एउटा अत्यन्त शालीन र भद्र व्यक्ति— रामकृष्ण आचार्य, जसलाई म विगत सात आठ वर्षदेखि सामान्य रूपमा चिन्दै आएको थिएँ । उनी विद्यावारिधिको शोधार्थी म त्यहीँको एक कारिन्दा । प्रशासनिक वा कार्यालयीय काम बाहेक न उनी मलाई चिन्दथे न त म नै उनलाई जान्दथेँ । अनायासै उनले सप्रेम हार्दिक उपहार भनी दस्तखत गर्दै केही समय पहिले आदिबिम्ब (राउटे बस्तीका कथा) नामक एक पुस्तक कार्यालयमा थमाएर हिँडे ।
लाग्यो बौद्धिक मान्छे हुन्, कुनै पुस्तक लेखे होला, सामान्य रूपमा लिएँ । हुन पनि उनले अहिले आफ्नो नामको अगाडि डा.उपाधि थपिसकेका छन् । तर ‘विशेष्य’ उपनाम पनि धेरै अगाडिदेखि नै थपेर साहित्य सिर्जना गर्दा रहेछन् भन्ने कुरा चाहिँ मैले यही कृति हेरेर मात्र थाहा पाएँ ।
सर्वप्रथम झट्ट दृष्टि आवरणमा पर्ने नै भयो । राउटेको तस्बिर देख्नासाथ मलाई त्यसले एकै रन्कोमा फत्रक्कै पार्यो । मानौँ कमिलाले चिनी भेट्टायो । आजभन्दा झण्डै पैँतीस चालीस वर्ष अघिको जीवनमा फर्कन बाध्य बनेँ । जतिखेर सर्जक तथा अन्वेषक पूर्णप्रकाश नेपाल यात्रीले राउटेका बारेमा सम्भवतः प्रथम पटक जनसामान्य पाठकलाई जानकारी मिल्ने उद्देश्यले राउटे लोकजीवन नामक एक गहकिलो कृति लेख्नु भएको थियो । राउटेका बस्ती बस्ती चहारेर तयार पारिएको सो कृति सूचना विभागबाट प्रकाशित भएको थियो । यसमा मैले पनि केही काम गर्ने सौभाग्य प्राप्त गरेको थिएँ ।
त्यो बेलादेखि नै म पनि राउटेको जनजीवनसँग अक्षरको माध्यमले केही परिचित र जिज्ञासु बन्न पुगेको हुँ । अहिले फेरि त्यही विषयमा लेखिएको अर्को पुस्तक फेला पर्दा विगत सम्झिएर पनि थप जानकारी पाउने आशाले खुसीको सञ्चार गरायो । त्यसो त राउटेको बारेमा प्रा.डा.नारायणप्रसाद बेलबासे, डा. हिमलाल पन्थी लगायत अन्य कतिपय विद्वान्हरूले पनि कलम नचलाउनु भएको होइन ।
यो विश्वमा नलेखिएका विषयहरू कति होलान् ? लेखिएकै विषयमा पनि हाम्रो अध्ययन र दृष्टि परेको पनि कति होला र ? विश्वको त के कुरा नेपाल मै पनि कतिपय यस्ता विषयहरू छन् जसमा हाम्रो दृष्टि पर्न सकेको छैन । सामान्य रूपमा त्यस्ता विषयवस्तुहरूलाई हेर्न, देख्न र अनुभूत गर्न त सकेका छैनौ भने झन् लेख्नु र अनुसन्धान गर्नु त टाढाको कुरा हो । यस्तो प्रायः कसैले नलेखेको, नदेखेको, छुन डराएको विषयमा हात हालेर पाठकलाई राउटेको बारेमा जानकारी दिन सक्नु उल्लेख्य मात्र होइन दुर्लभ कार्य नै हो भन्ठान्छु ।
‘अहो राउटेको पनि कथा हुन्छन् होला र ?’ सुरुमा यस्तै लागेको थियो । कहिले हुरी बतासले छाप्रो भत्काइदिन्छ, कहिले मुसलधारे वर्षाले छानो चुहिएर सुती नसक्नु र बसी नसक्नु बनाइदिन्छ । कहिले असिनाले हानेर टाउकोमा टुटुल्को उठेको हुन्छ । बालबच्चाहरू चिसोको कारणले विभिन्न रोगहरूबाट पीडित बनिरहेका हुन्छन् । न्यानो कपडाको सदैव अभाव छ उनीहरूको छाप्रोमा । स्याउला ओछ्याएर कतिपयले रात काट्नु परिरहेको अवस्था छ । गर्मी मौसम लाग्यो कि त डँडेलोको डर सदैव भइरहन्छ । यसले उनीहरूमा हाहाकार नै मच्चाइदिन्छ । यसको चपेटोले अलिअलि भएका उनीहरूका थाङ्नाथराहरू पनि सखाप पारेर रुवाबासी चल्छ । बाघ, भालु, सर्प, बिच्छी जस्ता जीवजन्तुको भय पनि उत्तिकै छ र पनि राउटे किन आफ्नो घर बनाएर बस्न तयार हुँदैनन् । ‘हँ न कस्तो ज्याद्रो जात हो यो ? यस्तो विपत्तिबाट कमसेकम पाठ त सिक्नु पर्ने हो नि ?’ विभिन्न तर्कनाहरू मनमा खेलिरहन्छन् ।
…यहाँ बास बस्न पाइनैन ।
बास कहाँ पाइन्छ त ?
