सन् २००५ मा पुरानो तस्बिरको यादमा पुनः मञ्चन गरिएको नाटकमा तस्बिरका नायक कार्ल र नायिका एडिथ साइन ।

१८ वर्षे कार्ल मस्कारेल्लोले जब सन् १९४५ अगस्त १४ मा दोस्रो विश्वयुद्ध समाप्त भएको घोषणा सुने, खुसीले उल्लासित भए । सेनाले तरूना कार्लको बिदा स्वीकृत गर्यो । न्युयोर्क सहरको टाइम्स स्क्वायर छेउमा आउँदै गर्दा उनले सेनाकै ड्रेसमा बियर किने । बियले चूर भएका बेला बाटामा देखे- हरकोही खुसीमा एकअर्कालाई चुम्बन गर्दै छन् ।

उनले पनि अगाडि हिँडिरहेकी एउटी युवतीलाई च्याप्प समाते र च्वाप्प म्वाई खाए । त्यसलाई म्वाई नभनूँ क्यार ! म्वाईभन्दा अलि बढी खाए, चुम्बन नै ! त्यो पनि टङ किस !

ठीक त्यही क्षणमा फोटोपत्रकार अल्फ्रेड आइजेनस्टेडले जुन तस्बिर खिचे, त्यो २० औँ शताब्दीको उल्लासमय क्षणको प्रतीक बन्न पुग्यो ।

अर्को साता लाइफ म्यागेजिनले यसलाई आवरण तस्बिर बनाएपछि घरमा तहल्का मच्चायो । कार्लले बाटामा हिँडिरहेकी युवतीलाई चुम्बन गरेको भन्दै उनकी आमाले कम्ता झपारिनन् !

आफ्नो पुरानो तस्बिर छापिएको पत्रिका देखाउँदै कार्ल

घटनाको लामो समयपछि सन् १९९५ मा उनले अन्तर्वार्ता दिँदै त्यो पुरूष आफू भएको खुलासा गरेका थिए ।

युद्ध सकिएपछि उनी पुलिसमा भर्तीमा भए । पछि फोटोग्राफरलाई भेटेर त्यो चुम्बनकर्ता आफू भएको र ती युवतीलाई खोजिदिन आग्रह गरे । फोटोग्राफरले त खासै महत्व दिएनन् तर उनले आफैँले खोजे र पत्ता लगाए । उनी नर्स थिइन् र उनको नाउँ थियो, एडिथ साइन ।

पछि दुवैले केही टेलिभिजनमा अनुहार देखाए । सँगै अन्तरवार्ता पनि दिए । सन् २००५ मा सो घटनालाई दोहोर्याउने गरी नाटक पनि गरे । सन् २०१० मा एडिथको मृत्यु भयो ।

कतिपयले तस्बिरका व्यक्ति कार्ल होइन भने । हुन पनि, त्यो दिन कयौँले कयौँलाई चुम्बन गरिरहेका थिए । प्रश्न कसले कसलाई गरेको हो वा होइन भन्ने रहेन । तर पछि सो विवादलाई निमिट्यान्न पार्न मित्सुविसी इलेक्ट्रिक रिसर्च ल्याब्रोटरिजले ५ हजार डिजिटल तस्बिर विश्लेषण गरी, तिनको थ्रिडी मोडल बनाई कार्लको तस्बिरलाई डि-एज्ड गर्दा उनी भएको प्रमाणित भयो ।

पछि उनलाई युवतीहरूसँग सहमति नलिई चुम्बन गरेको आरोप पनि लगाए तर उनको भनाइ थियो, युद्धमा विरोधी पक्षलाई गोलीले छलनी गर्नुको अश्लीलता वा अपराध भन्दा युवतीलाई चुम्बन गर्नु कम अपराधकर्म हो ।

अर्कोतर्फ यो तस्बिर यति लोकप्रिय भयो कि यसैका आधारमा उनले करोडौँ कमाउन सक्थे तर त्यसो गरेनन् भनेर सहानुभूति जनाउनेहरू पनि छन् ।

१९२६ अगस्त २७ मा जन्मिएका तिनै कार्लको गत २७ फेब्रुअरीमा ९७ वर्षको उमेरमा निधन भएको छ ।