डा. दयाराम श्रेष्ठ नेपाली कथा साहित्यमा पहिलोपल्ट विद्यावारिधि गर्ने विद्वान् प्राध्यापक तथा समालोचक हुन् । विसं २००० साल भदौमा सिरान बजार धनकुटामा जन्मेका उनी त्रिभुवन विश्वविद्यालयमा आजीवन प्राध्यापन गरी अवकाश प्राप्त गरे पनि नेपाली साहित्य, विशेष गरी कथा विधामा अनेकन् कृति तयार गर्न तथा परिमार्जन गर्न निरन्तर सक्रिय छन् । उनले शोध निर्देशनको काममा पनि आफ्नो समय खर्च गर्ने गरेका छन् । उनले विसं २०५३ सालको मदन पुरस्कार “नेपालको राष्ट्रिय झण्डा: इतिहास, वैशिष्ट्य र प्रयोग” कृतिका लागि पाएका थिए । नेपाली कथाको इतिहास, नेपाली कथा कोष, कथाको दर्शन आदि उनका महत्त्वपूर्ण ग्रन्थहरू हुन् । मोहनराज शर्मासँगको सहलेखनमा “नेपाली साहित्यको संक्षिप्त इतिहास” लामो समयसम्म नेपाली साहित्यका विद्यार्थीका लागि अपरिहार्य पुस्तक थियो । उनको सम्पादनमा कथा विधाका मानक कृतिहरू प्रकाशित छन् ।
यिनै विद्वान प्राध्यापक डा. दयाराम श्रेष्ठसँग समसामयिक नेपाली साहित्यको विषयमा साहित्यकार गोविन्द गिरी प्रेरणाले गरिएको कुराकानी, प्रस्तुत छ :
अहिलेको समकालीन कथा लेखन, भनौं न पछिल्लो एक दशकको कथा लेखन कस्तो रूपमा अघि बढिरहेको पाउनुहुन्छ ?
– मेरो अध्ययन त्यति व्यापक त छैन हगी, तर केही पत्रपत्रिकाहरू जुन बजारमा पाइन्छन्, नियमित रूपमा पढ्छु । यसकारणले पढ्ने गर्छु कि म विशेष गरेर नेपाली कथा विधाको धार अर्थात् प्याराडाइम कतातिर गइराखेको छ, त्यो सूचनासँग अलग हुन नसक्ने धारणा भएर । सँगसँगै अर्को काम के गर्छु भने जति पनि कथा सङ्ग्रहहरू प्रकाशित हुन्छन्, ती मैले किनेर ल्याएर घरमा राख्छु । तत्काल त पढ्ने होइन, क्यू मा राखेर समय आएपछि पढ्ने गरेको छु ।
मेरो सीमित अध्ययनको आधारमा भन्दाखेरि समसामयिक अन्य विधाहरूभन्दा आख्यान विधा, कथा र उपन्यासले यौटा राम्रो गति लिइरहेको छ । आधुनिक कालको सुरुवातमा लेखकहरुमा यथार्थवादको जुन चेतना थियो त्यसले करिबकरिब ३० वर्षजति प्राथमिकता पायो । त्यसपछि २०२० को दशकमा त्यसले अर्कै मोड लियो । विसङ्गतितर्फ त्यसले यौटा गति लिएर गयो । इतिहासका कालखण्डहरूमा जति पनि विभिन्न मोडहरू आए, विभिन्न धारहरू देखा परे, त्यो सबैको यौटा समष्टि रूप अहिलेको लेखनमा म पाउँछु ।