जङ्गल पारि गाउँ छ त्याँ गइकन बस् । तिमीहरू घरमा बस्न्या मुन्छे जङ्गलमा बस्नु हुनैन ।
आजको रात मात्र बास देऊ न ?
हुँनैन हुँनैन याँ बस्न हुँनैन । पारि गोठ गइकन बस् कि ओडारमा गइकन बस् (पृ.१२)।
अहँ हामी घर बनाएर सधैँ एउटै ठाउँमा बस्दैनौ । बास सर्दै हिँड्नु हाम्रो परम्परा हो । हामी हाम्रो परम्परा, संस्कारलाई छाड्दैनौ । दुख हुन्छ भन्दैमा पुर्खादेखि चलेको चलन छाड्नु भएन नि ? (पृ.१)। यात्रामा अभर परेर उनीहरूको बस्तीमा पुगेर बास माग्न आउने मान्छेसँग स्पष्टैसँग इन्कार गरेको यो संवाद हो ।
‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु बिथोल्न नआऊ ।’ गीतकार हरिभक्त कटुवालको गीत याद आउँछ यतिखेर । हो यदाकदा गाउँले मान्छेले गएर अनावश्यक रूपमा उनीहरूको दिनचर्या, जीवनचर्या बिथोल्न खोजेकोमा उनीहरू सजग र सतर्क बन्नु स्वाभाविक हो । तर कहिले काहीँका यस्ता परिस्थितिसँग त उनीहरूले पनि सम्झौता गर्नु पर्ने हो ? उनीहरू गाउँलेसँग किन यसरी सदैव डराउँछन्, विश्वास मान्दैनन् र घुलमिल हुन रुचाउँदैनन् । सायद आफ्नो गोप्यता भङ्ग गरिदिन्छन्, आफ्नो रीतिस्थिति र संस्कार बिगारिदिन्छन् भन्ने भय नै होला कि ? त्यसैले आफ्नो दुख र घाउमा आफै मलहम पट्टी लगाएर बसिरहेको एक स्वाभिमानी जाति राउटे प्रति सम्मान भाव पनि जाग्न पुग्छ ।
अहिलेको आधुनिक विश्वमा अझ भनौँ एक्काइसौं शताब्दीमा आएर पनि पितापूर्खादेखि चलिआएको चलन हामीले छोड्नु हुँदैन भनेर अडिग भई बसेको कुनै एउटा जाति, समुदाय छ भने त्यो हो— राउटे । मानिस लस्करका लस्कर अनेकौँ सुख सुविधाको पछि हिँडिरहेको छ । त्यही सुख खोज्न, सुविधा खोज्न गाउँबाट बजार, बजारबाट शहर र शहरबाट केन्द्र ताकेर मात्र पनि उसको चित्त नबुझेर अहिले बिदेश हानिएका छन् । हाम्रा गाउँघर रित्तिइसकेका छन् । तर राउटेलाई सपनाको शहर पुग्नु पनि छैन, ठूलो मान्छे बन्ने रहर मनमा पाल्नु पनि छैन, सजाउनु पनि छैन ।
—हामी गरिब भया पनि हाम्रा हातमा सीप छ । रुख काटेर काठका भाँडा बनाउन्या मुन्छे ।
रुख काट्न पाया हामीलाई सबथोक पुग्न्या छ ।
—जङ्गलको चरो भइकन बाँच्न्या मन छ, अरू केही चाहियाको छैन (पृ.७९)।
मलाई राउटेको यो भनाइ पढ्दै गर्दा परशु प्रधानको एउटा कथाको याद आयो ।
—‘बहिनी के गर्दै हुनुहुन्छ ?
सिस्नो टिपेको ।
—किन टिप्नु हुन्छ ?
हामीले खाने यत्ति हो, अरू छैन ।
—किन गहुँ पनि हुँदैन ?
हुन्न ।
—तपाईंलाई यो गाउँमा के चाहिन्छ ?
उसले बुझिनँ, तपाईंले बुझ्नु भएन ?
