जेसन ज्वाइग
९० वर्षको उमेरमा गत मार्च २७ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता लेखक तथा अर्थशास्त्री ड्यानियल कानेमनको निधन भयो । उनी लामो समयदेखि प्रिन्स्टन विश्वविद्यालयमा शोधकर्ताका रूपमा काम गरिरहेका थिए । उनका अर्का शोधकर्ता अर्थशास्त्री साथी एमस तेभर्स्कीका साथ गरिएका शोधले संसारलाई अर्थशास्त्र र मनोविज्ञानका विविध आयाम बुझाउन मद्दत गरेको थियो । एमस सन् १९९६ मा नै बितिसकेका छन् । यो जोडीले कुनै पनि आर्थिक विषयसँग जोडिएका कुरामा मानिसले कसरी निर्णय गर्छन्, के कस्ता धारणा पाल्छन्, तिनको प्राथमिकता के हुन्छ र के कुरामा उनीहरू निरन्तर लागिपरिरहन्छन् भन्नेबारे अध्ययन गरेका थिए ।
प्रायः मान्छेले बुद्धि प्रयोग गर्दैनन् भन्ने उनीहरूको अध्ययनले देखाएको थियो । अचेल व्यवहारिक अर्थशास्त्रलाई बाटो देखाउने काम कानेमनले गरेका थिए । तर आफूलाई उनले सधैँ मनोविज्ञानको विद्यार्थी मानिरहे ।
सेयर बजार कुस्त कमाइ गरेका कुनै व्यवसायीलाई भन्दा कानेमनले सुझाएका लगानी सूत्रका बारेमा मान्छेले बढी सुन्थे ।
म उनलाई ड्यानी भन्थेँ र प्रायः अरूले पनि उनलाई त्यही नाउँले बोलाउँथे । पहिलो पटक मैले उनलाई सन् १९९६ को एउटा व्यवहारवादी अर्थशास्त्रसम्बन्धी सम्मेलनमा भेटेको थिएँ । म सेयर बजारको हाल लेख्ने पत्रकार थिएँ ।
मलाई त्यो बेला नै लाग्थ्यो, स्मार्ट भनिएका मान्छेहरू पैसाको मामिलामा किन बेकुप हुन्छन् होला ?
सम्मेलनमा उनका कुरा पाँच मिनेट सुन्नेबित्तिकै म प्रस्ट भएँ, मैले मेरो प्रश्नको जवाफ फेला पारेँ । त्यति मात्र होइन, मैले लगानीसम्बन्धी व्यवहारको प्रत्येक लुकेका कुरा जानेँ ।
हामीलाई विजेता बनाउने सेयर हामी हत्तपत्त किन बेच्छौँ र हराउने सेयरसँग हामी किन टाँस्सिइरहन्छौँ भन्नेबारे मैले त्यहीँ बुझेँ । कहिलेकाहीँ गज्जबकै सेयर मानिएका र अचानक नै धनी बनाइदिने सेयरहरू कहिलेकाहीँ पर्ने चिठ्ठा मात्र हुन् भन्ने किन बुझ्दैनौँ ? जस्तोसुकै ऋण सहन सक्ने व्यक्ति पनि सेयरबजार उत्तानो परेका बेला उसले पनि हार मान्छ भन्ने पनि मैले त्यही बुझेँ ।
त्यो सम्मेलनको कोठामा ड्यानी घरी यता र घरी उता चलमलाउँदै आफ्ना जानकारीहरू बाँडिरहेका थिए । नयाँ कुरा सुनाउन पाउँदा उनका हरिया-नीला-चम्किला आँखा चम्किरहेका हुन्थे । र, ती कुराले हामीले बनाएका सिद्धान्त, गाँठ कसेका धारणा सबै ध्वस्त बनाइदिन्थे ।
दशकौँ, उनी र टिभर्स्कीले कयौँ प्रयोगहरू आयोजन गरिरहे । उनीहरूको सूत्र ज्यादै सामान्य हुन्थ्यो, बच्चाको जस्तो । खासमा मान्छेले सच्ने र निर्णय लिने तौरतरिका पनि बच्चाको संवेदनाजस्तै हुँदोरहेछ भन्ने तिनले बुझाए ।
सेयर बजारमा पैसा कमाउनु र गुमाउनु उस्तै हैन । कमाउँदाको खुसीभन्दा गुमाउनु कता हो कता बढी पीडादायक हुन्छ भनी उनले बताएका थिए । जब कसैले ज्याकपट जित्छ, जब कसैले ठूलो रकम हात पार्छ, उसको आत्मविश्वास ह्वात्तै बढ्छ र त्यो आत्मविश्वासले उसलाई यति घात गर्छ कि उसले सबै गुमाउँछ ।
