झुठ भनेको हुँदै नभएको कुनैपनि क्रियालाई हो भन्ने भान पार्न प्रयोग गरिने एउटा चतुर्‍याइँ हो । भाषाको माध्यमबाट घटित क्रियाकलाप लुकाएर अघटित घटना बताउने कार्य हो । भाषा भाव लुकाउन प्रयोग गरिने माध्यम पनि हो । भाषाका अनेक फाइदा होलान तर बेफाइदा नभएका होइनन् । भाषिक कलाको माध्यमबाट तार्किक क्षमताको आधारमा पहेंलोलाई रातो र रातोलाई पहेलो सावित गर्न भाषाले नै संभव हुन्छ ।

एउटा निकै चलनचल्तीमा आएको चुट्किला छ । जसलाई म आफ्नै शैलीमा भाव यताउती नजाने गरि सुनाउँछु ।

चुट्किला यस्तो छ :

केही मान्छे रामेलाई खोज्दै उसको घरतर्फ आइरहेका हुन्छ्न् । उनीहरू आइरहेको रामेले देखिरहेको हुन्छ । रामे उनीहरूबाट छलिनु थियो । आफ्नो अपरिपक्व छोरालाई भन्छ, `म ऊ त्यो खाटमुनि लुक्छु, बुवा हुनुहुन्न भन्दै है, उताबाट आइरहेका मान्छेलाई ।´ मानिसका हुल घरभित्र पस्छ्न । बच्चोलाई `बुवा खोइ ? भनेर सोध्छन् । बच्चोले जवाफ दिन्छ,` बुवाले भनेको बुवा खाटमुनि लुक्नु भएको छैन रे ।´

यसको मतलब काँचो बच्चाको मस्तिष्क स्वभावलै झुठ बोल्न जान्दैनन् । उनीहरूमा जतिजति भाषाको चतुर्‍याइँ बुझ्दै जाने क्षमताको विकास हुन्छ, उतिउति झुठ बोल्ने कला सिक्दै जान्छन् । समाजमा चलिरहेको अभ्यास र वातावरणले उनीहरू झुठ बोल्ने कला सिकाउँदै जान्छ । बच्चाहरूले झुठ बोल्न घरदेखि प्रारम्भ गर्छन, समाजद्वारा प्रेरित हुन्छन् र पाठशालामा विकर्षित हुन्छन् ।

मानौ कुनै बच्चा झगडा गरेर चोटपटक सहित घर पुग्यो । उसकी आमाले, कसरी भयो ? सोधिहाल्छिन् । झगडा गरेर आए भन्ने सत्य जवाफमा त्यो बालबालिकाको चोटमा आमाको हातबाट थप चोट पक्कै लाग्नेछ । अब त्यो बालक अर्कोपटक पनि उसैगरी झगडा गर्‍यो र आमाको कसरी भन्ने प्रश्नमा उसले झुठ बोल्न बाध्य हुनेछ । उसले बताउन सक्ने छ; लडेर यस्तो भयो । त्यतिबेला उसले आमाको न्यानो माया पाउनेछ । यसरी एउटा बालमस्तिष्क झुठ बोल्न सिकिरहेका हुन सक्छन् । यसरी हेर्दा के देखियो भने बच्चाहरूलाई झुठ बोल्न त परिवारले नै प्रेरित गरिरहेका छन् ।

यस्तै अवस्था पाठशालामा पनि लागू हुन्छ । कुनै विद्यार्थीले होमवर्क नगरिकन स्कुल गयो । शिक्षकले किन नगरेको भन्ने प्रश्न तेर्साइहाल्छ्न् । अब यहाँ सत्य बोलेर,`मलाई होमवर्क गर्न मनलाग्दैन । अल्छी लाग्छ ´ भन्यो । अब यसको बदलामा उसले दण्ड पाउने पक्का छ । अब अर्कोपटक उसले गृहकार्य नगर्दा कहिले सत्य बोल्ने छैन । उसले कुनै बाहाना बनाउने छ । उसले भन्दिन सक्छ विरामी थिएँ वा अन्य केहि । बाहानामा उसले पहिले जस्तो दण्ड नपाउन सक्छ । यसरी पाठशालाले पनि झुठ बोल्न सिकाइरहेका छन् ।

