तपाईँले आफूलाई संसारमै मनपर्ने मान्छेलाई भेट्न पाउनुभयो भने के गर्नुहुन्छ ? तपाईँको हालत के हुन्छ होला ? शरीरभरि काँडा उम्रिएलान्, थोरै आवाज काम्ला, हात खुट्टा लग्लगाउलान्, चिटचिट पसिना पनि आउला ।

केटाकेटी हुँदा मलाई पनि अंग्रेजी गीतकी गायिका एभ्रिललाई भेट्न पाए कस्तो न हुन्थ्यो होला भन्ने लाग्थ्यो । उनका क्यासेटहरू सुन्दै उनका गीतहरूमा झुम्नुको मजा सम्झिँदा आज पनि काउकुती लाग्छ । यस्तै एउटा भेटको कुरा म गर्न गइरहेको छु । यो भेट थियो कवि तथा साहित्यकार भूपिन र गुल्जारको । यो भेटघाटको निकै लामो नालीबेली नभए तापनि त्यो परिस्थितिको मनोभाव र अनुभव म महसुस गर्न सक्छु । र, त्यो महसुस गराउने भरपुर प्रयास म यहाँ गर्दैछु ।

भूपिन

पहिला त भूपिन दाइको कुरा गर्छु ल ? भूपिन दाइसँग मेरो पहिलो भेट रोल्पामा आयोजना भएको एक साहित्यिक कार्यक्रममा जाने क्रममा भएको थियो । दाइ चितवनको कुनै स्थानबाट चढेका थिए । रात निकै भएकाले मैले ठ्याक्कै ठाउँको नाम याद गरिन । उचाइ राम्रो भएका कवि भूपिनको आवाज पनि उस्तै दमदार भेटेँ ।

सुरुमा अलिक अप्ठ्यारो मान्दै बोलेको मलाई उनले गरेको मित्रवत् व्यवहारले खुल्न मदत गर्‍यो नै चकित पनि बनायो । मनमनै ‘क्या खत्रा यार !’ भने जस्तै लागेको थियो । रोल्पा पुगेर फर्किँदासम्म उनीसँग राम्रो चिनजान भयो । केही समयपछि हेटौडामा आयोजना भएको एक कार्यक्रममा एउटै कोठामा बसेर कविता सुनाउने र प्रतिक्रिया लिने अवसर समेत मिल्यो । अनुजहरूलाई सुमधुर व्यवहार गर्ने भूपिनको यो आदतबाट म निकै प्रभावित भएँ ।

खैर यो त उनीसँग मैले भेटेको गन्थन मन्थन भए । अब दाइको त्यो रोमाञ्चित घडीतिर लागौँ क्यारे । कुरा सन् २०१० तिरको हो । भूपिन सार्क साहित्य सम्मेलन कार्यक्रमको निमन्त्रणा स्वीकार गरी दिल्ली पुगेका थिए । कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्ना कुराहरू राखिरहेका थिए । यिनै वक्ताहरू माझ थिए गुल्जार । भूपिनको सपनाको एक व्यक्तित्व । जोसँग बिपनामा साक्षात्कार भइरहेको थियो । ‘गुल्जार हिउँ कलरको कुर्ता-सलवारमा सजिएर गुरुगम्भीर मुद्रामा मञ्चासिन थिए’ भूपिन यसरी उनको व्यक्तित्वको व्याख्या गर्छन् । या गुल्जारलाई पहिलो पटक देख्दाको क्षणलाई बयान गर्छन् भनौँ न ।

विभिन्न वक्ताहरूसँगै गुल्जारले पनि कार्यक्रममा उद्घाटन कविता वाचन गरेको उनी सम्झिन्छन् । कार्यक्रम आफ्नै योजना अनुरूप अघि बढ्यो र दिवा भोजनको समय भयो । यो त्यही समय थियो जहाँ भूपिनको भेट गुल्जारसँग हुनु थियो । उक्त घडीको स्मरण गर्दै उनी भन्छन् ‘भवन बाहिरको हरियो चौरमा एउटा अविस्मरणीय घटनाले मलाई पर्खेर बसिरहेको रहेछ ।’ सबै जना आ-आफ्ना मनपरेका स्रष्टासँग भेट्न आतुर थिए ।

