‘एलिस इन् वन्डरल्यान्ड’ का बारेमा सुन्नेबित्तिकै तपाईंलाई बालबालिका लक्षित उपन्यास याद आउन सक्छ । तर चिकित्सकीय भाषामा भन्ने हो भने यो विभिन्न रोगहरूको लक्षण पनि हो ।

साहित्यले धेरै विधालाई डोहोर्याइरहेको हुन्छ। चिकित्सा विधामा पनि यसले धेरै जानकारी दिइरहेको हुन्छ। यस्तै एउटा लक्षणलाई वैज्ञानिकहरूले ‘एलिस इन् वन्डरल्यान्ड’ सिन्ड्रोम नामकरण गरेका छन्।

यो लक्षण धेरै कम मान्छेमा पाइन्छ। लक्षण भन्नाले यसमा मान्छेले अनुभव गर्ने कुरा हुन्छ र कहिलेकाहीँ देखिने कुरा पनि हुन्छ।

यो लक्षणका मानिसहरूको मस्तिष्कले उल्टो काम गर्छ । उनीहरूको दृष्टिकोण नै मस्तिष्कले उल्ट्याइदिन्छ । जसका कारण यस्तो लक्षण भएका मानिसले आफू र आफ्नो वरिपरिको संसार नै अनौठोखाले देख्छन्। यस्तो दृष्टिकोण प्रायः आकार र दुरीका बारेमा हुने गर्छ ।

यस्तो समस्या दुर्लभ न्युरो अवस्था हो । यसले अस्थायी रूपमा मस्तिष्कको विश्लेषण गर्ने क्षमतालाई प्रभाव पार्छ ।यस्तो प्रभावका कारण मानिसले उल्टो वा अनौठा कुराको अनुभूत गर्ने गर्छ।

यस्ता मानिसले आफ्नो आकार, अरूको आकार नै बाङ्गोटिङ्गो, अनौठो देख्ने गर्छ। जुन वास्तवमा त्यस्तो हुँदैन ।

सबैभन्दा पहिले एलिस् इन् वन्डरल्यान्ड सिन्ड्रोमका बारेमा चर्चा गर्ने व्यक्ति मनोविज्ञानी जोन टड हुन् । उनले सन् १९५५ मा पहिलो पटक यस्तो समस्याका बारेमा उल्लेख गरेका थिए ।

त्यसो त सन् १८५५ मा नै लुइस क्यारोलले ‘एलिसेस् एडभेन्चर्स इन् वन्डरल्यान्ड’ पुस्तक निकालिसकेका थिए । यो सानो आकारको उपन्यासमा एउटी एलिस नामकी बालिकाले अनुभूत गर्ने विषयमा आधारित छ ।

यस्तो लक्षण कुनै पनि उमेरका व्यक्तिमा देखिन्छ तर बालबालिका र किशोरकिशोरीमा यस्तो समस्या बढी देखिन सक्छ । खास किसिमको मस्तिष्क सम्बन्धी समस्या भएकाहरू एआईडब्लुएस (एलिस इन् वन्डरल्यान्ड सिन्ड्रोम)का शिकार हुन्छन्।

त्यसो त यस्तो समस्या निकै दुर्लभ हुन्छ। भए पनि केही छोटो अवधिका लागि मात्र देखिन्छ । त्यसैले यस किसिमको समस्याका बारेमा गहिरो अध्ययन हुन सकेको छैन ।

एआईडब्लुएसलाई तीन भागमा बाँडिएको छ । पहिलो किसिमको समस्या आफूलाई लिएर हुन्छ । आफ्नो आकार, प्रकारजस्ता कुरामा यस्ता बिरामीलाई भ्रम हुन्छ । यसले सारा शरीरलाई नै प्रभावित तुल्याउँछ र कतिपय अवस्थामा शरीरका अङ्गलाई असर गर्छ।

दोस्रो किसिमको समस्या यो रोग लागेका मानिसको आँखामा देखिन सक्छ । उनीहरूको दृश्य विश्लेषण गर्ने क्षमता कमजोर हुन्छ।त्यसैले उनीहरूले देख्ने छाया बाङ्गोटिङ्गो, अनौठो किसिमको हुनपुग्छ। अधिकांश रोगीहरूमा यो समस्या बढी देखिएको छ ।

तेस्रो समस्या चाहिँ माथिका दुई समस्या एकसाथ झेल्नु हो । एकातिर उनीहरूलाई आफ्नै शरीर अनौठो लाग्नु र अर्कोतिर उनीहरूले दृश्य पनि टेढोमेढो देख्नुले दृश्यात्मक तथा भावनात्मक रूपमा यो रोग अझ जटिल बन्न पुग्छ ।

सेल्फ परसेप्स सिम्टम्स अर्थात् आफैँबारेको लक्षणमा रोगीले आफ्नो शरीरका विभिन्न अङ्गहरू परिवर्तन भएको महसुस गर्छन् । उदाहरणका लागि उनीहरूले आफ्नो हात धेरै ठूलो वा शरीर ज्यादै अग्लो अथवा हात धेरै सानो वा ज्यादै पुड्को भएको महसुस गर्छन् । कहिलेकाहीँ उनीहरूलाई यो संसारका सबै थोकबाट अलग भएको वा केही पनि कुरामा केही संवेदना नभएको महसुस गर्छन् । संसारबाट अलग वा केही महसुस नहुने मात्र होइन, उनीहरू आफ्नै शरीर पनि आफ्नो मान्न अस्वीकार गर्छन् । उनीहरूले आफैँलाई तेस्रो व्यक्तिजस्तो सम्बोधन पनि गर्ने गर्छन् ।

यस्तोमा त्यस्ता व्यक्तिले आफ्नो शरीर दुई भागमा बाँडिएको महसुस गर्छन् ।

उसो भए यस्तो हुन्छ चाहिँ कसरी ? के कारणले यस्तो रोग लाग्छ ? यसबारेमा चिकित्साविज्ञान अनभिज्ञ छ । अधिकांश चिकित्सक भने अत्यधिक टाउको दुख्ने रोगका कारण यस्तो समस्या हुनेमा सहमत छन् ।

कहिलेकाहीँ भाइरल ज्वरो वा एप्स्टिन बार भाइरस, टाइप ए अथवा एचवनएनवन इन्फ्लुएन्जा, टाइफाइडको ज्वरो लगायतका समस्याले पनि बालबालिकाहरूलाई यस्तो समस्या ल्याउन सक्ने बताइएको छ ।

केही मानसिक समस्याहरूले पनि यस्तो लक्षण देखाउँछन्, खासगरी सिजोफ्रेनिया वा त्योसँग मिल्दोजुल्दा समस्या देखिए पनि यस्तो लक्षण आउँछन् ।

गत वर्ष भएको एउटा अध्ययनले एलिस इन् वन्डरल्यान्ड सिन्ड्रोम समस्या भएका ८५ प्रतिशत घटनामा मस्तिष्कका दुई क्षेत्र प्रभावित भएको पाइयो । यो क्षेत्र प्रभावित हुँदा दृश्य विश्लेषण क्षमता कमजोर हुने देखिएको चिकित्सकहरूले पाएका छन् ।