समाजले पनि आफ्नै ठगबाट झुठ बोल्न प्रेरित गरिरहेको हुन्छ । सरकारी कार्यालयमा काम लिएर जानोस् । कुनै बाहना बनाएर काम छिटो फत्ते गर्न सकिन्छ । क्युमा बस्ने झन्झटबाट मुक्त हुन सकिन्छ । सार्वजनिक बसमा सिट पाउन पनि सफल हुन सकिएला । कामगर्ने ठाउँमा राहत पाउन सकिन्छ । छुट्टी मिलाउन सकिन्छ । सानो सुविधा लिनका लागि जागिरेले त आफ्ना आफन्तदेखि आमाबालाई सयौंपटक विरामी र एकाध स्वर्गीय पनि बनाइदिन्छन् ।

हाम्रो दैनिक जीवनमा निआलेर हेर्ने हो भने जतासुकै झुठको फैलावट महसुस गर्न सकिन्छ । विहानै दूध पुर्‍याउन आउने दुधवालाले एक थोपा पानी नमिसाएको दूध नभनी उसले पानी हालेको दूध बिक्दैन । अनि टिभिमा झुठ बोलेर बिज्ञापन गरिएको हर्लिक्सलाई पोषणयुक्त मानेर नै खुवाइन्छ । जागिरमा ढिलो पुगियो भने गालीबाट बच्नका लागि झुठ बोल्नै पर्‍यो । दुई पेग लगाएए घर ढिलो आइयो भने त्यहाँ पनि झुठ बोल्नै पर्‍यो । मासुपसलेले खसी,बोका वा रांगाको मासु भनेर बाख्री र भैंसीको मासु बेच्न लिङ्ग निर्धारण गर्ने अङ्ग झुण्डाएर मूर्ख बनाउनै पर्‍यो । मानौ तपाईको छोराछोरी आएर कहिलेकाही फ्याट्ट सोधिहाल्नेछ्न्, ` म कसरी जन्मेको ? भनेर; त्यतिबेला सहि उत्तर दिन त मिलेन । अनि कुनै झुठमुठको कथा रचेर सुनाउनै पर्‍यो । अरु कुरा के गर्ने । तपाईंले सबैभन्दा बढी संवादमा प्रयोग गर्ने वाक्य `के छ हालखबर ? को जवाफमा कति जनाले सहि बताउँछन् होला त ? त्यहाँ पनि ठीकै छ भनेर झुठ बोल्नै पर्‍यो । भारतीय कवि गुलजारले त कवितै लेखेका छन् ।

अब एकछिन कल्पना गरौँ । हामी आजदेखि सत्यमात्र बोल्ने छौँ । त्यो संसार कस्तो समस्याग्रस्त होला त ? त्यसमा जान अगाडि एउटा रोचक र घोचक कथा सुनाइहाल्छु । यो कथा सायद ओशोको श्रव्य प्रवचनमा सुनेको जस्तो लाग्छ । यसलाई म आफ्नै शैलीमा बङ्गाएर सुनाउँछु ।

`मानवजातिलाई एउटा यस्तो वरदान प्राप्त भएछ । वरदान यस्तो थियो कि एउटा मान्छेको दिमागमा के चलिरहेको छ त्यो अर्को मान्छेले थाहा पाउन सक्ने । त्यो वरदान प्राप्त हुने दिन । एउटा दम्पती बाहिर घुम्न निस्किए । सडकमा एउटा सुन्दर स्त्री प्रकट भइन । श्रीमानले त्यो सुन्दरीलाई कल्पेर हुनु नहुने सोच्न थाल्यो । उसको दिमागमा चलिरहेको फेन्टासी श्रीमतीले थाहा पाइन । अनि अलिपर पुग्दा त्यहाँ एउटा हेन्सम केटो प्रकट भयो । श्रीमतीले त्यो गुड लुकिङ युवकलाई देखेर अनेक कल्पनामा मस्त भइन । मान्छेको `मन पापी आँखा लोभी´ भनेर अनुभवी बूढाहरूले यतिकै भनेका होइनन नै । अब श्रीमानश्रीमतीले अर्को व्यक्तिको बारेमा कल्पेको त्यो घटना त पक्कै असह्य हुने नै भयो । यसलाई सहर्ष स्वीकार्ने क्षमतालाई त सभ्यता नामक व्यवस्थाले कदापी दिन्न । अब आफै भन्नोस त सत्य लुक्दा सबै ठीक थियो । सत्य प्रकट हुँदा त सत्यनास नै हुने रहेछ । ती दम्पतीको मनमा एकाअर्काप्रति जुन सम्मान,विश्वास र इज्जत पहिला थियो । अब त पक्कै रहन्न । त्यसैले सत्य थाहा पाउनु वरदान होइन अभिषाप पो भयो यहाँनेर ।