एकातिर सामाजिक यथार्थभित्र बसेर त्यसका अन्तर्यलाई पत्ता लगाउने र त्यसका आधारमा थिम खोजेर कथाहरू लेख्ने । त्यो यौटा परिपाटी र प्रवृत्ति छँदैछ । अर्कोतिर प्राय:जसो कथाकारहरूले जीवनको विसङ्गतिलाई पनि छाडेका छैनन् । कुनै न कुनै रूपमा जीवनका विसङ्गतिलाई चाहिँ टिपेकै पाइन्छ । त्यो एउटा सकारात्मक पक्ष हो । तर एउटा कुरा के भन्देखि मनोवैज्ञानिक पक्ष जुन हामीले भन्ने गर्दथ्यौं, जसको श्रेय हामीले विश्वेश्वर प्रसाद कोइराला अथवा भवानी भिक्षुलाई दिने गर्छौं, त्यो धारचाहिँ अलि कम भएको हो जस्तो लाग्छ ।
हुँदै नभएको त होइन तर अत्यन्त अल्प रूपमा देखिन्छ । आजका कथामा विशेष गरी जीवनका जटिलताहरू, मान्छेभित्र अमान्छेको विकास कसरी भैराखेको छ, यौटा सद्दे मान्छे पनि समय आएपछि पशु व्यवहार उसले कसरी शो गर्छ, बाध्यतावश होस् अथवा परिस्थितिको यौटा थिचावले गर्दाखेरि होस, प्रेसरले गर्दा होस्, यी सबै कुराहरू समसामयिक कथाहरूमा देखिन्छ । यसबाट बुझ्न सकिन्छ – नेपाली कथाको समकालीन धारा जुन छ, त्यो चाहिँ सन्तुष्टिपूर्ण नै छ ।
तर यो पछिल्लो समयमा लेखिएका कथाहरू जनजातिमूलक, सीमान्तमूलक, राजनीतिमूलक विचारधाराले थिचिएका हुनाले कथाको जुन गरिमा हो त्यो गहिराइमा नपुगेको हो कि भन्ने पनि चर्चा सुनिन्छ नि !
– निश्चित रूपमा । त्यो कमजोर पक्षहरू पनि छन्, नभएका होइनन् । जस्तो अब जबरजस्ती यौटा पक्ष लिएर, त्यो पक्षमा लागेर आफ्नो दुराग्रहहरू कथामा देखाउने । जस्तो कुनै माओवादी लेखक छ भने उसले माओवादी पक्षले जे गरेको थियो त्यो चाहिँ एकदम ठिक हो भनेर त्यसमा जोड दिएर कथाहरू लेख्ने । त्यस प्रकारको प्रवृत्ति पनि नभएको होइन ।
तर के भन्दाखेरी दसदस वर्षसम्म द्वन्द्व भयो । तर देशले के पायो त ! द्वन्द्व हुनु यौटा घटना होला । तर त्यो द्वन्द्वको परिणाम के भो त ? त्यो परिणाम नै मुख्य कुरो हुने हुनाले तटस्थ भएर कतै नलागी निष्पक्ष भएर कथा लेख्ने यौटा प्रवृत्ति हुनुपर्ने थियो, एउटा कथाकारको लेखन धर्ममा इमान्दारी हुनुपर्ने थियो, त्यसबाट अलिकति पछाडि हटेकै हो । र हामी जुन सीमान्तकृत भन्छौं, जनजाति भनेर भन्छौं यी चाहिँ जबरजस्ती लादिएका अहिलेका राजनीतिक बोझहरू हुन् क्या । त्यो बोझलाई बोकेर लेखिएका कथाहरू त बाँच्दैनन् । त्यो निश्चित रूपमा कुनै समयमा गएर त्यत्तिकै विलीन भएर जान्छन् ।
अनि नेपाली कथामा ३ वटा उपविधा देखिएको छ, यौटा सारसौंदो कथा भो, अर्को लामो कथा र लघुकथा । यी तीन वटा कुन अवस्थामा देख्नुहुन्छ ?
