कोठा बढार्दाबढार्दै टेबुलमुनि छरिएका कागजका केही रङ्गीन टुक्राहरू देखेर मेरा हातहरू अनायासै रोकिन्छन् । त्यो देखेर एकपल्ट म नराम्रो गरी झस्किन्छु । तिनलाई बढारेर बाहिर फ्याँक्न पनि सक्दिनँ न त टिपेर राख्न नै सक्छु । सन्दिग्ध र आतङ्कित पार्ने प्रकाशको हेराइ र अनुहार एकै पटक मेरो मानसपटलमा आउँछ । बिस्तारै म शिथिल हुँदै जान्छु । हिजो राति झैँ लल्याकलुलुक गल्न थाल्छु ।

केही महिनाअगाडि एउटा सेमिनारमा भाग लिन म बेजिङ गएकी थिएँ । त्यही प्रसङ्गको कुराकानीमा त्यहीँ चिनजान भएको एउटा युवकसँग केही नजिक उभिएको मेरो तस्बिर हिजो देखेपछि प्रकाशले एल्बमका अरू पानाहरू पल्टाउन छाडेको थियो । केही नबोलेर घरी मेरा आँखामा र घरी त्यस तस्बिरमा घुरेर हेरिरह्यो । त्यतिखेर मलाई एउटा नजानिँदो असजिलो अनुभव भयो । उसको निःशब्द आक्रोश र विद्रोह देखेर म भित्रभित्रै काम्न थालें, डराउन थालेँ । कुन्नि कस्तो बाध्यतामा आफूलाई बाँधेर हो वा पाएर हो नचाहेरै पनि मैले त्यो तस्बिरलाई एल्बमबाट झिकेँ । ध्वारध्वार्ती च्यातेर यसरी फ्याँकेँ मानौँ हातमा कुनै घिनलाग्दो वस्तु टाँसिएको थियो । अनि उसको अनुहारमा सगर्व यसरी हेरेँ, सारा जिन्दगी समर्पित गर्ने विश्वास दिलाएर त्यसको प्रमाणपत्र वा भरपाई मागिरहेकी छु ।

अहिले त्यो सम्झेर मलाई आफैँसँग रिस उठ्न थालिरहेको छ । आफूलाई चिथोरूँ-कोपरूँ झैँ लागिरहेको छ । अरू बेला मभित्र दन्किने आगो जस्तो साहस, उत्साह र चाहनाहरू उसको सामीप्य र स्पर्श हुन थालेपछि किन निभ्न थाल्छन् ? हराउन र बिलाउन थाल्छन् ? अहिले म आफैँलाई प्रश्न गर्न थाल्छु ।

कतै म ऊसँग आफूलाई बाँधेर आफ्ना सारा लक्ष्य र दायित्वबाट पन्छिन र उम्किन खोजिरहेकी त हैन ? त्यो अनावश्यक डर, त्रास र आशङ्कालाई नै कतै मैले आफ्नो सुरक्षाको कवच त ठानिरहेकी छैन ? नत्र म किन यो आफूले धान्न नसक्ने गहौँ र पर्नेनपर्ने चीज पनि बोकिरहेकी छु ? आफैँलाई किच्ने गरी किन यसलाई ओढिरहेकी छु ? किन ? किन, के आखिर प्रेम भनेको यही हो त, स्वास्नीमान्छेले आफ्ना सम्पूर्ण इच्छा र आकाङ्क्षाहरूमाथि बुल्डोजर चलाएर लोग्नेमान्छेको रहर र जिज्ञासामा समर्पित भइदिनु ? के त्यो प्रेमको नाममा भावनात्मक शोषण र मानसिक दमन होइन र ? कति नै उदाहरण छन् र एउटा लोग्नेमान्छे आफ्नी आमा, स्वास्नी वा प्रेमिकाका लागि सम्पूर्ण रूपले समर्पित भएको ? यदि ऊ कसैसँग मानसिक रूपमा समर्पित छ भने शारीरिक रूपमा हुँदैन र कतै शारीरिक रूपमा छ भने मानसिक रूपमा हुँदैन । जुनसुकै सम्बन्ध र सम्बोधनमा पनि स्वास्नीमान्छे कतै न कतै टुक्रिएकी हुन्छे, भाँचिएकी हुन्छे, जसरी म टुक्रिएकी छु, भाँचिएकी छु विखण्डित र विभाजित भएकी छु ।

के कुनै स्वास्नी वा प्रेमिकाले आफ्नो लोग्ने वा ‘प्रेमी’ को विगत कोट्ट्याएर यसरी घाउ बनाउँछे र ? तर लोग्नेमान्छे भने आफ्नो जिन्दगीमा प्रवेश गर्नुअघिकी प्रेमिकाको जीवनलाई पनि रेसारेसा तानेर हेर्दो रहेछ, चामलझैं निफन्दो र केलाउँदो रहेछ । तस्बिरले पनि उसलाई बिझाउँदो रहेछ, पोल्दो रहेछ ।

