो र ? चिनाइदिएका हुनाले हामी त्यसका ऋणी नै छौँ । मोलतोलमा फेरि कचकच झिकेर मैले त्यसप्रति कसरी कृतघ्न हुनु ?”

अरूहरूले सहमति जनाउँदै भने, “वेनले भनेको ठिक हो । वास्तवमा यिनले पाएको यो सम्पत्ति यिनको सद्गुणकै पुरस्कार हो ।”

त्यसपछि त्यसलाई धेरै धेरै धन्यवाद दिँदै आफूले पाएका सरसौगातका साथ तिनीहरू आफ्ना आफ्ना व्यापारमा लाग्न नाउतिर गए ।

यस प्रकार वेन फुकिएनको एउटा धनी व्यापारी बन्न गयो । बिहे गरेर ऊ अब त्यहीँको बासिन्दा भयो । पुराना साथीभाइसित भेटघाट गर्न धेरै दिनसम्म त्यसले सुचाउ जाने फुर्सतै पाएन । त्यसका धेरै जना छोरानाति भए । त्यसको वंश आजसम्म धनी नै छ ।

जाने प्रकाश सुनको जब भाग्य क्रुद्ध; 

रद्दी फलाम सुन बन्दछ भाग्य हाँस्ता ।

यस्ता कथा यदि सुनी खबटा बटुल्दै 

टापु चहार्दछ भने ऊ त मूर्ख पक्कै ।