– लघुकथाको अहिलेको जुन परिपाटी देखिएको छ नि, यो त ऐँजेरु हो । अथवा बनमारा भन्छौं नि हामी । बनमाराले जुन अरू बनस्पतीहरूलाई पनि स्वाहा पार्छ । सञ्जालहरूमा मैले पढ्ने गरेका कथाहरू कि त जोक (ठट्टा) हुन्छन् । हँस्यौली, ठट्यौली हुन्छन् । बसिबियाँलो हुन्छन् । कि त बालकथा हुन्छन् । कि त यौटा कविताको यौटा अंश मात्रै हुन्छ । अब पहिलो कुरा त के भन्दाखेरि यो कथाको अर्को विधा लघुकथा होइन । कथाको यौटा अर्को रूप मात्रै हो ।
लामो कथा भन्नु पनि कथाको अर्को विधा होइन । त्यो सारसौंदो कथाको यौटा रूप मात्रै हो । लामा कथा भनौं, लघुकथा भनौं, छोटा कथा भनौं सप्पै यौटा कथा जुन छ हामीले सामान्य रूपमा मान्ने गरेको कथा सर्ट स्टोरी भनेर, त्यसैको चाहिँ एकेक वटा रूप मात्रै हुन् । बेग्लै विधा हुनको निमित्त कथाभित्रको जुन ब्लड हुन्छ, त्यो फरक हुन पर्यो । जस्तो कथामा पाइने रगत र कवितामा पाइने रगत फरक हुन्छ । कथामा पाइने रगत र निबन्धमा पाइने रगत फरक हुन्छ । कथामा पाइने रगत र नाटकमा पाइने रगतमा फरक हुन्छ । रगत फरक भयो भने मात्रै त्यो विधा हुन्छ । भनौं, कथामा कथावस्तु हुन्छ । पात्रहरू हुन्छन् । दृष्टिविन्दु हुन्छ । त्यसले दिन खोजेको यौटा चाहिँ सारवस्तु हुन्छ । थिम हुन्छ । खुम्च्यो भने त्यो लघुकथा हुन्छ, त्यल्लाई चाहिँ हामीले विस्तार गर्यौं भन्देखि लामोकथा बन्छ ।
तर अहिले चाहिँ यो लामोकथाको प्रचलन त्यति धेरै आइसकेको छैन हामीकहाँ जति हामी रसिएन लिटरेचरहरूमा पाउँदछौं अथवा अरू अङ्ग्रेजी भाषामा । त्यति राम्रो फस्टाउन सकेको छैन । तर जे जति छन् अहिले, ती चाहिँ क्वालिटीको हिसाबबाट अत्यन्त राम्रा छन् । अब जुन सामान्य कथाहरू छन्, अघि मैले भनिसकें, यौटा गति लिइराखेकै छ । त्यसले विश्राम लिएको छैन । मेरो बिचारमा यसले विश्राम लिंदैन पनि । किनभने यसमाथि चाहिँ हाम्रो समसामयिक देशको जुन अहिलेको राष्ट्रिय परिवेश छ, परिवेशका जुन नराम्रा नतिजाहरू देखिंदैछन्, यी जम्मैको रिफ्लेक्सन हामी यी कथामा पाउँछौं ।
अब रह्यो लघुकथाको कुरा, लघुकथाले चाहिँ विकृत रूप लिइराखेको छ । लघुकथा के हो भन्ने बुझेकै छैनन् । जोक लेखेर त लघुकथा हुँदैन । धेरैजसो भनौं न, सय वटामा ९८ वटा नै जोक हुन्छन् । जेलाई पनि लघुकथा भन्दिएको छ । यस किसिमबाट त के हुन्छ भने लघुकथा लेख्नेहरूको आदत बिग्रन्छ ।
अर्को यौटा कुरा शब्दमा जाऊँ, हामी कथा लेख्नेलाई कथाकार भन्छौं, निबन्ध लेख्नेलाई निबन्धकार भन्छौं, नाटक लेख्नेलाई नाटककार भन्छौं, अनि लघुकथा लेख्नेलाई लघुकथाकार भन्न थालेका छन् क्या । यसमा मेरो आपत्ति छ । लघुकथाकार भनेको के ? सानु कथाकार भनेको ? फुच्चे कथाकार भनेको ? पुड्के कथाकार भनेको ? अनि लामो कथा लेख्नेलाई लामो कथाकार भन्ने ? होइन नि त । लघुकथाका स्रष्टा भन्नु पर्छ । लघुकथाका सर्जक भन्नुपर्छ । लघुकथाका प्रतिभा भन्नु पर्छ । अनि त्यो न्याय हुन्छ क्या । उचित हुन्छ । नभए देखि बालकले कथा लेख्यो भने बाल कथाकार भन्छौं हामी । अब प्रौढ व्यक्तिले बाल कथा लेख्यो भने बाल कथाकार भन्ने त ! शब्दले धोका दिएको जस्तो हुन्छ । त्यसकारणले यस्तो व्यक्तिहरूलाई बालक छ भने बाल कथाकार भन्दिने, तर प्रौढ व्यक्ति छ भने बालकथाका सर्जक भन्दाखेरि त्यो चाहिँ उचित हुन्छ । यो मैले बारम्बार भन्ने गरेको छु । तर कसैले टेरपुच्छर लाएको देखिन ।
अहिले पछिल्लो समयमा कथा त्यति प्रयोगमूलक बाटोमा गाको छैन कि ?