अहिले मलाई विद्रोह गर्न मन लागिरहेको छ आफ्नै विरुद्ध, स्वास्नीमान्छेपनका विरुद्ध, आफैले खोसाएको स्वतन्त्रताका विरुद्ध, समर्पित अस्तित्वका विरुद्ध ।

के स्वास्नीमान्छेको अतीत हुँदैन र ? के मेरो अतीत छैन र ? आफ्नो अतीतलाई सम्झिने अधिकार के मलाई छैन र ? कसले रोक्न सक्छ मेरा भावना र विचारलाई ? आफ्नै सामर्थ्य र परिश्रममा बाँचेकी म स्वास्नीमान्छे, मैले नचाहेको र मन नलागेको बाटोमा के हिँड्नु जरुरी छ र ? कसले बाध्य गर्न सक्छ मलाई ?

कहिलेकाहीँ म आफ्ना विगतहरूलाई पनि खेलाउन चाहन्छु तिनमा रमाउन चाहन्छु लुटपुटिन चाहन्छु । अहिले मलाई केही महिना पहिले बिताएका ती दिनहरू, ती क्षणहरू याद आउन थाल्छन् ।

‘छिटो हिँडन अली,’ उसको हात समातेर तान्दै भीडमा मैले लगभग दौडाइरहेकी थिएँ । ऊ भने पाँचसात वर्षको सानो बालक आमाको पछिपछि हिँडेझैं गरी आफ्ना औँलाहरू मेरा हत्केलामा उनेर आफूलाई घिसारिरहेको थियो । त्यस बेला म कुनै छुट्नै लागेको रेल चढ्न लागेझैं गरी एकदमै हतारिरहेकी थिएँ । मानिसहरूको ठूलो भीड थियो । कोही आइरहेका, कोही गइरहेका, असङ्ख्य मानिसहरूको घुइँचो । त्यस्तो भीड त्यहाँ सधैँ हुन्थ्यो कि त्यसै दिन मात्र थियो । मलाई स्पष्ट नभए पनि त्यहाँको सुन्दरता र भव्यता देख्दा लाग्थ्यो त्यो भीड त्यसको आकर्षणको ठूलो अंश हो ।

‘अली । के तिमी थाकिसक्यौ ?’ भीडभित्र एकछिन म थामिएँ र अरूलाई पन्छाएर उसका आँखामा हेर्दै भनें । मसिना ओठहरूमा ऊ अलिकति मुस्कुरायो । निधारमा टाँसिएका पसिनाका ससाना थोपा पुछ्तै उसले भन्यो, ‘अहँ ! बिलकुलै छैन ।’

मलाई उसको त्यो जबाफ कुनै इमानदार, आज्ञाकारी बालकले कृत्रिम साहस देखाएर भनेको झैं लाग्यो । त्यस भीडमै पनि मैले केहीबेर उसका आँखा र अनुहार नियालिरहें । अली जति हृष्टपुष्ट र आकर्षक थियो, उसको विनम्रता र भद्रता अझ लोभलाग्दो देखिन्थ्यो ।

‘अली’ मैले उसलाई बोलाउने नाम यही थियो । हुन त उसको नाम ‘सौजात अली’ हो, तर मैले कहिल्यै पनि उसलाई पूरा नामले बोलाइन आफ्नो पूरा नाम उसले त्यही दिन बताएको थियो, जुन दिन सेमिनारमा पहिलोपल्ट उसको र मेरो औपचारिक रूपमा परिचय भएको थियो ।

सेमिनारको त्यस अवधिमा ऊसँग मेरो अति घनिष्टता बढ्दै गएको थियो । हामी आआफ्ना मुलुकका राजनीतिक परिवर्तन, सामाजिक र आर्थिक स्थिति तथा सभ्यता, संस्कृति अनि मानवीय मूल्य र मान्यताका बारेमा पनि अरू थुप्रै कुराहरू अक्सर गर्ने गथ्यौँ ।

दुईचार पटकको भेटघाटपछि हामी अझ धेरै खुलेर कुरा गर्ने भइसकेका थियौं ।

एक दिन कफी हाउसमा उसले मलाई सोध्यो, ‘तपाईं विवाहिता कि अविवाहिता ?’

