हिजो आफू बाँचेको समयको अभिलेख हो संस्मरण । हिजोको परिवेश,पात्र,भोगाई र सङ्घर्षको कथा हो संस्मरण । भनौँ हिजोको कुनै पनि कालखण्डको अनौपचारिक अभिलेख हो । साहित्यको सन्दर्भमा संस्मरण भन्नाले कुनै पनि व्यक्ति, घटना, दृश्य र वस्तुका सन्दर्भमा आत्मीय रूपले सम्झना गर्दै विवेचनात्मक रूपमा सिर्जना गरिएको साहित्यलाई संस्मरण भन्न सकिन्छ । संस्मरण निबन्धात्मक शैलीमा लेखिएको गद्य साहित्य जसमा लेखकले आफ्ना जीवनका विभिन्न अविस्मरणीय घटनाहरू सँगालेको हुन्छ ।
राजेश खनालले घुरको धुवाँमा मधेस विशेष केन्द्रित रहेर मधेसको सांस्कृतिक मौलिकता र विशेषतालाई मज्जैले उजागर गरेका छन् । उनले मधेस वरपरको पर्यावरण, भाषा, दैनिकी, परिवेश आदिलाई आफ्ना संस्मरणहरूमार्फत पाठकसामु ल्याएका छन् । मधेस वरपरका विभिन्न अभिलक्षणहरू जस्तै त्यहाँको भूगोल, दैनिकी, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था, त्यहाँका मान्छेका मनोभावहरू, भाषा, सौन्दर्यहरूको विशिष्टताबाट प्रभावित भएर उनले आफ्ना संस्मरणहरू लेखेका छन् । स्थानीय रङ्गको मज्जाको चित्रकारिता उनका संस्मरणको विशेषता लाग्छ । मूलधारको साहित्यमा मधेस केन्द्रित संस्मरणहरू समेटिनु उल्लेख्य कुरा हो । यसमा मधेसका विषयहरू समावेश गरिएका छन् । मधेसका मुद्दाहरू उठान गरिएका छन् । मधेसका पीडा र आर्तनाद झल्केका छन् । आञ्चालिक देखिन्छ संस्मरण ।
राजेश जुन माटोमा हुर्के,खेले,त्यही माटोको बारेमा लेखेका छन् । संस्मरण गहन छ । सटिक छ । मधेसका विविध रूपको वर्णन छ । त्यहाँका राम्रा र सकारात्मक पक्षहरूको उजागर छ । जटिलताको फेहरिस्त छ । पढ्दा मधेसका समस्याहरूको गहिराइलाई राजेशले मज्जैले नापेको भान पर्छ । मधेसको सामाजिक जीवनको फेहरिस्त लाग्छन् संस्मरणहरू । त्यहाँका दुरावस्थाहरू र तिनका विदीर्ण रूपहरू चित्रित गरिएको छ । गज्जब कुरा त यो छ कि संस्मरणहरूमा मधेसवासी पहाडियाहरूको कुराहरू पनि मज्जैले कोरिएको छ । त्यहाँको भाषा र संस्कृति मार्फत सभ्यतालाई चिनाउन खोजिएको छ । नेपालको दोस्रो ठुलो भाषा मैथिलीको यस पुस्तकमा मनग्यै प्रयोग गरिएको छ । मधेसको चारैतिरको हावामा राजेशले अलौकिक सुवास छरिएको अनुभूति यस कृतिमा पोखेका छन् । मधेसको रूपको बखान गरेका छन् । त्यहाँको भाषिक मिठासमा पाइने सङ्गीतमय शब्द वाणीहरू प्रयोग गरेका छन् । उनको ह्रदयमा बलेको तराईको अक्षय दीपलाई प्रज्वलित पार्ने कार्य भएको छ । त्यहाँको अलौकिक र अनुपम सौन्दर्यको उपासकको रूपमा राजेशले आफूलाई उभ्याएका छन् ।
