छैटौं अध्यायः मालिक र सेवक

बुक अफ मिरदाद

साथीहरूले मिर्दादको बारेमा आफ्नो विचार व्यक्त गर्छन् ।

मिर्दाद: मिर्दाद शमदामको मात्र सेवक होइन । शमदाम ! के तिमी आफ्नो सेवकहरूको गणना गर्न सक्छौ ?

त्यहाँ एक चील वा बाज छ । त्यहाँ कुनै मन्दिर वा बगर छ । त्यहाँ कुनै पहाड वा तारा छ । त्यहाँ समुद्र वा ताल छ । शमदामको सेवा नगर्ने कोही परी वा राजा छन् ? के सारा संसार शमदामको सेवामा समर्पित छैन ?

न मिर्दाद शामदामको एकमात्र मालिक हो । शमदाम ! के तिमी आफ्नो मालिकहरूको गणना गर्न सक्छौ ?

त्यहाँ झिंगा वा कीरा छ । एउटा उल्लू वा भँगेरा छ । काँडा वा फूल छ । ढुङ्गा वा हाँगा छ । शीतको थोपा वा पोखरी छ । शामदामले सेवा नगरेको कोही भिखारी वा चोर छ ? के सारा संसारको सेवामा शमदाम छैन ? किनकि, आफूले काम गर्दा संसारले पनि काम गर्छ । आफूले काम नगर्दा संसारले पनि गर्दैन ।

हो, शिर पेटको मालिक हो । तर पेट पनि शिरको मालिक भन्दा कम छैन । आफैंले सेवा नगरेसम्म कुनै पनि कुराले सेवा गर्न सक्दैन । सेवा गर्नेलाई सेवा नगरेसम्म कुनै पनि कुराले सेवा दिन सक्दैन ।

शमदाम ! म तिमी लगायत सबैलाई भन्छु । सेवक मालिकको पनि मालिक हो । मालिक सेवकको सेवक हो । मालिकलाई शिर उठाउन नदेऊ । क्रूर मालिकको अहंकारलाई कुल्चिदेऊ। लजालु नोकरको लाज उखेलिदेऊ ।

याद गर । वचन एक हो । त्यो शब्दको अक्षर भएकोले तिमी पनि वास्तवमा एक छौ । एउटा अक्षर अरू कुनै अक्षरभन्दा उत्कृष्ट छैन । न त अरू कुनै अक्षर एउटा भन्दा बढी आवश्यक छ । धेरै अक्षरहरू एउटै अक्षर हुन् । शब्दहरू पनि सबैका लागि, सधैंका लागि प्रेम हो । अव्यक्त आत्म र प्रेमको क्षणिक आनन्द अनुभव गर्न चाहन्छौ भने, तिमीले एउटै अक्षर बन्नुपर्छ ।

शमदाम ! यस क्षेण म तिमीसँग कुरा गरिरहेको छैन । जसरी मालिकले नोकरसँग वा नोकरले मालिकसँग कुरा गर्छन् । बरु, भाइले भाइसँग जसरी कुरा गर्छ, त्यसरी नै म बोल्दैछु । मेरो भनाइ सुनेर किन रिसाउँछौ ?

यदि तिमी चाहन्छौ भने, मलाई अस्वीकार गर । तर म तिमीलाई अस्वीकार गर्दिनँ । मेरो शरीरको मासु तिम्रो शरीरको मासु भन्दा फरक छैन भनेर भर्खरै भनेको होइन र ? म तिमीलाई आक्रमण गर्दिनँ । नत्र मेरो रगत बग्छ । त्यसैले रगत बग्नबाट जोगिन चाहन्छौ भने, जिब्रोलाई म्यानमा राख । मेरो लागि आफ्नो हृदयको ढोका खोल । यदि तिमी तिनीहरूलाई पीडा र पसोमा बन्द गर्न  चाहन्छौ भने ।