मैले आफ्नो अवस्था बताइदिइसकेपछि ऊ केहीबेर केही पनि बोलेन । केही पर्खेझैं गरी मेरो अनुहार हेरिरह्यो । मलाई थाहा थियो, त्यस बेला ऊ पनि मबाट त्यही प्रश्न सुन्न चाहन्थ्यो जुन उसले भर्खरै मसँग गरेको थियो । तर मलाई लाग्यो ऊ विवाहत हो र अविवाहित भन्न रुचाउँथ्यो । उसको अनुहारमा पोतिएको असमञ्जसतालाई बुझेर केहीबेरपछि मैले त्यही प्रश्न गरेँ, जुन उसले चाहिरहेको थियो ।

त्यसपछि विषयहरू अझ विस्तारित हुन थाले । सेक्सका कुराहरू पनि उठे । हामीकहाँ सेक्स स्वतन्त्रता नभएको र विवाहअगाडि यसलाई सामाजिक दृष्किोणले अक्षम्य अपराध ठानिने कुरा पनि मैले उसलाई बताएँ । कुराकानीको दौरानमा हामीले दुवै मुलुकका धेरै विषयहरूमा समानता भेट्टायौँ । उसले बिस्तारै व्यक्तिगत धारणामा पनि मलाई आक्रमण गर्न थाल्यो । त्यसै प्रसङ्गमा मैले यो पनि भनें, ‘विवाह र सेक्सको एकदमै निकट र घनिष्ट सम्बन्ध छ, तर एउटै भने होइन । सेक्स भनेर एकदमै डराउनु वा लजाउनुपर्छ भन्ने मलाई लाग्दैन । यो वयस्कताको एउटा स्वाभाविक आवश्यकताबाहेक अर्थोक केही होइन ।’

त्यसपछि उसले मलाई एउटा ठाडो र नाङ्गो प्रश्न गर्यो, ‘तिमीलाई सेक्सको अनुभव छ कि छैन ?’

त्यो प्रश्नले केही बेर म हतप्रभ भएँ । एकछिन अलि आत्तिएँ पनि, तर भरसक कम झूठ बोल्ने नीति र सिद्धान्तअनुरूप मैले ढाँटिनँ ।

‘तिम्रो दृष्टिकोणको स्पष्ट र साहसिलो अभिव्यक्तिले म ज्यादै प्रभावित भएको छु,’ उसले भन्यो, ‘हाम्रो मुलुकमा पनि पढेलेखेका बौद्धिक र एड्भान्स महिलाहरू पनि सामाजिक कट्टर संस्कार (कुसंस्कार ?) ले गर्दा भन्नलाई विवाहअगाडि सेक्स गर्नुलाई राम्रो मान्दैनन्, तर भर्जिन पनि कोही भेटिंदैनन् ।’ उसले हाँस्तै अलि ठट्टाको स्वरमा भन्यो ।

त्यसपछि हामी दुवै केहीबेर हाँसिरह्यौं । अनि लगत्तै ऊ केही उदास देखियो र झ्यालबाट बाहिर टाढा हेर्दै गम्भीर भएर भन्यो, ‘तिम्रो निश्छलता र स्पष्टता देखेर मैले आफूलाई ढाँटेको कुरा लुकाइरहन सकिरहेको छैन । म एउटा विवाहित पुरुष हुँ ।’

मैले हाँस्दै भनेँ, ‘के भो त विवाहित भए मित्रतामा ? हामी विवाह त गर्दै छैनौँ नि । यसमा दुःखी हुनुपर्ने कुरा त म केही देख्तिनँ ।’

त्यसपछि ऊ अलि खुसी देखियो र फेरि स्वाभाविक रूपमा कुरा गर्न थाल्यो ।

‘आऊ । अलिकति यता उभिऊ त । यो लेकको पृष्ठभूमिमा म तिम्रो सौन्दर्यलाई एकछिन क्यामेरामा कैद गर्छु ।’ म झल्याँस्स हुन्छु । उसले भीड उधिन्यो र तानेर मलाई अलि वर ल्यायो । समर प्यालेसको कुसिङ्ग लेकको डिलमा बार समातेर म उसको सामुन्ने उभिएँ । लगातार दुई स्न्याप लिइसकेपछि हामी केहीबेर चौडा तथा लामो कलात्मक कोरिडरमा हिँडिरह्यौं, जुन पहिले आगलागीबाट क्षति भइसकेपछि बनाइएको रहेछ । करिब २९० हेक्टरमा फैलिएको समर प्यालेस साँच्चैको अनुपम सुन्दर थियो । असङ्ख्य विदेशी पर्यटकहरू र स्थानीय चिनियाँहरू पनि त्यहाँभित्रको मन्दिर, पुल, अभिलेख र त्यस बेलाका शासकले प्रयोग गर्ने प्रत्येक वस्तलाई अत्यन्त उत्सुकता र कौतूहलताले हेरिरहेका थिए ।

‘के तिमी पनि रानी सिक्सीसँग बसेर तस्बिर खिच्छ्यौ कि ?’ राजकीय पोसाकमा बडो जीवन्त लाग्ने रानी सिक्सीको प्रतिमासँगै उभिएर तस्बिर खिचाउन तँछाड मछाड गरिरहेका पर्यटकहरूको भीड देखाउँदै उसले भन्यो ।