—तपाईलाई पानी, बाटो, स्कुल के बढी आवश्यकता छ ? के चाहिन्छ भन्नुस् त ? मैले अझ स्पष्ट गरी सोधेँ ।
हामीलाई केही चाहिन्न ।
—तै पनि ? मैले कर गरेँ ।
हामीलाई सिस्नोसम्म खान भगवान्ले जुराएन । एक किसिमको किराले यो सिस्नो खाइदिन्छ । सिस्नोमा जम्मै ‘लाई’ लाग्छ र पात समेत रहँदैन । हामीले काँडा मात्र खानु पर्छ । ऊ रुन खोजी ।
—अनि ?
हामीलाई तपाईँले यो सिस्नो खाइदिने किरा मार्ने औषधि दिनोस् । हामीलाई आवश्यक यत्ति हो ।
ऊ जाने हतारोमा थिई ।
—अरु केही चाहिन्न ?
केही चाहिन्न ।’
बरिष्ठ कथाकार परशु प्रधानको एक कथाको सानो अंश हो यो । नेपालको सुदूर पश्चिमको एक गाउँ, जहाँ सिस्नोसम्म खान पनि यत्ति गाह्रो परिरहेको छ । तर पनि कथाकी पात्र सन्तुष्ट छे र भन्छे अरू केही चाहिन्न । न कुनै चाहना, न कुनै महत्त्वाकाङ्क्षा, मात्र सिस्नो खाने किरा मारिदिनु पर्यो । कत्रो दुर्भाग्य, कस्तो विडम्बना ? विकासका पूर्वाधारबाट कत्ति ठगिएको छ नेपालका ग्रामीण बस्तीहरू ? यति सानो माग समेत हामीले पूरा गराउन सकेका छैनौं ।
ठ्याक्कै यही परिवेशको सम्झना दिलाइदिएका छन् विशेष्यले यहाँ । दैलेख जिल्लाको आसपासका क्षेत्रमा बसोबास गर्ने राउटेहरुलाई केन्द्रविन्दुमा राख्दै त्यसलाई आख्यानीकरण गरेर प्रकाशन गरिएको यो कृति सानो आकारमा भए पनि वास्तवमै जीवन्त छ । पढ्दै जाँदा यसलाई कथा सङ्ग्रह मात्र नभनी उनीहरूको इतिहास, सङ्घर्षमय जीवन कथा, अनुसन्धानमूलक कृति वा मानव शास्त्रीय अध्ययन आदि आदि जे नाम दिए पनि सुहाउने सामग्रीका रूपमा यसलाई रामकृष्ण विशेष्यले प्रस्तुत गर्न सक्नु उनको लेखकीय चमत्कार हो ।
केवल १०४ पृष्ठको पुस्तकमा उनीहरूका गुप्त, लुप्त, रहस्यात्मक कुराहरू मात्र छैनन् । उनीहरूका संस्कार, संस्कृति, चालचलन, रीतिस्थिति, प्रथा परम्परा, सामन्ती व्यवहार, जन्ममृत्यु, बसाइँसराइ, प्रेम, विवाह, महिला र पुरुषबीच विभेद, गाउँबस्तीले उनीहरूलाई हेर्ने रूढिवादी सोचाइ, किंवदन्ती र मिथक जस्ता विषयवस्तुलाई उनले विभिन्न माध्यमबाट उत्खनन गरेको छन्, गराएका छन् । यस कृतिमा उनले नवीन प्रयोगहरू गर्न समेत भ्याएका छन् । कहीँ त उनले आख्यानलाई कवितात्मक रूप पनि दिन पुगेका छन् ।
जताततै यथार्थ र वास्तविक घटना लाग्छन् उनका वाक्यहरू । काल्पनिक चटनीहरू त ज्यादै थोरै छन् । हुन पनि स्वयं कथाकारले यसलाई अनुसन्धानबाट प्राप्त तथ्यलाई साहित्यिक रङ्ग दिएको कुरा स्वीकारेका छन् । अनुसन्धान तथ्यमा र साहित्य कल्पनामा आधारित हुने हुँदा आदिबिम्ब अनुसन्धान र साहित्यको सङ्गम हो भन्दै मेरो भनाइमा उनले स्वघोषणा नै गरेका छन् ।
पुस्तकमा प्रा.डा.यादवप्रकाश लामिछाने, प्रा.डा.सुषमा आचार्य, प्रा.डा.रामचन्द्र लम्साल र डा.मधुसूदन गिरीजस्ता चार जना डाक्टरहरूले सो कृतिबारे भूमिका लेखेर कथाकारलाई हौस्याउने र अझ उठाउने प्रयत्न गरे पनि रामकृष्ण आचार्य विशेष्यलाई उहाँहरूको वैशाखीको कुनै जरुरत नै थिएन जस्तो लाग्छ , किनभने उनी कलमको हतियार बोकेर साहित्यिक युद्धभूमिमा हिँडेका एक कुशल खेलाडी नै रहेछन् । बामे सर्न होइन उनी त हिँड्न र दौडन सक्ने सामर्थ्य बोकेका एक सर्जक हुन् भन्न हामी कोही पनि हिचकिचाउनु नपर्ने रहेछ ।
—जाँड रक्सी भनेपछि राउटेहरू हुरुक्कै हुन्छन् । सोध्छन्— ‘यत्रो घरमा पनि जाँड छैन ?’
