जीवन सिकाइके पुञ्ज हो । सिकाइ व्यक्तिको व्यवहारमा आउने परिवर्तन हो । सुनेका कुरामा घत लागेमा त्यसलाई व्यवहारमा  उतार्न सकिन्छ । सिकाइ कण्ठ गर्नु र घोक्नु होइन । कोबुनका अनुसार मानिसले अरुका कुरा सुनेर सम्पूर्ण सिकाइको १३ प्रतिशत सिक्छ । बुझेर बोल्न गमेर सुन्नुपर्छ ।

मानिसमा सिक्ने क्षमता फरक फरक हुन्छ । सिकाइ आफ्नै प्रयत्नमा निर्भर रहन्छ र एउटाको सिकाइ अर्कासँग मिल्दैन ।  । सुनेको सिकाइ व्यावहारिक हुन्छ । सुनाइले व्यक्तिलाई सक्रिय बनाउँछ र स्वयम् सिकाइ उत्प्रेरित हुन्छ । सुनेका कुरा स्मरणमा रहन्छन् । स्मरण त्रुटिरहित  व्यवहारको साधन हो ।

सिकाइमा ज्ञान मस्तिष्कसित, सिप हातसित र भावना हृदय वा मनसित सम्बन्धित हुन्छ । मस्तिष्क, हात र मन जोडिएमा सिकाइ पूर्ण बन्छ ।  सिकाइमा मानिसका नाक, कान, छाला, जिब्रो, हात, खुट्टा, औँला, आँखा, मस्तिष्क प्रयोग हुन्छन् । अरूका कुरा सुन्दा कान र मस्तिष्क सक्रिय हुन्छ  र सिकेका कुरा पनि दीर्घकालीन हुन्छन् । कुरा सुन्दा मानिस ध्यानी बन्छ । एकाग्रताले सिकाइमा सहयोग गर्छ ।

सुनेका कुराले  व्यक्तिमा उत्प्रेरणा, रुचि, सहभागिता, शैली तथा प्रतिस्पर्धा भाव विकास गर्छ । विकास भइसकेको निष्ठा नछोड्नु र सन्मार्गमा हिँड्नु सुनाइको  सही प्रयोग हो । मनबाहिरको चर्चाको महत्त्व कम हुन्छ, त्यसको चर्चा नगरे पनि हुन्छ । मस्तष्क र मनले जे भन्छ मानिसले त्यही गर्छ । मनलाई भलाइ र सकारात्मक सोचतिर केन्द्रित गर्न सके मानिसले  परोपकार र सेवाको साथ लिन्छ । सत्सङमा जानु ठुलो कुरा होइन, विचार सुनेर पालना गर्नु नैतिक उचाइ हो । मानव जीवनका हरेक परिवेश क्षणिक हुन्छन् । असल र खराब क्षण लुकामारी खेलिरहन्छन् । जीवन असल भए दृष्टि असल हुन्छ । दृष्टि खराब भए असल जीवनको खोज गर्नुपर्छ । खोजले मनलाई  शान्त बनाउँछ र बुझाइलाई व्यवहारमा उतार्छ ।

प्रत्येक मानिस, जीवजन्तु, नदी  र पहाडको आकार र स्वरूप भिन्न हुन्छ । उउटै रूखका सबै पात समान हुँदैनन् । एउटै परिवारका सबैको सोच समान हुँदैन । जमिन उबडखाबड भए सडक सिधा हुँदैन, मोड आइरहन्छन् । जिन्दगी पनि भोगाइको सडक हो, सोझो मात्र हुँदैन, सुखदुःखका मोड आइरहन्छन् । हामी समय भेग्छौँ, समय परिवर्तनशील छ । आजको खराब समय भोलि असल बन्न सक्छ । भित्तामा झुन्डिने  भित्तेपात्रोले दिन, महिना, ऋतु परिवर्तन गरिरहन्छ तर कुनै दिन यस्तो आउँछ जसले भित्तेपात्रो परिवर्तन गर्छ । भित्तामा नयाँ भित्तेपात्रो झुन्ड्याउने दिन भित्तेपात्रोभन्दा शक्तिशाली हुन्छ । मानिसले आफ्नो जीवनमा असल समय र शक्तिशाली दिन पक्रन सक्नुपर्छ ।