मधेस र मधेसमा रहेका पहाडी जनता समेतका विवशता,तिनका जनजीवनका दुःखहरू समाहित भएर पुस्तक आएको छ । जसमा खनालको भावनाहरू पनि प्रतिबिम्बित भएका छन् । समयको गतिसँगै मधेसमा आएका परिवर्तनका साक्षी उनमा लेखनको अङ्कुर मज्जैले पलाएको देखिन्छ । तराई जनजीवनको उतारचढाव, व्यथा, त्यहाँको मौलिकता, अनेकानेक सन्दर्भसँगका आफ्ना विविधानुभूति अभिव्यक्त भएर आएको छ पुस्तक । भन्न सक्छु म त्यहाँको कठोर सत्यको प्रकटीकरण भएको छ । त्यहाँका सांस्कृतिक चेतनाका पक्षहरू आम पाठकसामु पुर्याउने उनको प्रयास निश्चय नै सह्रानीय छ ।
रोचक शैली र प्रस्तुतिले पुस्तक पढूँ पढूँ लाग्ने बनेको छ । आफ्ना भोगाइ र अनुभूति, मनको आँखाले खिचेका दृश्यहरू कुनै छलछाम नगरी इमानदार भएर अक्षरमार्फत पोखिएको छ । लेखाइमा काव्यिक चेत समेत घुलाइएको यो संस्मरण राजेश खनालका भोगाइका निजत्व लाग्छन् ।
पहिलो संस्मरण डिबियाको उज्यालोमा आफ्नो पुस्तक सङ्कलन गर्ने आदत रहेको,सुर्तीको लागिसकेको अम्बल छुटेर पुस्तक पढ्ने अम्बल कसरी बस्यो भन्ने मीठो ढङ्गको आफ्नो भोगाइ पस्केका लेखकले हिजो पुस्तकको खोजीमा पुस्तकालयहरू चहार्दै गरेको वृत्तान्त पनि यहाँ राखेका छन् । हिजो विद्युतीकरण नभएको बेला ओखतीका सिसीको बिर्कोमा प्वाल पारेर मट्टितेल हाली कपडाको सलेदोको डिबिया बालेर कैयन पुस्तकहरू पढेको कुरा उल्लेख गरेका छन् । यसले हामी जो कोहीलाई आफ्नो विगततर्फ नोस्टाल्जिक बनाउन सक्छ ।
सीता बिँडी खाइरहेकी छिन् भन्ने संस्मरणमा रामलीलाको वर्णन छ । यसमा रामलीलाको बारेमा जानकारी पाउन सकिन्छ । सिराहाको देहात,भलुवाहीको उति बेलाको सचित्र वर्णन सुन्दर मामाका सुन्दर स्मृति⁄ मा गरिएको छ । त्यसमा दसैँ र त्यसको अवसरमा गरिएको सांस्कृतिक कार्यक्रमको रोचक वर्णन यसमा छ । उति बेलाको रङ्गमञ्च,गीत,वाद्यवादन लगायतका कुराहरूको पाठकलाई जानकारी दिइएको छ । सुन्दरमणि मामाको कलाप्रतिको अगाध प्रेम र उनैको सङ्गतले पछि काठमाडौँमा पनि रङ्गमञ्चमा स्थान पाएका उनका चेलाहरूको चर्चा गरी सुन्दर मामालाई स्मरण गरिएको छ । दुई दशक अघिको विभिन्न कुराहरूले नोस्टाल्जिया बनेका खनाल रेल चढेर चलचित्र हेर्न गएको प्रसङ्ग छ न्यारोगेज नोस्टाल्जिया मा । जनकपूर स्टेसनको भीड,पत्रिका पसलका भित्तामा टाँसिएका हिन्दी सरिता, मनोहर कहानियाँ, सत्यकथा लगायतका पत्रिकाहरू,चिया पकाउँदै गरेका कोइलाले फालेको धूवाँ,रेल्वेका कर्मचारीको कुटाई,खजुरीको हाइस्कूल,त्यहाँको प्याजी पकौडा,विना टिकट गरिएको रेल यात्रा लगायतका विभिन्न प्रसङ्गहरूको रोचक वर्णन यसमा गरिएको छ ।
