महाशिवरात्रि अन्तर्गत शृङ्खला लेखनको तेस्रो अङ्कमा पशुपतिनाथ सान्निध्यको प्राकृतिक सम्पदाको अलौकिकतालाई प्रस्तुत गरिएको थियो । यो अङ्कमा भने श्रीपशुपतिनाथको सन्निकटका अन्य ऐतिहासिक तथ्यहरू, सम्पदाहरू, तिनको अवस्थिति एवं  मान्यतालाई प्रस्तुत गरिएको छ ।

१. त्रिपुर (स्वर्गपृथ्वी र पाताल)को प्रतिविम्वन

भगवान् श्रीपशुपतिनाथ विराजमान क्षेत्रलाई विभिन्न कालखण्ड अनुसार देव ग्राम, देव पट्टन, देव पत्तन, देव पाटन, देउ पाटन, ग्वल, ग्वर, गोल, गल, ग्ल लगायतका नामले पुकारेको पाइन्छ । ग्वल लगायतका शब्दले किराँत काललाई उद्बोध गर्दछ भने देवग्राम लिच्छविकालीन नाम हो । किराँत काल वा लिच्छविकालीन नामहरूको आधारमा यो क्षेत्र प्राचीन वागमती सभ्यताको केन्द्र रहेको पुष्टि हुन्छ । प्रारम्भिक लिच्छवि कालमा यो क्षेत्र वरपर ल्होप्रिंग तथा मुहप्रिंग जस्ता नामहरू थिए भने पश्चिम क्षेत्रलाई भने त्यसपछि नवगृह, नवहर र नवाली भन्न थालिएको प्रमाण भेटिन्छ । साथै यस क्षेत्रका नवालीटोल, दथुटोल, पाँचुटोल, करेटोल, ज्युनाटोल लगायतलाई प्राचीन बस्तीको रूपमा स्वीकार गरिएको छ ।

तत्कालीन देव पत्तनमा सहरमा प्राचीन वास्तु शास्त्रको अवलम्बन गरिएको अनुमान छ । गोपाल वंशावलीमा अनुसार लिच्छवि राजा नरेन्द्रदेवले सुनौलो नल भएको धारा बनाएको र पशुपति क्षेत्रलाई त्रिपुरा भनिएको भेटिन्छ । उनको शिलालेखमा ग्वालम्तुङ्घ र देव गर्त नामक स्थान उल्लेख छ । उनको श्रीपशुपतिनाथ मन्दिरको प्राङ्गणको अवस्थितिले त्रिपुर योजनाको चित्रण गर्दछ, जस अनुसार पशुपतिनाथको उत्तरी खण्ड उच्च समथर रहेको, मध्य क्षेत्रमा मन्दिर परिसर र दक्षिण खण्डमा संस्कार क्षेत्र रहेकाले यी खण्डहरूले क्रमशः स्वर्ग, पृथ्वी र पातालको भावनात्मक चित्र प्रतिविम्वत गर्ने विश्वास गरिन्छ ।

२. नवगृह र नौ सम्पदाहरूको संयोजन

राजा नरेन्द्रदेवको नवगृह पशुपतिनाथको पश्चिमतर्फ अवस्थित थियो, र उनको आवास क्षेत्रलाई स्वर्ण पुरी भनिन्थ्यो । कर्मुका योजनामा आधारित यो स्वर्णपुरीको अध्यास लिच्छविकालीन शास्त्रीय मान्यता र वास्तुकला अनुसार बनेको अनुमान गरिन्छ । शिवदेव प्रथमले पशुपति क्षेत्रलाई राजधानी बनाएका थिए ।

नरेन्द्रदेवले यो क्षेत्रमा नौ टोल, नौ गणेश, नौ ढोका, नौ ईश्वर, नौ ईश्वरी, नौ धारा, नौ पोखरी, नौ डबली, नौ इनार, नौ मार्ग र नौ चउरको स्थापना गरेका थिए । उनको स्वर्ण पुरी क्षेत्र गोलाकार मण्डलाको थियो र इनार, मन्दिर, डबली, धारा र द्वारहरूले सुसज्जित थियो भन्ने गरिन्छ ।

३. खुला सङ्ग्रहालय र अभिलेखहरूको भण्डार

पशुपति क्षेत्र पुरातात्त्विक सम्पदाको खुला सङ्ग्रहालय हो, र यो क्षेत्रमा लिच्छवि कालका मात्र करिब ३ दर्जन जति अभिलेख, शिवलिङ्ग र मूर्तिहरू भेटिन्छन् । उपत्यकाको एकै स्थानमा सबैभन्दा बढी अभिलेखात्मक सम्पदा शिलापत्र र ताम्रपत्रहरू पशुपति क्षेत्रमा छन् । यद्यपि लिच्छवि कालभन्दा अगाडिको स्थितिको जानकारी दिने वंशावलीको कथनबाहेक अन्य अभिलेख छैनन् । किराँत कालको स्मृति चिन्हका रूपमा किराँतेश्वर शिवलिङ्ग र विरुपाक्ष रहेको मानिन्छ ।