अब एकछिन अर्को कुराको कल्पना गरौं । विहेको कुरा छिनोफानो गर्नका लागि केटा पक्षबाट केटीको घरमा एउटा परिवार पुग्यो । अब त्यहाँ गएर मेरो छोरी निकै असल छिन् भन्नुको ठाउँमा मेरो छोरी खुल्ला विचारकी छिन् । जमाना अनुसार वाइन र बियर पिउछिन् । यो भन्दा पहिला ५-६ जनासँग प्रेमसम्बन्ध पनि हुनपुग्यो । विचार नमिलेर कुरा अगाडि बढेन । पानी उमाल्न बाहेक भान्साको काम आउन्न । पढाईमा गोबर गणेश नै छे । विहेपछि सासुससुराको सेवा गरेर बस्न चाहिँ सक्दिनँ । श्रीमती जहाँ ऊ त्यहाँ हो आदिइत्यादि भनियो ।

केटा पक्षबाट भनियो : छोरो पबजीको क्रेजी छ । नसाको नाममा शिवजीको बुटी एकदम प्रिय मानेर तान्छ । चिया पटक्कै पिउन्न । पिउनै परे रक्सीमा नाइँ भन्दैन । बेरोजगार हो । दिनभर मोबाइलमा झुण्डिन्छ । बिहे गरेर सुध्रन्छ नि भनेर हजुरको छोरीको हात माग्न आइयो ।

अब यस्तो सत्य बोल्नेको यो पृथ्वीमा बिहे हुन त असम्भव नै छ । अनि झुठ नबोलेर भयो त ?

नेताले भोट माग्न जाँदा : यसपालि पनि चुनावको नाममा यहाँहरूलाई चुना लगाउन आइपुगेको छु । चुनावमा एक करोड खर्च गरेर १० करोड कमाउने दाउमा छु । तपाईं जस्तो झुत्रेलाई झुकेर नमस्कार गर्दैछु । जितेपछि पाँच वर्ष अनुहार पनि देखाउन्नँ । ल भन्नोस् आफैँ, त्यसले भोट पाउला कि चोट ?

मन्त्रीले विमानस्थलमा समातिएको सुन मेरै हो भन्दियो । शिक्षा व्यवसायीले शिक्षाभन्दा बढी त पैसा लुट्दै छु भन्दियो । मोमोवालाले किमा छाला र आन्द्राबाट बनेको भन्दियो भने । वैदेशिक रोजगार व्यवसायीले फ्री भिषा हो तर ५ लाखले त भुँडी बढाउने हो भन्दियो रे । डाक्टरले औषधिको आवश्यक छैन तर जबर्जस्ती नभिडाइ कमिसन पाइन्न भन्दियो । हस्पिटलले मृतकलाई जिउँदो बनाएर १० दिन आइसियुमा राखेर लुटियो भन्दियो । पण्डितले पितृले पिण्ड के खान्थे मेरो गोजीले खाने हो भन्दियो रे । यसरी सबैले सत्य बोल्दिए भने यहाँ महाजात्रा हेर्न पाइन्छ । भद्रगोल देख्न पाइन्छ । समाजको सन्तुलन बिग्रन पुग्छ ।

यस्ता अन्य धेरै क्षेत्र होलान जो यहाँ उल्लेख गरेर साध्य छैन । यतिकुरा पक्कै हो कि हामीले निर्माण गरेको नैतिकता,सभ्याता, संस्कार र आदर्शमा झुठ नबोली सभ्य बनिरहन सकिन्न । कि त यो सबै व्यवस्था परिवर्तन गर्नपर्‍यो । एउटा अर्को सभ्यता बनाउन पर्‍यो । हामीले बाँचिरहेको आजको नियम कानुनले नै हामीलाई झुठ बोल्न बाध्य बनाउँछ । हामीले निर्माण गरेको समाजमा झुठ सजिलै पत्याइन्छ । सत्य पचाउन प्रमाण पेस गर्नुपर्छ ।

सत्यलाई स्वीकार गर्नका लागि फराकिलो चेतना चाहिन्छ ।सत्य पिलो हो । जो ननिचर्दासम्म टन्किन्छ । निचर्ने हिम्म्त गरियो भने थन्किन्छ ।