मानिसले बोल्नुपूर्व हाँस्न र रुन सिकेको हो ।  हाँस्नु र रुनु भावनासँग जोडिएको हुन्छ । धेरै मानिस दुःखमा रुन्छन् र सुखमा हाँस्छन् । जीवन बुझेको मानिस दुःख र पीडामा भन्दा खुसीमा रुन्छ । पीडाको रुवाइ  गहिरिँदै जान्छ र त्यसले मर्ममा चोट लाउँछ । खुसीको रुवाइले क्षितिजको सूर्य देखाउँछ । मनको फाँट र सोचको बयेली देखाउँछ । मानिसमा संवेग हुन्छ । रिस, खुसी हरबखत आइरहन्छन् । रिस उठ्दा चिच्याउन त्यति ऊर्जा चाहिँदैन तर रिस उठेका बेला मौन बस्न धेरै शक्ति खर्च गर्नुपर्छ । रिसको जरो उखेल्न सके सञ्चित ऊर्जाको पुनरुत्पादन हुन्छ । रिसको जरो उखेल्ने सिकाइले मानिसलाई खुसीको पहाड उक्लन सिकाउँछ । खुसीको उत्सवमा मानिसको भिड लाग्छ तर आवाजको सन्त्रास हुन्छ ।  पीडाको तमासामा पीडित रोइरन्छ तर आवाज शून्यतामा बिलाउँछ । शून्यको मोल एकको भन्दा बढी हुन्छ तर मनमा अहङ्कार भएको मानिसका आँखाले एक मात्र देख्छ । सय, हजार करोड बनाउने सामर्थ्य शून्यमा छ भन्ने कुरा उसको उपयोगितावादी सोचले कहिल्यै देख्दैन । ब्रह्माण्ड शून्यमा  केन्द्रित छ तर मानिसले शून्यको अस्तित्व बुझेको छैन ।

सिद्धान्त र व्यवहार दुवैमा कसैले कसैलाई खराब बन्नुपर्छ भन्दैन र यस्तो विद्या सिकाउँदैन । हामी असल संसार र सौन्दर्यकै कुरा गर्छौँ । सुन्दरता अद्वितीय हुन्छ त्यसैले यसको तुलना आवश्यक छैन । एकल वस्तु सधैँ सुन्दर हुन्छ, तुलना खराब सोचको उद्गम हो । सबै बच्चा सुन्दर हुन्छन् र समय क्रममा बलियो शरीर पनि प्राप्त हुन्छ । बिरुवा सुन्दर हुन्छ र फलफूल लिन्छ ।  बुढो रूख कुनै दिन आफैँ ढल्छ, मानव शरीर ढल्छ, ह्रिंसक जन्तु ढल्छ । पद, शक्ति पनि ढल्छ तर असल गुण कहिल्यै ढल्दैन, बढिरहन्छ । असल बन्ने कुरा सिक्नेहरू पनि कहिल्यै ढल्दैनन्, बरु समयको गतिसँगै बढिरहन्छन् । सुन्दर शिशु वा कलकलाउँदो बिरुवा विश्वास हो जुन जमिनमा होइन मानिसका सहृदयी मनमा उम्रन्छ र आफैँलाई हेर्ने दृष्टिमा हुर्कन्छ । सहृदयीले खराबलाई एकान्तमा सुझाव दिएर इज्जतसाथ सुधार्छन्, कृतघ्नले  समूहमा अरुलाई सुझाव दिएर आफू महान् बन्न खोज्छन् । कृत्रिम महानता बतासको झोक्का हो जसले वृक्ष ढालेर आफू  पहाडमा ठोक्किन पुग्छ ।  हाम्रा नयाँ पुस्तालाई इज्जत र बेइज्जतको पाठ सुनाएर परियोजना गराउनु आवश्यक देखिन्छ ।