पशुपति क्षेत्रका मन्दिरहरूमा प्राचीन समयदेखि चल्दै आएका सबै सांस्कृतिक कृत्य, नित्य पूजा र अधिकांश सम्पदाहरू प्राचीन इतिहासको प्रमाणका रूपमा मानिन्छ । भगवान् श्रीपशुपतिनाथ मन्दिर, वासुकि, गुह्येश्वरी, विश्वरूपा, वत्छलेश्वरी, राजराजेश्वरी, भुवनेश्वरी, जयवागीश्वरी, दक्षिणामूर्ति, गुह्येश्वरी र गोरखानाथ क्षेत्रका मन्दिरहरूको सूक्ष्म कारिगरी अध्येताहरूका लागि  खुला सङ्ग्रहालय जस्तै रहेका छन् ।

५. अनुपम शिल्पी, कला र वास्तुकलाको उपयोग

पशुपति क्षेत्र कला तथा वास्तुकलाको लागि प्रसिद्ध छ, र प्राप्त कला एवं वास्तुकलाका स्वरूपहरूले विभिन्न कालखण्डको प्रतिनिधित्व गर्दछ । गोपालराज वंशावलीका अनुसार पशुपतिनाथको लिच्छविकालीन मन्दिर पाँच तले थियो, र त्यो राजा सुपुष्पले बनाउन लगाएका थिए । लिच्छवि कालको कलाशैलीमा गुप्त कलाशैलीको प्रभाव धेरै देखिन्छ, र वास्तुकलाको रूपमा शिखर शैली एवं पाखे/तलेशैलीका मन्दिर, मण्डप, पाटी र सत्तलहरूको बाहुल्यता रहेको छ । नेपालमा लिच्छवि काललाई मूलतः ढुङ्गे मूर्तिकलाको स्वर्णकाल मानिन्छ र यस कालका मूर्तिहरू धार्मिक र लौकिक जनजीवनसँग सम्बन्धित देखिन्छन् । तिलगङ्गामा प्राप्त पहिलो तिथिमिति सहितको विष्णु विक्रान्त मूर्तिले उन्नत प्रस्तर कलाकारिता प्रतिविम्बत भएको देख्न सकिन्छ ।

हालको अधिकांश सम्पदामा मल्लकालमा विकास भएको कला र वास्तुकला प्रयोग भएको छ । श्रीपशुपतिनाथ मन्दिर, वासुकि, उन्मत्त भैरव, गुह्येश्वरी, राजराजेश्वरी, भुवनेश्वरी, जयवागेश्वरी लगायतका मन्दिरहरूमा यो समयको शैली अवलम्बन गरिएको छ । शैली  मल्लकालीन रहे पनि हाल उपलब्ध कला र वास्तुकलाका स्वरूपहरू भने ८० प्रतिशतभन्दा बढी राणा काल यताका निर्मित देखिन्छन् । पशुपति क्षेत्रमा रहेका १५ शिवालय परिसर, गोरखनाथ परिसर, भश्मेश्वर परिसर, राजराजेश्वरी परिसर, मृगस्थली परिसर, विश्वरूप परिसर, वनकाली परिसर, भुवनेश्वरी परिसर र गौरीघाट परिसरका कलाकृतिहरू राणाकालीन सम्पदाहरू हुन् ।

नेपालले पक्ष राष्ट्रका रूपमा विश्व सांस्कृतिक एवं प्राकृतिक सम्पदा सम्बन्धी महासन्धिलाई सन् १९७८ मा अनुमोदन गरेको छ । यो सन्धिले विश्वभर छरिएर रहेका विश्वव्यापी एवं अति विशिष्ट सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको पहिचान र संरक्षण गर्ने दृष्टिकोण राखेको छ । यो अर्थमा पशुपति क्षेत्र आधुनिक विश्व मानव समुदायको समेत साझा सांस्कृतिक सम्पदा स्थलको रूपमा रहेको बुझ्नु अपरिहार्य छ ।

अबको अङ्कमा भने श्रीपशुपतिनाथको सान्निध्यमा प्रचलनमा रहेका जीवन्त सांस्कृतिक मान्यता र अभ्यासहरूलाई प्रस्तुत गरिनेछ ।