८० प्रतिशत जित्ने सम्भावनामा हरकोही खतरा मोल्न चाहन्छ । २० प्रतिशत असफलताको सम्भावना छ भनेर भन्नोस्, कसैले पनि लगानी
गर्न चाहँदैन ।
उनको यो भाषण सुनेपछि म घर फर्किएँ र त्यो बेला उनले सम्पादन गरेका तीन वटा किताबहरू किनेँ । किताब चाटिसकेपछि मैले उनका
बारेमा एउटा लामो विवेचना लेखेँ । त्यसपछि नै हो, उनले २००१ मा नोबेल पुरस्कार जित्न पुगे ।
जब लगानीको कुरा आउँछ, त्यहाँ हामीले आफैँलाई आधारभूत दर के हुन्छ भनेर आफैँलाई सोध्नुपर्ने हुन्छ भनी उनले मलाई अन्तरवार्ताका
क्रममा सिकाएका थिए । त्यो आधारभूत दर अर्थात् बेस रेट अहिलेसम्म मेरो दिमागमा छापिएको छ । हरेक ठूला निर्णयमा सफलताको अप्ठेरो पानामा आफूले के छान्ने भन्ने बुझ्नुपर्छ । र, त्यसलाई एउटा लामो ऐतिहासिक परिणामका आधारमा तय गर्नुपर्छ ।
यदि तपाईंले कुनै व्यापार गरिरहनु भएको छ भने तपाईंलाई यो पक्कै असफल हुँदैन भन्ने लागिरहेको छ त्यसमा सचेत हुनु जरूरी छ भन्छन्, कानेमन । अमेरिकाको ब्युरो अफ लेबर स्टाटिस्टिक्सका अनुसार कुनै पनि नयाँ व्यापार पाँच वर्षभित्र बन्द भइसकेको हुन्छ । लाखौँ स्टार्टअपहरू शुरूवात गर्नेहरूलाई यो सफल हुन्छ नै भन्ने लागेको हुन्छ । तीमध्ये तपाईं एउटा नमुना मात्र हो ।
सफल वा असफल हुने आधा आधा सम्भावना छ भन्ने थाहा पाउनु भयो भने तपाईं कुनै व्यापार गर्न चाहनुहुन्न । यस्तोमा आशावादी हुनु
भनेको पूरै अवास्तविक हुनु हो ।
कानेमनले एक दिन उनकी दोस्री पत्नीलाई भनेछन्, ‘हाम्रो यो बिहे सफल हुने सम्भावना आधा मात्र छ किन थाहा छ ? किनभने, म यहुदी हुँ, तिमी हैनौ । म हल्का पागल छु, तिमी छैनौ । यस्तोमा अधिकांश आधा बिहे पारपाचुकेमा परिणत हुन्छ । हाम्रो बेस रेट यो बिहेविरूद्ध देखिन्छ ।’
‘यो बेस रेटका बारेमा कल्ले पो मतलब गर्छ र ? मलाई त तिमीसँग मतलब छ,’ उनकी पत्नी एन ट्रेइसम्यानले जवाफमा भनेकी थिइन् । नभन्दै बिहे उनले भनेजस्तै भयो । चार दशकसम्म, एनको देहान्त नहुञ्जेल वैवाहिक जीवन चल्यो । एनको सन् २०१८ मा निधन भयो ।
सन् १९६९ ताका कानेमनले जेरूसलेमस्थित हिब्रु विश्वविद्यालयमा शिक्षण गरिरहेका थिए । त्यहाँ उनी गणित मनोविज्ञान पढाउँथे । त्यहीँ अतिथि लेक्चररका रूपमा उनका साथी ट्रेभर्स्कीसँग भेट भएको थियो । त्यहाँ उनले भनेका थिए, तपाईं हामीले सोचेजस्तो मान्छे बेकुप
अलि छैन । उसलाई खतरा र सम्भावनाको विश्लेषण गर्न आउँछ भनेका थिए । तर त्यसमा कानेमनले विश्वास गरेनन् । उनले अप्टिकल इल्युजनले मान्छेलाई जसरी दृष्टिभ्रम दिन्छ, उसैगरी कग्निटिभ इल्युजनले मान्छेको दिमागलाई भ्रमित तुल्याउँछ भन्ने तर्क रखेका थिए ।
