पीडा

 

झारहरू

मनको जङ्गलमा फैलिएपछि

मनको रूख

कसरी सग्लाउन सक्छ ?

‍‍‍= = =

स्वास्नी

 

म तिम्रो लागि

कहिले माकुराको जालो बनिदिन्छु

जुन क्षण पनि

तिमी मलाई च्यात्न सक्छौ

कहिले म तिम्रो लागि

फलामे जाल बनिदिन्छु

कुनै पनि क्षण

तिमी त्यसभित्र अल्झिन सक्छौ

कहिले म तिम्रा लागि

एक जटिल प्रश्न भइदिन्छु

जसको उत्तर

तिमीले जीवनभर प्राप्त गर्न सक्तैनौ ।

= = =

एक्ली वृद्धा

 

एक्ली वृद्धा

यात्रा गर्दै थिई जङ्गलको संसारमा

रित्ता गाग्री थिए उसका हातहरू

नाङ्गो डाँडो थियो उसको तन

शून्य बस्ती थियो उसको अनुहार

बर्सातले ढलेको रुख थियो उसको मन

भाँच्चिएको कुर्सी थियो उसका खुट्टा

खडेरी भूमि थियो उसका ओठ

जलसरोवर थियो उसका आँखा

हुरीको हुन्डरी थियो उसको पेट ।

 

जङ्गलमा थिए

हरिया अनगिन्ती रुखहरू

फक्रेका थुप्रै–थुप्रै बोटहरू

रङ्गीचङ्गी लहराहरू

सम्पन्नताका भीडहरू,

तर वृद्धाका कोही थिएनन्

आफ्नो भन्ने

मात्र ऊ स्वयम् थिई आफ्नो लागि

मात्र, उसको आफ्नो पीडाको पहाड थियो