दुर्लभ पुस्तकमध्ये एक मानिएको डेस्टिनिज अफ द सोल पुस्तक अरूभन्दा पृथक् छ । यो हार्भर्ड विश्वविद्यालयको सम्पति हो । १९ औँ शताब्दीमा लेखिएको र प्रकाशित यो पुस्तकको विशेषता भन्नु नै यसको आवरण हो । आवरणको गाता छालाले मोरिएको छ । यो छाला कुनै जन्तु जनावरको होइन । यो त मान्छेको हो ।
विश्वविद्यालयले आफ्नो पुस्तकालयमा रहेको मान्छेको छालाले मोरिएको सो पुस्तकको गाता हटाउने निर्णय गरेको छ । नैतिक रूपमा भयावह प्रकृतिको भएकाले गाता हटाउने निर्णय भएको विश्वविद्यालयले जनाएको हो ।
त्यो बेला किताबको मूल्य बढाउन यस्तो गरिएको भए पनि त्यसलाई कायम राखिरहन जरूरी नभएको भन्दै छाला हटाउने निर्णय गरिएको बताइएको छ । विश्वविद्यालयको हगटन लाइब्रेरीमा यो पुस्तक सन् १९३० को दशकदेखि थियो । सन् २०१४ मा गरिएको एउटा परीक्षणले यो मान्छेको छाला भएको प्रमाणित भएयता पुस्तकालयलाई सो छाला हटाउन दबाब पर्दै आएको थियो ।
लामो छलफलपछि गत बुधबार विश्वविद्यालयका दिग्गजहरूको भेलाले सो मानिसको छालालाई उचित सतगत गरिने बताइएको छ ।
यो पुस्तक फ्रान्सेली लेखक आर्सेन हाउसेले लेखेका हुन् । मान्छेको मृत्युपछि आत्माको अवस्था के हुन्छ भन्ने चिन्तन यस पुस्तकमा गरिएको छ । त्यसो त पुस्तक निस्कदै यसको गातामा मान्छेको छाला मोरिएको होइन । पुस्तकको पहिलो प्रति आफ्नो हातमा परेपछि फ्रान्सेली चिकित्सक लुडभिक बउल्यान्डले मृतव्यक्तिको छालाले यसलाई मोरेका हुन् ।
हार्भर्डका अनुसार चिकित्सक बउल्यान्ड कुनै मृत महिलाको छाला प्रयोग गरेका हुन् । ती महिलाका परिवारसँग उनले कुनै सल्लाह नै नगरी प्रयोग गरेका थिए । नैतिक रूपमा भयावह यस्तो इतिहास रहेको पुस्तक आफ्नो पुस्तकालयमा रहेको जानकारी भएपछि यसलाई हटाउन अनेक छलफल शुरू गरिएको थियो ।
अहिले पुस्तकालयबाट सो पुस्तक नै हटाउने निर्णय गरिएको छ । पुस्तकालयका आर्काइभिस्ट (अभिलेखविद्) टम हाइरी भन्छन्, ‘जब हामीलाई यस्तो कुरा थाहा भयो, हामीलाई एक किसिमको नैतिक दबाब भयो । हामीले निकै लामो छलफलपछि यो पुस्तक हटाउने निर्णय गरेका हौँ ।’
उनले ती चिकित्सकले मृत महिलाका परिवार वा स्वयं मृतक महिलासँग पनि यसबारेमा कुनै छलफल गरेका थिएनन् होला ।
यसअघि यो पुस्तक पढ्ने वा चलाउनेलाई पनि यसबारे जानकारी थिएन । उनीहरूले बिना जानकारी यो पुस्तक पढेको हुनसक्ने अभिलेखविद् हाइरीको भनाइ छ । तर जब २०१४ मा यस कुराको खुलासा भयो, चर्को विरोधका आवाज सुनिए । यसका बाबजुद पनि हार्वर्ड विश्वविद्यालयले त्यो बेला पनि यसलाई गम्भीर रूपमा लिएको थिएन ।
जब मृतक महिलाको छालाद्वारा बनेको पुस्तकका बारेमा विश्वविद्यालयले चाल पायो, उसलाई त झन् गज्जब लाग्यो । यो खुसीको खबर भएको भन्दै पुस्तकप्यासा र एन्ड्रथोपोडर्मिक बिब्लियोपेजीका लागि यो उत्तम अध्ययन हुने भन्दै प्रतिक्रिया जनाएको थियो ।
कुनै पुस्तकमा मान्छेको छाला मोर्ने काम वा कलालाई एन्ड्रथोपोडर्मिक बिब्लियोपेजी भनिन्छ । यो सन् १९०० सम्म निकै लोकप्रिय भएको थियो । सन् १५०० बाट यसलाई लोकप्रिय बनाउने काम भएको बताइन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।