यो छलफल दुवैलाई यति चित्त बुझ्यो कि त्यसपछि सँगै खाना खाए र त्यसैमा छलफल गरे । त्यसपछि पनि कुरा सकिएन र उनीहरू जीवनभर त्यसैबारे झुत्ती खेलिरहे । त्यसै विषयमा उनीहरूले सन् १९७१ मा पहिलो साइन्टिफिक पेपर लेखे । शुरूमा कसको नाउँ लेख्ने भनी समस्या भयो । उनीहरूले सिक्का उछाले र गाई कि त्रिशूल भने । त्यसपछिका २५ वर्ष ती दुवैले दुई दर्जन अनुसन्धानात्मक पेपर लेखे ।
सन् २००६ मा ड्यानीले मलाई प्रस्ताव राखे, ‘मलाई एउटा किताब लेख्नु छ, सघाउँछौ ?’ उनलाई मैले कसरी सघाउन सक्छु भनेर कोण कोणबाट केही महिनासम्म उनलाई केरकार गरिरहेँ । उनले विभिन्न प्रस्ताव राखे र यस्तो किताब चाहिएको भने । त्यसपछि सन् २००७ मा किताबको एउटा खाका तयार भयो ।
त्यही खाका पछि प्रख्यात पुस्तक बन्यो, थिङ्किङ फास्ट एन्ड स्लो । किताब २०११ मा प्रकाशित भयो । यो अन्तर्राष्ट्रिय रूपमा नै बेस्टसेलर
बन्न पुग्यो । यसले ड्यानी आफ्ना विविध स्मृतिजन्य कुरा सनाउँदै मस्तिष्कका अप्ठेरा कुरा व्याख्या गर्दै सरल तरिकाले बुझाउँछन् ।
किताबमा काम गर्नुअघि एक दिन म ड्यानी र उनकी पत्नीसँग खाना खाँदै थिएँ । मैले एनलाई सोधेँ, ‘मलाई यस किताबमा काम गर्ने
प्रस्ताव राखेर ड्यानीले बौलाहापन देखाएको हैन त ?’
जवाफमा एनले मुस्कुराउँदै भनिन्, ‘ड्यानीसँग काम गर्ने तिमीले इच्छा गर्नु चैँ बौलाहापन हो ।’
शुरूमा मैले किताबको प्रथम अध्याय लेखेँ, जुन विरलै छापियो । बिस्तारै ड्यानी आफैँले लेख्न थाले । त्यसपछि मैले त्यसलाई पुनर्लेखन र सम्पादनको काम गरेँ ।
सन् २००७ मा हरेक अध्यायलाई चम्कायौँ । द इल्युजन अफ भ्यालिडिटी अध्यायलाई चम्काउँदै गर्दा राति मलाई सुत्नै अप्ठेरो भयो
। मेरी पत्नीलाई लाग्यो, अहो, यसलाई त हर्ट अट्याक भो तर होइन रहेछ । पेनिक अट्याक चाहिँ भएको रहेछ । त्यो नै मेरो पहिलो र
अन्तिम पेनिक अट्याक रह्यो, अहिलेसम्म । कामप्रति ड्यानीको मभन्दा अझ बढी आशक्ति थियो ।
सन् २००८ मा म द वाल स्ट्रिट जर्नल पत्रिकामा काम गर्न थालेँ । त्यसपछि मैले किताबमा काम गर्न सकिनँ । उनले पनि मलाई किताबबारे सोधेनन्, मैले पनि उनलाई किताबका बारेमा सोधिनँ । ड्यानीले तेस्रो ड्राफ्ट आफैँ सिध्याए ।
किताबमा काम गर्नुअघि नै उनले मलाई सुझाएका थिए, ‘सहकार्य सधैँ गज्जब हुन्छ भन्ने छैन है साथी ! त्यसैले तिमीले मलाई सधैँभरि एउटा आत्मसम्मान र नैतिकवान् व्यक्तिका रूपमा बुझ्छौ भन्ने मानेको छु ।’ र, वास्तवमा मैले चिनेकाहरूमध्ये उनलाई ज्यादै क्लिष्ट आत्मसम्मान र नैतिकवान् व्यक्तिका रूपमा मानिरहेँ ।
सो किताबमा काम गर्दाका बेला मैले उनको गुणका बारेमा थाहा पाएँ र अझ बढी थाहा पाएँ । उनीसँग छुट्टिएपछि मात्र त्यो तीव्र महसुस गरेँ । त्यो चाहिँ जब म एउटा पत्रकार र लगानीकर्ताका रूपमा जब परिपक्व हुँदै गएँ, त्यो बेला महसुस गरेको हुँ ।
