भगवान् श्री पशुपतिनाथ विराजमान क्षेत्र पशुपति क्षेत्र हो, र पशुपति क्षेत्रको पहिलो ऐतिहासिक सन्दर्भमा वि.सं. ५९० को भद्रेश्वर शिवलिङ्गको जलहरीमा “भगवतः पशुपतेः क्षेत्रे” उल्लेख छ ।

साथै पशुपति क्षेत्र किटानी गर्ने प्रमाणित दस्ताबेजहरूमा वि.सं. १८७० को लालमोहर, वि.सं. २००९ सालको नक्सा, वि.सं. २०३५ सालको पशुपति क्षेत्र सुधार तथा विकास समितिको नक्सा र वि.सं. २०४३ फागुन १४ गते नेपाल राजपत्रमा प्रकाशित चार किल्ला तोकिएको सूचना प्रमुख आधार हो । पशुपति क्षेत्र काठमाडौँ उपत्यकाको लगभग केन्द्रमा छ भने यहाँको भौगोलिक परिवेश अन्यत्र भन्दा पृथक् छ ।

प्राचीन समयमा तालको रूपमा रहेको उपत्यकामा तालको निकास भएपछि मात्र बस्ती बसेको पुष्टि भइसकेको छ । तालको निकासाका क्रममा वागमती नदी एवं घाँटीको निर्माण भएको र वागमतीको बहावले नै पशुपति क्षेत्रमा बिस्तारै कैलाश र मृगस्थलीको पहाडी शृङ्खलाहरू चिरेर अलौकिक भूमि तयार भएको प्रतीत हुन्छ ।

पशुपति क्षेत्रको गर्भ भागमा थोरै चट्टान र धेरै बलौटे माटो रहेको देखिएको छ । आर्यघाटको उत्तरक्षेत्रमा चट्टान र दक्षिण क्षेत्रमा बलौटेपना बढी रहेको र वागमतीको पूर्वतर्फ मृगस्थली क्षेत्रमा बलौटे माटोको घनत्व ज्यादा छ । भगवान् पशुपतिनाथको सान्निध्यमा बागमती नदी एवं गल्छी निर्माणको अवस्थिति लगभग कटुवाल दह, चोभार र गोकर्णको एक समान प्रतीत हुन्छ । वागमतीको गल्छी निर्माणसँगै पहराहरूमा विभिन्न गुफाहरू बनेका छन् ।

पशुपति क्षेत्रले बागमती जलाधारलाई स्पष्ट दुई भागमा विभक्त गरेको छ । बागमती जलाधार अन्तर्गत चोभारदेखि पशुपति क्षेत्रसम्म र पशुपतिक्षेत्रदेखि गोकर्णसम्मको अवस्थिति विछट्टै अलग अनुभूति गर्न सकिन्छ । वागमतीको बहावका लागि चोभारदेखि पशुपति क्षेत्रसम्म समथल मैदान छ भने पशुपति क्षेत्रदेखि उत्तरतर्फ मृगस्थली र गौशाला–चाबहिलबाट होचा समानान्तर पर्वतीय श्रृङ्खलाको खोच गोकर्णसम्म नै बनेको भेटिन्छ ।

भगवान् श्री पशुपतिनाथ बागमती नदीको किनारमा अवस्थित रहेकोले विशिष्ट सभ्यताको विकास पनि श्री पशुपतिनाथसँगै जोडिएको छ । भाषा वंशावलीले ब्रह्माण्डमा पशुपतिजस्तो ज्योतिर्लिङ्ग, वागमतीजस्तो पवित्र नदी र गुह्येश्वरीजस्तो शक्तिपीठ अन्यत्र पाइँदैन भनेको छ । पवित्र बागमती नदीको जलका अतिरिक्त बालुवासमेत वैदिक कार्यहरूका लागि पवित्र सामग्रीको रूपमा उपयोग गर्ने प्रचलन छ ।

श्री पशुपतिनाथको सान्निध्य भूबनोटका अतिरिक्त अलौकिक प्राकृतिक सम्पदाले समेत विविधतायुक्त छ । मृगस्थली, श्लेष्मान्तक, वनकाली, धु्रवस्थली, भण्डारखाल लगायतका वनहरू कुनै समयका घना जंगल रहेको अनुमान गर्न सकिन्छ । अर्थात् भगवान् शिवले मृगरूप लिएर विहार गरेको क्षेत्र मृगस्थलीको अवस्थिति सानो भुगोल हुन सक्दैन । वन-जङ्गल क्षेत्रमा समेत अलौकिक उमास्तन–कुण्ड, सतीस्तन–पीठ, ध्रुवस्थली तपोवन लगायत पर्दछन् जुन क्षेत्रलाई सिद्धक्षेत्र हो, सिद्धाचल हो एवं सिद्धारण्य समेत भनिन्छ ।

अर्थात् यो क्षेत्र भगवान् शिवले नैमित्तिक रमण गरेको र मृगको रूपमा वास बसेको जगत् हो । अर्थात् पशुपति क्षेत्र प्राकृतिक सौन्दर्यको द्योतक र अलौकिक भूमि पनि हो । पशुपति क्षेत्रको वनमा समेत अलौकिक विशेषता छ, त्यो हो यहाँका कतिपय वृक्षहरू अति उष्ण प्रदेशमा मात्र पाइने खालको छ जुन अन्य पहाडी क्षेत्रमा सम्भव छैन । वृक्षवनस्पतिहरूमा मडिलो, शिरीष, हाडेबयर, सुनचाप, काउलो, प्वाले, धुसरु, जमाने मान्द्रो, वर, पिपल, शमी, रुद्राक्ष, कालीमयल, काभ्रो, चिलाउने, देवदार, पैयुँ, धूपी, मसला, सल्ला, बेल, खरी, बकैना, लप्सी, कपुर आदि मुख्य देखिन्छन् ।

युनेस्कोले समेत यहाँको वास्तुकला र समूहगत संरचनाको विसिस्टता, जिवन्त सव्यता तथा धर्म र आस्थाको विकासक्रमका अतिरक्त अलौकिक अवस्थितिका आधारमा समेत काठमाडौँ सम्पदा सहर भित्रको उत्कृष्ट को भौतिक चिनोको रूपमा पशुपतिनाथ परिसरलाई विश्वसम्पदामा सूचीकरण गरेको हो । सारमा पशुपति क्षेत्र कर्म, भक्ति र ज्ञानको त्रिवेणी एवं सांस्कृतिक, पुरातात्त्विक एवं प्राकृतिक दृष्टिमा समेत विशिष्ट महत्ता रहेको छ ।

महाशिवरात्रि अन्तर्गत शृङ्खला लेखनको दोस्रो अङ्कमा श्री पशुपतिनाथको सान्निध्यका सबै प्रतिकात्मक सम्बन्ध राख्ने सम्पदाहरूको अवस्थिति, मान्यता र अभ्यासहरू अन्य अङ्कमा प्रस्तुत गर्ने उल्लेख थियो । यद्यपि यो अङ्कमा पशुपतिनाथ सान्निध्यको प्राकृतिक सम्पदाको अलौकिकतालाई प्रस्तुत गरिएको छ । तसर्थ, श्री पशुपतिनाथको सान्निध्यका अन्य सम्पदाहरू, तिनको अवस्थिति, मान्यता र अभ्यासहरूलाई क्रमशः अरू अङ्कमा प्रस्तुत गरिनेछ ।