सबैको सहरमुखी हुने र गाउँ भुल्ने प्रवृत्ति बढेकोमा चिन्ता पोख्दै मावली गाउँ भलुवाहीको हिजोको वातावरण खोज्ने राजेश तिर्सनामा सुकेको रोटीमा दसैँको टीकाको दिन मञ्चन गरिएको सुकेको रोटी नाटकसँगै तिनका पात्र,छनोटमा आइपरेका कठिनाइ,पात्रहरूको वस्त्र र परिवेशलाई स्मरण गरेका छन् । उति वेलाको नाट्य क्षेत्रमा लाग्न मनमा आएको हुटहुटी,नाटक मञ्चन हुने थाहा पाएपछि जहाँ पनि पुग्ने गरेको प्रसङ्ग,राजधानीमा भेटिएका उति वेलाका जनकपूरे साथीसँगको पुराना स्मृतिका पल्टाइएका छन् पानाहरू विस्मृतिको गर्तमा छोपिएको स्मृतिमा । शीर्षक संस्मरण घुरको धुवाँ ससुराली गाउँमा हिजोको संस्कृतिलाई स्मरण गरिएको छ । जहाँ घुरको धुवाँसँगै जहिल्यै अभ्यस्त हुन्थे राजेश । उति वेलाको गोवरका गुइँठा,दाउरा आदि बाल्ने गजबको चलन र यसले पारेको आर्थिक व्ययभारमाथिको सहजताको संस्कृतिलाई बडो रोचक ढङ्गले स्मरण गरिएको छ । धनी गरिब समान देखिने संस्कृति हो धुरीबाट निस्कने धुवाँ भन्दै उनले उति वेलाको मधेसी समाजको दैनिकी यहाँ चित्रण गरेका छन् ।
टिकुला सङ्कलन गर्न ढक्की सहित गएका हुलका हुल मान्छेहरूको दौडको प्रसङ्ग कोट्याउँदै अन्धडको टिकुलामा मधेसमा चैत वैशाखतिर चल्ने ठुलो हावाहुरी,बिजुलीको चमक,दर्के झरीमा भिज्नुको अनुभूतिलाई बडो मजेदार ढङ्गले प्रस्तुत गरिएको छ । आँपघारीबाट भर्रर झरेका काँचा आँपका टिकुला टिप्ने हानथापको रोचक कथा छ यहाँ । हजुरमाले हालेको आँपको अचार,पाकेका स्वादिला आँपको कोया समेत चुस्दाको रमाइलो स्मरण गरिएको छ ।
कोरोना कहरको बेलाको लकडाउनको दैनिकीलाई दुई दशकअघिको समयसँग जोडिएको छ त्यो शुक्रवारे लकडाउनमा । उति वेला काँच्चै खाएको विभिन्न जातका आँपलाई कोरोनासँग तुलना गरिएको छ बार्दलीमा थुनिनुपर्दा । मावली गाउँप्रतिको बिछट्टै माया पोखिएको छ ‘भलुवाहीदेखि भलुवाहीसम्म’ मा । कार्तिके चिसोयामको ठन्डी,बिजुलीबिनाको मइन्टोलको उज्यालोमा गरिने गरेका विभिन्न सांस्कृतिक कार्यक्रमहरू, नाटकलाई उनले सानैदेखि नियालेका छन् । उति वेलाका थुप्रैको सम्झना गरेका छन् । भोरहरवी भजनको शोले सनक मा मावाल बस्दा आवाजहरूको कोलाजमा साँझ र बिहान गायत्री मन्त्र,हनुमान चालिसा,भजन,र मस्जिदको प्रार्थनाले मन तरङ्गित हुने बानी परेका खनाल हजुरआमाको दन्त्यकथा रमाउँथे । हजुरबाको श्लोकादीमा ब्युँझन्थे। उति वेलाको चर्चित हिन्दी चलचित्र शोलेको रापको चर्चा पनि यसमा गरेका छन् ।
खटिया जोडेर बनाइएको मञ्च,मैन्टुलको उज्यालोमा रेश्मा बाईले प्रस्तुत गरेको नाचले सबैको मनमा हलचल ल्याएको,दर्शकदीर्घाबाट नोट छातीमा हालिदिँदा बाईले मधुर मुस्कानका साथ गरेको सुक्रिया अदा,मेलाको रौनक, भलुवाहीको नौटङ्की, आशाबाई र मीनाबाईका नृत्य,रामलीला, कब्बाली नृत्य लगायतको कौतूहल जगाउने कथाले भरिएको छ बाईजी नाचको झड्का ।