ड्यानीले सधैँ सबै कुरा बच्चाको आँखाले हेर्थे । मान्छेहरूले त्यसलाई बिगिनर्स माइन्ड भन्छन् । कसैले ध्यानै नदिएका कुरामा उनी ध्यान दिन्थे, नसोचेका कुरा सोचिदिन्थे । जबकि त्यसको कुनै अर्थ लाग्दैनथ्यो तर पछि जब लाग्थ्यो, गज्जबको अर्थ लाग्थ्यो ।
उनी आफ्ना कुरालाई पनि सधैँ आलोचना गरिरहन्थे । एक जना पाठकले मलाई लेखेको पत्र एक दिन उनलाई देखाएँ । लेखाइमा ठीक कुरा थियो तर जे कुरामा म गलत थिएँ, त्यहाँ त्यो पाठक ज्यादै नाप्पिएको वा टुप्पिएको टिप्पणी गरिरहेको थियो । त्यो पत्र पढेपछि ड्यानीले भने, ‘अहो, तिमी कति भाग्यमानी मान्छे । त्यत्रा हजारौँ मानिसहरूमध्ये यो व्यक्तिले तिमीलाई लेखेको थियो । कम्तीमा तिमी गलत छौ भनिदिने मानिस फेला पार्नु भाग्यको कुरा हो ।’
ड्यानी लेख्ने कुरालाई ज्यादै गम्भीरताका साथ लिन्थे, मानौँ ती छापिएपछि गलत हुनु हुँदैन र भयो भने बर्बाद हुन्छ भनेझैँ गर्थे । धेरै मान्छेहरू दिमागमा छापिएपछि त्यसलाई परिवर्तन गर्न मन पराउँदैनन् तर ड्यानी तत्काल आफ्ना गलत सोचलाई किनारा लगाइहाल्थे । जब उनी गलत छन् भन्ने प्रमाण फेला पार्थे, त्यसमा उनी झुन्डिदैनथे ।
किताबमा काम गर्दै गर्दा उनले सधैँ भनिरहने कुरा थियो, ‘अहो, निकम्मा कुरा रैछ ।’
ड्यानी र नका साथी एमोसले जीवनभर मान्छेको मस्तिष्क र त्यसले गर्ने गलत निर्णय खोज गरिरहे, अध्ययन गरिरहे । त्यसले उनलाई सधैँभरि आफू गलत पनि हुनसक्छु है भन्ने भान पारिरह्यो । उनलाई थाहा थियो, म ज्यादै स्मार्ट मानिस हुँ तर सबैभन्दा बढी गलत त्यही स्मार्ट मान्छे हुन्छ भन्ने उलाई थाहा छ ।
सन् १९३४ मा इजरायलको तेल अभिभमा जन्मिएका ड्यानी फ्रान्समा हुर्किए । बाल्यजीवनभर उनी नाजीहरूको नजरबाट जोगिन अनेक प्रयास गरिरहे । त्यसका लागि फ्रान्सको विकट गाउँमा उनीहरू पुगेका थिए । कुखुरा र पशुहरूको भिडमा उनी हुर्किए भन्दा हुन्छ । बालापनका कष्टकर जीवनले उनलाई यस्तो बनाएको हो भन्ने प्रश्नमा उनी उति गम्भीर भएनन् । बरू भने, ‘मैले मेरो शोधकर्ता साथी ट्रेभर्स्कीलाई भेटेको दिन मेरो संसार बदलियो ।’
‘मैले मान्छेको मस्तिष्कबारे गज्जबको अध्ययन गरेँ तर थाहा छ, त्यो अध्ययनले मलाई गज्जबको निर्णय लिन सक्ने भने बनाएन । यही मान्छेको विरोधाभाष हो । म जतिसुकै विद्वान किन नहोऊँ, मुर्खता त गर्छु नै म पनि । अँ, अरूभन्दा गलत कुरा कहाँ भयो भनेर चाँडो जान्ने चाहिँ भएको छु,’ उनी हाँस्दै भन्थे ।
जब लगानीको कुरा आउँछ, उनी आफू अरूभन्दा स्मार्ट छु भन्ने देखाउन चाहँदैनन् । त्यसो गर्नु उत्तानोचित पर्नु हो भन्ने उनले बुझिसके । जुन बेला मैले भेटेको थिएँ, त्यो बेला उनको साराका सारा लगानी इन्डेक्स फन्डमा थियो । उनी भन्थे, ‘जसले सबैभन्दा कम निर्णय गर्छ, ऊ नै सबैभन्दा सफल लगानीकर्ता हुन्छ ।’
उनको निधनको खबर सुनेदेखि मन शून्य भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।