एउटी सानी बालिका थिइन् पुलोमा । सारै राम्री । रहरलाग्दी शिशु । दिव्यताले ओतप्रोत । हेरिरहूँ खेलीरहूँ र माया गरिरहूँ जस्ती । खेल्थिन् , खान्थिन्, रुन्थिन् , हाँस्थिन्, अनि चकचक पनि गर्थिन्- छुनुमुने शिशु । भोक लागेपछि रुन्थिन् । गीत गाएजस्तो मीठो रुन्थिन् अनि आफ्नै गीतमा लठ्ठ परेर फेरि रुन्थिन् अनि आनन्दित भएर झनै रोइरहन्थिन् ।

बाबु रोएको सुनेर आजित हुन्थे र भन्थे : न रो केटी ! नत्र पुलोमाले लैजाला है !

आमा झर्किएर भन्थिन् : न रो केटी । अहिले पुलोमालाई लगेर दिन्छु, अनि खालिस् !

कुरो यत्ति हो ।

….

तर, संयोग कस्तो भने पुलोमा नाम भएको एउटा दानव पनि थियो, त्यो त्यसै घरमा लुकेर पहिलेदेखि नै बस्थ्यो । कतै अदृश्य भएर घरको एक कुनामा डेरा जमाएर बसेको थियो ।

सधैं यस्तो सुन्दा सुन्दा उसको मनमा के कुराले डेरा जमाएर बस्यो भने : यो राम्री केटी पुलोमा त मेरै हो । अहिले यति राम्री छ । पछि ठूली भएपछि झन् कति राम्री होली । आहा, यस्ती राम्री केटी यिनीहरुले मलाई दिने भए । कस्तो मज्जा । अनि पुलोमा त मेरै हो भन्ने कुरा त्यस दानव पुलोमाको मनको अन्तरतममा जमेर बस्यो ।

तर, बाबुआमालाई यो कुरा के थाहा ?

विचरी पुलोमालाई यो कुरा झन् के थाहा ?

नभन्दै पुलोमा चाँडै हुर्किई , जति जति ठूली हुँदै गई तेति तेति राम्री झन् झन् राम्री हुँदै गई । तरुनी भएपछि बाबुआमाले बिहा गरिदिने सुर कसे । त्यसबेला एकजना सुविख्यात महर्षि थिए : भृगु । सारै तेजस्वी, महान् तपस्वी, सारै ठूला विद्वान् र परमज्ञानी । स्वयं विश्वस्रष्टा ब्रह्माजीले एकपटक वरुणको यज्ञमा महर्षि भृगुलाई अग्निबाट उत्पन्न गराएका थिए ।

तीभन्दा उत्तम वर अरु को पो हुन सक्थ्यो र ? पिता-माताले प्रस्ताव गरे, महर्षिले सहर्ष स्वीकार गरे । हुन पनि तेति राम्री कन्याको वर हुन पाउनु सौभाग्यकै कुरा हो । तिनीहरुको विवाह भयो, अर्थात् पुलोमाको भृगुसँग बिहा भयो ।

आफ्नी सारै राम्री दुलहीलाई भृगु सारै माया गर्थे । चाँडै नै पुलोमा गर्भवती पनि भइन् ।

एक दिन ती महर्षि भृगु बिहानै स्नान गर्न नदीतिर गएका थिए । त्यसै बेला एउटा नराम्रो घटना घट्यो ।

…..

भृगुपत्नी पुलोमा आश्रममा एक्लै थिइन् । तेसैबेला दानव पुलोमा त्यहाँ आइपुग्यो । अनि ती परमसुन्दरी पुलोमालाई देखेर मुग्ध भयो, कामाशक्तिले आक्रान्त बनेर आफ्नो होश हवास सबै गुमायो ।

तर, विचरी पतिव्रता पुलोमालाई यो सबै के थाहा ? उनले त आफ्नो उत्तम संस्कार अनुकूल अभ्यागतको स्वागत गरिन्, सत्कार गरिन्, आसन-पाद्य आदि अर्पित गरिन् अनि आश्रममा रहेका अमृतमय स्वादु फलफूल समर्पित गरेर अतिथिदेवको अभिनन्दन गरिन् ।

उता त्यो दानवचाहिँ उनको दिव्य रूपराशि र मुस्कानमय स्वागत पाएर झनै मक्ख परयो । उनी एक्लै भएको देखेर हर्षले गद्गद् भयो । अनि अब यिनलाई हरण गरेर लैजानुपर्‍यो भनेर मसक्क आँट पनि गरयो । आफूलाई नै दिने भनेर पहिले नै बाबुआमाले भनिसकेकाले उ त यो राम्री केटी पुलोमा मेरै हो भन्ने मन बनाएर बसेको थियो । अनि फेरि पछि उनको बिहा भृगुसँग गरिदिएकाले उसलाई आफू ठगाइमा परेको बोध भएको थियो । मनमनै ती बाबुआमासँग उसलाई रीस पनि उठिरहेको थियो । आज बल्ल फेला परेकाले, त्यो पनि एकान्तमा, उ खुशी भएको थियो । यति राम्री भइछे यो केटी ! भनेर गजब मान्दै ऊ मक्ख पनि परेको थियो ।