काँडा र जाल भएको जिब्रो हुनु भन्दा जिब्रो नहुनु नै जाती । जबसम्म जिब्रो दैवी ज्ञानद्वारा शुद्ध हुँदैन, तबसम्म यसबाट निस्कने शब्दहरू पीडा र पासोमा परिरहन्छन् ।

हे मित्रहरू हो ! म तिमीहरूलाई आफ्नो हृदय खोज्न आग्रह गर्दछु । आफू भित्रका सबै अवरोधहरू हटाउन आग्रह गर्दछु । ती बन्धनहरू तोड्न आग्रह गर्दछु । जसमा तिम्रो ‘म’ बेरिएको छ । तिमीले देख्न सक्छौ कि, तिम्रो ‘म’ ईश्वरको वचनबाट अविभाज्य छ । जुन आफैमा सधैं मौन छ । यसबाट उत्पन्न भएका सबै टुक्राहरू ब्रह्माण्डहरूसँग निरन्तर एउटै आवाजमा लयबद्ध छन् ।

नोआको लागि यो मेरो उपदेश थियो ।

तिमीलाई यो मेरो शिक्षा हो ।

मिखाइल नाइमी

नरोन्डा: यसपछि मिर्दाद हामी सबैलाई अवाक् र लाजमर्दो अवस्थामा छोडेर आफ्नो कोठामा गए । केही बेरको मौनतापछि जसको बोझ असह्य बन्दै गएको थियो, तिनीहरू उठेर जान थाले । जाँदा प्रत्येक साथीले मिर्दादको बारेमा आफ्नो विचार व्यक्त गरे ।

शमदाम: राज मुकुटको सपना देख्ने भिखारी ।

मिकायन: उनी नै हुन् । जो गोप्य रूपमा  नोआको डुङ्गामा चढेका थिए । के उनले भनेका थिएनन्, “यो नोआलाई मेरो उपदेश थियो ?”

अविमार: ‘पेचिलो धागोको बन्धन ।’

मिकास्टर: ‘अर्को आकाशबाट धर्तीमा झरेका तारा ।’

बैनून: ‘एक प्रतिभाशाली मानिस, तर विरोधाभासी चीजहरूमा हराएको ।’

जमोरा: ‘एक अनौठो व्यक्ति । जसको वचन हामी बुझ्न सक्दैनौं ।’

हिम्बल: ‘सहानुभूति श्रोताको खोजीमा भट्किरहेको आत्मा ।’

 

अध्याय सात 

 

मिकायन र न्यारोन्दा राति मिर्दादसँग कुरा गर्छन्  । जसले भविष्यमा बाढीको संकेत दिन्छन्, तिनीहरूलाई बाढीको सामना गर्न तयार हुन आग्रह गर्दन् ।

नरोन्डा: रातको करिब दुई बजेको थियो । मैले मेरो कोठाको ढोका खुलेको महसुस गरेँ ।  मिकायानलाई मन्द स्वरमा कसैले केही भनेको सुनेँ,

‘नरोन्डा, तिमी जागा छौ ?’

“आज राति मेरो कोठामा निन्द्रा पसेको छैन मिकायन ! न त निद्रा आएर मेरो आँखामा बास गरेको छ । तिमीलाई भने ऊ सुतिरहेको छ भन्ने लागेको थियो ?”

“मिर्दाद भनेको हो ?”

“तिमी उसलाई मिर्दाद भन्न थालिसकेका छौ ? सायद ऊ हुनसक्छ । ऊ को हो भन्ने निर्धारण नहुन्जेल म आराम गर्न सक्दिनँ । आओ, हामी ऊ कहाँ जाऔँ ।”

हामी चुपचाप आफ्नो कोठा छोडेर मिर्दादको कोठामा पुग्यौँ । लुकेको चन्द्रमाका केही किरणहरू पर्खालको माथिल्लो भागमा ठोक्किएका थिए । एउटा प्वालबाट भित्र पसी भुइँमा फैलिएको उनको साधारण ओछ्यानमा सुतिरहेका थिए । त्यो रात त्यहाँ कोही सुतेको थिएन । हामीले खोजेको मान्छे त्यहाँ भेटिन्न भन्ने स्पष्ट थियो ।