—राक्षसबाट जोगिनको लागि राउटे सियो साथैमा बोकेर हिँड्दा रहेछन् (पृ.७९)।
—राउटेले केटी माग्न खसी नै लिएर जानु पर्ने भएको छ । पहिला पहिला बाँदर गुनाको मासुले पनि काम चल्थ्यो, चलाइन्थ्यो तर अहिले खसीको मासु लिएर जाँदा केटीका बाउआमा खुसी भएर केटी दिने सम्भावना बढी हुन्छ (पृ.३३)।
पुस्तकभित्र यस्ता थुप्रै नयाँ नयाँ जानकारीहरू रहेका छन् । अहिले आधुनिक जमानामा विवाह पछि विभिन्न रमणीय स्थानहरूमा हनिमुन मनाउन जाने प्रचलन हामीले देख्दै र सुन्दै आएका थियौ तर परम्परामा रमाउने राउटेहरूले त झन् पहिलादेखि नै पो यसलाई प्रचलनमा ल्याइसकेका रहेछन् । राउटे मुखिया नवविवाहित जोडीलाई आदेश दिन्छ— ‘सात दिनसम्म काममा लगाउँदिन (पृ.३)’ ।
‘बन्दुक भन्यापछि मलाई त डर लाग्दो छ । बन्दुक छोयाको पनि छैन । आँसी, बञ्चरो चलायाको छु । आँसी, बञ्चरो चलाउन्यालाई गाउँल्याले रुख काट्न दियाका छैनन् । जङ्गलमा पनि भेट भयाका नौला सरकारसँग आफ्ना कुरा भनौ भन्या भन्न डर लाग्याको छ । नभनौ भन्या घाँटीसम्म आइसक्याको छ । काठका भाँडा बनाउन पायाका छैनौ । काठका भाँडा बनाएर अन्नसँग साट्न नपाया क्या खाएर बाँच्न्या ? रुख काट्न नपाया मर्न्या छौं । राउट्यालाई रुख काट्न देऊ भनी वन समितिलाई चिठी लेखी देऊ, रेडियोबाट भनी देऊ, डर मानी मानी यतिका कुरा भन्याँ दुख नमान्या (पृ.७४)।’ यसरी प्रचण्डलाई राउटेहरूले आफ्नो कथाव्यथा सुनाएको प्रसङ्ग पनि यहाँ राखिएको छ ।
पिठिउँमा मदुस लगायतका मरिकुच्च भारी बोकेर हिँड्ने, जङ्गली तीखा काँडाले कोतरकातर पारेको शरीर, च्यातिएका झुत्रेझाम्रे कपडाले मोरिएको शरीर, अझ त्यसमा गादो पारेको मैला र नसिलाएका कपडा, आधा शरीर ढाकेका र आधा शरीर नाङ्गै भएका अर्धनग्न प्राणी, खुट्टामा जुत्ताचप्पल केही छैन, नाङ्गा र काला खुट्टा जुन फुटेर चिराचिरा परेका छन्, रगत चुहिएला जस्तो । पसिना तर्तरी चुहिरहेको छ निधारबाट, मलिन अनुहार, खान नपाएर सुकेको पेट, यही हो उनीहरूको बाह्य आकृति ।
यसरी हाम्रा दाजुभाइहरू हाम्रै घर आँगनमा यस्तो दीनहीन अवस्थामा गुज्रिरहेको देख्दा हामीमा अलिकता पनि करुणा जाग्दैन, दया माया लाग्दैन ? के उनीहरू हाम्रा दाजुभाइहरू होइनन् ? उनीहरूको यो दारुण कथाले कहीँ कतै हाम्रो चित्त दुख्दैन ? कति कठोर भइसक्यौ हामीहरू ? एक मनले यसो भनिरहेको छ र तत्काल दोस्रो मन फेरि भन्छ— अब उनीहरूलाई सहानुभूति र दया-माया देखाउनु भन्दा राउटेको आस्था र परम्परा नबिगारी जीवनस्तर उकास्नेतर्फ सबैले आआफ्नो क्षेत्रबाट काम गर्नु महत्त्वपूर्ण कुरा हो ।
क्याप्टेन जगत्प्रसाद आचार्यद्वारा प्रकाशित प्रस्तुत सङ्ग्रह ‘आदिबिम्ब’को मूल ध्येय र सन्देश पनि यही हो भन्दा अत्युक्ति नहोला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।