भूपिन पनि कसैलाई पर्खिरहेका थिए । यही समयको पर्खाइमा उनी बसिरहेका थिए । गुल्जारका कविता र गजलले मुग्ध भएका भूपिन उनलाई जतिसक्दो चाँडो भेटेर आफ्नो तृष्णा मेट्न चाहन्थे । तर, भेटघाट गर्न सोचे जस्तो सजिलो थिएन । गुल्जारको वरपर मानिसहरूको बाक्लै भिड थियो । समयसँगै उनको व्यग्रता बढ्दै थियो । उनका साथीहरूले गुल्जारसँग फोटो खिचाएपछि छटपटीको आगोमा अझ घ्यु थप्ने काम भइरहेको थियो । त्यो समय र अनुभूतिमा पाइला राख्दै उनी भन्छन् ‘मेरा नेपाली कवि साथीहरूले उनीसँग भेटेर खिचाएका तस्बिर देखाएपछि मेरो तृष्णा झन् बढ्‌यो ।’

भूपिनको मनमा गुल्जारसँग एक पटक भेट गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी चलिरहेको थियो । उनको एक अटोग्राफको लागि व्याकुल थिए । यद्यपि भूपिनसँग गुल्जारको कुनै पुस्तक भने साथमा थिएन । त्यसैले उनले आफ्नै कविताको पुस्तकमा अटोग्राफ लिने निर्णय लिए ।

पुस्तक बोकेर उनी सरासर गुल्जार समीप पुगे र अटोग्राफका लागि आग्रह गरे । तर, गुल्जारले उनको छेउमा रहेका एक वृद्ध कवितिर सङ्केत गर्दै पहिला उनको अटोग्राफ लिन अनुरोध गरे । यसरी बेचैन हुँदै बल्लतल्ल गुल्जारसम्म पुगेका उनी केही निराश भए । गुल्जारकै अटोग्राफका लागि लामो समय कुरेर उनी समक्ष पेस भएका भूपिनले अरूको अटोग्राफ कसरी लिन्थे । उनी भन्छन्, ‘मलाई त केवल उनकै अटोग्राफ मात्र चाहिएको थियो ।’

आफूलाई मनपरेको मान्छे बडो दुःखले आफ्नो अघि आउनु र उसले यसरी अरूलाई नै देखाउनुले पक्कै आनन्द दिएन । यद्यपि भूपिनले दोस्रो प्रयास गर्ने निधो गरे । उनले विनम्रतापूर्वक पुनः दोस्रो पटक आफ्नो किताब गुल्जार समक्ष पेस गरे ।

गुल्जार पनि आफ्नो कुरामा अडिग नै रहे । उनले पुनः वृद्ध कवितर्फ इसारा गर्दै दोहोऱ्याए, ‘उहाँ ठुलो कवि हुनुहुन्छ, पहिला उहाँको गराउनुस् ।’ पक्कै पनि भूपिनका कानलाई यी वाक्यले आनन्द प्रदान गरेनन् । यद्यपि लाचार भएर उनले वृद्ध कविको हातमा पुस्तक थमाउनै पर्‍यो । वृद्ध कविका काँपिरहेका हातले पुस्तकको पहिलो पानामा केही लेखे । त्यसपछि मात्र पुस्तक गुल्जारको हातसम्म पुग्यो । गुल्जारले पनि पुस्तकमा बडो प्रेमपूर्वक आफ्नो हस्ताक्षर गरिदिए । यति भएपछि भूपिनलाई संसार जिते जस्तो भयो । परम आनन्दको त्यो पल सम्झँदै उनी भन्छन्, ‘छातीभित्र या मस्तिष्कभित्र गहिरो आनन्दको लहर दौडिरह्यो धेरै बेर ।’

आफ्नो मन खाएको व्यक्ति देखेपछि पृष्ठभूमिमा रहेका बाँकी सबै कुरा ब्लर (धूमिल) हुन जान्छन् । अन्य मानिसहरू धूमिल हुन्छन् । यो भेटमा भूपिनलाई पनि यस्तै भयो । उनले राजेन्द्र भण्डारीमार्फत ती वृद्ध कविको परिचय पाएपछि झस्किए । उनी भन्छन्, ‘म छाँगाबाट खसेझैँ मौन मौन कहालिएँ ।’ उनी विख्यात कवि एवम् कथाकार कुँवर नारायन रहेछन् । यति थाह पाएपछि उनलाई निकै अप्ठ्यारो महसुस भयो । आफ्नो अशिष्टताप्रति गहिरो खेद उत्पन्न भयो । उनका कैयौँ कविताबाट भूपिन प्रभावित थिए ।

कहिलेकाहीँ भूपिन गुल्जारको महानता र आफ्नो मूर्खता घोलिएको त्यो पल स्मरण गरिरहन्छन् । गुल्जारले आफूलाई अटोग्राफ मात्र नदिएर अग्रजप्रतिको आफ्नो उच्च सम्मानको जानकारी पनि दिएको उनी बताउँछन् ।