मानिसको सम्बन्ध बिजुलीको तारजस्तै हो । जोड्न जानेमा जीवन उज्यालो हुन्छ । जोड्न नजानेमा घर र जीवनमा आगो लाग्न सक्छ । आगो लाग्न नदिन तार र स्विचको गुणस्तर उच्च हुनुपर्छ । सद्‍विचार र सत्कर्म जीवनका गुणस्तर सूचक हुन् । जीवन गुणस्तरीय बनाउन मानिसले सहयोग लिन्छ, ऋण लिन्छ । ऋणले तनाव सिर्जना गर्छ । तनावले मानिसको बाटामा काँडा बिच्छ्याउँछ । उसका आँखा तिर्मिराउँछन् । आँखा धमिला नहुँदै बाटो देख्नेले ऋण तिर्ने वा ऋण नै नलिने सोच बनाउँछन् । ऋण तिर्नुपर्ला भन्ने सोचले मानिसले विवेक गुमाउँछ  । विवेक गुमेका मानिसले जीवन सोच गुमाउँछन्, जीवन गुमाउँछन् । जीवन गुमाउने भन्दा जीवन बनाउने सिकाइ सुनेका कुराबाट सम्भव छ । उज्यालो सोच लिनेले जीवनलाई बोझका रूपमा लिँदैन । हाम्रो हात, आँखा, मुख जस्तो भए पनि चित्त बुझ्छ, आफ्नो पनि अर्काको हात, आँखा, मुख जस्तै  हुनुपर्‍यो भन्ने सोच आउँदैन । धनसम्पत्ति र सुविधा चाहिँ अरुको जस्तै वा त्यसभन्दा बढी चाहिन्छ । आफ्ना चाहना र सोचले नै मानिसले जीवनमा बोझ थप्छ । आफूमा चित्त बुझाउन नसक्नु पीडाको कारक हो । मानिस स्वयम्ले जीवनलाई सार्थक वा निरर्थक बनाउन सक्छ । शरीरलाई व्यायाम आवश्यक छ, मस्तिष्कलाई अध्ययन आवश्यक छ । मस्तिष्कका लागि अध्ययन पोषण हो । कुपोषण लाग्न नदिनु बुद्धिमानी हुन्छ ।  सिकारुको पाठ्यक्रममा सिकाइको यो अध्याय हुनु आवश्यक छ ।

मानिस  दुःखमा चिन्तित हुन्छ तर सधैँ सुखका पछि दौडन्छ । दिनरात सुखको खोजीमा दौडेर समय कटाउनु नै मानिसको कर्तव्य बनेको छ । ऊ सधैँ सुखको खोजमा भौँतारिन्छ । सम्पत्ति र सन्तानका लागि मरिमेट्छ । सम्पत्ति र सन्तान दुःखका कारण पनि हुन् भन्ने कहिल्यै बुझ्दैन । सन्तान भएर पनि सुख वा सफलता प्राप्त गर्न नसक्नु महा दुःख हो  र सन्तानले सफलता प्राप्त गरेपछि बाबुआमाका आँखामा पीडा छल्किनु जीवनको असुन्दर क्षण हो भन्ने कुरा मानिसले कसैबाट सुनेकै छैन । सुन्न असल संस्कार पनि चाहिन्छ । कसका कुरा कसरी सिकेर प्रयोग गर्ने भन्ने कुरा वैयक्तिक भए पनि यसमा परिवार र समाजको मार्गदर्शन हुन्छ । असल संस्कारले विनय, धैर्य र सहिष्णुता सिकाउँछ र सभ्य, परिश्रमी र चरित्रवान् बनाउँछ । अनुशासित, व्यावहारिक र श्रमशील बन्न लक्ष्यमा अडिक रहनुपर्छ । जरा बलियो भएको पिपल ढुङ्गाको कापमा हरियो हुन्छ । जरुवा मूल नभएको नदी वर्षा रोकिनासाथ निस्तेज हुन्छ । संस्कार वर्षे भेलजस्तो होइन । असल संस्कारले त समस्या छेउ लाउन, परिवेश बुझेर लचक वा कडा बन्न, शिष्ट र शालीन सम्मान गर्न तथा आफ्नो परिचयमा मिलनसारिता थप्न सक्छ । तिन पुस्ते संवाद, समानताका कथा भएका पुस्तक र मैत्री व्यवहारले असल यात्राको प्रारम्भ गर्छ । जान्नेका कुरा सुनेर सिक्ने  मानिसले सुनेका कुराको सार्थकता बुझ्छ । यस्ता कुरा सुनेका व्यक्तिको सम्मान आवश्यक छ ।

मानिसले असल बन्न अरूका असल कुरा सुन्नुपर्छ । असल कुरा स्वीकार्य व्यवहारका आधार हुन् ।  म स्वीकार्य चेतनाको प्रयोग चाहन्छु ।