नेपालका पहिला शल्यचिकित्सक प्रा.डा. अञ्जनीकुमार शर्माप्रति गर्व गरेका छन् राजेशले । शर्मा उनका मामा भएको जानकारी दिएका छन् । बुढ्यौली उमेरमा पनि आफ्नो थातथलोमा स्वास्थ्य शिविर सञ्चालन गरेर शर्माले माटोप्रतिको कर्तव्य पूरा गरेकोमा गौरबबोध गरिएको छ, जन्मभूमिमा अन्तिम शिविरमा । यसमा मामासँगका विभिन्न प्रसङ्गहरू समेत परेका छन् ।
उति वेला पैसाको अभावको कथा हो तिर्न नसकेको त्यो पाँच रुपैयाँ । आर्थिक अभावका कहरहरूमा कसरी सिनेमा हेरिन्थ्यो,खाजा कस्तो खाइन्थ्यो भन्ने दृष्टान्तहरू यसमा परेका छन् । रामायणका विभिन्न काण्डहरूमा आधारित भएर हनुमान,राम लगायतका पात्रहरूका पहिरन र मुखौटा लाएर नौटङ्की गरिएका कुराहरूको वानर बनेर उफ्रिँदा⁄ रोचक फेहरिस्त हो ।
भोकमा बुजो लाउन प्याजको चहकिलो कचरी र आलुचपसँग मुरही खाएको रमाइलो प्रसङ्ग सहित अघिल्लो माघमा महोत्तरीको यात्रा नाप्दाका क्रमका मिठा पलका अनुभूतिहरू छरिएको पाइन्छ मुरही कचरीले थकान मार्दामा । बाटामा खानाको रूपरङ देखेर भोक आफैँ मर्ने अवस्था आएको भोगाइ पोखेका छन् । राजेशलाई लाग्छ पच्चिसौं वर्षमा पनि राजमार्गका होटेल र तिनमा पाक्ने खाना उस्तै छ । यतिबेला उही पहिले खाने गरेको मुरही र कचरीको याद गर्छन् । जलेश्वरको हाइस्कूलको होस्टेलमा बस्दाका मिठा मिठा अनुभूतिहरू पस्केका छन् साथी हो,आज परोर पाकेको छ मार्फत । लालटिनको उज्यालोमा पढ्ने,लामखुट्टेबाट बच्न झुल हाल्ने,गर्मी हुँदा दैनिक पटक पटक नुहाउने जस्ता प्रसङका मिठासयुक्त फेहरिस्तलाई प्रस्तुत गर्ने उनको खुबी यहाँ देखिन्छ । सङ्ग्रहको अन्तिम संस्मरण कुर्थी दालको बास्ना र साइँला मामा पहाडिया मामाको नामबाट चिनिने जो प्रायः अगहनको समयमा मधेस झर्छन् उनको स्मरणमा रहेर लेखिएको छ । मुरही,कचरी,नुनु तेल हालेको बासी भात जुन आजकलका केटाकेटीले मन पराउने जङ्क फुडभन्दा मन पथ्र्याे उति बेला । लगायतका उति बेलाका बग्रेल्ती स्मरण यसमा परेका छन् ।
साहित्यिक पत्रकारिता र रेडियोकर्मीको रूपमा लामो समय योगदान गरेका राजेश खनालको यो कृति मधेस केन्द्रित उति वेलाका अनगिन्ती यादगार पलहरूको फेहरिस्त हो । यो १८ वटा संस्मरणहरूको सुन्दर माला हो । उति वेलाका बालपनका इच्छा,आकाङ्क्षा र खुसी पनि यहाँ पोखिएका छन् । उनका भोगाइ,सुनाइ र अनुभवको मज्जाको सम्प्रेषण गर्ने राजेशको खुबी मान्नै पर्छ । मधेसी जीवनका दैनिकीका स–साना यथार्थको प्रतिबिम्बन हो यो कृति । भन्न सकिन्छ तराई मधेसको यथार्थ तस्बिर हो यो कृति । अन्तमा, कवि डिलन टमसको शब्द सापटी लिएँ ‘एउटा साहित्यकारले सचेततापूर्वक शब्द चयन गर्ने सामर्थ्यमा विकास गर्नु प्रथम आवश्यकता हो ।’ डिलन टमसको भनाइलाई राजेश खनालले आफ्ना संस्मरणहरूमा अत्यन्तै सचेततापूर्वक प्रयोग गरेका छन् । यति राम्रो संस्मरण कृतिको निम्ति हार्दिक बधाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।