– हैन, एकाध वटा जानु त अर्कै कुरा हो । मधुपर्कमा माघ महिनामा या फागुन महिनामा चाहिँ छापिएका कथाहरू हेर्नुस् न, कति राम्रा छन् । राम्राराम्रा कथाहरू पनि छन् क्या । अब नराम्रो भनेर भन्न सकिने चाहिँ कस्तो छ त भनेदेखि यो भनें नि, लघुकथा । लामो कथा चाहिँ थोरै भए पनि क्वान्टिटीमा कम छ तर क्वालिटीमा चाहिँ एकदम राम्रा राम्रा छन् । अब यसमा चाहिँ ध्रुव सापकोटाको लामो कथा छ । अनि गोविन्द गिरी प्रेरणाको लामो कथाहरूको सङ्ग्रह नै छ । यिनमा एक सय एक राम्रा राम्रा क्वालिटीका लामा कथाहरू छन् । राम्रो स्थिति देखिन्छ । तर कथाको यो रूपमा चाहिँ कलम चलाउनेहरू अत्यन्त कम छन् ।
अन्य विधाको तुलनामा कथा विधा चाहिँ कस्तो छ आजको समयमा ?
– अब मैले देखेको चाहिँ, अब मेरो अल्प ज्ञान पनि हुन सक्छ । हगी । कविता पढेर चाहिँ अहिले म सन्तुष्ट हुन सक्दै सकिन । पटक्कै । किनकिन मैले त्यसमा गहिराई नै भेटाउन सकिन । कवितामा जुन भावको यौटा सूक्ष्मता हुनुपर्ने हो, यौटा मानवीय समवेदना, संवेग इत्यादि चाहिँ प्रस्ट हुनुपर्ने हो, त्यो नभएर चाहिँ बाहिरबाहिर क्या, खाली बाहिरी कुराहरू मात्रै जोडजाम पारेर तुक जोड्यो अनि कविता भन्दिने । त्यसकारण अधिकांश त्यस्ता कविताहरू जसको चाहिँ अब भनौं न त्यसमा भित्री एउटा गहनता हुनुपर्ने हो त्यस्तो चाहिँ अब मेरो अल्पज्ञानमा मैले कमै पाएको छु र निबन्धले पनि त्यत्ति राम्रो गति लिएको छैन । त्यति राम्रो अवस्था छैन निबन्धको ।
अब समालोचना त म भन्छु मरिसक्या छ अहिले । छँदैछैन । मेरो पुस्तासम्मकोले अब कलम चलाउन छाडिहाले । उमेरको कारणले । अब नयाँ पुस्तामा म देख्छु, कस्तो प्रकारको समालोचना भने यो पत्रकारिताको यौटा शैलीमा क्या, आ हो गर्ने । त्यसमा भएका कमी कमजोरीहरूलाई पनि ढाकछोप गर्ने । यस्तो प्रकारको होहल्लाबाजीमा लागेर समालोचना लेख्ने यो प्रकारको एउटा परिपाटी एकदमै बढेर गइराखेको छ अहिले । अब यसको असर चाहिँ हामीले कहाँ परेको देख्छौं भनेदेखि जबजब पुस्तकको विमोचन हुन्छ नि, त्यहाँ हामी देख्छौं । विमोचन गर्नु भनेको प्रशंसा गर्नु भन्ने मात्रै लेखकले पनि बुझेको हुन्छ र त्यहाँ बोल्ने वक्ताहरूले पनि बुझेको हुन्छ जस्तो मलाई लाग्छ ।
त्यसैले अहिले चाहिँ अन्य विधाको तुलनामा कविता, निबन्ध, नाटकमा त खासै त्यस्तो ठोस काम अझै पनि हुन सकेको छैन । जब हाम्रो गोपालप्रसाद रिमाल, विजय मल्ल, गोविन्द गोठालेहरूले लेखेका थिए, त्यो बेलासम्म नेपाली नाटकको अवस्था निकै बलियो थियो । र पछि अशेष मल्ल र सरुभक्तहरूले पनि लेख्दासम्म अवस्था नराम्रो थिएन, एकदमै राम्रो थियो । बलियो थियो । अहिले चाहिँ उही मैले भनें नि पत्रकारिताको भाषामा पत्रकारिताको शैलीमा लेखिने हुनाले त्यस्ता नाटकहरू, त्यस्ता रचनाहरू बाँच्दैनन् । त्यो समय सँगसँगै बिलाएर जान्छ, जान्छ । त्यसैले अब तुलनात्मक रूपले हेर्दा अन्य विधाको सापेक्षमा हेर्दाखेरि यो आख्यानमा कथाले पनि उपन्यासले पनि निकै राम्रो गति लिएको मेरो अध्ययनमा पाएको छु ।
अनि यो विभिन्न विधाहरू आएको छ नि ! रम्बास ! एक लाइनको कविता, बाछिटा आदि !