चकित, लज्जित र निराश भएर हामी फर्कन लागेका थियौँ । अचानक ! ढोकामा उनको कोमल अनुहारको एक झलक हाम्रो आँखाले समात्नु अघि नै उनको मधुर आवाज हाम्रो कानमा ठोक्कियो ।

मिर्दाद: चिन्ता नगर । शान्तिपूर्वक बस । चुचुराहरूमा फैलिएको रात छिट्टै बिहानीमा विलीन हुँदैछ । यो समय विलयका लागि एकदमै अनुकूल छ ।

मिकायन: (अनिश्चित, र रोकिएर) यो अतिक्रमणलाई माफी दिनू । हामी रातभर निदाउन सकेनौँ ।

मिर्दाद: निद्रामा आफूलाई बिर्सनु अति क्षणिक हो । अलिकति शंका बोकेर निद्रामा आफूलाई बिर्सनु भन्दा, बरू ब्यूँझदा आफूलाई पूर्ण रूपमा बिर्सनु राम्रो हो । तिमीहरू मिर्दादबाट के चाहन्छौ ?

मिकायन: हामी तिमी को हौ भनी पत्ता लगाउन आएका हौं ।

मिर्दाद: जब म मानिससँग हुन्छु, तब म ईश्वर हुँ । ईश्वरको जय होस् । मिकायन ! के तिमीले सिक्यौ ?

मिकायन: तिमी ईश्वरको निन्दा गर्दैछौ ।

मिर्दाद: सायद मिकायनको ईश्वर ! मिर्दादको ईश्वर त पटक्कै हैन ?

मिकायन: के त्यहाँ मानिस झैं धेरै ईश्वर छन् ? मिर्दादका लागि एउटा ईश्वर र मिकायनको लागि अर्को ईश्वरको कुरा पो गर्छौ त ?

मिर्दाद: ईश्वर धेरै छैनन् । ईश्वर एक छन् । तर पनि मानिसका छाया धेरै र फरक छन् । जबसम्म पृथ्वीमा मानिसको छाया रहन्छ । तबसम्म कुनै पनि मानिसको ईश्वर उसको छायाभन्दा ठूलो हुन सक्दैन । छाया नभएको मानिस मात्रै पूर्णतया प्रकाशमा डुब्छ । छायाविहीन मानिसले मात्र त्यो ईश्वरलाई जान्दछ । किनभने ईश्वर ज्योति हुन् । प्रकाशले मात्र प्रकाश जान्न सक्छ ।

मिकायन: हामीसँग फजुल कुरा नगर । हाम्रो हृदय अझै नीरस छ ।

मिर्दाद: छायाको पछि लाग्ने मानिसका लागि सबै कुरा फजुल हो । यस्तो मानिस उधारो उज्यालोमा हिँड्छ । त्यसैले ऊ आफ्नै छायामा ठेस खान्छ । जब तिमी दिव्य ज्ञानको ज्योतिले चम्कन्छौ, तब तिम्रो लागि कुनै छाया रहनेछैन ।

मिर्दादले चाँडै छायाहरू जम्मा गर्नेछन् । तिनीहरूलाई घामको तापमा जलाउनेछन् ।  तिम्रा लागि रहस्य बनेको सबै कुरा, अब अचानक तिम्रो सामु एक ज्वलन्त सत्यको रूप बन्नेछ । त्यो सत्य यति स्पष्ट हुनेछ कि, यसलाई कुनै व्याख्याको आवश्यकता पर्दैन ।

मिकायन: के ! तिमी को हौ भन्ने कुरा हामीलाई बताउँदैनौ ? तिम्रो वास्तविक नाम, तिम्रो देश र तिम्रो पूर्खाहरू बारे थाहा पाउन सके हामी तिमीलाई अझ राम्रोसँग बुझ्न सक्छौँ ।