‘म सामान्य नारी हुँ र यही नै हुन रुचाउँछु ।’ मैले हाँस्दै भनें ।

करिब आठ सय वर्षपहिलेका शासक क्विङ जनताप्रति जति नै उदार र दयालु भएको अभिलेख पढे पनि रानीको इच्छा र चाहनामा गर्मीको मौसम बिताउन बनाइएको त्यो भव्य वैभवपूर्ण दरबार देखेपछि ‘राजा’ जुनसुकै देश र समयकाल यस्तै विलासी र जोइटिङ्ग्रे हुँदा रहेछन् भन्ने पनि मलाई नलागेको होइन । त्यो दरबारभित्र एउटा गजबको विशाल स्टेज पनि थियो, जहाँ भएको अपेराको दृश्य पनि रानी सिक्सी सामुन्ने अगाडिको एउटा यस्तो ठाउँमा बसेर मजाले हेर्दी रहिछन् । तर उनलाई अरूले सजिलै देख्न भने सक्दा रहेनछन् । त्यो स्टेज उनको साठियाँ जन्मोत्सवका उपलक्ष्यमा तयार गरिएको रहेछ । अभिलेखबाट त्यो जानकारी पाएपछि मलाई लाग्यो, आदिकालदेखि नै राजामहाराजाहरूले आफ्ना जीवनका अन्तिम क्षणहरूमा भोगविलास गर्ने रुचिमा कुनै कमी ल्याउँदा रहेनछन् ।

गोरखा दरबारभन्दा पनि ठाडो उकालोमा रहेको समर प्यालेसको दोस्रो तलामा पुगेपछि धेरै उचाइ र भोकका कारण मेरा कान गुन्जिन थाले । मैले त्यसको परवाहै नगरेर बडो उत्साह र स्फूर्तिका साथ अँध्यारा भन्ज्याङहरूमा म उसको हात तान्दै उक्लिरहें । अँध्यारोमा ऊ डराउँथ्यो र लगभग छाम्दै बेमनले उक्लिरहेको थियो मानौँ ऊ घिस्रिरहेको थियो ।

ठाउँठाउँमा ऊ अड्किन पनि चाहन्थ्यो र त्यो अँध्यारोमा एक जोर चम्किला आँखाले मेरो अनुहारलाई नियाल्दै नजिक हुन चाहन्थ्यो । म भने उसको श्वास मेरा कान र घाँटीमा आइनपुग्दै उसलाई झन्झन् छिटो तानेर उकालिरहेकी थिएँ । घरीघरी ऊ मेरो पाखुरा तानेर भन्ने गर्थ्यो, ‘तिमी किन नथाकेकी हँ ?’

हामी तेस्रो तलामा पनि चढ्यौं, जहाँ एउटा इटालियन युवकले शोधकार्यमा संलग्न दुई जना फ्रेन्च केटीहरूलाई त्यो दरबार, त्यस बेलाका राजा र त्यहाँको गौरवशाली वास्तुकलाबारेमा जानकारी गराइरहेको थियो । त्यस युवकको तारिफ मलाई त्यस बेला लाग्यो जब ऊसँग उभिएकी चाइनिज केटीसँग त्यसबारे चिनियाँ भाषामा धाराप्रवाह बोलेर जानकारी लिने गर्थ्यो । हामी पनि केहीबेर त्यहीँ उभियौँ र सुनिरह्यौँ । त्यसै बेला एउटा चाइनिज युवती आई र ‘एक्स्क्युज मी’ भन्दै आफ्नो क्यामेरा अलीलाई दिएर तस्बिर खिचाई, हिँड्ने बेलामा भनी, ‘सेसे ।”

क्यामेरा दिँदै अलीले हाँस्दै भन्यो, ‘मै क्वानसी ।”

दरबारबाट ओर्लिसकेपछि मूल चोकमा आइपुग्दा अलीले मलाई एकैछिन उभिन सङ्केत गर्यो । हिँडिरहेको पर्यटकलाई क्यामेरा दियो । अनि मछेउ आएर टाँसिएर उभियो ।

हिजो आफैँले च्यातेर फ्याँकेको त्यही तस्बिरका दुई टुक्राहरू उठाएँ । खुजमुजिएको एउटा टुक्रामा सौजात अली मुस्कुराइरहेको थियो, अर्कोमा म । मैले ती दुई टुक्राहरूलाई जोडेर हेरिरहेकी थिएँ ।

‘सुनीता !’ अचानक प्रकाशको सम्बोधनले म झस्किन्छु । ऊ भर्याङ उक्लिरहेको थियो । सायद आज पनि म लल्याकलुलुक गल्छु होला ।