– यो सप्पै चाहिँ हामी बढी बुज्रुक भयौं क्या । अघि मैले भनें नि । अणु कथा रे । माइक्रो कथा रे । यो सप्पै हामीले आफैंले दिमागबाट क्रियट गरेका जम्मै परिणामहरू हुन् । अब जुन कुरो छ त्यल्लाई मात्र स्विकार्ने हो भन्नाले नयाँ कुरा स्वीकार नगर्ने भन्ने होइन । तर त्यो औचित्यपूर्ण हुनुपर्यो नि । कुनै औचित्य नै छैन । आफूलाई जे मन लाग्यो त्यो नाम दिएको छ । जस्तो सूत्रकथा भनियो नि । अब सूत्र कथा त मेरो विचारमा हुँदै हुँदैन । किनभने त्यसमा कथाको जुन अन्ट्रोलोजी हुन्छ स्ट्रेचर र टेक्स्चर भनेर, त्यो कुरा नै नभएपछि त त्यो कसरी कथा भयो । अब हाइकु कथा रे । हाइकु त कविता विधाको यौटा पार्ट पो हो त । हाइकु कथा भनेर त त्यो के भने जस्तो, यौटा स्वाङ जस्तो, यौटा आडम्बरजस्तो, यौटा पाखण्डजस्तो । यस्तो किसिमबाट यो नराम्रो ट्याकमा गइराखेको छ क्या । बडो दुःखलाग्दो कुरा ।
अहिले विभिन्न विधा उपविधाहरू जन्मिएका छन् र तिनका प्रशिक्षकहरू पनि देखा परेका छन् । तिनमा शब्द र अक्षरको गन्ती हुने तर साहित्यिक महत्त्व नहुने चर्चा पनि हुने गरेको छ, तपाईंको यसमा के धारणा छ ?
– यौटै मात्र उदाहरण लिऊँ न ! अहिले जुन पोयट आइडल भनिन्छ नि, त्यल्लाई त मैले विल्कुलै, एकदमै नकारात्मक भन्छु यसलाई । यस्तो साहित्य भन्ने कुरा पनि बिक्री गर्ने कुरा हो र ! यसको जुन यौटा शाश्वत मूल्य छ नि त्यसको मूल्यमाथि प्रहार भैरहेको छ । यो मात्र यौटा उदाहरण होइन कि अरू पनि जस्तो खास गरिकन अहिले लघुकथाका निम्ति भनेर विभिन्न सामाजिक मञ्चहरू यहाँदेखि सिक्किमसम्म नेपाल बाहिरसम्म हामी देख्छौं, अब यल्लाई चाहिँ राम्रोसँग सञ्चालन गर्ने हो र सञ्चालकहरू र प्रशिक्षकहरू राम्रै हुने हो भने यसले राम्रै परिणाम देला, सकारात्मक परिणाम देला तर दिन्छ भन्ने मलाई लाग्दैन ।
जाँदाजाँदै बाँकी कुरा …?
– धन्यवाद पाठकलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।