मिर्दाद: अहो मिकायन ! मिर्दादलाई आफ्नो साङ्लाले बाँधेर आफ्नो पर्दामुनि लुकाउने प्रयास गरुडलाई उसकै खोपामा फर्काइदिएजस्तै हो । नाम विहिन ठाउँबाट बाहिर आएका मानिसको नाम के हुन सक्छ ? जो खोलभित्र रहेन ? कुन देशको सीमानाले आफूभित्र ब्रह्माण्ड भएको मानिसलाई समेट्न सक्छ ? कुन वंशले आफ्नो एक मात्र पूर्खा ईश्वर स्वयम् भएको मानिसलाई आफ्नो भन्न सक्छ ?

मिकायन ! यदि तिमी मलाई राम्रोसँग चिन्न चाहन्छौ भने, त्यसभन्दा पहिले मिकायनलाई राम्ररी चिन ।

मिकायन: सायद, तिमी मान्छेको लुगा लगाएको काल्पनिक चित्र हौ ।

मिर्दाद: हो, मानिसहरूले कुनै दिन भन्नेछन् कि मिर्दाद केवल उनको कल्पनाको चित्र थियो । तर तिमीले चाँडै पत्ता लगाउनेछौ । त्यो कल्पना कति यथार्थवादी छ ? कुनै पनि मानिस वास्तविकता भन्दा कति यथार्थवादी छ ?

अहिले विश्वको ध्यान मिर्दादतर्फ छैन । तर मिर्दाद संसारलाई सधैँ मनमा राख्छन् । विश्वले छिट्टै मिर्दादलाई ध्यान दिनेछ ।

माइकोन: गोप्य रूपमा नोआको जहाज चढ्ने तिमी नै हौ ?

मिर्दाद: भ्रमको आँधीसँग लडिरहेको हरेक डुङ्गामा लुकेको मान्छे हुँ । जब-जब ती डुङ्गाका कप्तानहरूले मलाई मद्दतको लागि बोलाउँछन्, तब अघि बढ्छु र नेतृत्व लिन्छु । तिम्रो मनले नचिनेको भए पनि, धेरै समयदेखि चर्को स्वरले बोलाउदै आएको छु । हेर ! मिर्दाद यहाँ तिमीलाई सुरक्षित पङ्क्तिमा पङ्क्तिबद्ध गर्न आएका छन् । ताकि जब तिम्रो पालो आउँछ, तब तिमीले संसारलाई बाढीबाट बाहिर निकाल्न सक्नेछौ । जुन यसअघि कहिल्यै देखिएको वा सुनिएको छैन ।

मिकायन: अर्को बाढी ?

मिर्दाद: हो । त्यहाँ मानिसहरू पठाउन होइन । बरू पृथ्वी भित्रको स्वर्ग बाहिर ल्याउन । मानिसको निशान मेटाउन होइन । बरू मानिस भित्र लुकेको ईश्वरलाई प्रकट गर्न ।

मिकायन: इन्द्रेणीले आफ्नो सात रंगलाई झुकाएको केही दिन मात्रै भयो । हाम्रो आकाशलाई रंगले सजाएको थियो । तिमी अर्कै बाढीको कुरा गर्छौ ?

मिर्दाद: यो बाढी नोआको बाढी भन्दा विनाशकारी हुनेछ । जसको आँधी र छाल पहिलेदेखि नै उठिरहेको छ ।

पानीमा डुबेको पृथ्वीको गर्भमा वसन्तको वाचा छ । तर आफ्नै तातो रगतमा उम्लिरहेको पृथ्वी त्यस्तो छैन ।

मिकायन: त्यसोभए के हामीले अन्त आउँदैछ भनेर बुझ्नुपर्छ ? किनभने हामीलाई भनिएको थियो कि गोप्य रूपमा डुङ्गामा चढेको मानिसको आगमनले अन्त्य चिन्ह जनाउँछ ।

मिर्दाद: पृथ्वीको बारेमा कुनै डर नमान । उनी अझै सानै छिन् । उनको स्तनले आफूभित्र पर्याप्त दूध राख्न सक्षम भएको छैन ।