अब पुलोमालाई उठाउनुपर्यो भनेर अठोट गरेकै बेला उसले के देख्यो भने अग्निशालामा अग्निदेव प्रज्वलित छन् । अनि उसले पहिले कुराको रामरी छिनोफानो नै गरुम् न त, भनेर अग्निका सामुन्ने गएर भन्न लाग्यो :

हे पावक, हे अग्निदेव ! तिमी त देवगणका मुख हौ । अतः म जे सोध्छु त्यसको साँचो साँचो जवाफ देउ है ।

पहिले नै मैले यी सुन्दरीलाई मनमनै पत्नीका रूपमा वरण गरिसकेको हुँ, तर अहिले आएर यिनका पिताले यिनको विवाह यो अर्कै मानिस भृगुसँग गरिदिए । अहिले म यिनलाई हरण गरेर लैजान लागेको छु । यो मेरो भाग भृगुले हडपेको देखेर रीसले मेरा कन्सिरी तातीरहेका छन् । अब हे पावक ! तिमी भन त : वास्तवमा यो केटी कसकी पत्नी हो ? हे सर्वज्ञ अग्नि, अनि त्यो बिहेमा तिमी यज्ञ बनेर अगाडि विद्यमान थियौ नि, होइन त । नढाँटीकन भन त यो वास्तवमा कसकी पत्नी हो ? त्यस राक्षसको कुरा सुनेर अग्निदेव एकदमै दुःखी भए । के भनूँ भनूँ भयो । उनी एकातिर असत्यदेखि एकदमै डराउँथे र अर्कातिर क्रोधमूर्ति भृगुको शापदेखि पनि ।

उनले अल्याङ्टल्याङ् गर्दै मसीनो स्वरमा यसो भने :

हे दानव पुलोमा, हुन त यिनलाई पहिले तिमीले नै वरेका थियौ, यिनका बाबुआमाले पनि तिमीलाई नै दिन्छु भनेका थिए नि । तर पछि तिमीभन्दा असल केटा यी भृगुलाई पाएपछि मन्त्रोच्चारणमय विधिपूर्वक मलाई साक्षी राखेर वैदिक क्रियापूर्वक यिनै भृगुसँग बिहे गराइदिएका हुन्, मैले जानेको यही हो ।

अग्निको कुरा सुनेपछि मेरी केटी यही रहिछे भन्ने पक्का भएकाले त्यस दानव पुलोमाले वराहको रूप धारण गरेर भृगुपत्नी पुलोमालाई अपहरण गर्‍यो ।

पुलोमाको पेटमा निवास गर्ने भृगुको छोरो त्यो शिशु अत्यन्त तेजस्वी थियो । यो जबर्जस्ती देखेर असह्य क्रोधले युक्त भएर त्यो तेजोमय शिशु योगबल द्वारा माताको गर्भबाट च्युत भएर बाहिर आयो । यसरी च्युत भएर आएकाले नै त्यस बालकको नाम च्यवन प्रख्यात भयो । आमाका गर्भबाट प्रकट भएको त्यो तेजस्वी बालकलाई देख्नासाथ त्यो राक्षस पुलोमा ती राम्री ऋषिपत्नी पुलोमालाई छोडेर तल खस्यो र तत्काल डढेर खरानी भयो ।

यो आपाधापीले मूर्छित भएकी पुलोमा केही बेरमा होशमा आएपछि आफ्नो छोरालाई छातीमा टाँसेर रुँदै ससुरा ब्रह्माजीकहाँ पुगिन् । आफ्नी बुहारी, भृगुकी पतिव्रता पत्नी यसरी रोएको देखेर उहाँले सान्त्वना दिएर चूप लगाउनुभयो । तिनका आँसूका धाराले एक नदी बन्यो, त्यसको नाम रह्यो : वधूसरा । त्यो कालान्तरसम्म पनि ऋषि च्यवनको आश्रमका छेउबाट बगिरहन्थ्यो ।

यसपछि च्यवनका पिता महर्षि भृगुले यो सबै कुरा थाहा पाएर क्रुद्ध भएर पत्नी पुलोमालाई सोधे : त्यो फटाहा राक्षस पुलोमाले तिमीलाई त चिन्दैनथ्यो । उसलाई कसले तिम्रो परिचय दिएछ हँ ?

पुलोमाका मुखबाट अग्निदेवले त्यो काम गरेको थाहा पाउनासाथ रीसले आगो भएका भृगुले अग्निदेवलाई जलभिषेकपूर्वक शाप दिइहाले : आज उपरान्त तँ सर्वभक्षी भएस् !

विचरा अग्निदेवले अकार्थमा यसरी ती तेजस्वी भृगु ऋषिको शाप झेल्नुपर्‍यो । अनि त्यसै क्षणदेखि ती शुद्ध पवित्र सात्त्विक स्वभावका पवित्र अग्निदेवले जे भेटे पनि भक्षण गर्नै पर्ने, भस्मसात् गर्नै पर्ने भयो, किनभने उनी अब सर्वभक्षी बनिसकेका थिए ।

– महाभारतको आदिपर्वमा आधृत ।

सनतकुमार : अक्षरालय, २०८० चैत्र ९ गते शुक्रवार ।