फ्रान्सेली साहित्यकार एवं समालोचक अनातोले फ्रान्स १६ अप्रिल १८४४ मा राजधानी प्यारिसमा जन्मेका थिए। उनको खास नाउँ ज्याक्स अनातोले थिबल्ट हो। उनले प्यारिसको स्टानिस्लास कलेजमा शिक्षा प्राप्त गरेका थिए। बिस वर्षको उमेरसम्म उनले विभिन्न सानातिना काम गरे। फ्रान्सको सिनेटमा सन् १८७६ देखि १८९० सम्म सहायक पुस्तकालय प्रमुख भएर काम गर्दा लेखपढ गर्न उनले पर्याप्त समय पाउँथे। उनका पिता प्यारिसका एक प्रसिद्ध पुस्तक विक्रेता भएकाले उनलाई पढ्ने पुस्तकको खाँचो हुँदैनथ्यो। उनी एउटा प्रकाशकको सम्पर्कमा आएपछि उनले पुस्तकका भूमिका लेख्ने काम पाए। भूमिका लेखन र पत्रपत्रिकामा साहित्यिक समीक्षा लेख्ने कामबाट नै उनको साहित्यिक जीवन सुरु भयो। सन् १८७७ मा उनको विवाह भयो ।
सन् १८७९ मा उनको पहिलो कथा सङ्ग्रह जोकास्ते ए ल चा मैगर (Jocaste et la chat Maigre) प्रकाशित भयो । साहित्यकार लेकन्ते द लिस्लेसँग साहित्यिक विवाद भएपछि सन् १८९१ मा उनले आफ्नो सहायक पुस्तकालय प्रमुखको पद गुमाउनु पर्यो । मादाम द केलाभटसँग साहित्यिक मत मिलेकाले अनातोले उनको प्रेममा फँसे । त्यसपछि सन् १८८३ मा उनले आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरे । सन् १८९६ मा उनी फ्रान्सेली प्रज्ञा प्रतिष्ठानमा सदस्य नियुक्त भए ।
उन्नाइसौं शताब्दीको अन्त्यतिर अनातोले फ्रान्सद्वारा प्रतिपादित साहित्यिक विचारधारा नवशास्त्रीयतावादी धारा नाउँले परिचित भयो । मुख्यतः उनी उपन्यासकार र कथाकारको रूपमा परिचित छन्, तरपनि उनले नलेखेको कुनै विषय छैन भन्दा पनि हुन्छ । उनी फ्रान्सेली शास्त्रीयता (French classicism) को मूल प्रवाहका लेखक हुन् भनिन्छ । उनको शैली भोल्तेअर र अठारौँ शताब्दीको फ्रान्सेली परम्परा अर्थात् सहरी वातावरणबाट सिर्जित अविश्वास र मानवीय सुखानुभूतिलाई नै जीवनको उपलब्धि मान्ने बौद्धिक उपदेशवादमा आधारित छ। उनको यो शैली उनका प्रायः सबै सिर्जनामा देखिन्छ ।
उनका रचनामा साम्यवादी विचारको छनक पाइने हुनाले सुरुमा उनका कृत्तिले पुस्तकालयमा समेत प्रवेश पाउँदैनथे। सन् १९२१ को नोबेल पुरस्कार प्राप्त गरेपछि उनको प्रसिद्धि बढेर गयो । उनी युद्ध विरोधी थिए र युद्धको प्रवृत्तिलाई उनी घोर निन्दा गर्दथे ।। उनका कृति प्रायः व्यङ्ग्यात्मक, आत्मवादी र नास्तिक हुन्छन् । निम्नलिखित उनका अन्य महत्त्वपूर्ण कृत्ति हुन् ।-
१. ल काइम द सील्भेस्तर बोनार (Le Crime de Sysvestre Bonnard, 1881), २ पर्नासियम ल लिभर द मून आमी (Parnassiam Le Livre de moon ami, 1885), ३. ले ओपिनिअस द जेरोम कोइगनार (Les opinious de Jereme coignard, 1893), ४. कथा सङ्ग्रह-बल्यासर (Balthasar, 1889), ५. बाइस (Thais, 1890) र ६ डेफस काण्ड (The Dreyfus Case, 1896) |
फ्रान्सले रुसमा भएको १९१७ को अक्टोबर कान्तिलाई समर्थन गरेको थियो। सन् १९२० मा गठन भएको फ्रान्सेली कम्युनिस्ट पार्टीलाई अनातोले फ्रान्सको समर्थन थियो ।
१२ अक्टोबर १९२४ मा ८० वर्षको उमेरमा फ्रान्सको टुअर्स भन्ने ठाउँमा अनातोले फ्रान्सको मृत्यु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।