हामीले यो संसारमा जुन किसिमको भ्रमको सम्राज्य खडा गरेका छौँ । असत्यको सभ्यता निर्माण गरेका छौँ । परिणाम स्वरूप मणिकरत्न शाक्यले गाएको … लेखेको गीत `मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ, तिमी ढाटीदेऊ खाली पवित्र छु भनेर ´ जस्ता गीत किरण खरेलहरूले रचिरहन पर्ने अवस्था आउँछ । गल्ती र भूल सबैको सामू व्यक्त गर्दा चरित्रमा आँच आउँछ भन्ने डरको सम्राज्यले नै झुठलाई फैलाउन मद्धत गरिरहेको छ । यहाँसम्म कि यदि कसैको मृत्युको खबर आएको छ भने पनि `हे ! भगवान यो खबर झुठो होस् भन्छौँ । मृत्यु जस्तो शाश्वत सत्यलाई त स्वीकार्न चाहन्न यो मान्छेको जातले अन्य सत्यलाई के स्वीकार गर्ला ?

संसारमा सत्यलाई स्थापित गर्नु छ भने प्राकृतिक हुनु जरूरी छ । हामी आफ्नो स्वभावमा फर्किन आवश्यक छ । हामी जनावरभन्दा बढी बुद्धि र विवेक प्रयोग गरेकाले सबैमाथि नियन्त्रण गर्न सक्षम त भयौँ तर अप्राकृतिक बन्दै गयौँ । मान्छेलाई सत्य लुकाउन र झुठ फैलाउन भाषाले झन् बढी सहयोग गर्‍यो । जनावरलाई नै हेरौ न कहिले झुठ बोल्दैन । जे छ सत्य मात्र छ जनावरसँग । जनावर मात्र किन रूख,वनस्पति र झारपातलाई हेरौं कहिले झुठ बोल्दैन । सिस्नोले मैले पोल्दिन भनेर झुक्याउन्न । जनावरसँग भाषै नभएको त होइन । तर उनीहरूको भाषामा सत्य र भाव लुकाउने प्रसस्त वर्णमाला छैनन् । जनावरमा पनि माया, प्रेम, ईर्ष्या, लोभ आदि प्रयाप्त मात्रामा हुन्छ तर अहम् चाहिँ हुँदैन भन्न सकिन्छ । मान्छेसँग अहम् छ त्यसैले झुठ आवश्यकता पर्दछ । झुठ बोल्नु कला पक्कै चाहिन्छ । तर त्यो कला तर्कको हुन्छ । अभिनयको हुन्छ । जुन कलाको कुनै मानव जगतमा आवश्यकता नहुँदा पनि फरक पर्दैन । मान्छेलाई स्वभाविक हुन योगदान गर्दैन ।

यो जगतमा झुठो बोल्ने एउटा मात्र प्राणी मानव हो । मान्छेले झुठ कसरी नबोल्ने भन्दा पनि सत्यलाई स्वीकार गर्न सक्ने मस्तिष्कको निर्माण गर्न आवश्यक देखिन्छ । सत्यलाई स्वीकार गर्न रोक लगाउने तमाम विद्यमान सामाजिक मान्यतालाई हटाउन सकियो भने मात्र झुठ लोप हुनसक्छ । नत्र झुठ अझै झाङ्गिदै जान्छ । कसैलाई असर नगरिकन,अपराधलाई प्रसय नदिनेगरी झुठ बोल्नु नराम्रो पक्कै होइन । तर पनि झुठ भनेको झुठ नै हो । मान्छेको इथिक्सले काम गर्छ । राम्रो नराम्रो छुट्याउन सक्छ भने त्यो झुठको बारेमा चिन्ता लिइरहन पनि नपर्ला । कति हदसम्म झुठले सत्यलाई धमिलो बनाउन्न भन्ने स्वविवेक हुन जरुरी हुन्छ । अहिले हामी जसरी सभ्यताको नाममा झुठलाई अँगालोमा बेरेर हिँडिरहेका छौँ । आउने दिनमा यसको प्रकोप झन् बढ्दै जाने देखिन्छ । झुठको स्कोप व्यापक छ । झुठको बोल्नै परेपनि मानवता र नैतिकता नखलबलिने सीमा कायम गर्न सक्नेलाई सत्यवादीको नजिकनजिक हो भन्न सकिएला । यो गन्थन मन्थनलाई टुङ्गाउँदै छु । आफैं विचार गर्नोस् । झुठ कति आवश्यक छ वा छैन ?