उनको दूध पिउनका लागि यहाँ यति धेरै पुस्ताहरू बाँकी छन् कि, तिमीले तिनीहरूको गणना गर्न सक्दैनौ ।

व्यर्थै मानिसको चिन्ता किन ? उसको मालिक पृथ्वी छदैँछ । मानिस अविनाशी छ ।

हो, मानिस अविनाशी छ । मानिसहरू अपरिहार्य छन् । उनी मानव रूपमा भित्र प्रवेश गर्नेछन् र ईश्वरको रूपमा बाहिर आउनेछन् ।

स्थिर रहनू । तयार हुनू । आफ्ना आँखा, कान र जिब्रोलाई भोको राख्नू । तिम्रो हृदयले त्यो पवित्र भोक अनुभव गर्न सकोस् । जुन, एक पटक तृप्त भएपछि सधैँभरि तृप्त हुन्छ ।

तिमी सधैँ सन्तुष्ट रहनुपर्छ । ताकि तिमी असन्तुष्टहरूलाई सन्तुष्टि प्रदान गर्न सक्छौ । तिमी सधैँ बलियो र स्थिर रहनुपर्छ । ताकि तिमी कमजोर र डगमगाउनेहरूलाई समर्थन गर्न सक्छौ । हावाहुरीका लागि सधैँ तयार रहनुपर्छ । ताकि हावाहुरीका असहाय पीडितहरूलाई आश्रय दिन सकियोस् । अन्धकारमा हिँड्नेहरूलाई बाटो देखाउन सकियोस् भनी सधैँ उज्यालो नै रहनुपर्छ ।

कमजोरको लागि कमजोरी बोझ हो । तर बलियोको लागि एउटा सुखद कर्तव्य भनेको कमजोरलाई खोज्नु हो । तिनीहरूको कमजोरी तिम्रो शक्ति हो ।

भोकाएकाको लागि भोक मात्र ठूलो हुन्छ । भोकाएकाहरूलाई केही दिनको निम्ति शुभ अवसर खोज्नू । तिनीहरूको भोक तिम्रो सन्तुष्टि हो ।

अन्धाहरूको लागि बाटोमा अन्धा ढुङ्गाहरू छन् । तर आँखा भएकाहरूका लागि कोसेढुङ्गा । अन्धा खोज्नू । तिनीहरूको अन्धकार तिम्रो ज्योति हो ।

नरोन्डाः त्यसपछि उनीहरू बसेको स्थानमा बिहानी प्रार्थनाको लागि तुरही बज्यो ।

मिर्दाद: जमोराले नयाँ दिनको तुरही बजाउँदैछ । नयाँ चमत्कारको आगमन, जुन तिमीले याद गर्नेछौ । तल र माथि बस्ने, हावा हाल्ने, पेट भर्ने र खाली गर्ने जस्ता काम गरी आफ्नो जिब्रोलाई अर्थहीन शब्दहरूले तिखो बाण बनाउने काम नगर्नु जाती हुन्छ । गर्नुपर्ने कुराहरू पनि नगर्नु नै जाती हुन्छ ।

मिकायन: त्यसोभए हामीले प्रार्थना गर्न जानु हुँदैन ?

मिर्दाद: जाऊ ! तिमीलाई सिकाइएको जस्तै प्रार्थना गर । कुनै पनि कुराको लागि जुनसुकै तरिकाले प्रार्थना गर । जाऊ ! जब सम्म तिमी आत्म-शिक्षित र आत्म-नियन्त्रित हुँदैनौ । प्रत्येक शब्दलाई प्रार्थाना र कार्यलाई बलिदान बनाउन सिक्दैनौ, तबसम्म तिमीलाई गर्नको लागि आज्ञा गरिएको सबै गर । शान्त मन लिएर जाऊ ।

मिर्दादले बिहानको लागि छुट्याएको तिम्रो भोजन पर्याप्त र स्वादिष्ट छ भनी हेर्नुपर्छ ।